एजेन्सी: कोपा अमेरिका २०२४ मा अर्जेन्टिना च्याम्पियन बनेको छ । कोलम्बियालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । यससँगै अर्जेन्टिनाले १६ औं पटक उपाधि जित्यो । यसअघि अर्जेन्टिनाले २०२१ मा पनि उपाधि जितेको थियो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले ११२ औं मिनेटमा निर्णायक गोल गरे । उनले प्रतियोगिता अवधिभर ५ गोल गर्दै उत्कृष्ट गोलकर्तासमेत बने । अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधिसमेत जितेको थियो ।
काठमाडौं: स्पेनले चौथोपटक युरो कप २०२४ को उपाधि जितेको छ । बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्डमाथि २–१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनशीपको उपाधि जितेको हो । दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । लामिन यमालको पासमा निको विलियम्सले पहिलो गोल गरे । ७३औं मिनेटमा इङ्ल्यान्डका लागि कोल पालमरले बराबरी गोल गरे । तीन मिनेट अघि मैदान प्रवेश गरेका उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । तर ८६औं मिनेटमा स्पेनले विजयी गोल गर्यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाए । स्पेनको यो चौथो युरो उपाधि हो । इङ्ल्यान्ड भने लगातार दोस्रोपटक पनि युरो कप फाइनलमा पराजित भएको छ । इङ्ल्यान्डले युरो कप उपाधि जित्न सकेको छैन ।
पोखरा: गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, मन्त्रालयका सचिब प्रकाश पौडेल, सदस्य सचिब श्रीधर शर्मालगायतले पुरस्कृत तथा प्रशसापत्रले सम्मान गरेका थिए । सो अवसरमा बोल्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले खेलाडीहरुलाई बधाई संगै शुभकामना व्यक्त गर्दै प्रदेश सरकार खेलकुद विकासका लागि लगानी बढाउन प्रतिवद्ध रहेको जनाएका छन् । आफ्नो सिमित स्रोतहरुको अधिकतम सदुपयोग गर्दै खेलकुदको जग बलियो बनाउन गण्डकी प्रदेश सरकार अघि बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले भने–“गण्डकी प्रदेश सरकार खेलकुदमा अधिकतम लगानी गर्दै खेलाडीहरुको जिवन शुनिश्चित गर्न प्रयासरत छ”, उनले थपे–“सरकारले युवावस्थाबाटै उत्प्रेरणा जगाउन धेरै कार्यक्रमहरु अघि सारेको छं, जसको अधिकतम सदुपयोग गर्दै खेलक्षेत्रको विकासमा अघि बढनु छ ।” मुख्यमन्त्री पाण्डेले खेलकुद क्षेत्र बाट अझै पनि जिविकोपार्जन विषयमा प्रश्नहरु यथावत रहेको धारणा अघि सार्दै त्यसतर्फ वातावरण बनाउन समेत प्रदेश सरकार प्रयासरत रहेको बताउँदै गाँउ–गाँउबाट नै यूवा खेलाडी उत्पादन हुने मुल थलो भएकोले त्यसतर्फ पनि आफ्ना योजनाहरु अघि बढाउने उनले बताए । प्रदेश सरकारले मुस्ताङमा हाइ अल्टिच्यूड खेल मैदानको निर्माण कार्य अघि बढाएको जनाउँदै विभिन्न कल्याणकारी योजनामार्फत सरकार सदैव खेलाडीहरु संगै रहेको सन्देश पनि दिन चाहेको उल्लेख गरे । कार्यक्रममा आफ्ना भनाई राख्दै गण्डकी प्रदेश सरकार सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले खेलकुदबाट नै भविष्य छ भन्ने विषय अहिलेको प्राथमिकताको विषय रहेको उल्लेख गर्दै तीनतह बीचको सरकार खेलकुद विकासमा अघि बढेको बताए । खेलकुद अनुशासित क्षेत्र समेत भएकोले यसले सौहर्दता बढाउने संगै राष्ट्रको गरिमा समेत बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । सरकार खेलाडीहरुको मनोबल बढाउने संगै खेलक्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको मन्त्री थापाको भनाई थियो । सो अवसरमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिब प्रकाश पौडेल, परिषदका सदस्य सचिव श्रीधर शर्मालगायतले आफ्ना भनाई राखेका थिए । पुरस्कृत हुने खेलाडीहरु मध्ये व्यक्तिगत इभेन्टतर्फ स्वर्ण, रजत र काश्य पदक बिजेतालाई क्रमश नगद रु ७, ५ र ३ हजार तथा टिम गेम्सतर्फका लाई क्रमश नगद रु ५, ३ र २ हजारका दरले पुरस्कृत गरिएको थियो ।
