काठमाडौं: एसीसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११:१५ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ । नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन् । नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ । नेपालले हालसम्म खेलेका दुवै खेलमा जित हासिल गरेको छ । नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले तथा दोस्रो खेलमा कतारसँग ३२ रनले विजयी भएको थियो । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, अनिल साह, सन्दीप जोरा, करण केसी, विवेक यादव, प्रतिश जिसी, सोमपाल कामी, ललितनारायण राजवंशी र अभिनास बोहरा रहेका छन् । समूह ‘ए’ मा हङकङ दुई अङ्कका साथ चौथो स्थानमा छ । हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो भने दोस्रो खेलमा साउदी अरबसँग ५५ रनले पराजित भएको थियो । समूह ‘ए’मा साउदी अरब दोस्रो तथा मलेसिया तेस्रो स्थानमा छन् । यस्तै समूह ‘बी’मा ओमान, युनाइटेड अरब इमिरेट्स (युएई), कुवेत, बहराइन र कम्बोडिया छन् । समूह ‘बी’मा ओमान चार अङ्कका साथ शीर्ष स्थानमा तथा युएई चार अङ्ककै साथ दोस्रो स्थानमा छ । सो समूहमा कुवेत तेस्रो स्थानमा छ ।।
काठमाडौं: नेपालले ओमनमा जारी एसिसि मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रवार मलेसिया माथि जित हात पारेको नेपालले आज भने कतार माथि ३२ रनको जित निकालेको हो । नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले २० ओभरमा विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो । कतारका लागि कप्तान मुहम्मद तन्भिरले ३३ बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ६३ रन बनाए । यस्तै मोहम्मद अहनाफले २३ तथा हिमांशु सिंहले २२ रन बनाए । अद्नान मिर्जाले १९ रन जोडे भने ओपनर कम्रान खानले १८ रन जोडे । नेपाललाई जिताउनका लागि ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले समान २(२ विकेट लिए । यस्तै कुशल मल्ल र अविनाश बोहोराले समान १(१ विकेट लिए । त्यसअघि दीपेन्द्र सिंह ऐरीको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले एसिसि प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा कतार विरुद्ध विशाल योगफल खडा गरेको छ । अल अमेरातमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन जोडेको हो । नेपालका लागि दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का सहित २१ बलमा ६४ रन बनाए । उनले कुल ३ चौका र ७ छक्का प्रहार गरे । २०औं ओभरमा दीपेन्द्रले कम्रान खानको ओभरमा ६ छक्का प्रहार गरेका हुन् । यस्तै ओपनर आशिफ शेखले ४१ बलमा ६ चौका सहित ५२ रन बनाए । ओपनर कुशल भुर्तेलले आज पनि लामो इनिङ खेलमा सकेनन् । तेस्रो ओभरको पाँचौं बलमा उनी १२ रन बनाएर अमिर फरूकको।बलमा क्याच आउट भए । कप्तान रोहित पौडेलले भने मध्यम सुरुवात पाएका थिए । तर १८ रनमा रहेको अवस्थामा उनलाई हिमांशु राथोडले क्याच आउट गराए । कुशल मल्लले भने विष्फोटक सुरुवात गरेका थिए । १८ बलमा २ चौका र ३ छक्का सहित ३५ रन बनाएर कुशल मल्ल मुसावर शाहको बलमा मोहम्मद इर्सादद्वारा क्याच आउट हुन पुगे । सुरुवाती समयमा तीन जीवनदान पाएका आशिफ शेख आउट हुने चौथो ब्याटर थिए । कतारले उनको क्याच दुई पटक छोडेको थियो भने उनी एक पटक क्याच आउट हुँदा थर्ड अम्पाएरले नोबल दिएका थिए । सन्दिप जोरालाई पनि मुसावरले ७ रनमा क्याच आउट गराए । मलेसिया विरुद्ध अन्त्यमा जित दिलाएका गुलशन झालाई हिमांशुले ५ रनमा रहेको अवस्थामा बोल्ड आउट गरे । आज टोलीमा आएका विवेक यादव पनि ५ रनमा मुसावरको बलमा आउट भए । सोमपाल कामी शून्यमा नटआउट रहे । कतारका लागि हिमांशु राथोड र मुसावर शाहले ३/३ विकेट लिए भने आमिर फरूकले १ विकेट लिए । कतारको यो लगातार दोस्रो हार हो । कतार हिजो हंगकंग विरुद्ध पराजित भएको थियो । नेपालले भने मलेसिया माथि ५ विकेटको जित निकालेको थियो । समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् । ओमान र युएईले हिजो नै भएका खेलमा जित हासिल गर्दै विजयी सुरुवात गरेका थिए । ओमानले बहराइन विरुद्ध ३ रनले र युएईले कुवेत माथि ७ विकेटको जित निकालेको थियो । युएईले भने आज बहराइन माथि जित हासिल गर्दै लगातार दोस्रो जित दर्ता गरेको समेत छ । कुवेतले पनि आज कम्बोडिया माथि सहज जित दर्ता गर्यो । दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।
