मुस्ताङमा बाढी: कागबेनीका १५ घर, प्रहरी चौकी र पुल बगायो, उपल्लो मुस्ताङसँगको सम्पर्क टुट्यो
मुस्ताङ | साउन २९, २०८०

मुस्ताङ: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ ।आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्याएको हो । मानवीय क्षति भने भएको छैन ।
कागबेनीको बस्तीमा बाढी पसेको सूचनापछि कागबेनी आएका प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने, ‘१५-१६ घर बगेको बताएका छन् । उनका अनुसार कागबेनी प्रहरी चौकी, कागबेनी र छुसाङ जोड्ने पक्की पुल र केही गाडीहरु पनि बगेका छन् ।’ प्रहरीहरुले हतियार भने जोगाउन सफल भएका छन् । प्रहरीहरु गाउँपालिकाको भवनमा बसेका छन् । कागबेनी र छुसाङ जोड्ने पक्की पुल बगाएपछि कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क टुटेको प्रजिअ केसीले जानकारी दिए । काग खोला मुक्तिनाथ मन्दिर हुँदै आउने खोला हो । यो खोला कागबेनीमा कालीगण्डकी नदीसँग मिसिन्छ ।
राति ठूलो वर्षासँगै खोलामा बाढी आएको थियो । बाढी कागबेनीको बीच बस्तीसम्म पसेको छ । बाढी बस्तीमा पस्न थालेपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका टोलीको सहयोगमा स्थानीयलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी केसीले बताए ।
अहिले पनि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, जनप्रतिनिधि र कर्मचारीहरुको टोली कागबेनी क्षेत्रमा परिचालित छ । कागबेनी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र र प्रसिद्ध धार्मिकस्थलसमेत हो । गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङका अनुसार वस्तीमा बाढी पस्न थालेपछि स्थानीयको भागाभाग भएको थियो । उनले स्थानीयलाई राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको बताए । उनका अनुसार बाढीले कागबेनीको पूजास्थल र बिजुलीका पोलसमेत बगाएको छ । विद्युत सेवा अवरुद्ध छ ।
काठमाडौं: नेपालले आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि जितेको छ । ओमानमा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई एक सय २४...
मुस्ताङ: झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोच...
गलकोट: सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध ...