पोखरा ।      पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ ।   रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...

पोखरा रंगशालाको कभर्ड हलमा पहिलो संस्करणको फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ ।    एमएपीको आयोजनामा यही चैत्र १५ र १६गते उक्त प्रतियोगिता आयोजना हुने आयोजकका प्रतिनिधि​ प्रनिल रानाभाटले जानकारी दिए ।    उनका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद रु ६१ हजार १ सय ११, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।    यस्तै उपविजेताले नगद रु ३१ हजार १ सय ११, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।   प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई उचित पुरस्कारको व्यवस्था रहेको रानाभाटले बताए ।    उनका अनुसार टिम दर्ता  फोनमार्फत (९८१४१९८१०४, ९८०५८७१४१६) पनि गर्न सकिनेछ भने, टिम दर्ता शुल्क नगद रु ४ हजार ५ सय निर्धारण गरिएको छ ।    

पोखरा महानगरपालिका २९ भण्डारढिकमा सम्पन्न दोस्रो संस्करणको सूर्य तारा खेल महोत्सव २०८१ अन्तरगत नेकोस कप फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ ।   शनिबार भएको फाइनल खेलमा आयोजक सूर्य तारा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो ।   च्याम्पियन बनेको गन्नीले नगद रु ४  लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे  ।    उपविजेता बनेको सूर्य ताराले नगद रु २ लाख २ हजार २ सय २२ रुपैयाँ, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।    प्रतियोगितामा सूर्य ताराका राजेश राईले उत्कृष्ट खेलाडी घोषित हुँदैं नगद रु १५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्रसहित पुरस्कृत भए ।   कार्यक्रम संयोजक विष्णु पुनका अनुसार प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको ।   यस्तै राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगितातर्फ भने आयोजक सूर्य तारा क्लबले उपाधि जित्यो ।   फाइनलमा दिदी बहिनी आमा समुहलाई पराजित गर्दे सूर्य तारा प्रथम भएको हो । प्रथम भएको सूर्य ताराले नगद रु ३३ हजार ३ सय ३३  र द्वितीय बनेको दिदी बहिनी आमा समुहले २२ हजार २ सय २२ रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पारे ।   कुल १४ टिमले सहभागिता जनाएको यो प्रतियोगितामा लालिगुराँस आमा समुह पोखरा ३० तृतीय बन्यो । बाग्लुङ समाज पोखरा २९ लाई पराजित गर्दै तेस्रो बनेको लालीगुँरासले ११ हजार १ सय ११ रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पा¥यो ।   खेल महोत्सवमा खुला महिला ‘स्लो’ स्कुटर रेस प्रतियोगिता, खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश गरिएको थियो ।  

पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ ।   शनिबार भएको फाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० को गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो ।   जितसँगै चर्च ब्वाइजले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ, भने उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले नगद ५ लाख प्राप्त गरेको छ । खेलको ११औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए ।   खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ घोषित भए । उनले नगद ११ हजार प्राप्त गरे ।   प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजकका खमिर गिल्सन कन्दङ्वा घोषित भए । उनले नगद ५१ हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक भए । उनीहरूले जनही नगद २५ हजार र ट्रफ्री पाए ।   उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ भए । उनलाई नगद २१ हजार प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजकै टिकेन्द्र थापा बने । उनले नगद २१ हजार प्राप्त गरे । उत्कृष्ट डिफेन्स आयोजकका दिवस उराउ घोषित भए । उनले नगद २१ हजार प्रदान गरिएको थियो ।   उदीयमान खेलाडीको पुरस्कार आयोजकका पर्शु राईले पाए । उनलाई नगद १५ हजार प्रदान गरिएको थियो ।   फागनु २४ गतेदेखि सुरू प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, झापा एफसी, सशस्त्र प्रहरी बलको एपिएफ एफसी, जर्जियन फुटबल क्लब भारत र उज्वेकिस्तानको ब्ल्याक बुल्स सहभागी रहेका थिए ।

