ध्वनी आतंक रोक्न कास्की प्रहरीको कसरत: १ सय ४९ मोडिफाई बाइक समातिए (भिडियाे)

पोखरा:    पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका १ सय ४९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

मोटरसाइकल मोडिफाइड गरि ध्वनी प्रदुषण गरी चलाएको आरोपमा साउन ३० देखि भदौ २ गतेसम्म १ सय ४९ वटा मोटरसाइल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । 

 

‘कास्की प्रहरी मातहतमा रहेका प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन होहल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरु नियन्त्रणमा लिएर कारवाही गर्दै आएका छौं, डिएसपी शर्माले भने, ‘हामीले पछिल्लो ४ दिनमा पुनः अभियान नै चलाएर १ सय ४९ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारवाही गर्ने तयारीमा छौं ।’


उ​नले अभियानको क्रममा पहिलो पटके देखि चौथो पटक सम्म मोडिफाइड गरिएका मोटरसाइकललाई कारवाही गर्दा करिव २२ लाख राजश्व संकलन हुने समेत बताए । 

 

उनले यस अगाडि समेत कास्की प्रहरी र ट्राफिक प्रहरीले २०८० असोज २१ देखि अनुमति विना नै मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने २२ वटालाई कारवाही गरिएको समेत बताए । 
 

यो पनि पढ्नुहोस

 


मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने (मोडिफाइड) गरी ध्वनी प्रदुषण गर्ने २ हजार ३५ थान मोटरसाइकललाई कारवाही गर्दा २९ लाख ८ सय रुपैयाँ जरिवाना गरिएको उनले जानकारी दिए । 
 

कास्की प्रहरीले यस अगाडि मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ८ जना वर्कसपलाई समेत नियन्त्रणमा लिई मोडिफाइड नगर्ने शर्तमा छाडेको थियो । 


मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने कार्यमा संलग्न सवारी धनी र वर्कसप सञ्चालकहरुलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्धा चलाउने कास्की प्रहरीले जनाएको छ । 


स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पाटपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम रु १५ हजार सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।