बाढीले कुश्माका ४५ घर जोखिममा

पर्वत | साउन १६, २०८१

बाढीले कुश्माका ४५ घर जोखिममा

पर्वत:     गएराति आएको भीषण वर्षापछिको बाढीका कारण सदरमुकाम कुश्माका ४५ घर जोखिममा परेका छन  । 


कुश्माबजारको जिरो किमी भन्दामाथि रहेको गजौटेखोलामा आएको गेग्र्यान सहितको बाढीले पुरिएपछि सिङ्गो बस्ती नै जोखिममा परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार कुश्मा नगरपालिका–४ का वडाध्यक्ष दिनेश श्रेष्ठसहित गङ्गाराज परियार, वीरबहादुर परियार लगायतका १२ घरमा बाढी पसेर क्षति पु¥याएको हो भने अन्य घर जोखिममा परेका हुन् । 


समयमै घरका बासिन्दा सुरक्षित स्थानमा सरेका कारण मानवीय क्षति हुन नपाएको प्रहरी निरीक्षक भुवन बरामले जानकारी दिनुभयो । स्थानीय शिवलाल सार्कीका अनुसार जिरोकिमी, नारायणस्थान र दलित बस्तीका गरी ४५ भन्दा बढी घर जोखिममा परेका छन् । बाढीले हरेक घरका आँगन, पिँढी र कोठा ढुङ्गामाटोले पुरिएका छन् । 


तत्काल ढुङ्गामाटो नहटाउने हो भने फेरि पर्ने वर्षाले घर जुनसुकै बेला पनि भत्किने जोखिम बढेको सार्कीले बताउनुभयो । बाढीका कारण भू–तथा जलाधार व्यवस्थापन कार्यालय पनि उच्च जोखिममा परेको छ । 


लेदोसहितको बाढीले कार्यालयको प्राङ्गण पूरै पुरिएको छ भने घेराबार र सडकमा समेत क्षति पुगेको छ । कार्यालयमा जाने सडकसमेत गएरातिदेखि अवरुद्ध बनेको कार्यालयका लेखापाल गौरबदास बैरागीले जानकारी दिनुभयो । त्यसले गर्दा सेवाग्राही कार्यालयमा जान समस्या भएको छ । 

    
यसैगरी सोही खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्ग समेत पुरिएको छ । गएराति ९ बजेदेखि अवरुद्ध बनेको सडक १२ बजे एकतर्फि खुलाइएको थियो । ठूलो मात्रामा थुप्रिएको ढुङ्गामाटो नपन्छाएसम्म दुईतर्फी सञ्चालन गर्न कठिनाइ भइरहको र अहिले एकतर्फी रुपमा सवारी साधन आवतजावत गरिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सीताराम ओझाले जानकारी दिनुभयो । 

    
कुश्मा–३ दुर्लुङ जाने सडक खनेपछि यो ठाउँ बाढीको जोखिममा पर्दै आएको हो । बर्सेनि बर्खायाममा बाढीले सताउने भए पनि दीर्घकालीन नियन्त्रणको योजना नबनाउँदा सिङ्गो बस्ती नै त्रसित बनेको छ । 


कुश्मा–४ का वडाध्यक्ष दिनेश श्रेष्ठले बाढीका कारण आफूसहित उक्त बस्तीका अधिकांस परिवार समस्यामा परेको बताउनुभयो । बाढीले जोखिम निम्तिएपछि रातभर बस्तीका बासिन्दा जाग्राम बसेका थिए । 


यो समस्या समाधानका लागि करोडौँ बजेट आवश्यक पर्ने श्रेष्ठले बताउनुभयो । नगरप्रमुख रामचन्द्र जोशीले बस्ती संरक्षणका लागि तत्काल योजना बनाएर काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । 


उहाँले नगरपालिकाको बजेटले मात्र दिर्घकालीन समाधानको योजना बनाउन नसकिने भन्दै प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँका अनुसार जिरो किमिदेखि दलित बस्तीसम्मको खोला किनारलाई व्यवस्थित गर्दै बाढीको सहज निकासका लागि वैकिल्पक ठाउँ खोज्नुपर्ने बताउनुभयो । 

काठमाडौं:    संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्के...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको चाहनाअनुरुप समयानुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।  सो पार्टीको संसदीय दलले आज यहाँ आयोजन...

थप पढ्नुहोस्

गण्डकी:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  गण्डकी प्रदेश सरकारद्वा...

थप पढ्नुहोस्