म्याग्दी:    खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरुको फुटबल प्रतियोगिता भएको छ ।   जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र सिङ्गाका पाँच वटा आमा समूह सहभागी भएकामा जलमाई भगवती आमा समूह (ए)ले मङ्गला गाउँपालिका–३ को पखेर आमा समूहलाई एकका विरुद्ध चार गोल गरेकोे छ ।   यो समूहले खेल जितेर रु १५ हजार हात पारेको छ ।   जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जालीले भन्नुभयो, “आमाहरुको मात्र फुटबल प्रतियोगिता जिल्लामै पहिलोपटक तातोपानीमा भएको हो । खेलकुदमार्फत आमाहरुलाई जागरुक र सामाजिक क्षेत्रमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।”   आमाहरु लुङ्गी, चोलो, कुर्तासुरुवालको पहिरनमा खेलमैदानमा उत्रिएका थिए ।   प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानीमा परम्परागत रुपमा लाग्ने फागुपूर्णिमा मेलालाई यसपटक आमा समूहले निरन्तरता दिएका हुन् ।   मेलामा फाइभ ए साइड पुरुष फुटसल, महिला र पुरुष लठो तान्ने, अन्धनिशान, पुरुष तथा महिला छेलो प्रतियोगिता भएको थियो । 

पोखरा महानगरपालिका २९ भण्डारढिकमा जारी दोस्रो नेकोस कप फुटबल प्रतियोगिताको फाइनल शनिबार हुने भएको छ ।   शनिबार हुने फाइनल खेलमा उपाधिका लागि आयोजक सूर्य तारा क्लब र गन्नी फुटबल क्लब भिड्ने भएका हुन् ।   उक्त खेल शनिबार दिउँसो १ बजे सञ्चालन हुने महोत्सवका संयोजक विष्णु पुनले जानकारी दिए ।   उनका अनुसार गन्नी एफसीले डिफेन्डिङ च्याम्पियन एलसी ब्रदर्शलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।    यस्तै आयोजक सुर्य ताराले विष्णु पादुका क्लब हेमजालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।    प्रतियोगिताको च्याम्पियन बन्ने टिमले नगद रु ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ । भने, उपविजेता टिमले नगद रु २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।    यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीले नगद रु १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँसहित पुरस्कृत बन्नेछ ।   खेल महोत्सवमा फुटबलसँगै खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश गरिएको आयोजकले जनाएको छ ।

काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय पुरूष र महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ ।       क्यानले आज सार्वजनिक गरेको नयाँ सूचीअनुसार पुरूषतर्फ ग्रेड ‘ए’ र ‘बी’ मा समान पाँच, ‘सी’ मा चार, डी’ मा १२ तथा इमर्जिङ प्लेयरमा सात खेलाडीलाई छनोट गरेको छ ।       केन्द्रीय सम्झौताअनुसार ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आसिफ शेख परेका छन् । उनीहरूले मासिक जनही रू एक लाख प्राप्त गर्नेछन् ।  ग्रेड बी मा करण केसी, कुशल भुर्तेल, गुल्सन झा, ललित राजवंशी र अनिल साह छन् । यी खेलाडीहरूले मासिक रू ७० हजार प्राप्त गर्नेछन् । ग्रेड सी’ मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् । उनीहरूले रू ५५ हजार पाउनेछन् ।        त्यस्तै ग्रेड डि मा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सुर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसीर अहमद, प्रतिस जिसी, अभिनाश बोहरा र मयन यादव छन् । उनीहरूले मासिक रू ३५ हजार प्राप्त गर्नेछन् ।      यसैगरी अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कँडेल, रूपेश सिंह, अर्जुन कुमाल, शुभ कंशाकार र सन्तोष यदावलाई इमर्जिङ प्लेयसमा राखिएको छ । उनीहरूले रू २५ हजार प्राप्त गर्नेछन् ।       त्यसैगरी महिला खेलाडीको नयाँ केन्द्रीय सम्झौताअनुसार चार खेलाडीलाई ग्रेड ‘ए’ मा समवेश गरिएको छ । जसमा कप्तान इन्दु बर्मा, रूविना क्षेत्री, सीता रानामगर र पूजा महतो छन् । उनीहरूले मासिक रू ५० हजार प्राप्त गर्नेछन् ।       ग्रेड ‘बी’ मा कविता जोशी छन् । उनले मासिक ३५ हजार पाउनेछिन । ग्रेड सी’ मा कविता कुँवर र सम्झना खड्का छन् । उनीहरूले रू २५ हजार प्राप्त गर्नेछन् ।       यस्तै ग्रेड डि मा विन्दु रावल, अलिशाकुमारी यादव, रिया शर्मा, साना प्रविन, सीमान केसी, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, कृस्मा गुरूङ, ज्यात्निका मरासिनी, रचनाकुमारी चौधरी र मनिषकुमारी उपाध्याय छन् । उनीहरूले मासिक २० हजार पाउनेछन् ।        उक्त केन्द्रीय सम्झौतामा रहने खेलाडीहरूको सम्झौता अवधि छ महिनासम्म हुनेछ । छमहिनापश्चात् खेलाडीहरूको प्रदर्शनका आधारमा बाँकी छ महिनाका लागि खेलाडीहरूको पुनःवर्गीकरण गरी केन्द्रीय सम्झौता गरिने क्यानले जनाएको छ । 

