कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

कञ्चनपुर:     कात्तिक भाइटिका हुन्छ भदौमा सबकी लेखा रक्षा गरे हे देवी गौरा      महेन्द्रनगरस्थित महेन्द्र स्मारमा देउडीया (गीतकार) मञ्जु गिरीले यसै गीतबाट देउडा खेल सुरु गर्नुभयोे । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो । गौरा पर्वका अवसरमा महेन्द्रनगरका हरेक बस्तीमा देउडा भाका गुञ्जिएका छन् । हरेक वर्ष महेन्द्रनगरको खुला मञ्च र महेन्द्र स्मारकमा महिनौसम्म चल्ने देउडा खेल यस वर्ष पनि गौरा पर्वसँगै सुरु भएको छ । सुदूरपश्चिमका गाउँ बस्ती यति बेला देउडा गीतले गुञ्जायमान छन् ।      गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौँको टुँडिखेलदेखि पश्चिमको दार्चुलासम्म देउडा खेलले माहोल रोमाञ्चक बनेको छ । अहिले सुदूरपश्चिमवासी देउडामा रमाएका छन् ।       देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवै रुपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालकै आधारमा डेड पाइला अगाडि र डेड पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकारहरु बताउँछन् ।       “देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो”, साहित्यकार कविराज भट्टले भन्नुभयो, “देउडा लोकवार्ता र लोकनृत्य पनि हो ।” यो सुदूरपश्चिमको  ऐतिहासिक, धार्मिक महत्व र पहिचान पनि भएकाले यसको निरन्तरता आवश्यक रहेको उहाँले बताउनुभयो । देउडामा देव गाथालाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिन्छ ।      “देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाबीच दोहरी हुने गर्दछ”, भट्टले भन्नुभयो, “यसमा एउटाले प्रश्न सोध्ने र अर्कोले त्यसको तत्काल प्रतिउत्तर दिनुपर्ने हुन्छ ।” देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन्, कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने सुदूरपश्चिम प्रगतिशील लेखक सङ्घका अध्यक्ष रमेश पन्त बताउनुहुन्छ ।       “यसमा समाजका राम्रा नराम्र पक्ष र समसामयिक घटनाको उठानका साथै मायाप्रेम आदिका कुरा पनि आउने गर्दछन्”, उहाँले भन्नुभयो, “यो विशेषगरी गौरा तथा मेलापर्वको अवसरमा खेल्ने गरिन्छ ।” देउडा खेल्नका लागि कुनै विशेष पर्व नै हुनुपर्छ भन्ने नहुने उहाँले बताउनुभयो ।       “सुदूरपश्चिममा पहिलेपहिले मनोरञ्जनका लागि विवाह, व्रतबन्ध र अन्य चाँडपर्वमा पनि खेल्दै आएको पाइन्छ”, उहाँले भन्नुभयो, “गौरा पर्वका अवसरमा भने देउडा बढी मात्रामा खेल्ने गरिन्छ ।” डेउडा महिला तथा पुरुषका छुट्टाछुट्टै र कतै मिश्रित रुपमा पनि हुने गरेको पाइन्छ । देउडामा सुखदुःख, मायाप्रेम, हास्याव्यङ्ग्यका साथै विविध ज्ञानगुन र अर्तिउपदेशका प्रश्नउत्तरमा आधारित गीत प्रस्तुत गर्ने गिरी बताउनुहुन्छ ।      “माया पीरतीका कुरा देवीदेवताका कुराकानी गीतमार्फत सवालजवाफ गर्नेगर्छौं,” गिरीले भन्नुभयो, “देउडामार्फत हुने सवाल–जवाफ रोचक हुने र साथीभाइको भेटघाट हुने माध्यम पनि बनेको छ ।” प्रविधिको विकाससँगै डोट्याली लोकगीतको विकास हुने क्रममा विभिन्न बाजागाजासहित डेउडा गीत रेकर्ड हुने क्रम पनि बढ्दै गएको पाइन्छ । यसरी गीत मात्रै गाउनु डेउडा गीत हो भने गायनसँगै खेल्नु डेउडा खेल हो ।      