चितवन: पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो । सडक विभागको समन्वयमा पहिरो हटाएपछि पौने ९ बजेदेखि यातायात दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो ।
पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा सम्पन्न नकआउट फुटबल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन सराई एफसीले जितेको छ । हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा शुक्रबार भएको फाइनल खेलमा दमकडा ब्रदर्शलाई २–१ गोल पराजित गर्दै सराईले उपाधि जितेको हो । सराई गत वर्षकोसमेत विजेता हो । सराईको जीतमा अवतार थापाले २ गोल गरे । यता हार व्यहोरेको दमकडाका तर्फबाट आवेश शाहीले १ गोल गरे । उपाधिसँगै सराईले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाापत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको दमकडालाई नगद रु ३० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेको खेल संयोजक अर्जुन चर्तीले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताबाट सराईका सुजन रानामगर सर्वोत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । सर्वाधिक गोलकर्ताका रुपमा अवतार थापामगर (४ गोल), उत्कृष्ट गोलरक्षकका रुपमा दमकडाका विशाल चौवे, उत्कष्ट डिफेण्डरमा सराइककै सुमित मल्ल, उत्कृष्ट फरवार्डमा आवेश शाही र उदीयमान खेलाडीका रुपमा नवजागृति निलो का आदेश सारुमगर पुरस्कृत भए । कुल १३ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई प्रमुख अतिथिसमेत रहेकी बगनासकाली गाउपालिकाकी प्रमुअ सरस्वती दर्लामी चिदी, वडा १ का वडाध्यक्ष शेर बहादुर चिदी, वडा सदस्य मानु सोमै, लुम्बिनी प्रदेश फूटबल संघ उपमहासचिव प्रज्वल उदय, हनेरी क्याप्टेन आनन्द कुमार थापा सारु, क्लबका सल्लाहकारहरु सु. बि.एस. थापा, घोरबन्दा महिला समुहको अध्यक्ष कविता गाहा, कानुङ लाङ्घाली गुमष्ठा घोरबन्दाका अध्यक्ष बलराज गाहा लगायतले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रममा नवजागृती युवा क्लबका कलाकारहरुले विविध सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । क्लबका अध्यक्ष जनक गाहाको सभापतित्वमा सम्पन्न कार्यक्रको सञ्चालन क्लबका पूर्व अध्ष्क्ष दिनेश कुमार थापा सारुले गरेका थिए ।
धनुषा: चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेट्नु भएको थियो सोही क्रममा उहाँले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गर्नुभएको थियो । प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् ।
चितवन: सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार सुक्खा पहिरो खस्दा यातायात सञ्चालन पूर्णरुपमा अवरुद्ध भएको छ । हाल पहिरो हटाउने काम भइरहेको उहाँले बताउनुभयो ।
चेपाङ: चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो । यसपटक गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भई नाचगानगरी पर्व मनाउन लागिएको उहाँले बताउनुभयो । गत वर्ष धादिङ गजुरी गाउँपालिका–५ च्याङ्लीमा सामूहिक रुपमा भेला भएर न्वागी मनाइएको थियो । चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागी मनाउने गरिएको अध्यक्ष चेपाङको भनाइ छ । उहाँका अनुसार विसं २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वागी मनाउँदै आइएको छ । भदौ २२ गते सामूहिक रुपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ । चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खान सुरु गर्ने दिनका रुपमा पनि लिइन्छ । न्वागीमा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्र्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाउने चलन छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । यसैबीच मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको अध्यक्ष चेपाङले बताउनुभयो । चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङगरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ ।
