क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन | साउन १०, २०८१

क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु गरिने

चितवन:    भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु हुने भएको छ । 


भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिले आज संयुक्त रुपमा स्थलगत अनुगमनपछि निर्माण कम्पनीले एक साताभित्र निर्माणको काम सुरु गर्ने जनाएको हो ।
 
    
धुर्मुस सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणका लागि ल्याएर बाँकी रहेको सामानको लगत सङ्कलनको काम आजैदेखि सुरु गरिएको छ । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण व्यवसायीका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको हो । 


फाउण्डेशनले निर्माणका लागि ल्याएको सामानको मुचुल्का तयार गरे लगत्तै निर्माणका लागि काम थालिने निर्माण कम्पनीका विकास गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आइतबारदेखि सरसफाइलगायत काम सुरु हुन्छन् ।”
 
    
रङ्गशाला निर्माणस्थलमा रहेको झाँडी पन्छाउने, सरसफाइ गरेर कामलाई तीव्रता दिइने उहाँले बताउनुभयो । महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार फाउण्डेशनले निर्माणका लागि ल्याएका सामान महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुँदा मुचुल्का उठाउने काम सुरु गरिएको बताउनुभयो । प्राविधिक टोलीसहित मुचुल्का उठाएपछि निर्माण कम्पनीले आफ्नो काम सुरु गर्ने उहाँले बताउनुभयो ।
 
    
रङ्गशाला निर्माणका लागि गत असार २३ गते महानगरपालिका र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार रु ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी दुई पक्षीय सम्झौता भएको छ । 
 
    
धुर्मुश–सुन्तली फाउण्डेशनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला ३० महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको उहाँले बताउनुभयो । संयुक्त अनुगमनपछि महानगर प्रमुख दाहालले एक सातामा निर्माणको काम सुरु गर्ने गरीठेकेदार कम्पनीले कामलाई अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणको वातावरण बनाइ दिने काम महानगरपालिकाको हो । 


समयमा काम सम्पन्न गर्ने जिम्मेवारी निर्माण कम्पनीको हो ।” पहिलो चरणमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराउन मिल्ने गरी मैदान र स्टेडियम निर्माणको काम हुने उहाँले बताउनुभयो । तीन तहको सरकारको साझेदारीमा बन्न लागेको रङ्गशाला समयमा नै निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराइने उहाँले बताउनुभयो ।
 
    
कम्पनीले खेल मैदान, पिच, प्रोटेक्सन वाल, दुई वटा टावर बिल्डिङ र थप १० हजार क्षमताको प्याराफिट निर्माण गर्नेछ । निर्माणाधीन रङ्गशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा थियो । रङ्गशालाको सबै काम पूरा गर्न रु तीन अर्बभन्दा बढी खर्च लाग्ने छ । पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ ।
 
    
महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले निर्माणका क्रममा देखिएका समस्या सामूहिक रुपमा समाधान गर्दै जाने बताउनुभयो । निर्माण व्यवसायीलाई चाँडो काम सुरु गरेर समयमा नै सम्पन्न गर्न उहाँले निर्देशन दिनुभयो । 


त्रिभुवन विश्वविद्यालयसँग ३० वर्षका लागि जग्गा भाडामा लिएर रङ्गशाला निर्माणअघि बढाइएको हो । रङ्गशाला त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिघा छ कठ्ठा जग्गा बन्ने छ ।
 
    
विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेशनबीच निर्माणका लागि सम्झौता भएको थियो । अधिकारीले फाउण्डेशनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै सङ्घ र प्रदेशसँग समन्वय गरेर रङ्गशाला निर्माण गर्न लागिएको बताउनुभयो ।

मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्...

थप पढ्नुहोस्

काठमाडौं:  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...

थप पढ्नुहोस्

पोर्चुगल:  वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे ब...

थप पढ्नुहोस्