कम्युनिष्टबाट कर्मनिष्टको यात्रामा ‘भूपि’
पाेखरा | पुस १०, २०८०
सुनिल उलक
पोखरा, पुस १०: भूपि शेरचनको जन्म बि.सं. १९९२ पौष १० गते मुस्ताङ जिल्लाको टुकुचेमा भएको थियो । जन्मको नाम भुपेन्द्रमान शेरचन भए पनि शुरूमा भुपेन्द्रमान शेरचन्द ‘सर्वहारा’ नामबाट कविता लेखेका थिए । ‘घुम्ने मेच माथि अन्धो मान्छे’को प्रकाशन गर्दा भूपि शेरचन लेख्न थालेका हुन् र यहि नामले सर्वाधिक चर्चित पनि भए ।
राणाकालमा बि.सं. १९०७ तिर जंगबहादुरले सरकारी कर्मचारीलाई थाकखोलामा थकालीहरूलाई भरियाको रूपमा भर्ना गर्न पठाए तर कोबाङका बलबिर तथा धन्साराम थकालीले त्यस बिरूद्ध उजुरी गरे । त्यसपछि थकालीलाई सैनिकको रूपमा मात्र राख्ने त्यसबेलाको राणा सरकारले सम्झौता गरे ।
बलबीर थकालीले भोटसंगको युद्धमा दोभाषेको रूपमा काम पाए । यो जंगबहादुरको समय थियो । युद्धमा उनको योगदानलाई कदर गर्दै बौद्ध धार्मिक ग्रन्थ काङ्ग्यूर र टेङ्ग्यूरको पाण्डुलिपि उपहार दिए । १९१७ मा भोटको नुन तथा अन्य बस्तुको बिक्रीको कर उठाउने ठेकेदारी पाएका चम्पासिंह खड्का क्षेत्रीको सहयोगीकारूपमा बलबीरले काम पाए ।
उनलाई बिभिन्न आरोपमा समातेर जेलमा राख्दा भागेर काठमाडौ गई जंगबहादुरलाई बिन्तिपत्र चढाए पछि उनका दुश्मनहरू सबै समातिए साथै ब्यापारको सीमा पनि कास्कीसम्म भयो । यहि समयमा २ सय १६ थकाली परिवारहरू थाकखोलाबाट बाहिर कास्की तथा लमजुङमा बसाइ सरे । बि.सं. १९२५ मा दानामा भोटको ब्यापारको भन्सार रकम उठाउने ठेकेदारी यिनै बलबरि थकालीले पाएपछि परिवारको जीवनस्तर निकै उकासिन थाल्यो ।
यिनै बलबीर थकाली नै भूपी शेरचनका बुढा जिजुबाजे हुन् । उनका जिजुबाजे कविराम कोवाङबाट टुकुचेमा बसाइ सरेका थिए । थाकखोला, कोवाङ तथा टुकुचेमा सर्वाधिक धनी तथा राणाबाट सुब्बाको पद पाएका परिवार भएकोले भूपीको शान पनि कुनै राणाको भन्दा कम थिएन ।
उनकै जेठो दाजु अनंगमान शेरचनले पनि निकै समय भैरहवा भन्सारको ठेकेदारी पाएका थिए । यसरी पारिवारिक रूपले सम्पन्न भूपीले भने बाल्यकाल रमाइलो गरी बिताउन पाएनन् । भूपि भन्दा माथि चार छोराको जन्म भइसकेकोले उनका बाबु हितमान शेरचन छोरीको चाहनामा थिए । तर छोराको जन्म त्यो पनि मूल (औसी) मा परेको भनि बाबुको उपेक्षा रह्यो ।
एउटै माया गर्ने आमाको पनि पाँच वर्षको हँुदा नै मृत्युले अझ मायाको अभावमा हुर्के । १०–१२ वर्षको उमेरबाटै बनारस पढ्न गएका उनको त्यहिबाट नै चुरोट तथा रक्सीको लत लाग्यो । यहि नै माक्र्सवादी चिन्तनको प्रभावमा परे जसको असर उनका कविताहरूमा स्पष्ट देख्न सकिन्छ ।
२०१२ मा सानै उमेरमा पारिवारिक दबाबमा बिबाह बन्धनमा बाँधिएका उनी पछि स्वेच्छाले राणा परिवारसंग बिबाह बन्धनमा गाँसिए ।
चालीस हजारमा बाबु हितमान शेरचनले किन्नु भएको राणा वडाहाकिम धनशम्शेरको पोखराको सेतो दरबार नै उनको निवास भए पनि कान्छी बिबाह गरे पछि अधिकांश समय काठमाडौ नै बसे । उनले आफुलाई यसरी वर्णित गर्थे ‘औंसीमा जन्मी मूलमा पर्नु, किशोरावस्थामा कम्युनिस्ट भएर भूलमा पर्नु र अहिले कर्मनिस्ट हुनु ।’
यसरी बिभिन्न आरोह–अवरोहपछि २०४६ जेठ १ गते सदाको लागि संसारबाट बिदा लिए ।
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