गौराका अवसरमा गाउँदेखि बजारसम्मका महिला–पुरुष देउडामा रम्न थालेका छन् । महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी ठाउँमा देउडा खेल सुरु भएको छ । केही ठाउँमा विभिन्न सङ्घसंस्थाले अगुवाइ गरेका छन् । गौरापर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको पाइन्छ । गौरा पर्वका अवसरमा सुदूरपश्चिममा महिनाँैसम्म देउडा खेलिन्छ ।       देउडा गीत एक प्रकारको भाका हो, यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी पुुरुष, युवा पाका सबै पुुस्ताले खेल्न पाउँछन्, यसमा जातीय विभेद पनि हुँदैन । पछिल्लो समय यसको महत्व अझ बढेको पाइन्छ ।          गौरापर्वकै अवसरमा ढुस्को धुमारीलगायतका खेल पनि खेलिन्छन् । “यी जति पनि खेल खेलिन्छन्, सबैमा देवी–देवताको गाथा मनोरञ्जनात्मक रूपमा गाइन्छ ।” ठाडो खेलका गायक विश्राम भट्टले भन्नुभयो, “ठाडो खेलमा मादलको तालसँगै पैतला मिलाउँदै देवी–देवताको गाथा मनोरञ्जनात्मक रुपमा गाइने गरिन्छ ।” देउडामा सुदूरपश्चिमको इतिहास, संस्कृति र साहित्य छ । अहिले मनोरञ्जनका रूपमा मात्रै देउडा खेलिन्छ तर देउडा इतिहास र संस्कृतिसँग जोडिएकाले अहिलेका पुस्ताले यसको महत्व बुझ्न जरुरी छ ।

पाल्पा:    राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पा सदरमुकाम तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा आज पूजाअर्चना गर्नुभएको छ । साथै उहाँ  रणउजिरेश्वरी भगवती रथ यात्रामा समेत सहभागी हुनुभएको छ । सो अवसरमा प्रथम महिला सविता पौडेलले समेत मन्दिरमा पूजाअर्चना गर्नुभयो ।       रथ यात्राका क्रममा रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख तुलाराम घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु, उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको थियो ।      नेपाल अङ्ग्रेज युद्धमा गोर्खाली फौजले जितगढी किल्लाबाट अङ्ग्रेज फौजलाई पराजित गरेको अवसरमा भाद्र कृष्ण अष्टमीको भोलिपल्ट सिन्दूर यात्राका रुपमा रथयात्रा निकालिने परम्परा छ । विसं १८७७ देखि मनाउँदै आएको रथ यात्रा दुई सय पाँचौँ पटक मनाइँदैछ ।      तानसेन नगरपालिका–३ को भगवती टोलमा रहेको भगवतीको मन्दिरबाट रथ यात्रा निकालिने परम्परा रहेको भगवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष अशोक महर्जनले जानकारी दिनुभयो । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट यहाँ हरेक वर्ष रथ यात्रा निकालिँदै आइएको छ ।      नेपालले अङ्ग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा पाल्पामा विजयउत्सव स्वरुप यहाँ हरेक वर्ष रथयात्रा निकालिँदै आइएको छ ।  नेपाली सेनाले सलामी दिएर तीनपटक मन्दिर परिक्रमा गराएपछि भगवती रथ यात्रा निकालिने परम्परा छ । यसलाई भगवती जात्रा, रथ यात्रा अर्थात् सिन्दूर जात्राका नामले पनि चिनिन्छ ।  भगवतीको मन्दिरबाट शुभ साइतमा निकालिएको भगवती जात्रा (रथ यात्रा) लाई शीतल पार्टीको मूल ढोकाबाहिर निकालेपछि सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारीबाट पूजा गरी बलि दिइने चलन छ ।  पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा १८७७ सालदेखि निरन्तर रुपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आइएको छ ।  विद्यालय एवं विभिन्न सङ्घसंस्थाको उपस्थितिमा निकालिने भगवती जात्रा (रथ यात्रा)लाई भजनकीर्तन, पञ्चेबाचा, लाखेनाच, विभिन्न सांस्कृतिक झाँकीसहित तानसेन नगर परिक्रमा गराएर पुनः भगवतीको मन्दिरमा लगी विसर्जन गरिने बताइएको छ । 

