लेखनाथमा निर्माणाधिन सरुवा रोग अस्पतालको काम सुस्त

पाेखरा | जेठ ९, २०८१

लेखनाथमा निर्माणाधिन सरुवा रोग अस्पतालको काम सुस्त (शिलान्यासपछिको तस्बिर)

लेखनाथ:    पोखरा महानगरपालिका ३० मोहोरियास्थित संक्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माण कार्यले गति लिन सकेको छैन ।

 

ठेक्का सम्झौता अनुसार आगामी असारभित्र भवन निर्माण गरिसक्नुपर्नेमा हालसम्म ५२ प्रतिशतमात्र भौतिक प्रगति र ५५ प्रतिशत वित्तीय प्रगति भएको छ ।


गण्डकी प्रदेश सरकारले बहुवर्षीय आयोजनामा समेटेको अस्पताल भवन निर्माण कार्य ‘यम–धुलिखेल–प्याराडाइज जेभी’ले गरिरहेको छ ।

 

वि.सं.२०७८ असारमा २८ मा ३ वर्षमा निर्माण सक्ने सम्झौता भए पनि निर्माण कार्यले गति लिन नसकेको प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयले जनाएको छ ।


कार्यालयका निमित्त प्रमुख रवीन्द्र तिवारीले प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि निर्माण कम्पनीले सोचे जसरी काम देखाउन सकेको जनाए ।

 

गत आर्थिक वर्षसम्म भवन निर्माणमा १२ करोड ३८ लाख खर्च भइसकेको छ । चालु आवमा थप ५ करोड विनियोजन गरिएको थियो, जसमध्ये हालसम्म ४ करोड बराबरको काम पनि नभएको निमित्त प्रमुख तिवारीले जानकारी दिए ।


‘अब जति तीव्र गतिमा काम गरे पनि आगामी असारभित्र १ करोडको काम हुने अवस्था छैन । निर्माण कम्पनीले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा काममा ढिलासुस्ती भइरहेको हो’, उनी भन्छन् । कम्पनीले ३० करोड २० लाखको लागतमा ४ तलाका ३ वटा ‘ब्लक’ निर्माणको ठेक्का पाएको छ ।


सरकारले प्रदेशकै पहिलो संक्रामक तथा सरुवा रोग अस्पताल भएकाले भवन निर्माणमा बजेट अभाव हुन नदिने बताउँदै आएको छ । निर्माण कम्पनीका प्राविधिक वीरेन्द्र जिसीले भने आगामी असारभित्र विनियोजित बजेट अनुसार काम हुने बताए ।

 

उनले यसरी नै बजेट विनियोजन गर्दा भवनले पूर्णता पाउन अझै ३ वर्षजति लाग्ने भन्दै बजेट र भुक्तानी प्रक्रियालाई सहज बनाउन आग्रह गरे ।

 

सुरुको वर्ष जग्गा व्यवस्थापन, पर्खाल र जग निर्माणले समय बढी लिएको उनको दाबी छ ।

 

“आगामी वर्षदेखि बजेट बढाएमा आफूहरू समयमै काम गर्न तयार छौँ । अहिले पनि ढलानलगायतका काम भइरहेका छन् ।” २० वर्षअघि सञ्चालनमा ल्याइएको लेखनाथ सामुदायिक लायन्स अस्पताल चार वर्षअघि गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।

 

प्रदेश सरकारले सोही अस्पताललाई सङ्क्रामक तथा सरुवा रोग अस्पतालको रूपमा विकास गरिरहेको छ ।

 

१५ शय्याबाट सुरु गरिएको उक्त अस्पतालको क्षमता हाल ५० शय्याको छ । अस्पतालले बहिरङ्ग र अन्तरङ्ग सेवा दिँदै आएको छ ।

 

एक सय रोपनी क्षेत्रफलमा फैलिएको अस्पताल हाल पुरानै भवनबाट सञ्चालन भइरहेको छ ।

काठमाडौं:    संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ ।  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्के...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको चाहनाअनुरुप समयानुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।  सो पार्टीको संसदीय दलले आज यहाँ आयोजन...

थप पढ्नुहोस्

गण्डकी:    गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  गण्डकी प्रदेश सरकारद्वा...

थप पढ्नुहोस्