बिहानदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भीड

काठमाडाैं | भदौ १०, २०८१

बिहानदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भीड

काठमाडौं:   प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानदेखि भक्तजनको भीड लागेको छ ।

    
यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ । 


उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ ।

    
राजधानीका मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्णमन्दिरमा बिहानदेखि भक्तजनको भीड लागेको छ । वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्णमन्दिरमा पनि भक्तजनको भीड लागेको छ । 


काठमाडौँ उपत्यकाका चोक, गल्ली एवं कुना कुनामा रहेका कृष्णमन्दिर, नारायण मन्दिर र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।

    
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्छन् ।

    
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको मान्यता छ । अन्याय, अत्याचार बढेपछि मानव अवतारका रुपमा पृथ्वीमा आएर साधुको संरक्षण र दुष्टको नाश गर्ने श्रीकृष्णले श्रीमद्भगवतगीतामा अर्जुनका माध्यमबाट आम मानिसलाई शिक्षा दिनुभएको ग्रन्थहरुमा उल्लेख छ ।

    
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’  पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । 

    
बाल्यकालदेखि आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । 


यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । रथयात्रा भने अष्टमीको भोलिपल्ट निकालिन्छ । 


अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म हुने भएकाले खुसियालीमा भाद्रकृष्ण नवमीका दिन रथयात्रा गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ:  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नुभएको छ ।   प्रधानम...

थप पढ्नुहोस्

सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ ।   मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जै...

थप पढ्नुहोस्

धरान:    यहाँको बराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ ।   अभिभावकको मागसँगै...

थप पढ्नुहोस्