काठमाडौं:  महिला ट्वान्टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । जारी प्रतियोगितामा नेपालको यो प्रतियोगितामा तेस्रो हार हो । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो । हारसँगै  नेपाल फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।  नामिबियासँगको पहिलो भेटमा पनि नेपाल ६ विकेटले पराजित भएको थियो । यस्तै घरेलु टोली युगान्डलाई एक विकेटले हराएको नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो ।  प्रतियोगितामा दोस्रो जित निकालेको नामिबियाको चार खेलमा चार अङ्क छ । नामिबियाले यसअघि पनि नेपाललाई पराजित गरेको थियो । साथै हङकङसँग चार विकेट र युगान्डासँग एक रनको पराजय बेहोरेको थियो । नामिबियाले प्रस्तुत गरेको १२६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर पाँच विकेट गुमाउँदै १०२ रन मात्रै बनाउन सक्यो । नेपालका लागि साना प्रवीनले ३१, कविता कुँवरले अविजित १७ तथा पूजा महतो र कप्तान इन्दु बर्माले समान १५ रन बनाए । नामिबियाका लागि इभ्लिन केजरुक्वाले दुई तथा विल्का एमवाटिल, साइमा टुहाडेलिनी र मिकेली एमवाटिलले समान एकरएक विकेट लिए ।      टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रनको योगफल बनाएको थियो । नामिबियाका लागि यास्मिन खानले ४५, विल्का एमवाटिलले २०, आरास्ता डियर्गार्डले अविजित १६ तथा सुने विटम्यानले १५ रन बनाए ।  नेपालका लागि ईश्वरी विष्टले तीन, रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एकरएक विकेट लिए । नेपालले अर्को खेल भोलि युगान्डासँग खेल्ने तालिका छ । 

काठमाडौं: चार देशीय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा घरेलु टोली युगान्डाले नेपाललाई जितको लागि ७७ रनको लक्ष्य दिएको छ ।  युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७६ रनको योगफल बनायो ।  युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । उनले  ४० बलमा तीन चौका प्रहार गर्दै २२ रन बनाइन् ।  त्यसैगरी स्टेफेनिया नाम्पिलिनाले २५ बलमा १ चौकाको सहयोगमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रन जोडिन् ।   नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् भने कप्तान इन्दु बर्माले २ विकेट लिइन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

