दशैंमा ऋण लागेपछि सुन खोज्न त्रिशूलीतिर हिँडे बोटे समुदाय

तनहुँ | कात्तिक १२, २०८०

दशैंमा ऋण लागेपछि सुन खोज्न त्रिशूलीतिर हिँडे बोटे समुदाय

तनहुँ:    दशैं मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारतर्फ लागेका छन् ।


‘दशैंमा जुटाएको दामले घर खर्च भ्याएन । तीसरचालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्‍यो’, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारतर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण खर्च जुटाउन यता आएको हुँ । आइतबार बिहानैबाट सुन खोज्ने काम गर्नुपर्ला ।’


पचपन्न वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी पाँच जना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले बताए ।


मादी किनारमा पर्ने कोमलटारीमा करिब ४० घर बोटेको बसोबास छ । यहाँका करिब २५ घरका बोटे त्रिशूली, कालीगण्डकी, बुढीगण्डकी र मर्स्याङ्दी किनारामा सुन खोज्न जाने गर्छन् ।


प्रायः सुन खोज्न जाँदा श्रीमान्–श्रीमतीसहितका परिवार भएर जाने चलन रहेको हर्कबहादुरले जानकारी दिए ।


सुन खोज्न जानेले काठको डुँड, बाँसको चनौटो र बालुवा हाल्ने विशेष खालको सामान (पाटी) अनिवार्य रूपमा लैजानुपर्दछ ।


सुन खोज्दा नदी किनारमा प्रायः दुई जनाले मिलेर बालुवा छान्नु पर्छ । घरबाटै त्रिपाल, भाँडावर्तन, लत्ताकपडा लैजाने र नदी किनारामै पाल टाँगेर रात बिताउने गरिएको सुन खोज्न त्रिशूली किनारामा पुगेका कमल बोटेले बताए ।


बालुवा चाल्ने क्रममा महिनाको करिब २० हजार बराबरको काँचो सुन सङ्कलन हुनेसमेत कमलले जानकारी दिए ।


घरमा मकैखेतीसमेत गरेकाले खेती थन्क्याएर तिहारलगत्तै आफू सुन चाल्न त्रिशूली किनारामा जाने योजना बनाएको ६५ वर्षीय वीरबहादुर बोटेले बताए । करिब ४५÷५० दिन सुन चालेर घर फर्किने गरेको उनको भनाइ छ ।


‘अब तिहार मानेर सुन खोज्न जाने योजनामा छु’, उनले भने, ‘माघे सङ्क्रान्ति मान्न घर फर्किँदा त्यस्तै रु २५/३० हजार हातमा पर्ला कि भन्ने विश्वासमा छु । मेहनतको कुरा हो यसै भन्न सकिँदैन ।’


पहिले मादी नदीमा पनि सुन चाल्ने गरिए पनि सुन पाउन छाडेपछि आफूहरू अन्य नदीमा जानुपरेको बोटेहरूको भनाइ छ ।


सुन चाल्ने पेसालाई राज्यले पनि संरक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्दा नयाँ पुस्ताले सिक्न नचाहेको समेत वीरबहादुरले सुनाए ।


यहाँका बोटेहरूले निर्वाहमुखी कृषि पेसासँगै बालुवामा सुन खोज्ने कार्यलाई पनि पेसाकै रूपमा अँगाल्दै आएका छन् ।

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्