काठमाडौं: नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबारको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसामा कारोबार भएकामा आजका लागि खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । साथै मङ्गलबार युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा भएकामा आज खरिददर १४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङको भाउ पनि घटेको छ । अघिल्लो दिन पाउण्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५७ पैसा रहेकामा आजका लागि खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४४ पैसा कायम छ । केन्द्रीय बैंकका अनुसार स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ०७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३४ पैसा र बिक्रीदर ९० रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३७ र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा कायम भएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर ४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४ रुपैयाँ ०३ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९५ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २४ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५३ पैसा छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ३८ पैसा कायम भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
कास्की: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा चार लाख ५५ हजार पाँच सय छ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । अस्पतालका मेडिकल रेकर्ड अधिकृत तीर्थ गौतमका अनुसार गत एक वर्षमा ओपिडीमा चार लाख छ हजार सात सय २९ र इर्मेजेन्सीमा ४८ हजार सात सय ७७ जनाले सेवा लिएका हुन् । ओपिडी सेवा लिनेमध्येमा मेडिकलतर्फ सबैभन्दा बढी छन् । मेडिकलमा एक लाख २६ हजार आठ सय ४५, हाडजोर्नीतर्फ ४८ हजार नौ सय ८४, गर्भवती जाँच ३७ हजार नौ सय ४२, बालरोग ३२ हजार दुई सय ४०, सर्जरीमा २७ हजार चार सय ७५ र प्रसूतिमा २५ हजार आठ सय ८७ जनाले सेवा लिएका छन् । यसैगरी आव २०७८/७९ मा ओपिडीमा दुई लाख ७२ हजार तीन सय ५९ र इर्मेजेन्सीमा ४० हजार सात सय ३९ जनाले सेवा लिएका थिए भने आव २०७९/८० मा ओपिडीमा तीन लाख ५६ हजार चार सय दुई तथा इर्मेजेन्सीमा ५४ हजार नौ सय ७१ जनाले सेवा लिएको गौतमले जानकारी दिनुभयो । “अस्पतालमा देशका सात प्रदेश तथा ७७ वटै जिल्लाबाट बिरामीले सेवा लिएको देखिन्छ । बर्सेनि ओपिडी र इर्मेजेन्सीमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । सेवाग्राही बढेसँगै अस्प्तालको साधनस्रोत र क्षमता वृद्धि गर्नुपर्ने चुनौती थपिँदै गएको छ”, गौतमले भन्नुभयो । अस्पतालका अनुसार गत आवमा २२ हजार एक सय ४७ जनाले अस्पतालमा भर्ना भएर सेवा लिएका छन् । यो सङ्ख्या आव २०७८/७९ मा २० हजार चार सय ६६ र आव २०७९/८० मा २२ हजार छ सय ८४ रहेको थियो । अस्पतालका अनुसार ओपिडी तथा आकस्मिक कक्षमा उपचार सेवा लिने बिरामीमध्ये सवैभन्दा बढी कास्की जिल्लाका छन् । त्यसपछि तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, लमजुङ, गोरखा, धादिङ र पाल्पाका नागरिकले सेवा लिएका छन् । अस्पतालले भौतिक पूर्वाधार विकाससँगसँगै दक्ष जनशक्ति व्यवस्थापन र अत्याधुनिक स्वास्थ्य उपकरणसहित सेवा विस्तार र सुधारमा जोड दिएको अस्पतालले जनाएको छ । अस्पतालले मिर्गौला प्रत्यारोपणलगायत केही विशिष्ट उपचार सेवा दिन सुरु गरेको छ । हालको पोखरा महानगरपालिका–१० मा विसं २०१२ मा सोल्जर बोर्ड अस्पतालका नाममा यो स्थापना भएको हो । त्यसपछि विसं २०१९ मा १५ शय्याको जिल्ला अस्पताल बन्यो । विसं २०३२ मा ५० शय्या क्षमतामा विस्तार भएर गण्डकी अञ्चल अस्पताल बन्यो । विसं २०४३ देखि एक सय ५० बेड क्षमतामा विस्तार भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विकास भएकामा विभिन्न मितिमा शय्या थपिँदै गएर हाल पाँच सय बेडको अस्पतालमा रुपमा रहेको छ । सरकारले विसं २०७२ मा अस्पताललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने घोषणा गरेको थियो ।