काठमाडौं: साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान न्युजर्सीमा सम्पन्न भएको कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गर्दै आफ्नो फाइनल यात्रा पक्का गरेको हो । पहिलो हाफको २३औं मिनेटमा जुलियन अल्भारेजले रोर्डिगो डे पाउलको पासमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १(० ले अगाडी रहेको अर्जेन्टिनाले दोस्रो हाफको ५१औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फर्नान्डेजको पासमा दोस्रो गोल गर्दै फाइनल यात्रा पक्का बनाएका हुन् । लियोनल मेस्सीको कोपा अमेरिकामा यो पहिलो गोल हो । अब अर्जेन्टिनाले दोस्रो हुने सेमिफाइनल कोलम्बिया र उरुग्वेबीचको विजेतासँग फाइनल भिडन्त गर्नेछ ।
पोखरा: नेपालका शीर्ष वरियता प्राप्त प्रदीप खड्का र नेहाल जङ्गबहादुर थापा पोखरामा सम्पन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरीय प्रारम्भिक चरणको टेनिस छनोट प्रतियोगितामा उपविजेता हुँदै छनौंट चरणका लागि छानिएका छन् । खराब मौसमका कारण फाइनल खेल सम्भव नभएपछि आइटीएफ नियम अनुसार दुवैलाई विजेता घोषणा गरिएको हो । उनीहरुलाई नगद २२ हजार ५ सय सहित मेडलले पुरस्कृत गरियो । तेश्रो स्थान हाँसिल गरेका शास्वत बज्रचार्य र अनिल साइले जनही नगद रु ३ हजार ७ सय ५० का साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । सेमिफाइनल खेलमा नेहालले अनिल शाहीलाई ६–३,६–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । यसअघि प्रदिपले शाश्वत बज्राचार्यलाई ६–१, ६–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । यता महिला सिंगल्सतर्फ प्रिती बराल पहिलो भइन् । उनले नगद रु १५ हजार प्राप्त गरिन् । त्यस्तै आरुषी शेरचन दोस्रो भई नगद ७ हजार ५ सय तथा आहना शेरचन र ग्रिष्मा गुरुङ तेस्रो स्थान प्राप्त गर्दै जनही नगद रु ३ हजार ७ सय ५० का साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् । यता पुरुष डबल्सतर्फ प्रदिप खडका र अनिल साईको जोडी पहिलो भएको छ । उनीहरुले निहाल जङ्ग बहादुर थापा र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गरेका थिए । प्रदिपले र अनिलको जोडीले नगद रु २० हजार तथा उपविजेता बनेको निहाल र दर्शिलले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना, गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापन तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताबाट पुरुषतर्फ प्रदिप, नेहाल, अनिल, शाश्वत, दर्शिल, विवेक गर्बुजा, निर्मल मगर र श्रृजन भट्टराई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौंट खेल्न गण्डकीबाट छानिएका छन् । महिलातर्फ प्रिति बराल, आरुषी तुलाचन, गृष्मा गुरुङ, आहना शेरचन, सरिसा शेरचन, जोया गुरुङ, एन्जिला गुरुङ, सुप्रिया गुरुङ उक्त प्रतियोगिताका लागि छनौट भए । प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १६ गरी २४ खेलाडीहरुको सहभागिता रहेको थियो ।