पोखरा: त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को अवसरमा शनिबार आयोजना गरेको प्रतियोगितामा आर्मीका श्रेष्ठ प्रथम भएका हुन् । उनले १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा निर्धारित २१ किलोमिटर दुरी पार गरे । श्रेष्ठले ६० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । १ घण्टा ६ मिनेट ३३ सेकेण्डमा दौड सकेर सशस्त्र प्रहरी बलका किरण बोगटी द्वितीय भए । उनले ३० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए । प्रथम संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेतले १ घण्टा ९ मिनेट २९ सेकेण्डमा दौड सकेर यसपटक तृतीय भएको आयोजक खेलकुद विकास समितिले जनाएको छ । सशस्त्रका खिमबहादुर खत्री १ घण्टा ९ मिनेट ४९ सेकेण्डमा दुरी पूरा गरेर चौँथो र आर्मीका प्रताप खड्का १ घण्टा १० मिनेट ४१ सेकेण्डमा दौड सकेर पाँचौँ भए । तृतीय, चौँथो र पाँचौँले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । १० किलोमिटर खुला पुरूष दौडमा आर्मीका श्रीकश राई विजेता, सुवास कार्की उपविजेता बने । गण्डकी मेडिकल कलेजका अजित कुमार यादव तृतीय, सोही कलेजका दिनेश बोगटी चौँथो र एपीएफका राजेन्द्र तामाङ पाँचौँ भए । १० किलोमिटर महिला दौडमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने प्रथम, नेपाल पुलिसकी राममाया बुढा द्वितीय र आर्मीकी र्सिजना पाण्डे तृतीय भएको आयोजकले जनाएको छ । एपीएफकी पुष्पा भण्डारी चौँथो र एपीएफकै आशा राउत पाँचौँ भए । १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौडको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गरे । तृतीय, चौँथो र पाँचौँ हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । भेट्रान्स ५ किलोमिटरमा काठमाडौँका धर्म महर्जन प्रथम, धादिङका रैवतबहादुर दाहाल द्वितीय र पोखराका विश्वलाल श्रेष्ठ तृतीय भए । भेट्रान्सतर्फको विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीयले ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाएको सदस्य सचिव खड्काले जानकारी दिए । विद्यालय छात्रतर्फ ५ किलोमिटर कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की प्रथम, कुमुदिनी होम्सका कृष्ण परियार द्वितीय, भद्रकाली माविका गंगा गुरूङ तृतीय, सोही विद्यालयका इमबहादुर गुरूङ चौँथो र छोरेपाटन माविका तेञ्जोन रोका पाँचौँ भए । छात्रातर्फ रेन्बो एकेडेमीकी सर्मिला विक प्रथम, कालिका माविकी स्वीकृति कार्की द्वितीय, छोरेपाटन माविकी नारायणी भण्डारी तृतीय भएको आयोजकले जनाएको छ । छोरेपाटन माविकी विष्णु थापा चौँथो र गौरीशंकर माविकी कविता मगर पाँचौँ भए । ५ किलोमिटर विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार, तृतीयले ५ हजार, सान्त्वनाले ३ हजार र पाँचौँले २ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दुरी पूरा गरेका चेतनाथ चालिसेले पोखरा च्याम्पियन बने । चालिसेले २१ किलोमिटर दौड १ घण्टा ३४ मिनेटमा पूरा गरेका थिए । चालिसे पोखरा–१७ बिरौटा निवासी हुन् । उनले १० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । प्रथम संस्करणमा पनि उनी नै पोखरा च्याम्पियन बनेका थिए ।
काठमाडौं: ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज कतारसँग खेल्दैछ । अल अमारतमा यो खेल नेपाली समय अनुसार अपरान्ह ४ः१५ बजे सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल विजयी भएको छ । ओमनको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले पहिलो जित दर्ता गराएको हो । टस जितेर सुरवाती ब्याटिङ गरेको मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी छदै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । नेपालको जितमा आशिफ शेखले सर्वाधिक ३२ रन बनाए । यसैगरी कप्तान रोहित पौडेलले २८ रन बनाए भने ओपनर कुशल भुर्तेल २४ रनमा आउट भए । यसैगरी दिपेन्द्रसिंह ऐरी २० रनमा आउट भए भने गुल्सन झा १९ र सन्दिप जोरा १२ रनमा नटआउट रहे । नेपाल विरुद्ध मलेसियाका वीरन्दीप सिंहले सर्वाधिक ३ विकेट लिए । यसअघि मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४३ रनको यगफल बनाएको थियो । मलेसियालाई सामान्य रनमै समेट्न दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । यस्तै अविनाश बोहोराले १ विकेट लिए । मलेसियाका लागि कप्तान भिरनदिप सिंहले सर्वाधिक ६८ रनको अविजित इनिङ खेले । प्रिमियर कप अन्तरगत नेपालकै समूहमा रहेका हङकङ र कुवेतबीच भएको खेलमा हङकङ २६ रनले विजयी भएको छ।।
