हात्तीको आक्रमणबाट पाँच महिनामा छ जनाको मृत्यु
झापा | चैत १८, २०८०
सांकेतिक तस्वीर
झापाः दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।
हात्तीले जङ्गलमा घाँस दाउरा गएका, ‘वर्निङवाक’मा रहेका र घरमै सुतिरहेको अवस्थामा उनीहरुलाई कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।
कार्यालयका प्रमुख मेघराज राईका अनुसार यही साता मात्र जङ्गली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ । गत शुक्रबार राति कमल गाउँपालिका–५ की ५८ वर्षीया खड्गमाया माबो, र बुधबार साँझ शिवसताक्षी–११ का ६० वर्षीया पवित्रा भेटुवालको हात्तीको आक्रमणम मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
एक सातामै छिमेकी पालिकाका दुई महिलाको मृत्यु भएपछि स्थानीयवासी त्रासमा छन् । हात्तीले कुन बेला कसलाई आक्रमण गर्ने हो भनेर रातभर निदाउन नसकिरहेको कमल–५ की ७० वर्षीया रुमा सुब्बाले बताउनुभयो ।
जिल्लाका १५ वटै पालिका हात्ती प्रभावित क्षेत्रमा पर्छ । जसमध्ये यस अवधिमा दमक नगरपालिकामा एक जना, शिवसताक्षीमा दुई जना, हल्दिबारीमा दुई जना र कमल गाउँपालिकामा एक जनाको हात्ती आक्रमणबाट मृत्यु भएको छ ।
पछिल्लो समय झापालगायत मोरङ र सुनसरी जिल्लामा जङ्गली हात्तीको बिगबिगी बढेको छ । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका २९ वटा जङ्गली हात्ती नफर्किएका कारण तीन जिल्लाको जनजीवन त्रस्त बनेको छ । हाल तीन जिल्लामा ६० वटाभन्दा बढी जङ्गली हात्ती रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