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ। एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलङ्कामा हुँदै छ। सोही प्रतियोगितामा सहभागी जनाउने नेपाली महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको हो। कार्यक्रममा क्यानका सचिव पारस खड्काले महिला क्रिकेट टिमको प्रदर्शनलाई लिएर सबैमा चासो रहेको भन्दै महिला टिमले विगतदेखि नै राम्रो गर्दै आएको बताउनुभयो। महिला क्रिकेट टिम पहिल्यैदेखि प्राथमिकतामा पर्नुपर्ने भएपनि प्राथमिकतामा राख्न सबै चुकको बताउनुभयो। अब महिला क्रिकेट खेलाडीलाई पनि राम्रो भन्दा राम्रो अवसर दिन आवश्यक रहेको बताउनुभयो। उहाँले अबका खेलमा टिमप्रति विश्वास राखेर उच्च आत्मबल राखेर खेल्न आग्रह गर्नुभयो। कार्यक्रममा महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले अभ्यास राम्रो गरेको भन्दै नतिजा पनि राम्रो दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले टिम राम्रो रहेको र उच्च मनोबल रहेकाले राम्रो नतिजा पस्कने बताउनुभयो। कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोलीका कप्तान रोहितकुमार पौडेलले भारत र पाकिस्तानसँग खेल्दा राम्रो अनुभव पाएको र त्यसले नै टी–२० विश्वकपमा राम्रो नतिजा पस्किएको बताउनुभयो। उहाँले विश्वकपमा जाँदा सुपर ८ मा पुग्ने आत्मविश्वास लिएर गएपनि सम्भव नभएको बताउनुभयो। कार्यक्रममा बोल्दै क्रिकेटर सन्दीप लामिछानेले खेलाडीहरूले कुनैपनि आफ्नो सपना पूरा गर्ने माध्यम खेललाई बनाउनुपर्ने बताउनुभयो। यस्ता खेलले आत्मविश्वास बढाउने र अनुभव बटुल्ने अवसर हुने उहाँको भनाइ थियो। उहाँले कुनैपनि सपना पूरा गर्नुपूर्व त्यसको लागि अभ्यास जारी राख्नु नै ठुलो कुरा भएको बताउनुभयो। उहाँले आफूभित्र भएको क्षमतालाई बाहिर ल्याउने गरी खेल्न सुझाव दिनुभयो। कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले अहिलेको अवसरलाई उचित सदुपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले निकै राम्रो खेल्दाखेल्दै पनि कतिपय खेलमा पराजित भएको भन्दै आगामी दिनमा त्यसलाई सुधार गरी अघि बढ्न सुझाव दिनुभयो। प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र युएई छन्। यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्। नेपालले जुलाई १९ मा युएईसँगको खेलमार्फत प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ तथा भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ।
काठमाडौं: पोर्चुगललाई हराउँदै फ्रान्स युरो कप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति जर्मनीको ह्यामबर्गमा सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा फ्रान्सले जित निकालेको हो । पोर्चुगललाई ५–३ गोलअन्तरले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो । यसअघि भएको पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २(१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । अब स्पेन र फ्रान्सले सेमिफाइनलमा खेल्नेछन् । शनिबार हुने क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीले खेल्नेछन् ।
काठमाडौं: आयोजक जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले विजयी गोल गरेको हो । ११९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दा स्पेनलाई अन्तिम चारमा पुर्याएका हुन् । डयानी ओल्मोको क्रसमा हेड प्रहार गर्दै उनले स्पेनलाई जित दिलाएका हुन् ।
काठमाडौं: साविक विजेता अर्जेन्टिना ४८औं संस्करणको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलमा इक्वेडरलाइ पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गरेको हो । इक्वेडर समूह ‘बी’ बाट उपविजेता बन्दै अन्तिम आठमा पुग्दा उपाधि दावेदार अर्जेन्टिना समूह ‘ए’ मा अपराजित रहँदै विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको हो । अर्जेन्टिनाले सबैभन्दा बढी १५ पटक उपाधि उचालेको छ भने १४ पटक उपविजेता बनेको छ । इक्वेडर भने हालसम्म कोपा–अमेरिकाको सेमिफाइनल भन्दा अगाडि बढ्न सकेको छैन । विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिताका रुपमा रहेको कोपा अमेरिका पहिलो अन्तराष्ट्रिय फुटबल प्रतियोगिता पनि हो ।