मुस्ताङ: दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो । जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरु बस्ती छाड्न बाध्य भए । पानी खोज्दै हिँड्ेका उनीका लागि कालान्तरमा आफ्नै थातथलो बिरानो भयो । उनीहरुले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गयो । मानिस बस्न छाडेपछि पुराना घरहरु भत्किदै गएका छन् । बस्ती खण्डहर र उराठलाग्दो देखिन्छ । पानी खोज्दै बसाइ सर्नेह्ररु बढेपछि ध्येको सयाँै हेक्टर खेतीयोग्य जमिन बाँझिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ का वडाध्यक्ष पासाङ गुरुङले पानीको समस्याका कारण आन्तरिक बसाइसराइ भएपछि ध्ये गाउँमा बस्ने कोही पनि नभएको जानकारी दिनुभयो । “सिँचाइ र खानेपानीको मुहान सुकेपछि बस्न सक्ने स्थिति रहेन”, उहाँले भन्नुभयो, “जमिन सबै बाँझो हँुदै गयो । मानिस र पशुले पानी खान नपाएपछि थातथलो छाडेर बसाइ सर्नुपर्ने बाध्यता आएको हो ।” उहाँले आफूले बाल्यकालदेखि नै ध्येमै बिताए पनि अहिले पानीकै कारण छाड्न बाध्य भएको सुनाउनुभयो । खेती किसानी र पशुपालन ध्येवासीको जीविकोपार्जनको मुख्य आधार हो । हिउँदमा हिउँ कम पर्न थालेपछि मुहान सुकेको वडाध्यक्ष गुरुङले बताउनुभयो । “पानीको मुख्य स्रोत नै हिउँ थियो, जलवायु परिवर्तनका कारण भने जति हिउँ पर्न छाड्यो”, उहाँले भन्नुभयो, “भएका प्राकृतिक मुहान सुक्दै गए भने हिउँ कम परेकाले पानीको अभाव चर्कियो ।” उहाँका अनुसार अहिले स्थानीयहरु बर्खामा भेडा च्याङ्ग्रा चराउनका लागि मात्र गोठ लिएर ध्ये जाने गर्छन् । पानी पर्न छाडेपछि खेतीयोग्य जमिन खेती हुन छाडेको छ । ध्ये साविक सुर्खाङ गाविसको वडा नम्बर ९ पर्दथ्यो । अहिले ध्ये र थामजुङ एउटै वडामा पर्छन् । यहाँ गुरुङ र लोवा जातिका मानिसको बसोबास बाक्लो छ । पानीको अभाव बढ्दै गएपछि तत्कालीन गाविस र जिल्ला विकास समितिले बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढाएका थिए । सरकारी र दातृ निकायको सहयोगमा नयाँ बस्तीमा पूर्वाधार निर्माण भएको वडाध्यक्ष गुरुङले बताउनुभयो । नयाँ बस्तीमा उनीहरुले स्याउखेती गरिरहेका छन् । “तापक्रम वृद्धि र जलवायु परिवर्तनले सबैभन्दा बढी असर हामीलाई पारेको छ”, उहाँले भन्नुभयो । ध्ये गाउँ समुन्द्री सतहदेखि करिब चार हजार मिटर उचाइमा छ । ध्येबासी बसाइसराइ गरेको थामजुङस्थित नदी किनारको बस्ती तीन हजार सात सय मिटर उचाइमा छ । उक्त गाउँमा हाल २६ घरधुरीको बसोबास छ । बस्तीसँगै विद्यालय थामजुङमा सारिएको छ । विसं २०६४ देखि नै ध्येवासी बसाइ सरेर वेँसीमा रहेको थामजुङमा झर्ने क्रम सुरु भएको थियो । चराङ र सुर्खाङको नजिकै रहेको थामजुङमा खानेपानी, विद्युत्लगायत सुविधा छ।
काठमाडौं: देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतयामौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हुरीको चल्ने सम्भावना छ । यसैगरी आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।
माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिप प्रतियोगितामा नेपाल पुलिस क्लबले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ। माल्दिभ्सको मालेमा आज भएको खेलमा पुलिसले ताजकिस्तानको डाइमेडमाथि ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । पुलिसले यसअघि पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब र दोस्रो खेलमा श्रीलङ्काको श्रीलङ्कन एयर फोर्सलाई समान ३–० को सेटमा नै पराजित गरेको थियो । आजको खेलमा पुलिसले पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पारयो । त्यसैगरी खेलको तेस्रो सेट २५–१५ ले जित्यो । यस जितसँगै पुलिसले ९ अङ्क जोडेको छ । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो । उक्त प्रतियोगिताअन्र्गत पुलिसले यही असोज ३ गते माल्दिभ्सको क्लबसँग खेल्नेछ ।