पोखरा: घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विद्यान स्पोर्टस क्लबले जितेको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको पर्यटन महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा विद्यान स्पोर्टस क्लबले अन्नपूर्ण युवा क्लब किम्चेलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । विद्यान स्पोर्टस क्लबले पहिलो सेट २५–१९ जितेपनि दोस्रो सेट २३–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेट क्रमशः २५–२० र २५–२१ ले जित्दै उपाधि जितेको हो । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता विद्यान स्पोर्टस क्लबले १ लाख ११ हजार १ सय ११, उपविजेता किम्चेले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको महोत्सव संयोजक अमृत गुरुङले जानकारी दिए । बास्केटबलको उपाधि टाइम्सले जित्यो घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पर्यटन महोत्सवमा आयोजित बास्केटबल प्रतियोगिताको उपाधि टाइम्सले जितेको छ । शुक्रबार सम्पन्न भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै टाइम्सले उपाधि जितेको हो । टाइम्सले आर्मीलाई ५६–४७ अङ्कले पराजित गर्दै उपाधि जितेको हो । खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे । घोडा दौडको उपाधि देवेन्द्रलाई घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पर्यटन महोत्सवमा आयोजित घोडा दौडको उपाधि देवेन्द्र श्रीपालीले जितेका छन् । शुक्रबार सम्पन्न भएको घोडा दौड प्रतियोगितामा ९.५ किलोमिटर दुरी २२ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै उपाधि चुमेका हुन् । यस्तै कृष्ण गुरुङले २२ मिनेट ५० सेकेण्डमा दुरी पूरा गर्दै द्धितीय भए । यस्तै बिनोद गुरुङले २३ मिनेट १९ सेकेण्डमा दुरी पूरा गर्दै तृतीय भए । घोडा दौड प्रतियोगितामा विजेता देवेन्द्र श्रीपालीले ५५ हजार ५ सय ५५, उपविजेता कृष्ण थापाले २७ हजार ७ सय ७७ र तेस्रो भएका बिनोद थापाले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गरे । ठेलो प्रतियोगितातर्फ स्याङ्जाका दुजिक थापामगर प्रथम र पर्वतका युवराज गुरुङ द्धितीय भए । प्रथम र द्धितीय भएका उनीहरुले ८ हजार र ५ हजार पुरस्कार प्राप्त गरे । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले चैत २७ देखि आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सव आज सम्पन्न भएको हो । घान्द्रुक पर्यटन महोत्सवमा ३० प्रतिशत छुट दिएको थियो ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा जारी पर्यटन महोत्सवमा आयोजित चक्रिय पदमार्थ दौड प्रतियोगिताको उपाधि स्याङ्जाका सनम गुरुङले जितेका छन् । पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यसहित आयोजित दौड प्रतियोगिताको निर्धारित ५.५ किमी दुरी ३२ मिनेट ४६ सेकेन्डमा पार गर्दै सनमले उपाधि जितेका हुन् । उनले ३५ प्रतिस्पर्धिलाई पछि पारे । यस्तै स्थानीय उमेश नेपालीले ३३ मिनेट ३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै द्वित्तिय बने भने घान्द्रुककै कृष्ण परियारले ३३ मिनेट २० सेकेन्डमा दुरी पार गर्दै तृतीय बनेको महोत्सवका आयोजक संस्थाका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । उनका अनुसार प्रथम द्वित्तिय र तृतीय बनेका धावकहरुले क्रमश मेडल तथा प्रमाणपत्रसहित नगद रु १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्राप्त गरे । कुल ३६ धावकको सहभागिता रहेको दौडमा १२ वर्षकी बालिकादेखि ५८ वर्षको वृद्धालेसमेत प्रतियोगितामा भाग लिगेका थिए । उक्त दौड मेश्रेम बराह माविबाट सुरु भएर चक्रिय पदमार्ग वडा नं. १० को कार्यालय हुँदै पञ्चे, कोटगाउँ, देउराली, बलाथे पार्क, नब्रुथी बराह मन्दीर, कायमा बराह, सात सय घान्दु्रकेले मान्दै आएको ब्रेजे मेश्रे बराह नेगु, चिया बगान, डाडागाउँ, कुमाभ्री, सिल्कु, खोलोभ्रो हुँदै विद्यालयमा आएर टुंगिएको थियो ।
