पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

सुदूरपश्चिम:    दुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले कैलाली जिल्लामा पाँच सय घरपरिवार प्रभावित भएका छन् ।   जिल्लामा आज बिहानसम्म पाँचसय घर डुबानमा परेको र यसबाट झन्डै एक हजार सात सय नागरिक प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।   डुबानको समस्याले कैलारी गाउँपालिका, भजनी, घोडाघोडी र गौरीगङ्गा नगरपालिका क्षेत्र बढी प्रभावित भएको छ ।   डुबानको जोखिम अझै रहेकाले सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालये सूचना जारी गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ ।   कटैनी, शिवगङ्गा, कान्द्रा, पथरैया, खुटिया, मोहनालगायत नदीमा बढेको पानीको बहाव बस्तीमा पसेपछि आसपासको बस्तीमा डुबानको समस्या भएको हो ।   डुबानबाट बढी प्रभावित कैलारी गाउँपालिका—५ को मनिकापुरका कतिपय घरपरिवारको खाद्यान्न लत्ताकपडालगायत समान भुइँतलाबाट माथिल्लो तल्लामा राखेर भिज्नबाट जोगाइएको छ । डुबान भएपछि आफ्नै घरको छत र छानामा बसेर नसुतेरै धेरैले रात विताएका छन् ।   डुबानले धेरै परिवारको घरभित्र पानी पस्दा खाद्यान्नसहितको धनमाल भिजेर क्षति पुगेको छ ।   घोडाघोडी नगरपालिका—९ मा शिवगङ्गा नदीको बहाव बस्तीमा पसेपछि भएको डुबानले महादेवा, कम्दा, भगवानपुर, शङ्करपुरलगायत क्षेत्र डुबानमा परेका छन् ।   पूर्वपश्चिम हुलाकी राजमार्गको कैलारी सडक खण्ड बस्तीको भूभागभन्दा अग्लो निर्माण गरिएको कारण पानी थुनिएर आसपासको बस्ती डुबानमा परेको स्थानीयवासीले बताएका छन् ।   “पानीको निकास हुन पाउनेगरी हुलाकी सडक निर्माण गर्नुपर्नेमा त्यसो नगरिएकाले आफूहरुले बर्सेनि डुबानको समस्या झेल्नु परेको छ,” स्थानीयवासी ठाकुर चौधरीले भन्नुभयो, “पानीको निकास गरेर मात्र विकास गर्नुप¥यो ।”   गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले डुबानबाट प्रभावित हुनेहरुको वडाका जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, प्रहरी लगाएको टोली उद्धार राहतमा जुटिरहेको बताउनुभयो ।   उहाँले गाउँपालिकामा उपलब्ध साधन स्रोतका आधारमा डुबान, कटानको समस्या समाधान गर्न नसकिने भएकाले सङ्घ र प्रदेश सरकारले नदी तटबन्धनजस्ता ठूला योजना ल्याउन जरुरी भइसकेको बताउनुभयो ।   अविरल वर्षाले धनगढी उपमहानगरपालिका क्षेत्र जलमग्न भएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा प्रदेश सरकारका कतिपय मन्त्रालयलगायत सरकारी कार्यालय र सडकमा पानी जमेपछि आवागमन असहज बनेको छ ।   दुई दिनदेखिको वर्षासँगै कैलालीको मोहना, खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडालगायत नदी र खोलामा पानीको बहाव बढेको छ ।   डुबानका कारण विस्थापित स्थानीयवासीका लागि कैलाली जिल्लाको पूर्व—पश्चिम हुलाकी राजमार्गअन्तर्गतको केही ठाउँको सडक सुरक्षित ‘सेल्टर’ (बासस्थान) बन्दा कतिपय ठाउँको सडक भने डुबान हुने कारक पनि बनेको देखिएको स्थानीयको भनाइ छ ।   जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभाग हुँदै निर्माण गरिएको यो राजमार्ग बस्तीभन्दा अग्लो भएपछि डुबानको समयमा विस्थापित हुने स्थानीयवासी यसै राजमार्गमा त्रिपाल टहरा बनाएर बस्ने गरेका छन् ।

काँक्रेविहार (सुर्खेत):   बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।   मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिनुभयो ।   बुधबार बिहान चङ्खेली गाउँपालिका–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जीप मुगु खण्डको गौरीसल्लामा दुर्घटना भएको थियो ।   उक्त जीप धनी मल्ल आफैँ हुनुहुन्थ्यो । मल्लका दाई नाता पर्ने रोशन शाहीले भन्नुभयो, “रमेशले जीप किनेको चार/पाँच महिना मात्रै भयो । सानै उमेरमा बुबा गुमाएका रमेशले घरपरिवार पाल्नका लागि भर्खरै जीप किनेका थिए । रमेशका आमा, श्रीमती र दुई छोराछोरी छन् । उहाँ घरको एक्लो छोरा हुनुहुन्थ्यो ।”   दुर्घटनामा गम्भीर भएका अन्य तीन जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ ल्याइएको थियो ।   जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ रारा नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावतको सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ ।   प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेकाले चङ्खेली गाउँपालिकामा रहेको दार्मा स्वस्थ्य चौकीमा उपचार भइरहेको छ । 

देउखुरी:   घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।   प्रहरी प्रवक्ता तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका बताउनुभयो ।   उहाँले भन्नुभयो, “सुतली बम चर्को आवाजमा पड्केको थियो ।”   प्रहरी प्रवक्ता तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् ।   प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् ।   यस विषयमा थप अनुसन्धान भइरहेको तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकलमा आएका दुई जनामध्ये थापाले क्याम्पस अगाडि सडकमा बम फालेका थिए ।

