नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्वपूर्ण भूमिका: प्रदेश प्रमुख भट्ट

पाेखरा | असार २९, २०८१

नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्वपूर्ण भूमिका: प्रदेश प्रमुख भट्ट

पोखरा:     गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ ।


आदिकवि भानुभक्तको २११ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले पोखरामा आयोजना गरेको भानु विशेष समारोहमा प्रमुख अतिथि भट्टले नेपाली भाषाका आदिकवि भानुभक्तलाई सबैले स्मरण गर्नुपर्ने बताउनुभयो ।


भानुका कृति सामाजिक कल्याणका लागि समर्पित,जातीय एकताका प्रतीक र क्रान्तिका मुख्य आधार मान्न सकिने भन्दै उहाँले आदिकवि भानुभक्तले नै छरिएर रहेको नेपाली भाषालाई एकीकरण गर्ने काम गरेको उल्लेख गर्नुभयो ।


‘नेपाल राष्ट्रलाई भावनात्मक रूपले एकीकृत गर्न र नेपालीपनको पहिचान गराउन भानुको महत्वपूर्ण योगदान रहेको छ । उहाँका सिर्जनाबाट नेपाली भाषाको उन्नयन, प्रवर्द्धन  र मानकीकरण भई नेपाली राष्ट्रियतालाई बलियो पार्नमा सर्वोपरि योगदान पुगेको छ ।’ भट्टले  भन्नुभयो – ‘भानुभक्तको सबैभन्दा ठूलो योगदान वाल्मिकी रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर ठूलो जनसंख्यामा पुर्‍याउनु रहेको छ । नेपाल र विश्वभरका नेपालीभाषी रहेका क्षेत्रमा हाम्रो भाषा तथा साहित्य फैलाउन सेतु बन्नुभएको छ ।’ 


आजको दिन साहित्यिक, सांस्कृतिक, शैक्षिक तथा सामुदायिक संस्थाहरूले आदिकवि भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम गरिरहेको र यस्ता उत्सवले युवा पुस्तामा साहित्यिक भोक जगाउने र भाषाप्रति सम्मान तथा नेपाली भाषाप्रति गौरव बढाउन मद्धत पुग्ने विश्वास प्रदेश प्रमुख भट्टको छ ।


आदिकवि भानुभक्तसँग जोडिएका विभिन्न ठाउँहरुलाई जोडेर साहित्य पर्यटनको माध्यमबाट अगाडि बढ्न सके मुलुकको समृद्धिमा सहयोग पुग्ने भन्दै भट्टले हामी आफ्नो मातृभाषाको शक्ति एवं महत्व जगाउन र आदिकविको विरासतलाई संरक्षण गर्दै अगाडि बढाउन आ–आफ्नो ठाउँबाट दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।  


उक्त अवसरमा प्रदेश प्रमुख भट्टले पृथ्वी नारायण क्याम्पसमा नेपाली विषयमा सर्वोत्कृष्ट विद्यार्थी रामबहादुर कुमाल र नेपाली विषयमा लामो समय पढाउनुभएकी पोखरा २६ स्थित लक्ष्मी माविकी शिक्षिका ईश्वरीकुमारी जिसीलाई आयोजकका तर्फबाट नगदसहित सम्मान गर्नुभएको थियो ।  


यस्तै, भानु वाङ्मय प्रतिष्ठानको भवन निर्माणका लागि सहयोग स्वरुप प्रदेश प्रमुख भट्टले व्यक्तिगत रूपमा नगद २० हजारको चेक स्वकीय अधिकृत ललित ओझामार्फत् प्रतिष्ठानका अध्यक्ष साहित्यकार सरुभक्तलाई प्रदान पनि गर्नुभयो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्