काठमाडौं: आजदेखि सुरू हुने एसीसी प्रिमियर कपमा नेपालले आफ्नो पहिलो खेल आज अप्रिल १२ मा मलेसियासँग खेल्दै छ । ओमानमा हुने यस प्रतियोगिताको दोस्रो खेल अप्रिल १३ (शनिबार) कतारसँग खेल्ने छ। त्यस्तै तेस्रो खेल अप्रिल १५ (सोमबार) हङकङसँग खेल्ने छ भने चौथो तथा अन्तिम खेल अप्रिल १७ (बुधबार) साउदी अरेबियासँग खेल्ने छ। नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदखि शुरु हुने छन्। ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन्। एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन्। जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन्। प्रिमियर कपमा नेपाल समूह ए मा रहेको छ। समूह एमा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन्। त्यस्तै समुह बी मा बहराइन, युएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन्। समूह चरणका खेलपछि दुवै समुहका शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन्। त्यसपछि फाइनल खेल अप्रिल २१ मा हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ। जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रेहका छन्।
पोखरा: ढोलाहिटी फ्रिडमले दोश्रो संस्करणको एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । पोखरा रङ्गशालामा बिहीबार भएको फाइनल खेलमा हेटौडा भेट्रान्सलाई ४—२ गोल अन्तरले पराजित गर्दै ढोलाहिटी दोस्रो पटकले च्याम्पियन बन्दै उपाधि रक्षा गरेको हो । ढोलाहिटीको जीतमा म्यान अफ द म्याच घोषित भएका प्रकाश राना मगरले २ गोलको योगदान दिए । यस्तै सरोज थापा र राजकुमार केसीले समान १—१ गोल गरे । यता फाइनलमा हार व्यहोरेको हेटौंडाको तर्फबाट शशी गौतम र सञ्जय राना मगरले १—१ गोल फर्काए । दोस्रोपटक च्याम्पियन बनेको ढोलाहिटीले नगद रु १ लाख ५५ हजार ५ सय ५५, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको हेटौडाले नगद रु ७७ हजार ७ सय ७७ शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । प्रतियोगिताबाट ढोलाहिटीका तेजबहादुर गलामी उत्कृष्ट खेलाडी घोषित हुदैं नगद रु १० हजार र ट्रफी प्राप्त गरे । प्रतियोगिताका विजेताहरु तथा उपविजेता टिमका खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, अमरसिंह ब्वाइज क्लब एबिसीका अध्यक्ष राजेश गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै समापन समारोहका प्रमुख अतिथिसमेत रहेकी प्रदेश सांसद सरस्वती गुरुङले सरकारी स्तरबाट खेलकुदको विकासका लागि उल्लेख्य काम हुन नसकेको बताउदै खेलकुदको विकासका लागि स्थानिय क्लब, संघ संस्था, ब्याक्तित्वहरुको साथ र सहयोग अपरिहार्य रहेको धारणा राखेकी थिइन् ।
पोखरा: पोखरा रंगशालामा जारी दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधीको लागि ढोलाहिटी फ्रीडम र हेटौडा भेट्रान भिड्ने भएका छन । प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चितवन भेट्रानलाई २–० गोल अन्तरले पराजित गर्दै ढोलाहिटी फ्रीडमले फाईनल यात्रा तय गरेको हो । खेलमा ढोलाहिटीको तर्फबाट तेज बहादुर गलामि र प्रकाश राना मगरले १/१ गोल गरे । खेलमा भोटाहिटिका प्रकाश राना मगर म्यान अफ द म्याच घोषित भए । खेलको ३५ औ मिनेटमा चितवनका गोलरक्षक छन्नु चौधरिले रेडकार्ड पाएर बाहिरिए पछि ढोलाहिटीले लगातार दुई गोल गर्दै फाइनलको यात्रा तय गर्न सहज बन्यो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक एबिसी भेट्रानलाई पाखा लगाउदै हेटौडा भेट्रानले फाइनल यात्रा तय ग¥यो । हेटौडाका लागि सरोज थापाले निर्णायक २ गोल गरेका थिए । खेलमा सरोज थापा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड र मेडल प्राप्त गर्ने छन भने उपबिजेताले नगद ७७ हजार ७ सय ७७, शिल्ड र मेडल प्राप्त गर्र्नेे आयोजक अमरसिंह ब्वाइज क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल बिहीबार १ बजे पोखरा रंगशालामा हुने आयोजकले जनाएको छ ।