पोखरा:     नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ हुने भएको छ । संस्थाको २८ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ १९ देखि २१ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव हुन लागेको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए । ‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हो । महिलातर्फ यो ११ औं र पुरुषतर्फ तेस्रो संस्करणको लामाचौर कप हो । दुवैतर्फ नेपालका ३ विभागीय टिमसहित ५/५ टिमले भाग लिने जनाइएको छ । महिला राष्ट्रिय भलिबलतर्फ विभागीय सशस्त्र प्रहरी बल एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेष्ट भलिबल क्लब बुटवलले भाग लिने छन् । पुरुषतर्फ विभागीय सशस्त्र प्रहरी बल एफिएफ, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, गण्डकी प्रदेश भलिबल टिम र मणिमुकुन्द भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख १११, तेस्रोलाई ५० हजार १११ नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ । टिमको यातायात, आवास र खाना खर्च आयोजकले व्यवस्थापन गर्नेछ । भलिबल भने महोत्सव उद्घाटनको अघिल्ल्लो दिन भदौ १८ देखि नै सुरु हुनेछ । यस्तै, अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको अर्का आकर्षण रहेको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताए । उनका अनुसार महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने, प्रकाश पराजुली लगायत विशेष प्रस्तुति रहनेछ । महोत्सवमा औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलहरु रहने छन् । तीज गीतमा प्रथमलाई ५० हजार १११, दोस्रोलाई ३० हजार १११, तेस्रोलाई २० हजार १११ र सान्त्वनालाई १० हजार १११ साथै सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार व्यवस्था गरिने छ । अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमशः ४०, २५, १५ र ५ हजार तथा उत्कृष्ट भेषभूषालाई ५ हजार दिइनेछ । आयोजकले शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिनेलाई यस वर्ष सम्मान गर्नेछ । छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको छ । महोत्सव सम्पन्न गर्न ५४ लाख ८८ हजार खर्च लाग्ने अनुमान आयोजकको छ । महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गरिने अर्थ संकलन उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए । संस्थाले सर्वसाधारणको सेवामा लामो समयदेखि एम्बुलेन्स तथा शववाहन संचालन गर्दै आएको छ । संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले लामाचौर महोत्सवमा भलिबलको क्रेज बढ्दै गएको भन्दै संस्थाले छुट्टै भलिबल कोर्ट निर्माण तयारी गरेको सुनाए । पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लामाचौर महोत्सवकै कारण यस क्षेत्रको चिनारी अन्तर्राष्ट्रियस्तरमा पुगेको भन्दै वडाले पनि अपनत्व लिएको बताए । महोत्सवमा प्रवेश निशुल्क हुनेछ तर भलिबल हेर्न टिकट काट्नु पर्छ । भलिबल हेर्न ४ हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको सचिव हरिबहादुर थापाले बताए । महोत्सवको मुख्य सहयोगी इन्द्रराज्यलक्ष्मी मावि र बानियाँ किराना स्टोर्स लामाचौर छन् । संरक्षकमा पोखरा वडा १९ र वडा १६ का वडा कार्यालय छन् ।  

