क्यान्सर अस्पतालमा बिरामीको मृत्यु भएपछि दुई नर्स निलम्बित

दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग

चितवन | साउन १७, २०८१

क्यान्सर अस्पतालमा बिरामीको मृत्यु भएपछि दुई नर्स निलम्बित

चितवन:     बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । 


दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको हो ।

    
अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताउनुभयो ।

     
अस्पतालले दिएको जानकारी अनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उहाँको उपचार भइरहेको थियो । 


उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिएपछि गुरुङको मृत्यु भएको महतोले बताउनुभयो । उहाँका अनुसार मेडिकल वार्डमा तीन पटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत असार १३ गते राति मृत्यु भएको थियो ।

    
“खुट्टाको छालाको क्यान्सर ‘मेलानो’मा भएपछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’ (क्यान्सर भए÷नभएको पत्ता गराउन गरिने परिक्षण) गरेर क्यान्सर एकीन गरिएको थियो । सो पश्चात् बिरामीलाई किमो दिन थालिएको थियो”, उहाँले भन्नुभयो ।

    
बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टिकरण मागेको छ । सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ् र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ ।

    
अस्पतालले उपनिर्देशक डा उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण शाह र नर्सिङ् प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो । समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिनुभयो । 

    
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुईजनालाई निलम्बन र २३ जनालाई स्पष्टिकरण सोधिएको बताउनुभयो ।  यससँगै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो । 

    
पौडेलले भन्नुभयो “काममा लापरबाही देखिएकाले आवश्यक कारबाही गर्नेछौँ । आगामी दिनमा यस्ता लापरबाही हुन नदिन नियमित अनुगमनका गर्ने व्यवस्था मिलाउने छौँ ।”

काठमाडौं:  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लाग...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु...

थप पढ्नुहोस्

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ ।  लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...

थप पढ्नुहोस्