मुस्लिम अगुवाले लगाए हिन्दूको हातबाट दशैंको टीका

नेपालगञ्ज | कात्तिक ८, २०८०

मुस्लिम अगुवाले लगाए हिन्दूको हातबाट दशैंको टीका मान्यजनबाट दसैंको टीका थाप्दै मुस्लिम अगुवा अब्दुल मन्सुरी । तस्विर : सिराज खान


नेपालगन्ज: सदभावको सहरको रुपमा परिचित नेपालगन्जमा बडादसैंको दिन शुभसाइतमा मङ्गलवार मुस्लिम समुदायका अगुवाहरुले पनि मान्यजनबाट टीका जमरा थापेर दसैं मनाएका छन् । 

 

मुस्लिमको चाडपर्वमा हिन्दुहरु रमाउने र हिन्दुहरुको चाडपर्वमा मुस्लिमहरु रमाउने परम्परालाई कायम राख्दै मुस्लिम अगुवाहरुले दसैंको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिएका हुन् । 

 

यहाँका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले मङ्गलवार हिन्दु समुदायका मान्यजनबाट दसैंको टीका थाप्नुभयो । उहाँले दसैं, तिहार, रक्षाबन्धन, होली, दीपावलीजस्ता चाडपर्वहरु सधैं यसैगरी मिलेर मनाउने गरेको बताउनुभयो । 

 

मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दु समुदायका मान्यजनलाई बोलाएर उहाँहरुसँग रमाउने गरेको पनि अगुवा मन्सुरीले बताउनुभयो । 

 

हिन्दु र मुस्लिम समुदायले वर्षौदेखि सँगै मिलेर एकआपसमा दुबै समुदायका चाडपर्व मनाउँदै आएको उहाँको भनाइ छ । 

 

सोही प्रकारले बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्दिकीले पनि दसैंमा हिन्दु समुदायका आफन्त र मान्यजनबाट टीका थाप्नुभएको छ भने उहाँले पनि आफुभन्दा सानालाई टीका लगाइदिनुभएको छ । 

 

उहाँले वर्षौदेखि आफूले दुबै समुदायका चाडपर्वमा रमाउनेगरेको जनाउँदै एकअर्कासँग मिलेर सँगै मनाउने गरेको बताउनुभयो । हिन्दुले मुस्लिमको चाडमा सहभागी हुने र मुस्लिमले हिन्दुको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा बनिसकेको अगुवा सिद्दिकीको भनाइ छ । 

 

उहाँले यहाँ बर्षौदेखि दुबै समुदाय अति नै राम्रोसँग मिलेर बसेको जनाउँदै दुबै समुदायवीच निकै राम्रो सम्बन्ध र घनिष्टता रहेको बताउनुभयो । सोही प्रकारले अर्का मुस्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दसैंमा टीका जमरा लगाएर आशीर्वाद लिएको बताउनुभयो । 

 

उहाँले सबैका चाडपर्वलाई सम्मान गरेर सामेल भई मनाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो । हिन्दु समुदायका अगुवा कृष्णप्रसाद श्रेष्ठले नेपालगन्जमा एकअर्काको चाडपर्वलाई मिलेर मनाउने निकै राम्रो परम्परा रहेको जनाउँदै आफुले पनि मुस्लिमका पर्वहरुमा उनीहरुको घरमै पुगेर मनाउँदैआएको बताउनुभयो । 

 

उहाँले यहाँ दुबै समुदायवीच अभूतपूर्व एकता र सदभाव रहेको जनाउँदै कहिलेकाहीं बाहिरी हावाले गर्दा केही वातावरण धुमलिने पनि दुबै समुदायले मिलेर फेरि वातावरण सफा गर्दै आएको बताउनुभयो । सोही प्रकारले मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीलाई भेटेर दसैंको शुभकामना दिनुभएको छ । सो अवसरमा सद्भाव र एकताका लागि दुबैले संयुक्त रुपमा सबैसँग आग्रह गर्नुभयो । 

-एजेन्सी


 

काठमाडौं:     मुख्य प्रतिपक्षी  नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ । सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफ...

थप पढ्नुहोस्

पोखरा:     तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ। पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभ...

थप पढ्नुहोस्

डोटी:     जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको...

थप पढ्नुहोस्