पोखरा महानगरले सहरी वन प्रवर्द्धन गर्न २ लाख २६ हजार बिरुवा रोप्ने

पाेखरा | जेठ २२, २०८१

पोखरा महानगरले सहरी वन प्रवर्द्धन गर्न २ लाख २६ हजार बिरुवा रोप्ने

पोखरा:      पोखरा महानगरपालिकालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीति सहितको अध्ययन प्रतिवेदन महानगरपालिकाले बुझेको छ । 


वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा.शेषकान्त भण्डारीको संयोजकत्वमा गठित कार्यदलले सो प्रतिवेदन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई बुझाएको हो । 


प्रतिवेदनमा महानगर क्षेत्रको ७ सय कि.मी सडक तथा राजमार्ग, झन्डै ६९ कि.मी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवाहरू लगाइने छ । 


सहरी वन विकास तथा हरियाली प्रवर्द्धनका लागि वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लाली गुराँस, असारे, आँप, अमला, अशोका, कल्की फुल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौँ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरा लगायत बिरुवाहरू लगाइने छ ।  


महानगर क्षेत्रमा २ लाख २६ हजार २६१ बिरुवाहरू लगाइनेछ । जस अन्तरगत सार्वजनिक खुला क्षेत्रमा ७३ हजार ४९० र सडक, नदी तथा खोला किनारमा १ लाख ५२ हजार ७७१ वटा बिरुवाहरू लगाउन सकिने कार्यदलका संयोजक डा।भण्डारीले बताउनुभयो । सहरी वन व्यवस्थापनमा पूर्वाधारको अभाव, मानवीय अतिक्रमण, जनचेतनाको कमी, कानुनी जटिलता, जनशक्ति अभाव, प्राविधिक उपकरणको अभाव, अन्तर निकाय समन्वयको अभाव र मौजुदा व्यवस्थाहरू कार्यान्वयनको  कमजोर अवस्था लगायत चुनौतीहरू रहेको प्रतिवेदनमा औँल्याइएको छ ।


प्रतिवेदनमा बिरुवा रोप्ने खाडल र बिरुवाको आकार, माटो, बिरुवा रोप्ने समय, वृक्षारोपण अभियानमा सृजनात्मक तरिका तथा प्रोत्साहनजनक कार्यहरू, मल्चिङ, बिरुवाको नाम लगायतको विवरण अभिलेखीकरण, ट्रि गार्ड, सरोकारवालाको निक्र्यौल, सहरी वनलाई सबल बनाउने उपायहरूको अवलम्बन, जनचेतना अभिवृद्धि, दण्ड, जरिवाना र क्षतिपूर्ति लगायतको व्यवस्था गर्न आवश्यक रहेको जनाइएको छ । 


महानगर क्षेत्रमा सहरी वनको व्यवस्थापन आवश्यक रहेको र खाली तथा खुला स्थानहरूमा वृक्षारोपण गर्नुपर्ने भएकाले विज्ञहरूको कार्यदल बनाई सम्भावित स्थानहरुको पहिचान गरिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । 


हरित सहरको निर्माण केवल हरियालीसँग मात्र नजोडिने भन्दै प्रमुख आचार्यले यो वातावरणीय स्वच्छता प्रति स्थानीय सरकारको प्रतिबद्धता समेत भएको बताउनुभयो । प्रतिवेदनले पोखरालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न माइल स्टोनको रूपमा काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । आफूहरू यसको कार्यान्वयनका लागि तत्काल काम थाल्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । 


नगर प्रमुख आचार्यको विशेष पहलमा पोखरा महानगरको सहरी वन कार्यक्रमलाई सुदृढ गर्न र र स्वच्छ सहर हरित सहरको लक्ष्य हासिल गर्न, सम्भावित वृक्षारोपण स्थलहरू पहिचान गर्न, सहरी वन कार्यक्रम प्रवर्द्धन गर्न, उपयुक्त वनस्पति प्रजातिहरू पहिचान गर्ने र महानगर क्षेत्रमा वृक्षारोपण सम्भाव्यताको योजना तयार गर्ने उद्देश्यले उप प्राध्यापक डा.भण्डारी सहित उप प्राध्यापक सुमन भट्टराई र उप प्राध्यापक विकास अधिकारी सम्मिलित अध्ययन टोली गठन गरिएको थियो ।


रैथाने प्रजाति, स्थानीय बासिन्दाको रोजाई, सौन्दर्ययता बढाउने प्रजाति, सदाबहार प्रजाति, धार्मिक महत्वका प्रजाति, पोखरा महानगर भित्र राम्रोसँग हुर्किरहेका प्रजाति, हावाहुरीबाट सजिलै नभाँचिने प्रजातिका आधारमा वृक्षारोपण गरिने बिरुवाका प्रजातिहरू छनौट गरिएको कार्यदलले बताएको छ । 
 

नवलपरासी:     पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको छ ।       बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछ...

थप पढ्नुहोस्

ढोरपाटन:   उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिनुभयो । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाउनुभय...

थप पढ्नुहोस्

कञ्चनपुर:    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ ।  प्राकृतिक कारणले हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउन...

थप पढ्नुहोस्