महोत्तरी: महोत्तरी जिल्लासहित सम्पूर्ण तराई मधेसमा आज राति उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व (चन्द्रमाको पूजा) सम्पन्न भएको छ । श्रद्धा र आस्थाका महान् पर्वका रुपमा मानिएको यो पर्व आज राति आकाशमा चन्द्रमा उदाएपछि चन्द्रमालाई विभिन्न वस्तुको अघ्र्य अर्पण गर्दै सम्पन्न भएको हो । यस पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचन पर्वको नाउँले पनि सम्बोधन गरिन्छ । प्रत्येक घरका ज्येष्ठ महिलाले आज दिनभरि निराहार उपवास बसी राति चन्द्रमाको पूजाआजा गरेका छन् । यस पर्वमा फलफूल, मिठाई, दही, पूरी र खीर खाने चलन रहेको छ । यस पर्वका लागि तराई मधेसका सम्पूर्ण घर–घरमा केरा, स्याउ, नरिवल, अनार, अम्बा, नासपाती, मकै, निम्बु तथा विभिन्न प्रकारका मिठाई र दही दुई÷तीन दिनपहिले देखि नै जोहो गरेर राखिएको थियो भने आज घरका महिलाले दिनभरि घरघरमा पुरी, खीरलगायत वस्तुहरु पकाएर चन्द्रमा भगवान्लाई चढाउँदै पर्व सम्पन्न गरेका छन् । शुक्रबार साँझ पर्नासाथ घरका सबै सदस्य चन्द्रमा उदाउने प्रतीक्षामा व्यग्र भएर बसिरहेका थिए । चन्द्रमा उदाउनासाथ घरका महिलाले आँगनमा लिपपोत गरेर विभिन्न रङ्गोली बनाएर ल्याएका सबै सामग्री राखेर पूजाआजा गरेका छन् । महिलाले पूजा सकाएपछि घरका सबै सदस्यले पालैपालो आँगनमा राखिएको विभिन्न फल लिएर चन्द्रमालाई ढोग्ने र विभिन्न वर माग्ने गर्दछन् । त्यसपछि घरपरिवारका सबै सदस्यले आँगनमै बसेर प्रसाद ग्रहण गर्ने चलन छ । यस पर्वले घरका सबै सदस्यलाई एकै थलोमा जमघट गराउने र एकै साथ खाना खान लगाउने परम्पराले आपसी सम्बन्ध बलियो बनाउने भएकाले यो लोकप्रिय छ ।
नवलपुर: नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गैँडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो । बालककी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धर गम्भीर घाइते हुनुभएको थियो । घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । प्रहरीका अनुसार ठक्कर दिने सवारीसाधन र चालक प्रहरी नियन्त्रण छन् ।
पोखरा: तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २६ औं संस्करणको लामाचौर तीज महोत्सव भव्यरुपमा सम्पन्न भएको छ । संस्थाको २८ औं वार्षिक समारोहबीच लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा तीन दिनसम्म भएको महोत्सवको अन्तिम दिन शुक्रबार हजारौं दर्शकको भीड लागेको थियो । महिलाहरुको महान् पर्व हरितालिका तीज पनि भएको शुक्रबार गाउँगाउँबाट मानिसहरु महोत्सवस्थलमा ओइरिएको आयोजकले जनाएको छ । राष्ट्रिय कलाकार सम्झना भण्डारी, दुर्गेश थापा र एलिना रायमाझीले विभिन्न प्रस्तुतिमा स्टेज तताए । दुर्गेश थापाले ‘हामी पनि नाँच्नुपर्छ बीच्चबीच्चमा’ गाउँदा होस् वा सम्झना ‘बत्ती बाल्नै पर्दैन यो गाउँमा’ गाउँदा दर्शक छमछमी नाचेर साथ दिए । २० टिमले भाग लिएको अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगितामा सक्षम अभियान नेपाल प्रथम भयो । लामाचौरको शिवालय तमु समाज दोस्रो, महिला स्वास्थ्य स्वयंसेविका समाज तेस्रो र महिला समाज कल्याण आमा समूह सान्त्वना भए । प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार प्रदान गरिएको संस्थाका पूर्व अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए । अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल प्रथम भएको छ । प्रगति इङ्लिस बोर्डिङ दोस्रो तथा सरस्वती विद्याश्रम तेस्रो भयो । रिभरडेल बोर्डिङ, बेसलाइन एकेडेमी र अल्फा इङ्लिस बोर्डिङ स्कुल सान्त्वना भए । गुरुकुल विद्यासदनले उत्कृष्ट भेषभूषाको पुरस्कार जितेको छ । लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः ४०, २५, १५ र ५ हजार पाए । उत्कृष्ट भेषभूषा प्रस्तुत गर्ने गुरुकुलले ५ हजार जितेको प्रचार संयोजक दिनेश भण्डारीले बताए । महोत्सवमा राखिएका औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलमा पनि किनमेलको उस्तै भीड थियो । आयोजकले तीजसँग सम्बन्धित विभिन्न गतिविधि गर्ने भएकोले दर्शकको आकर्षण बढेको आयोजकको दाबी छ । आयोजकले ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने, प्रकाश पराजुलीलगायतलाई उतारेको हो । यस्तै, शिक्षा, युवा उद्यमशीलता विकास र खेलकुद क्षेत्रमा योगदान दिनेलाई सम्मानित भए । सम्मानित हुनेमा सामुदायिक विद्यालयको विकासमा अतुलनीय योगदान दिएकोमा मिलन केसी (शिक्षातर्फ), कञ्चन