सिस्नोको पाउडर र गुन्द्रुकले बजार पाएन

बाग्लुङ | साउन ३०, २०८१

सिस्नोको पाउडर र गुन्द्रुकले बजार पाएन

बागलुङ (ढोरपाटन):    बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन् । 


रुद्रताल सामाजिक महिला सहकारी संस्थामार्फत गत वर्षदेखि उत्पादन सुरु गरेका महिलाहरुको उत्पादित सामग्रीले बजार नपाएपछि उनीहरु निराश भएका हुन् । 


गाउँको उत्पादनलाई ‘प्याकेजिङ र ब्राण्डिङ’ गरी उद्यममा लागेका महिलाहरु अहिले उद्योग सञ्चालन गर्ने वा बन्द गर्ने दोधारमा छन् । विभिन्न सरकारी सङ्घ संस्थाबाट अनुदान पाएर उत्साहित भएका उनीहरु बजार नपाएपछि अन्योलमा परेका हुन् । 


सहकारीमार्फत महिलालाई आयआर्जनसँग जोड्न जैमिनी नगरपालिकाले रु १० लाख, प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले रु छ लाख, कृषि ज्ञान केन्द्रले रु दुई लाख ५७ हजार र गण्डकी प्रदेश सरकारले रु एक लाख अनुदान दिएको थियो । अनुदान पाएपछि उत्साहित भइ उत्पादनमा लागेका महिलालाई अहिले बजारको चिन्ताले पिरोलेको छ ।


सहकारीकै भवनमा उद्योग सञ्चालन गरेका महिलाले बाँको, सिस्नो प्रशोधन गर्दै आएका छन् । रुद्रताल सामाजिक महिला सहकारीका कोषाध्यक्ष तारादेवी पुनका अनुसार पाँच सय ५० जना महिला आबद्ध भइ सहकारीमार्फत उत्पादनमा जुटेका थिए ।
  

सुरुमा उत्पादनले राम्रो बजार पाएको थियो । अहिले बजार नपाउँदा कुहिने समस्या भएको पुनले बताउनुभयो । सिस्नोको पाउडर एक वर्षसम्म नबिग्रिए पनि आलु चिप्स एक महिनामै खान नमिल्ने हुँदा घाटा भएको उहाँको भनाइ छ । 


नगरपालिका तथा अन्य निकायले बजारको व्यवस्थापन गरी दिए गाउँका सयौँ महिला स्वरोजगार बन्ने उहाँ बताउनुहुन्छ । मेला महोत्सव लाग्दा महिलाहरुले सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक तथा अन्य स्थानीय उत्पादन ‘स्टल’मै राखेर बिक्री गरिएको थियो । 


“गाउँमै केही गरौँ भनेर दिदीबहिनी मिलेर घरेलु उद्योग सञ्चालन गरेर स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न थाल्यौँ, सुरु–सुरुमा राम्रो पनि भयो, तर अहिले हाम्रो उत्पादनले बजार पाउन सकेको छैन”, पुनले भन्नुभयो, “बजार पाएन भने बिग्रिने र म्याद सकिने हुन्छ, अहिले हामीहरुले उत्पादन गर्नै छोडेका छौँ ।” 


महिलाहरुले रु २० लाख लगानीमा उद्योग सुरु गरेका थिए । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले महिला उद्यमीलाई लेबलिङ, प्याकेजिङ र ब्राण्डिङ गरेर बजारीकरणमा सहजीकरण गरिरहेको बताउनुभयो । 


अहिले बर्खामा ग्रामीण सडक अवरुद्ध हुँदा बजारीकरणमा समस्या भएको र नगरपालिकाले यसै वर्षदेखि कृषि एम्बुलेन्स खरिद गरी उत्पादित वस्तु बजारमा पु¥याउन सहयोग गर्ने उपप्रमुख शर्माले बताउनुभयो ।

पोखरा:    नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छ...

थप पढ्नुहोस्

पोखरा:    ९ वर्षपछि आयोजक सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पेना...

थप पढ्नुहोस्

शेर्पा समुदायले आज (बुधबार) विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।   पर्वको अवसरमा शेर्प...

थप पढ्नुहोस्