पोखरा:  गण्डकी प्रदेश फुटबल संघको आयोजनामा शनिबारदेखि पोखरामा क्याटगोरी–४ रेफ्री लाइसेन्स कोर्ष सुरु भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को मान्यताप्राप्त गण्डकीका जिल्लाहरुमा फुटबल रेफ्री विकास गर्ने उदेश्यका साथ सनिवारबाट उक्त कोर्ष सुरु भएको हो ।  एन्फाका रेफ्री कमिटी संयोजक तथा रेफ्री संघका अध्यक्ष बुद्धिबहादुर गुरुङले कोर्ष पछि फुटबलको रेफ्री सदस्यको संख्यामा वृद्धि हुने बताए । उनले कोर्षबाट फिफाको १७ वटा नियममा बसेर आधिकारिक फुटबल खेलाउन योग्य हुने र क्याटगोरी ४ पहिलो खुडकिलो रहेको सुनाए ।    ‘रेफ्री परिवारमा अब आउन लाग्नुभएको छ त्यसका लागि स्वागत छ । तपाईहरुले हिजोसम्म तपाईले आफ्नो हिसाबले फुटबल खेलाउनुभयो होला खेल्नुभयो होला तर, आजबाट तपाईहरुले आधिकारिक रेफ्रीका लागि आउँदै हुनुहुन्छ’ उनले भने, ‘रेफ्रीले के गर्नुपर्छ के गर्नुहुन्न भन्ने रेफ्रीका नियमहरु १७ वटा छन त्यो अब जानकारी हुन्छ त्यसैले तपाईहरुले राम्ररी सिक्नुहोस् ।   फुटबल खेलको विकास र विस्तारका लागि रेफ्रीको भूमिका अत्यावश्यक रहेको र त्यसका लागि रेफ्री उत्पादन महत्वपूर्ण कदम रहेको उनको भनाइ छ ।  उनले सात दिनको आधारभूत तालिम पर्याप्त नभएतापनि आधिकारिक तालिम भएकाले दत्तचित्त भएर सिक्न अनुरोध गरे । रेफ्री कोर्षका लागि सबै युवा देखिएको र रेफ्रीका लागि सबैभन्दा महत्वपूर्ण कुरा फिटनेस रहेको सुनाए । रेफ्रीका नियममा पोख्त हुँदैमा रेफ्री बन्न नपाइने र त्यसका लागि फिटनेस नै पहिलो प्राथमिकता रहेको उनको भनाइ छ ।  गण्डकी प्रदेश फुटबल महासंघका महासचिव विनोद गुरुङले कोर्षका लागि गण्डकी प्रदेशभित्रका २९ जनाको सहभागिता रहेको बताए ।  उनका अनुसार सात दिनको कोर्षमा फिटनेश परीक्षणदेखी प्रयोगात्मक र लिखित परीक्षा हुनेछ । जसमा पास हुनेले एन्फा क्याटगोरी ४ को प्रमाणपत्र प्राप्त गर्नेछन् ।  ‘क्याटगोरी ४ भनेको रेफ्रीका लागि पहिलो लेभल हो यसपछि क्याटगोरी ३, क्याटगारी २, क्याटगोरी १ गर्दै फिफा रेफ्रीसम्म जान्छ यो कोर्ष पास गरेको खण्डमा मात्रै अर्को लेभलमा जान पाउँछ’ उनले भने, ‘क्याटगोरी ३ देखी एकसम्म यहि बाट छानिनेहरु जाने हो त्यहाँ पनि कोर्ष पास गर्नुपर्ने हुन्छ ।’  गत वर्ष समेत क्याटगोरी ४ को कोर्ष गराउँदा ३५ जनाको सहभागिता रहेको थियो । जसमा १६ जनामात्रै पास भएका थिए । अहिले क्याटगोरी ४ पास गर्नेका लागि क्याटगोरी ३ को कोर्ष गराउने लक्ष्य प्रदेशको रहेको उनी सुनाउछन् ।  रेफ्री संयोजक गुरुङसहित रेफ्री प्रशिक्षक विरेन्द्र पाण्डे, सचिन अमात्य र रोजन श्रेष्ठले प्रशिक्षण दिनेछन् । कोर्षका लागि टेक्निकल सहयोग एन्फाले गरेको छ भने गण्डकी प्रदेश सरकार र प्रदेश खेलकुद परिषद गण्डकीको समेत यसमा सहयोग रहेको महासचिव गुरुङले जानकारी दिए ।