क्यापिटलका संचालक विमल गुमाजू (युवा उद्यमशीलतातर्फ) र महिला राष्ट्रिय भलिबल टिम कप्तान अरुणा शाही (खेलकुदतर्फ) छन् । उनीहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापालगायतले सम्मानित गरे । समापन समारोहमा स्वागत प्रथम उपाध्यक्ष एवं प्रचार संयोजक दिनेश भण्डारीले गरे । संचालन सचिव हरिबहादुर थापा र सहसचिव शोभा बानियाँले गरे । अध्यक्षको आसनबाट संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए । महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता थियो । महिलातर्फ न्यू डायमण्डलाई ३–१ सेटमा हराउँदै एफिएफले उपाधि जितेको छ । पुरुषतर्फ विभागीय एपिएफल र नेपाल पुलिसबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भयो । शनिबार बिहान ११ बजे उक्त खेल हुनेछ । महिलातर्फ विजेताले १ लाख ५० हजार, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । एपिएफकी जस्ना महतो बेस्ट सेटर, कविता भट्ट सर्भर, यमुना बराइली डिफेन्डर बने । डायमण्डकी सुमित्रा रेग्मी ब्लकर र सलिना बुढामगर स्पाइकर घोषित भए । एपिएफकी पुजा चौधरीले मस्ट भ्यालुयबल प्लेयरको उपाधि चुमिन् । पुरुषतर्फ भोलि ११ बजे फाइनल हुने पुरुषतर्फ विभागीय एपिएफल र नेपाल पुलिसबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भयो । शनिबार बिहान ११ बजे उक्त खेल हुनेछ । यस्तै पुुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा ट्राभल इन्क्वाईरी गलकोटले गण्डकी प्रदेशलाई सोझो सेटमै हराउँदै तेस्रो स्थान हासिल गरेको छ । यस अघि लिग चरणको खेलमा गण्डकीले गलकोटमाथि ३–२ सेटमा हराएको थियो । गलकोटले २७–२५, २५–२२ र २५–२२ ले हराउँदै ५० हजार एक सय ११ रुपैयाँ प्राप्त ग¥यो ।
काठमाडौं: काठमाडौं उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शङ्कास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकल चलाइरहेका अछाम घर भई कोटेश्वर बस्ने वर्ष २८ का हिमाल खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त तथ्य खुलेको हो । खत्रीसँग बरामद भएको बुलेट मोटरसाइकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा सोही नम्बरको अर्को मोटरसाइकल छ भन्ने पत्ता लागेको हो । मोटरसाइकलको खोजतलासमा निस्केको टोलीले मध्यवानेश्वरमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका–२ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से ७ प ८५६२ नम्बरको ३५० सिसीको बुलेट मोटरसाइकलसहित नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वकराज खड्काले जानकारी दिनुभयो । कार्यालयले आज घटना विवरणसहित आरोपीलाई सार्वजनिक गरेको छ । उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०४७ प १९७५ रहेको र काठमाडौँस्थित रानीबारीबाट गत साउन २८ गते हराएको थियो । रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकलसमेत रहेको चोरीमा सङ्लग्न कुँवरबाट खुलेपछि उक्त मोटरसाइकल पनि छाउनीबाट नियन्त्रणमा लिइएको हो । अनुसन्धानका क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२–०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काडाँघारी बस्ने ओखलढुङ्गाका उत्तमकुमार पराजुलीको रहेको खुल्न आएको हो । उक्त मोटरसाइकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो । थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाइकलसहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरी भन्सार छलेको आशङ्कामा बुलेट मोटरसाइकलसहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । थप अनुसन्धान गर्दै जाँदा करिब एक महिना अगाडि से ७ प ८५६२ नम्बर प्लेट भएको मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारिएको थियो । वास्तविक नम्बर बा प्र ०२–०२२ प ५०७८ भएको उक्त मोटरसाइकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निवेदन दिएका थिए । थप सूचनाका आधारमा नियन्त्रणमा लिइएको वास्तविक नम्बर से ७ प ८५६२ भएको भन्सार पठाइएकोमा उक्त मोटरसाइकल आरोपी खत्रीको रहेको तथ्य खुलेको छ । उनले उक्त मोटरसाइकलको वास्तविक कागजात प्रयोग गरी अन्य मोटरसाइकलसमेत त्यही नम्बर राखेर प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