 पोखरा:    राधाकृष्ण सांस्कृतिक समूह, पोखरा –३२ द्वारा आयोजित नवौं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् खुल्ला भजन चुुड्का प्रतियोगितामा देवीस्थान भजन समूह, हेमजा प्रथम बनेको छ ।      प्रतियेगितामा मुुक्तेश्वर लोक खैंजेडी भजन समूह टोखा काठमाडौं द्वितीय, ओमकार भजन समूह फूलबारी पोखरा तृतीय र पञ्चासे भजन समूह सान्त्वना बनेका छन् ।      प्रतियोगितामा उत्कृष्ट बाद्यबादनमा शिशुुवा भजन समूह, उत्कृष्ट भेषभुुषामा मातृकेश्वर भजन समूह, हेमजा र उत्कृष्ट स्वरतर्फ शुक्ला हिलेटार शिवालय भजन समूूह विजयी भएका छन् ।      प्रतियोगितामा प्रथम, द्वितीय, तृृतीय र सान्त्वनालाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट बाद्यबादन र उत्कृष्ट भेषभुुषा बापत पाँच÷पाँच हजार रुपैयाँ र उत्कृष्ट स्वर बापत तीन हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १३ वटा समूहले भाग लिएका थिए भने अप्रतियोगी रुपमा विभिन्न जातजातिका पाँच्वटा प्रस्तुति गरिएको थियो ।      प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् पूर्व गृह मन्त्री खगराज अधिकारीले हाम्रा मौलिक संस्कृतिहरूको जगेर्ना गर्नुुपर्नेमा जोड दिनुुभयो ।    राधाकृष्ण मन्दिर परिसर नजिकै भैरहेको महानगरको फोहोर विसर्जन प्रति लक्षित गर्दै उहाँले पावन भूमिको नजिक फोहोर व्यवस्थापन गर्न नहुने बताउनुुभयो । राधाकृष्ण मन्दिर र यस क्षेत्रलाई आश्रमस्थल, विद्याश्रम मात्र नभै अनुसन्धानको केन्द्र बनाउनुुपर्नेमा उहाँले जोड दिनुुभयो ।       गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुुर खड्का विखर्चीले गर्ग ऋषिको तपोभूमिका रुपमा रहेको यस क्षेत्रको संरक्षणसँगै विकास गर्नुुपर्नेमा जोड दिनुुभयो ।      नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ का सभापति एवम् गगनकालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किसान परियारले राधाकृष्ण मन्दिर परिसर नजिकै फाल्ने गरिएको फोहोरका कारण मन्दिर, आश्रम, गुुरुकुलसँगै यस क्षेत्र प्रदुषित भईरहेको बताउँदै यसतर्फ राज्यको ध्यान तत्काल पुुग्नुु जरुरी रहेको बताउनुुभयो । यस क्षेत्रका सबै प्रभावितलाई तत्कालै निशुल्क स्वास्थ्य बिमामा समेट्न उहाँले आग्रह गर्नुुभयो ।      समूहका अध्यक्ष सञ्जयराज ढकालको अध्यक्षता एवम् सहसचिव भरत थापा र सदस्य विनोद भण्डारीले सञ्चालन गर्नुुभएको कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुुका पराजुली, गगन नेवा खलका सचिव शरणकुमार प्रधान लगायतले बोल्नुुभएको थियो । कार्यक्रममा समूहमा विशिष्ट योगदान पुु¥याएको भन्दै छविलाल दहाल, पार्वती लामिछाने र प्रकाशचन्द्र वाग्लेलाई सम्मान गरिएको थियो ।      

सोलुखुम्बु:    सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ ।  गत साउन ३२ गते थामेमा आएको बाढीमा फसेका नागरिक तथा भौतिक सम्पत्ति उद्धारमा सक्रिय प्रहरी निरीक्षकसहित १३ जनालाई आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो ।  पुरस्कृत हुनेमा प्रहरी निरीक्षक लक्ष्मण गिरी, प्रहरी सहायक निरीक्षक खेमराज खतिवडा, प्रहरी वरिष्ठ हवल्दार दीपककुमार कटुवालसहित रहेका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरकानुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी वरिष्ठ हबल्दार एक, प्रहरी हवल्दार तीन, प्रहरी सहायक हवल्दार दुई र चारजना प्रहरी जवान रहेका छन् । उच्च हिमाली भेगमा आएको प्राकृतिक विपत्तिमा जनधनको क्षति न्यूनीकरणमा सक्रिय रूपमा निर्वाह गरेकाले नेपाल प्रहरीको अभिलेख रहने गरी पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।  “बाढीपीडितको उद्धार, जोखिम न्यूनीकरण, सूचना आदानप्रदान, तल्लो तटीय क्षेत्रमा सचेतना जगाउनेलगायत कार्यमा अत्यन्त कुशलतापूर्वक काम गरेकाले उहाँहरूलाई पुरस्कृत गरिएको हो”, उहाँले भन्नुभयो ।   पुरस्कारले उच्च मनोबलका साथ राष्ट्रको सेवामा लाग्न थप प्रेरणा मिलेको पुरस्कृतमध्येका प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।  गत साउन ३२ गते दिउँसो १ः३० बजे सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमपहिरोले गेग्रान र ढुङ्गासहित गएको बाढीले एक विद्यालय, एक स्वास्थ्य चौकी, दुई होटल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रूपमा क्षति भएको थियो भने ९५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । फुटेको हिमताल थामे बजारबाट करिब नौ किलोमिटर टाढा छ ।

पोखरा:    मिस मगर नेपाल २०२४ का अन्तिम प्रतिस्पधीहरुले निट डेन्टल केयरमा आफ्नो स्वस्थ दाँतको निम्ति दाँत र गिजाको जाँच तथा उपचार गरेका छन् । मिस मगर नेपाल कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले दन्त समस्याहरूको प्रारम्भिक पहिचान, व्यक्तिगत दन्त सल्लाह, आवश्यक उपचार र जीवनभर स्वस्थ रहनका लागि आवश्यक राम्रा बानीहरूको प्रोत्साहन गर्न कार्यक्रम समावेश गरेको बताईन् ।  प्रतिस्पर्धीहरुलाई डा. नितिका रन्जित र डा. जेनि आचार्यले दन्त जाँच तथा उपचार गरेकी थिईन् साथै निट डेन्टल केयर प्रा.लिका प्रबन्ध निर्देशक विरेन रानाले स्वस्थ रहने उपाय र सल्लाह सहित ग्रान्ड फिनालेको लागि अग्रिम शुभकामना व्यक्त गरे ।  हरेक वर्ष आयोजना हुँदै आएको यस वर्षको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गरेको छ ।   एसटी क्रियसन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुँदै आएको सातौ संस्करणको मिस मगर नेपाल २०२४ को ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुनेछ ।  सातौ संस्करणको मिस मगर नेपालमा २० जना प्रतिस्पर्धीहरु मध्ये ११ जना फाइनल चरणमा प्रवेश गरेका हुन् ।  अहिले ११ जना प्रतिस्पर्धीहरुलाई विभिन्न तालिमहरु दिँदै आएको कार्यक्रम टिम संयोजक गर्बुजा मगरले जानकारी दिईन् ।  प्रतिस्पर्धीहरुलाई मगर मातृभाषा, कला, संस्कृतिहरुसँगै व्यक्तित्व तथा नेतृत्व विकास लगायतको तालिम तथा प्रशिक्षण भइरहेको छ । कार्यक्रमको मिडिया पाटर्नरमा फेवा टेलिभिजन, सुनगाभा न्यूज र मगर संसार फोटो ग्यालरी रहेको छ । 

काठमाडौं:     राष्ट्रिय स्वतन्त्र पार्टीले डा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको हो। पार्टीको हितविरुद्ध गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । उहाँलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो । अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उहाँले जवाफमा सभापति रवि लामिछानेलाई दोषि करार गरिछाड्ने र आफू यस कदमबाट पछि नहट्ने बताउनु भएको थियो । यसअघि पार्टी अनुशासन आयोगले ढकालले पार्टीलाई हानी पुर्याएको निष्कर्ष निकालेको थियो ।

