उपचार खर्च तिर्न नसक्दा ६ महिनादेखि अस्पतालमै छन् दुर्गाप्रसाद

इलाम | पुस १८, २०८०

उपचार खर्च तिर्न नसक्दा ६ महिनादेखि अस्पतालमै छन् दुर्गाप्रसाद

इलाम:   भारतको दमदम जेलमा ४० वर्ष बसेपछि निर्दोष साबित भई २०७७ मा नेपाल फर्केका इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना ६ महिनादेखि अस्पतालमै छन्।


०७७ चैतमा नेपाल ल्याइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए।


६ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि घर ल्याउन नसकिएको दुर्गाप्रसादको भतिजा गोपाल तिम्सिनाले बताए।


डाक्टरले घर लैजाँदा हुन्छ भनेपनि अहिलेसम्मको बिल तिर्ने पैसा नहुँदा दुर्गाप्रसादलाई अस्पतालबाट निकाल्न नसकिएको उनले बताए।


‘उपचारमा सात लाख १५ हजार खर्च भएको थियो,’ गोपालले भने, ‘तीन लाख रुपैयाँ बुझायौँ, बाँकी चार लाख १५ हजार रुपैयाँ नहुँदा ठूलोबुबा अस्पतालमै बस्नुपरेको छ। पैसा नतिरी उहाँलाई अस्पतालबाट ल्याउन सकिँदैन।’


गोपालका अनुसार त्यो पनि ६ महिनाअघिको हिसाब हो। अहिले कति पुग्यो भन्ने थाहा नभएको उनले बताए।


‘अस्पतालले बारम्बार फोन गरिरहेको छ, त्यतिका पैसा कसरी जोहो गर्नु,’ उनले भने।


भारतीय उच्च अदालतको आदेशबाट क्षतिपूर्तिवापत प्राप्त रकम यसअघि नै उपचारमा खर्च भइसकेको गोपाल बताउँछन्।


थप उपचारका लागि इलामस्थित मानवअधिकार मञ्चले समेत दुर्गाप्रसादलाई अस्पतालसम्म लैजान सहयोग गरेको तर अहिले रकम नहुँदा अस्पतालबाट निकाल्न नसकिएको गोपालको भनाइ छ।


दुर्गाप्रसाद जेलबाट छुटेर आएपछि उनीमा मानसिक समस्या देखिएकाले विराटनगरमा समेत १७ दिन उपचार गरिएको गोपालले बताए।


‘विराटनगरमा गरिएको उपचारले समेत निको नभएपछि चितवन लगिएको हो,’ उनले भने, ‘अहिले चाहिँ निको भइसकेको बिरामीलाई अस्पतालबाट निकाल्न सकिएको छैन।’


इलामको माई नगरपालिका १०, लुम्बाक घर भएका दुर्गाप्रसादलाई २०७७ साल चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो।


उनी २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए।


घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी २०७७ साल फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला परेका थिए।


उनलाई  विभिन्न सङ्घसंस्थाको पहलमा २०७७ साल चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो। अहिले उनकी आमाको निधन भइसकेको छ।


इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो।


कोशी प्रदेश सरकारले उनको केही उपचार निःशुल्क गरिदिएको थियो। उनको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार रुपैयाँ नगद प्रदान गरेको थियो। 


लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त रहेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताए।

पोखरा:   ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्...

थप पढ्नुहोस्

बझाङ:   बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो ।  ...

थप पढ्नुहोस्

भोजपुर:     भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा...

थप पढ्नुहोस्