ई–ड्राइभको गण्डकीमा सेवा विस्तार, आफ्नै विद्युतीय सवारी चलाउने

पाेखरा | असार १५, २०८१

ई–ड्राइभको गण्डकीमा सेवा विस्तार, आफ्नै विद्युतीय सवारी चलाउने

पोखरा:    प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ ।  


ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो ।  


गण्डकीका १० जना युवाको पहलमा एप सञ्चालनमा ल्याएको ई–ड्राइभले केही समयमै सेवा शुभारम्भ गर्नेछ ।


यात्रुले प्लेस्टोर र एपस्टोरको माध्यमबाटबाट ई–ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट आवश्यकता अनुसार सवारीसाधन बुक गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको ई–ड्राइभ गण्डकीका अध्यक्ष भीमसेन कार्कीले जानकारी दिए । 


‘पहिलो चरणमा पोखरामा विद्युतीय कार, मोटरसाइकल, स्कुटरजस्ता सवारीमार्फत सेवा दिनेछौं । पोखरामा २५ वटा आफ्नै विद्युतीय सवारी सञ्चालनमा ल्याइनेछ’, कार्कीले भने ।


एक हजार बढी मोटरसाइकल र स्कुटरसँगै भाडाका सवारीसाधन कम्पनीसँग आबद्ध भएको उनले जानकारी दिए । आवद्ध हुन चाहने थप सवारीले एप डाउनलोड गरेर रजिस्ट्रेसन गर्न सक्ने उनको भनाइ थियो ।


भाडाका सवारीसाधन सरकारले तोकेकै दरमा प्रयोग हुने कार्कीले बताए ।  उनले थपे, ‘७० वर्ष पूरा भएका वृद्धवृद्धा, अशक्त, अपांग, सुत्केरी, महिला, विद्यार्थी र दैवि प्रकोपमा परेकालाई छुटसहितको सेवा दिनलाई कम्पनी प्रतिबद्ध छ ।’


विद्युतीय एम्बुलेन्स संचालनमा ल्याउने प्रालिको योजना छ । एम्बुलेन्सले गरिव विपन्न वर्गलाई सामाजिक उत्तरदायित्व बहन गर्दै निशुल्क सेवा प्रदान गर्ने तयारीमा छ ।


यात्रुको सुरक्षालाई ध्यानमा राखेर ई–ड्राइभमा नेभिगेशन प्रणाली प्रयोग गरिएकाले कुन सवारी साधन कहाँ छ ? भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने अध्यक्ष कार्कीले उल्लेख गरे । ‘यात्रुले यात्राका क्रममा आफुलाई असुरक्षित महसुस गरेमा एपबाटै आकस्मिक बटन थिचेर प्रहरी र ई–ड्राइभ कन्ट्रोल रुममा जानकारी दिन मिल्नेछ’, उनले भने, ‘यो एपबाटै ३ जना आफन्तलाई लोकेसन शेयर गर्न मिल्ने फिचरसमेत उपलव्ध छ ।’


ई–ड्राइभ नेपालमा दर्ता भएका सवारी प्रयोग गर्दा यात्रु पूर्ण रुपमा सुरक्षित रहने दाबी गरिएकोे छ । सबै सवारीको नियन्त्रण कम्पनीसँग हुने भएकाले सेवाग्राहीमैत्री रहेकोे ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले बताउँछन् ।


उनका अनुुुसार दुर्घटनाको जोखिमलाई ध्यान दिएर ई–ड्राइभ सुविधा लिने चालक र सेवाग्राही दुवैको ७ लाख रुपैयाँ बराबरको बिमा गरिनेछ । ७० हजार रुपैयाँसम्मको उपचार खर्चको व्यवस्था कम्पनिले गर्ने उल्लेख गरेको छ । 


ई–ड्राइभले काठमाडौं उपत्यका र लुम्बिनी प्रदेशको बुटवल र भैरहवामा सेवा दिदैं आइरहेको छ । गण्डकी प्रदेशसँगै कोशी प्रदेश र लुम्बिनीको नेपालगन्जमा सेवा विस्तारको चरणमा हो । 


आम नागरिकलाई सरल, सहज र विश्वसनीय सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको मास्केले बताए । ‘अर्कोतर्फ नेपालमै बनेको एप भएकाले सेवाग्राहीको डेटा विदेशिने डर हँुदैन । ई–ड्राइभले पाउने सेवा शुल्कको १० प्रतिशत सिधैं सरकारलाई भुक्तानी गर्नेछौैं’, उनले भने, ‘स्वदेशमै निर्मित एप भएका कारण जे जति आम्दानी हुनेछ त्यो विदेशिने छैन । यसले अर्थतन्त्र चलायमान बनाउनुका साथै युवा पलायन रोक्न सघाउने छ ।’


वातावरणमैत्री विद्युतिय सवारीलाई सञ्चालनमा ल्याएर पर्यावरणमैत्री शहर निर्माणमा सघाउने उदेश्य रहेको उनले बताए । 


ई–ड्राइभ नेपालका अध्यक्ष मास्केले बजारमा भएका ट्याक्सी समितिसँग भिड्न नभइ सहजीकरण गर्न आएको बताए । ‘ट्याक्सी चालकको रोजरोटी खोस्न आए, भिँड्न आए भनेर जुन चर्चा भइरहेको छ । यी कुराहरु नितान्त गलत हो । हामी उहाँहरुलाई सहजीकरण गर्न आएका हौं’, उनले भने । 


उनले सबै प्रक्रिया पूरा गरेर दर्ता गरेकाले अब सरकारको तर्फबाट बन्ने कार्यविधीको पखाईमा रहेको उल्लेख गरे । 
 

पोखरा:    पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीबाट राष्ट्रिय सेवा दल (एनसिसी) को प्रशिक्षणमा सहभागी विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।  विद्यालयको सभाकक्षमा आयो...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  साना तथा मझौला व्यवसायी महासंघ ...

थप पढ्नुहोस्

पोखरा:     ‘पोखराबाट जोमसोम लागि उडेको तारा एअरको जहाज सम्पर्क बिहिन’ खवर झुटो भएको तारा एअरले जनाएको छ ।  आज दिउँसो सामाजिक सञ्जालमा  ‘पोखराबाट जोमसोम ...

थप पढ्नुहोस्