काठमाडौँ:  नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ ।   स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ नेपाली सेना घटनास्थल पुगेको थियो ।    नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कैलाली:   कैलालीमा परिरहेको भीषण वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ।   भजनी, जोशीपुर, जानकी, घोडाघोडी कैलारी, गौरीगङ्गामाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।   जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कैलालीमा ५ सयभन्दा बढी घर डुबानमा परेका छन् भने १ हजार ७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन् ।   भजनीमा ४ सयभन्दा बढी घर डुबानमा परेको उनले जानकारी दिए। हसुलिया गौरीगंगा सुखडमा डुबान भएको छ।   कैलारीका केही परिवार वडा कार्यालयमा बसेका छन्। कैलारी ५ वयनपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीया लोकमाया चौधरीलाई बाढीले बगाएको थियो । उनको उद्धारपछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।   अहिले पनि कैलालीमा वर्षा भइरहेको छ भने साना ठुला नदीमा पानीको वहाब बढिरहेको छ। स्थानीय प्रशासनले सूचना जारी गरेर बाढीको जोखिम क्षेत्रमा रहेका स्थानीयहरूलाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ।

पोखरा:   पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो चरणका खेलहरु सकिएका छन् ।   आजदेखि प्रिक्वाटरफाइनलका खेल जारी रहेको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए ।   उनका अनुसार पोखरा १ पुरानो टुंडिखेलमा एट टु नाइन टिम ‘बि’ र कमलपोखरीबीच भएको आजको पहिलो खेलमा ४–१ गोलअन्तरले एट टु नाइन टिम ‘बि’  विजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।   यस्तै दोस्रो खेल एट टु नाइन टिम ‘ए’  र भण्डारढिकबीच खेल्नेछ ।  तेस्रो खेलमा सनराइज र गेमशाला भिड्नेछन् ।   चौथो खेलमा क्रस एफसी र क्लब डिबीच प्रतिस्पर्धा हुनेछ । पाँचौ खेलमा मालेपाटन र केआइइसी बुनबीच  हुनेछ ।   छैटौं खेलमा आरटी एफसी र युनाइटेड बगर भिड्नेछन् । सातौ खेल मार्सल र मिलनटोलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।   सो प्रतियोगिताको  विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।  

मकवानपुर​:    मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ ।   मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो ।   निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो ।   बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो । “मरेको बाघ बुढो र दुब्लो देखिन्छ । निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ”, उहाँले भन्नुभयो ।   शव परीक्षणका राष्ट्रिय निकुञ्ज ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

काठमाडौं:   फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईक्लिजम (एफआईएम)को मार्सल तालिम नेपालमा पहिलो पटक आयोजना हुने भएको छ ।    मोटोभर्स स्पोर्ट्स क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम भदौंको २८ र २९ गते काठमाडौंमा हुन लागेको हो ।    फर्मुला वान र मोटोजिपी जस्र्ता भेन्टहरुका अनुभवी प्रशिक्षकबाट मार्सल तालिम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।    एफआईएम एसियाको संयोजनमा हुने मार्सल तालिममा एफआईएम एसियाका उपाध्यक्ष सुजित कुमार, एफएमएससीआईका वरिष्ठ प्रशिक्षक सञ्जय सुनेजा लगायतका अन्तराष्ट्रिय स्तरका प्रशिक्षकले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।    मार्सल तालिममा देशभरका ७० जनाले प्रशिक्षण लिने मोटोभर्स स्पोर्ट्सका अध्यक्ष आशिष रौनियारले जानकारी दिए ।      तालिम अन्तर्गत मार्सेलिङ टेक्निक, सेफ्टी प्रोटोकल, रेस अफिसियल्स, ईभेन्ट म्यानेजमेन्ट, र्याली र टुरिङ लगायतका विषयमा प्रशिक्षण दिईनेछ ।    नेपाल अटोमोबाईल्स एसोसियसन (नासा) नेपालसँग आबद्ध भएका क्लब प्रतिनिधि, स्वयमसेवक र मोटर स्पोर्ट्ससँग सम्बन्धित ईच्छुक व्यक्तिले मार्सल तालिकमा भाग लिन सक्नेछन् ।    सहभागिताका लागि नाम दर्ता प्रक्रिया भदौ २२ सम्म खुल्ला रहने क्लबले जनाएको छ ।    नेपाली मोटरसाईक्लिङको क्षेत्रमा पहिलो पटक सबैभन्दा ठुलो प्राविधिक तालिम आयोजना हुन लागेको क्लबले जनाएको छ । 

कैलाली:    चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् ।   कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल पुर्याउने र ल्याउने गर्दै आएका छन् । विद्यार्थीले निथ्रुक्क भिजेर कक्षामा बस्नुपर्ने दयनीय अवस्था रहेको शिक्षक मदन विकले बताउनुभयो । उहाँले भन्नुभयो, “कालेखोलामा पुल नहुँदा यस्तो बाध्यता परेको हो । ठूलो पानी पर्नेबित्तिकै केटाकेटी स्कुल नै आउँदैनन् ।” गाउँलेहरूले वर्षौँदेखि कालेखोलामा झोलुङ्गे पुलको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेशका कार्यालय अनुरोध गरेका भएपनि त्यसको सुनुवाइ नभएको स्थानीय हेमबहादुर विष्टले बताउनुभयो । चुरे–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले वडालाई प्राप्त हुने सीमित बजेटले सडक, पुल तथा तटबन्ध निर्माण गर्न नसकिएको बताउनुभयो ।