एक करोड अधिक खर्च भएको लेखनाथ रङ्गशाला घाँसेमैदानमा परिणत

पाेखरा | साउन १५, २०८१

एक करोड अधिक खर्च भएको लेखनाथ रङ्गशाला घाँसेमैदानमा परिणत

गण्डकी:     सोमबार साँझ केही युवा लेखनाथ रङ्गशालामा फुटबल खेलिरहेका थिए । खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो । यद्यपि उनीहरू उत्साहका साथ  खेलिरहेका थिए । मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए । 


फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको चहलपहल रङ्गशालामा थियो । बिहानबेलुका करातेलगायत मार्सल आर्टका खेलाडी पनि अभ्यासका लागि त्यहाँ पुग्छन् । कभर्ड हल नभएका कारण उनीहरू खुला आकाशमुनि अभ्यास गर्न बाध्य छन् । वर्षा याममा रङ्गशालाको ‘ट्रयाक’ हिलाम्मे हुने भएकाले अभ्यासपूर्व खेलाडीहरू दौडनसमेत पाउँदैनन् । 


आठ वर्षअघि निर्माण सुरू भएको बहुउद्देशीय कभर्ड हल बीचमै अलपत्र परेपछि ‘इन्डोर’ खेलको पनि चौरमै प्रशिक्षण गराउनुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका– २९ स्थित यो रङ्गशालामा पूर्वाधार नहुँदा व्यवस्थित ढङ्गले खेल गतिविधि सञ्चालन गर्न कठिन भएको छ । पोखरा रङ्गशालाको विकल्प मानिएको लेखनाथ रङ्गशालामा भौतिक पूर्वाधार बनाउनुपर्नेमा स्थानीय खेलाडीले जोड दिएका छन् । 


आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले रङ्गशालामा बनेका संरचना अलपत्र परेकामा दुखेसो गर्नुभयो । रङ्गशालाको ट्रयाक मापदण्डअनुसारको नभएको उहाँले बताउनुभयो । प्यारापिट पनि लथालिङ्ग छ । “अहिले ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “सामान्य खेल अभ्यासका लागि पनि पूर्वाधार अभाव छ ।” 


पोखरा महानगरको खेलकुद विकास समितिका पदाधिकारी बजेट अभावले रङ्गशाला बन्न नसकेको बताउँछन् । आठ वर्षअघि रङ्गशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल पनि बजेट नहुँदा अलपत्र परेको छ । 


बजेट नहुँदा कभर्ड हल निर्माण तीन वर्षदेखि ठप्प छ । हालसम्म त्यसमा रु एक करोड १० लाख खर्च भइसकेको छ । आव २०७४ र २०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट रु ११ लाख बजेटबाट कभर्ड हलको काम सुरु भएको थियो । 


राष्ट्रिय खेलकुद परिषद्ले रु ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले रु २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट भुइँतलाको पिलर र पर्खाल बनाइएको छ । पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले रङ्गशालामा पूर्वाधार तयार गर्न महानगर, प्रदेश र सङ्घ सरकारको लगानी चाहिने बताउनुभयो । 


खेलकुद हेर्ने निकाय र खेल पदाधिकारीको उपेक्षामा लेखनाथ रङ्गशाला परेको उहाँको टिप्पणी छ । “राज्यको स्रोतसाधन जुटाएर लेखनाथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो । लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाइ गर्नुपर्ने स्थानीयवासीको माग छ । 


कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले पोखरालाई खेल पर्यटनको गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । “खेल क्षेत्र सरकारको कम प्राथमिकतामा छ, पोखराको खेलकुद विकासमा प्रदेश सरकारले पनि वेवास्ता  गरिरहेको छ”, उहाँले भन्नुभयो ।

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा महानगरपालिका –१०, रामघाट...

थप पढ्नुहोस्

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्