विभिन्न कार्यक्रम गरी देशभर मनाइयो गाईजात्रा

काठमाडाैं | भदौ ४, २०८१

विभिन्न कार्यक्रम गरी देशभर मनाइयो गाईजात्रा

काठमाडौं:     प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यकालगायत देशभरका मुख्य सहरमा दिवङ्गत आफन्तको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

    
गाईजात्राको भोलिपल्ट बौद्धमा र त्यसको पर्सीपल्ट जयबागेश्वरीमा रोपाइँजात्रा मनाउने गरिन्छ । गाईजात्राको भोलिपल्ट जयवागेश्वरीमा खड्ग जात्रा मनाउने गरिएको छ । यसैगरी अन्य स्थानमा विभिन्न नामले गाईजात्रा मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यो पर्व मल्ल कालेखि शुरु भएको हो ।

    
एक वर्षयता दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराएर दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको छ ।

    
गाईजात्राका अवसरमा उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी र साजसज्जाका साथ गाईको भेषमा बालबालिकाको ¥याली निकालिएको थियो । यस्तो झाँकी हेर्न सडकको नरनारीको उल्लेख्य उपस्थिति थियो । 

    
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मनाइन्छ । मृत्यु भएकाको सम्झनामा नगरपरिक्रमा गर्नाले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

    
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको ऐतिहासिक तथ्य छ । त्यति गर्दा पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।
 
    
यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनकता हुन्छ ।

    
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् ।

    
जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय मानिन्छन् । 

    
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गरिन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित हुने गरेको छ ।

    
यो पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरा लगायतका शहरमा पनि मनाइन्छ । गाईजात्राका अवसरमा  काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्