पाल्पा: पाल्पाको रैनादेवीछहरा गाउँपालिका–१, मा पौडी खेल्ने क्रममा डुबेर गए राति एकजनाको मृत्यु भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयघा घर भई हाल मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको डुबेर मृत्यु भएको हो । मामाघर नजिकै डमराई पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेहोस भएका थिए । बेहोस भएका रेश्मीलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएको थियो । उनको जिल्ला अस्पताल तानसेनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार छ सयमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय २५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
म्याग्दी: म्याग्दीमा धान बालीमा गभारो रोगको प्रकोप देखिएको छ । धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । रासायनिक मलको अभाव भएपछि बिना मल नै रोपाइँ गरेका किसान धानले राम्रोसँग गाभा हाल्न नपाउँदै गभारो लाग्न थालेपछि उत्पादन घट्ने चिन्ताले पिरोलिएका हुन् । जिल्लाको रघुगङ्गा, मङ्गला, मालिका र बेनी नगरपालिकाका लेकाली क्षेत्रमा लगाएको बर्खे धान बालीमा गभारो देखिन थालेको छ । रघुगङ्गा गाउँपालिकाका किसानले लगाएको धान बालीमा गभारोको प्रकोप देखिन थालेको गाउँपालिकाले जनाएको छ । सिँचाइ पर्याप्त हुने ठाउँमा कम र सुक्खा स्थानमा गभारोको प्रकोप बढी रहेको गाउँपालिका कृषि शाखाले जनाएको हो । रोपाइँ गर्ने समयमा पानी नपरेपछि मुस्किलले धान रोपाइँ भएका ठाउँमा गभारोको प्रकोप देखिएको कृषि प्राविधिक सविना पौडेलले जानकारी दिनुभयो । त्यसैगरी पश्चिमी म्याग्दीको मङ्गला गाउँपालिकामा पनि गभारोले सखाप पार्न थालेपछि स्थानीय धानको बिरुवा नै उखेलेर गाउँपालिकामा ल्याएर फालिदिएका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । बानियाँका अनुसार मङ्गलाको सिमलचौर, रणवाङ, बाबियाचौर, छिस्वाङ, सेराफाँट, पोकलगायत धान धेरै उत्पादन फाँटमा गभारोले धानबाली सखाप पारेको छ । गाँउपालिकाका जनप्रतिनिधि र कृषि प्राविधिकले स्थलगत अनुगमन गरी विषादी वितरण गरिएको र गभारो नियन्त्रणका लागि स्थानीय कृषकलाई आवश्यक जानकारी दिइएको बानियाँले बताउनुभयो । तातो मौसम गभारो प्रजातिका किराका लागि अनुकूल हुने विज्ञको भनाइ छ । गभारोका कारण धान उत्पादनमा ह्रास आउँछ । यो समय गभारो मात्र नभई धानमा अन्य समस्यासमेत देखिने भएकाले किसान सचेत रहनुपर्ने प्राविधिकले बताएका छन् । गभारोको प्रकोप देखिएको धानको बोट पहिला रातो हुने, जरा कुहिने र बोटै सुकेर मर्ने गरेको ज्यामरुककोटका किसान नारायण सापकोटाले बताउनुभयो । कृषि प्राविधिकका अनुसार गभारो नियन्त्रणका लागि धानका बेर्नाको पातको टुप्पोमा देखिएका फूललाई नष्ट गर्नुपर्दछ । त्यसैगरी धान काटिसकेपछि ठुटा जलाइदिने गरेमा पनि अर्को वर्ष गभारो लाग्न कम हुन्छ ।
