नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड
काठमाडाैं | भदौ १, २०८०
काठमाडौं: नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपियाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपियाँ नाफा आर्जन गरेको जानकारी दिएको हो ।
त्यसै सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपियाँ पुगेको बताइएको छ । प्राधिकरणको ३८ औँ वार्षिक उत्सवमा बोल्नुहुँदै प्रबन्ध निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७२/०७३ सम्म आइपुग्दा वार्षिक घाटा आठ अर्ब ९० करोड रुपियाँ र सञ्चित नोक्सानी बढेर ३४ अर्ब ६१ करोड रुपियाँ पुगेको उल्लेख गर्नुहुँर्दै आर्थिक वर्ष ०७३/०७४ मा एक अर्ब ५० करोड रुपियाँ खुद मुनाफा आर्जन गरी प्राधिकरणले नाफा कमाउन सुरु गरेको बताउनुभयो ।
प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणको शेयर सर्वसाधारणलाई समेत जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तीय पुनःसंरचना प्रस्ताव स्वीकृतिका लागि सरकारसमक्ष पेश गरिएको जानकारी दिनुभयो । उहाँले प्राधिकरणको प्राथमिक शेयर सर्वसाधारणलाई निष्काशन गरी सङ्कलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिने बताउनुभयो ।
‘‘गत आर्थिक वर्षसम्म आइपुग्दा वार्षिक १२ अर्ब ३३ करोड रुपियाँ नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ । सर्वसाधारणलाई समेत शेयर जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तिय पुनः संरचना प्रस्ताव स्वीकृतिका लागि सरकारसमक्ष पेश गरिएको छ । प्राधिकरणको प्राथमिक शेयर सर्वसाधारणलाई निष्काशन गरी सङ्कलन गरिएको रकम मुख्यरुपमा ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिनेछ ।,’’ प्रबन्ध निर्देशक घिसिङले भन्नुभयो, ‘‘प्राधिकरणको सम्पूर्ण सम्पतिको वास्तविक मूल्याङ्कन गराइएको छ भने क्रेडिट रेटिङ गर्ने संस्था इक्रा नेपालले प्राधिकरणको समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ दिएको छ । संस्थाभित्रको आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको छ ।’’
प्रबन्ध निर्देशक घिसिङले संस्थाभित्र आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको जानकारी दिनुभयो । उहाँले प्रशासन तथा वितरण चुहावट १३।४६ प्रतिशतमा सीमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएको बताउनुभयो ।
‘‘प्राधिकरणको केन्द्रीय प्रणालीबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत एवम् सौर्य विद्युतबाट करिब ३ प्रतिशत गरी करिब ९८ प्रतिशत जनतामा विद्युत सेवा पुगेको छ । आगामी दुई वर्षभित्र पूर्णरुपमा विद्युतीकरण गर्ने सरकारको कार्यक्रमलाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी आवश्यक कार्य अगाडि बढाइएको छ ।,’’ प्रबन्ध निर्देशक घिसिङले भन्नुभयो, ‘‘वित्तीय अवस्थामा सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत पुर्याउन विद्युतीकरण, विद्युत आपूर्तिलाई पर्याप्त, विश्वसनीय र गुणस्तरीय बनाउन प्रसारण र वितरण तर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवम् सुदृढीकरण, उत्पादन तर्फका रणनीतिक महत्त्वका रुपान्तरणकारी ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत वृद्धि तथा बढी भएको विद्युत निर्यात लगायतलाई उच्च प्राथमिकतामा राखी प्राधिकरणको हरेक गतिविधि अगाडि बढेको छ ।’’
उहाँले हाल ९८ प्रतिशत जनतामा विद्युतको सेवा पुगेको बताउनुभयो । आगामी दुई वर्षभित्र देशभित्र पूर्णरुपमा विद्युतीकरण गर्ने गरी आवश्यक कार्य अगाडि बढाइएको उहाँले जानकारी गराउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