नेपालगञ्ज:     नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।  उहाँकानुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार रहेका छन् । बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।  बर्दियाका एक जना सुन पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ ।  ती व्यापारीले नेपालगञ्जबाट सामान किनेको बताएको र  बिक्री गर्ने कालीगढकहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउन्भयो। 

म्याग्दी:     म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन ।   अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रुपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन सङ्घीय सरकारले पठाएको रु एक करोड ३० लाख बजेटको योजना कार्यान्वयन भएको हो ।       अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले तातोपानी कुण्ड छेउमा रहेको बेनी–जोमसोम–कोरला सडकको नक्साङन टुङ्गो  लगाउन भएको ढिलाइका कारण पर्यटकीय पूर्वाधार निर्माणका लागि भित्रिएको बजेट र योजना कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । भुरुङ–तातोपानी पूर्वाधार निर्माण शीर्षकमा आर्थिक वर्ष २०७९÷८० मा रु ८० लाख र २०८०÷८१ मा प्राप्त भएको रु ५० लाख बजेट कार्यान्वयन नभएको हो ।       “यसअघिका दुई आवमा बजेट आए पनि बेनी–जोमसोम–कोरला सडक आयोजनाले कताबाट सडक बनाउने भन्ने टुङ्गो नलगाएपछि तातोपानी कुण्डमा पूर्वाधार बनाउन सकिएन”, उहाँले भन्नुभयो, “सडक आयोजनाले अहिले तातोपानी कुण्ड मुनी कालीगण्डकी नदीको किनारै किनार सडक बनाउने नक्शाङ्कन टुङ्गो लगाएको छ ।” तर सङ्घीय सरकारले यसपाली भुरुङ तातोपानीको पूर्वाधार योजनाका लागि बजेट र योजना कटौटी गरेको छ ।       जमिनभित्रको मुहानबाट करिब ५० डिग्री तापक्रममा निस्कने प्राकृतिक तातोपानी सङ्कलन गरिएको दुई वटा पोखरी र धारामा स्नान गर्न सकिने भुरुङ–तातोपानी पूर्वाधार अभावमा व्यवस्थित बन्न सकेको छैन । खुला आकाशमुनि रहेको कुण्डमा घाम र पानी छेक्ने छानो छैन । खुला रुपमा धारामा स्नान गर्नुपर्छ । कपडा, सामग्री राख्ने र कपडा फेर्न व्यवस्थित ठाउँ आवश्यक छ । सवारीसाधन पार्किङ गर्ने ठाउँ छैन ।       तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुने जनविश्वास छ । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने आउने पर्यटकका लागि भुरुङ–तातोपानीलाई थकान मेटाउने विश्रामस्थल हो । मुस्ताङको चिसो हावापानीबाट आएका तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन् ।       यसअघि कुण्डको कुनातर्फबाट खोलीएको बेनी–जोमसोम–कोरला सडक विस्तार गरेर ११ मिटर फराकिलो बनाउँदा कुण्डको मुहान र पोखरी पुरिने भएकाले नक्शाङ्कन परिवर्तन गर्न स्थानीयवासी, जनप्रतिनिधि र सरोकारवालाले माग गरेका थिए । तातोपानीको मुहान र पोखरीलाई असर नपर्ने तथा कालीगण्डकी नदीको कटान पनि नियन्त्रण हुने गरि कुण्डमुनिबाट सडकको नयाँ नकङ्कन गरिएको छ ।        अन्नपूर्ण अध्यक्ष भारतकुमार पुनले नयाँ नक्शाङ्कन अनुसार भुरुङ–तातोपानी कुण्ड क्षेत्रमा सडक स्तरोन्नतिका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनालाई ताकेता गरिएको बताउनुभयो । सङ्घीय सरकारले पठाएको बजेट कार्यान्वयन हुन नसके पनि गाउँपालिकाको स्रोतबाट तातोपानी कुण्डमा पूर्वाधार निर्माण गरेर व्यस्थित गरिने उहाँले बताउनुभयो । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले भुरुङ–तातोपानी क्षेत्रमा बाँकी रहेको सडक स्तरोन्नतिका लागि ठेक्का आह्वानको तयारी गरेको जनाएको छ ।