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न स्थानबाट लागुऔषधसहित ८ जनालाई प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यलयबाट खटिएका प्रहरी टोलीले कास्की जिल्लाका विभिन्न ३ स्थानबाट ८ जनालाई लागू औषध सहित प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा कास्की अन्नपूर्ण गाँउपालिका वडा नं. ९ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १४ चाउथे बि.पी मार्ग बस्ने २१ वर्षीय प्रमिस गुरुङ, म्याग्दी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ३ नदीपुर बस्ने २८ वर्षीय दिपक पुन, सोही स्थान बस्ने २५ वर्षीय प्रदिप फगामी, पर्वत घर भई हाल पोखरा महानगरपालिका १८ अधेरीकना बस्ने ३० वर्षीय लबिन पुन रहेका छन् । यसैगरि पोखरा आउने क्रममा लुम्बिनी साांस्कृतिक नगरपालिका २ बस्ने २० वर्षीय द्वारिका लोध रुपन्देही कै मायादेवी गाँउपालिका ६ बनगाई बस्ने १७ वर्षिय किशोर, पोखरा महानगरपालिका११ रानिपौवा बस्ने २७ वर्षीय सन्दिप गुरुङ र पोखरा ११ काँहुडाँडा बस्ने २७ वर्षीय विश्व कार्की रहेका छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट लागुऔषध कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान प्रकिया अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
स्याङ्जा । स्याङजाको चापाकोट नगरपालिका–८ मिटुवा खोलास्थित चापाकोट–दामाचौर सडक खण्डमा ट्याक्टरले ठक्कर दिदाँ पैदल यात्रीको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय पोखराको अनुसार मृत्यु हुनेमा सोही स्थानकै ४५ वर्षिय लोक बहादुर कुँवर रहेका छन् । ठक्करबाट घाइते भएका कुँवरको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार फरार रहेका ट्याक्टर चालकको खोजी कार्य तिव्र पारिएको छ ।
म्याग्दी । सरकारी अनुदानको आशले उधारोमा सामान किनेर घर पुनःनिर्माण गरेका पहिरो पीडित ऋणमा डुबेका छन् । सरकारले सम्झौताअनुसार अनुदान रकम उपलब्ध गराउन र प्राविधिकले बनेका घरको नापजाँच गर्न ढिलाइ गर्दा म्याग्दीका पहिरो पीडित समस्यामा परेका हुन् । दोस्रो र तेस्रो किस्ता अनुदान नपाउँदा ऋण तिर्न नसकेर तनाव भएको बेनी नगरपालिका–६ माझखेतकी मीनाकुमारी शर्माले बताउनुभयो । “पहिराले घर भत्काएपछि सात–आठ महिना अर्कैको घरमा बसे, सरकारले अनुदान दिने सम्झौता गरेपछि उसको मापदण्डअनुसारको घर बनाएको सात महिना भयो”, उहाँले भन्नुभयो, “पहिलो किस्ता रु पचास हजार आएको थियो, ऋण खोजेर घर बनाए, प्रकृतिले मात्र नभएर अनुदान उपलब्ध गराउन ढिलाइ हुँदा सरकारले पनि पीडित बनायो ।” “सम्झौता र सरकारको मापदण्डअनुसार घर बनाउँदा धेरै खर्च भयो”, बेनपा–६ डम्मराकी खिमकुमारी थापाले भन्नुभयो, “तुरुन्तै दोस्रो, तेस्रो किस्ता आउँला भनेर हतार हतारमा घर बनायौँ । ऋण काडेर घर बनाइयो । सामानको साहु दिनदिनै घर आउँछन् । गाह्रो भएको छ ।” पीडितका अनुसार सरकारले तोकेको मापदण्डअनुसार घर बनाउँदा रु छ लाखदेखि रु दश लाख खर्च भएको छ । हिमाली जिल्लामा मनसुनजन्य विपद्बाट प्रभावित निजी आवास पुनःनिर्माण गर्न प्रतिपरिवार रु पाँच लाख अनुदान दिने कार्यविधि छ । कतिपय पहिरो पीडितले घरमा रङरोगन, फर्निचर व्यवस्थापन गरेर प्रयोगमा ल्याउन सकेका छैनन् । विसं २०७७ को मनसुनजन्य विपद्बाट घर पूर्णरूपमा क्षति भएका म्याग्दीका दुई सय ४७ मध्ये दुई सय सात परिवारले पहिलो किस्ताबापत स्थानीय तहले उपलब्ध गराउने रु ५० हजारका दरले अनुदान पाइसकेका छन् । बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णसिंह बानियाले एक वर्षअघिनै बनेका घरको अनुदानका लागि सिफारिस गरे पनि अहिलेसम्म भुक्तानी नपाउनु दुःखद् भएको बताउनुभयो । “सबै कागजात र प्रक्रिया पूरा गरेर नगरपालिकामार्फत अनुदान भुक्तानीका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरेका छौँ”, उहाँले भन्नुभयो, “सरकारी संयन्त्रको ढिलाइले ऋण खोजेर घर बनाएका पीडितले पाउने अनुदान ऋण तिरेर सकिने स्थिति सिर्जना भएको छ ।” विपद्बाट प्रभावित निजी आवास पुनःनिर्माण नियमन गर्ने छुट्टै प्राविधिक छैनन् । स्थानीय तहकै प्राविधिक परिचालन गरिदै आएको छ । प्राविधिकले लाभग्राहीका घर निर्माणको नियमन गरी फोटो सफ्टवेयरमा अपलोड गरेपछि जिल्ला विपद् व्यवस्थापन समितिको खातामा रकम जम्मा हुन्छ । स्थानीय तहहरुले हालै मात्र प्राविधिकलाई पहिरो पीडितका पुनःनिर्माण भएका घरको नापजाँच गर्न परिचालन गरेको जनाएका छन् । सङ्घीय सरकारले उपलब्ध गराउने ६० प्रतिशत अनुदान आइसकेको, प्रदेशले दिने ३० प्रतिशत माग गरिएको र स्थानीय तहका प्राविधिकलाई तालिम दिएर नापजाँचमा खटाएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रजिअ चिरञ्जीवी रानाले बताउनुभयो । “स्थानीय तहमा दक्ष प्राविधिक जनशक्तिको कमी भएकाले ढिलाइ भए पनि पछिल्लो पटक छवटै पालिकाका प्राविधिकलाई तालिम दिएर स्थलगतरुपमा नापजाँचमा परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो, “सम्झौता गरेर घर बनाउन सुरु गरेका र बनाइसकेका एक सय ९२ को लागि सङ्घबाट आउनुपर्ने अनुदान आएको छ । प्रदेश सरकारबाट पनि माग गरिसकेका छौँ । स्थानीय तहबाट प्राविधिकले घर निर्माण भएको विवरण सफ्टवेयरमा प्रविष्ट गराएपछि तुरुन्तै रुजु गरेर अनुदान वितरण गर्छौं ।”
बागलुङ । खानेपानीको चरम समस्या रहेको दगातुम्डाँडामा खानेपानीको पहुँच पुर्याइने भएको छ । यसका लागि बडिगाड गाउँपालिका–२ दगातुम्डाँडामा ‘एक घर एक धारा’ कार्यक्रम अगाडि बढाइएको छ । सात सय घरधुरी रहेको वडामा झण्डै पाँच सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आइसकेको गाउँपालिकाले जनाएको छ । साविक दगातुम्डाँडा गाविस वडा नं ६, ७, ८ र ९ वडामध्ये ८ र ९ वडामा खानेपानी योजना सम्पन्न भएको छ । साविकका वडा नं ६ र ७ मा पनि पानी पुर्याउने काम अन्तिम चरण पुगेको छ । बडिगाड गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)सँगको सहकार्यमा घर घरमा पानी पुर्याउने अभियान चलिरहेको हो । नेवाले ८ र ९ मा काम सम्पन्न गरिसकेको छ भने वडा नं ६ को हाँडीखोलामा यसै महिनादेखि काम सुरु गरेको छ । साविकको ६ र ७ मा गण्डकी प्रदेशको बहुवर्षे कार्यक्रम अन्र्तगत खानेपानी आयोजना सञ्चालनमा छ । जिमस्सक्न्यार, लफरे सिरसिरे र राक्से बडहरे खानेपानी अयोजनाको काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । हाँडीखोला खानेपानी आयोजनामा कामको सुरुआत भएको छ । निर्माण सम्पन्न भएका उक्त आयोजनाको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले उद्घाटन गरेपछि पानी वितरण सुरु भएको छ । जिमी सक्न्यार खानेपानी आयोजनाबाट ३ विद्यालयसहित १२७ धारा, लफरे सिरसिरे खानेपानी अयोजनाबाट ५९ धारा र राक्से बडहरे खानेपानी अयोजनाबाट ६० धारा निर्माण गरी साविक वडा नं ८ र ९ का सबै घरधुरीमा खानेपानी पुगेको नेवाका सामाजिक प्राविधिक कुशल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जिमी सक्न्यार खानेपानी आयोजनामा नेवाको ६२ लाख, गाउँपालिकाको २९ लाख ३९ हजार ४१२, स्थानीयवासीको तीन लाख ९९ हजार सहयोग र २९ लाख बराबरको जनश्रमदान गरी कूल एक करोड २४ लाख ३८ हजार ४१२ मा सम्पन्न भएको हो । बडिगाड वडा नं १ बेतनीमा खानेपानी मुहान रहेको सो आयोजनामा १२ वटा खानेपानी ट्याङ्की निर्माण गरिएको छ,भने २६ हजार ९११ मिटरमा खाने पानि पाइप विछ्याइएको छ । यस्तै, नेवाको २९ लाख ३४ हजार ५७३ बडिगाड गाउँपालिकाको पाँच लाख ८३ हजार ७२९, स्थानीयवासीको एक लाख ५६ हजार ६०० र जनश्रमदान १३ लाख ६ हजार २६० गरी कूल ३८ लाख ११ हजार १६२ लागतमा लफरे सिरसिरे खानेपानी आयोजना समेत सम्पन्न भएको छ । लफरे सिरसिरे खानेपानी अयोजनाको मुहान वडा नं १ को सिरसिरेमा रहेको छ,भने चारवटा ट्याङ्की निर्माण गरी ५९ धारामा खानेपानी पु¥याइएको छ । त्यस्तै, १५ लाख ९९ हजार २२२ नेवा, बडिगाडको पाँच लाख, समुदायको दुई लाख ३६ हजार र जनश्रमदान चार लाख ९१ हजार ७०५ गरी कूल २८ लाख २६ हजार ९२७ को लागतमा राक्से बडहरे खानेपानी आयोजना सम्पन्न भएको छ । बडहरेमा मुहान रहेको उक्त खानेपानी आयोजनाको लागि चारवटा ट्याङ्की निर्माण गरिएको छ । जसबाट ६० धारामा खानेपानी पुगेको छ । राक्से बडहरे खानेपानी आयोजनाको लागि सात हजार ५६० मिटर लामो पाइपलाईन निर्माण गरिएको छ । साविक दगातुम्डाँडा गाविस– ६ र ७ का चार सय घरधुरी लाभान्वित हुने गरी प्रदेश सरकारमार्फत खर्वाङ दनियाँ लिफ्टिङ खानेपानी आयोजनाको काम भइरहेको समितिका अध्यक्ष डिप्लोमा खरेलले बताउनुभयो । सबै काम सकिएको र सिओडी मेसिन जडानपछि पानी वितरण गरिने छ । तर, उक्त लिफ्टिङ अयोजनाले साविकको वडा नं ६ हाँडिखोलालाई समेटेको छैन । जसको लागि नेवाले हाँडिखोलामा खोपानी अयोजना निर्माण गर्न पहिलो चरणको सबैको काम सकिसकेको छ । बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले बडिगाड– २ मा खानेपानी आयोजना सम्पन्न भए पनि यसले पालिकाको ‘एक घर एक धारा’ कार्यक्रमलाई सफल बनाउने काम गरेको बताउनुभयो ।
काठमाडौँ: कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ । यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ । जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेशा विषय अलि बढी अभाव रहेको जानकारी दिनुभयो । जनक शिक्षाले छपाइमा ढिलाइ गर्दा यस वर्ष पनि विद्यार्थीले समयमै पुस्तक पाउन नसकेका हुन । कर्णालीका हिमाली जिल्लामा फागुन र पहाडी जिल्लामा वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । अर्धवार्षिक परीक्षाको समय नजिकिँदै गर्दा अझै पुस्तक नपाएकामा विद्यार्थी र उनीहरुका अभिभावक आक्रोशित छन् । नयाँ पुस्तक नपाएपछि कतिपय विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गरिरहेको बताएका छन् । जनक शिक्षाले पहिलो चरणमा दुर्गम एवं हिमाली जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री वितरण गरेको छ । कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटमा मागअनुसार सबै पुस्तक पठाइएको छ । “ती जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पहिलो प्राथमिकतामा राखेर ढुवानी गरिएको हो”, कार्यालय प्रमुख केसीले भन्नुभयो, “हुम्ला, सल्यान, रुकुम पश्चिममा नेपालगञ्जस्थित गोदामबाटै ढुवानीको व्यवस्था मिलाइएको थियो ।” सुर्खेत, दैलेख र जाजरकोटमा वीरेन्द्रनगर गोदामबाटै बिक्री वितरण गरिने बताइएको छ । जनक शिक्षाका अनुसार कर्णालीमा हालसम्म कक्षा चारदेखि १० सम्मका १४ लाख एक हजार सात सय ८९ थानमध्ये १३ लाख २९ हजार एक सय ४१ बिक्री भइसकेका छन् भने ७१ हजार छ सय ३८ थान मौज्दात छन् । गोदाममा मौज्दात पुस्तकमध्ये कतिपय सडेका, पानीले भिजेका र अधुरा सेट छन् । बिक्रेताले पूरै सेट पाएपछि मात्र खरिद गर्ने अडान लिएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कर्णाली प्रदेशले पुस्तक ढुवानी पारदर्शी नभएको भन्दै बुधबार जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयको ध्यानाकर्षण गराएका थिए । जनक शिक्षाले समानुपातिक र न्यायिक हिसाबले पुस्तक बिक्री नगरेको महासङ्घको आरोप छ । “बढी जनसङ्ख्या र बढी विद्यार्थी भएका जिल्लामा अझै पुस्तक दिइएको छैन, चाहे जति पुस्तक गोदाममा उपलब्ध नभएसम्म पुस्तक खरिद नगर्ने निर्णय गरेका छौँ”, अध्यक्ष नेपालले भन्नुभयो, “यसअघि जारी गरिएका बिलबिजक पनि रद्द गर्ने सहमति गरेका छौँ ।”
रुपन्देही: रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा दुई सय ६९ डेङ्गुका बिरामी भेटिएका थिए । गत आवमा ४६ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो । जिल्लामा २०६७ देखि डेङ्गुको समस्या देखिएको हो । २०६७/६८ मा दुई सय ९० जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । आव २०७६/७७ मा यो सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुगेको थियो । यो सङ्ख्या गत वर्ष घटेर ४६ मा झरेको थियो । अहिले पुनःबढ्दै गएकाले नियन्त्रण र रोकथामका लागि सबैको सक्रियता आवश्यक रहेको शाह बताउनुहुन्छ । डेङ्गुको रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान उपयुक्त हुने उहाँको भनाइ छ । डेङ्गुको सङ्क्रमण बढ्दै गए पनि फेयरमेट फाउन्डेसन नेपाल र इन्द्रेणी सामुदायिक केन्द्रको सहयोगमा बुटवल उपमहानगरपालिकाले बुधबार बुटवलमा डेङ्गु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रममा डेङ्गुको वस्थाबारे जानकारी गराउँदै शाहले समयमै नियन्त्रण नगरे यसले महामारीको रुप लिनसक्ने बताउनुभयो । “खोप छैन, त्यसैले जोखिम छ । घरमा पानी जम्ने ठाउँ छ भने सफा राख्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्नुपर्छ”, उहाँले भन्नुभयो । डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि बुटवल उपमहानगरपालिकले अभियान सुरु गरेको छ । उपमहानगरका सबै वडामा डेङ्गु नियन्त्रणका लागि सचेतनामूलक अभियान थालेको उपमहानगर प्रमुख खेलराज पाण्डेले बताउनुभयो । अभियानअन्तर्गत समूह समूहमा लार्भा खोज र नष्ट गर अभियान, क्लोरिनको झोल स्प्रे गर्ने तथा पर्चा पम्पेटिङ वितरणको काम हुने उहाँको भनाइ छ । विपद् व्यवस्थापन समितिको अगुवाइमा स्वास्थ्यकर्मीको साथ लिएर टोलटोलमा कार्यक्रम चलाउन थालिएको उपप्रमुख सावित्रादेवी अर्याल बताउनुहुन्छ । यो एक सरुवा रोग भएकाले महामारीको रुप लिन नदिननन सबै सचेत हुनुपर्नेमा उहाँको जोड छ । यसको सङ्क्रमणले ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी तथा माँसपेशी दुख्ने, आलस्य हुने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुनेजस्ता लक्षण देखापर्छन् । एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेङ्गु घातक हुन्छ । डेङ्गु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने र विरामी अझै कमजोर हुने गर्दछन् । तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेङ्गु भएको बुझ्नुपर्ने निरीक्षक शाह बताउनुहुन्छ ।