काठमाडौँ: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एएफसी यु–२० एसियनकप छनोटका लागि चाइनिज ताइपेइ जाने नेपाली टोलीको बिदाइ गरेको छ । एन्फाद्वारा आज यहाँआयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा, प्रवक्ता सुरेश शाहलगायतले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । छनोट खेलमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन र कम्बोडिया रहेका छन् । यो समूहको खेल सेप्टेम्बर २१ देखि २९ तारिखसम्म हुनेछ । नेपालले सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर २३ मा घरेलु टोली चाइनिज ताइपेइ, २५ तारिखमा उज्वेकिस्तान र २७ तारिखमा बहराइनसँग खेल्नेछ । नेपाली टोलीको गोलकिपरमा जियारथ शेख, क्रिशल मोक्तान र अमित टमाटा छन् । त्यसैगरी रक्षकमा सविन घिमिरे, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, रामथापा, सिमान्त थापा, आयुष तिम्सिना र दीपक थापामगर छन् । मिडफिल्डरमा अभिनाश स्याङ्ताङ, कुशल देउवा, लक्ष्छु थापा, सरोज दर्लामी र प्रशान्त लक्छम रहेका छन् । फरवार्डमा अनिल बम्जन, धर्वेन्दर कुँवर, धनसिंह विक, निमा वाङ्गेल तामाङ, नीरज कार्की, निराजन धामी र समीर तामाङ छन् । त्यसैगरी एन्फाले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियन सिपका लागि भुटान जाने नेपाली टोलीलाई पनि सफलताको शुभकामना दिँदै आजै बिदाइ गरेको छ । सेप्टेम्बर २० देखि ३० तारिखसँग भुटानमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक भुटान, श्रीलङ्का र पाकिस्तान छन् । त्यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र बङ्गलादेश छन् । नेपालले सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर २३ मा श्रीलङ्का र २५ मा भुटानको सामना गर्नेछ । नेपाली टोलीको गोलकिपरमा पेम्बा नुर्बु भोटे, रामबहादुर बोहरा र भक्तबहादुर परियार रहेका छन् । यसैगरी रक्षकमा शरण एसके, प्रशान्त मोक्तान, जीवन गुरुङ, सुजलमान घले, निशानराजलावत, भुवनकामी र एकराज विश्वकर्मा छन् । त्यस्तै मिडफिल्डरमा कृष्णबहादुर आले, जोन विष्ट, पवन पाख्रिन, सबिनय कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बम, एलिक श्रेष्ठ र सविनकुमार लुङ्गेली छन् भने फरवार्डमा रोहित श्रेष्ठ, सन्तोष गोङ्वा र सुजन डङ्गोल छन् । फरवार्डमा अनिल बम्जन, धर्वेन्दर कुँवर, धनसिंह विक, निमा वाङ्गेल तामाङ, नीरज कार्की, निराजन धामील र समीर तामाङ छन् ।
पाटन: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचनालाई थप सबल बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा नेपाली कांग्रेस कानुन विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधानको एकदशक कार्यान्वयन र चुनौती’ विषयक विचार गोष्ठीमा उहाँले हाल देसखएका समस्या र कमजारीलाई सुधार्दै प्रदेश संरचनालाई बलियो बनाउन लाग्नुको विकल्प नरहेको बताउनुभएको हो । उहाँले सबै जातजातीलाई मूलप्रवाहीकरण गर्न समानुपातिक समावेशीताको सान्दर्भिकता रहेको भन्नुहुँदै यस व्यवस्थालाई पनि थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । “कतिपय समुदायलाई समानुपातिक प्रतिनिधित्व गर्नैपर्ने बाध्यता छ । यो देश सबैको हो, त्यसैले समावेशी सिद्धान्तका आकारमा सबै जातजातिलाई राज्यको मूल शासनप्रणालीमा ल्याउन पनि यो समानुपातिक समावेशी प्रणालीको आवश्यकता छ”, सभापति देउवाले भन्नुभयो । संविधानले परिकल्पना गरेअनुसार समानुपातिक विकासका लागि पनि यस व्यवस्थालाई पूर्ण रूपमा लागू गर्नुपर्ने भन्नुहुँदै उहाँले सोहीअनुसार संविधान संशोधन गरिनुपर्ने धारणा राख्नुभयो । “जातीय छुवाछूत अन्त्यका लागि भएको कानुनी व्यवस्था व्यवहारमा लागु हुनसकेको छैन । प्रजातन्त्र स्थापना भएको लामोसमय भए पनि अझै धेरै सुधारको खाँचो छ । स्वतन्त्र न्यायपालिकालाई बचाउनु छ”, पूर्वप्रधानमन्त्री देउवाले अगाडि भन्नुभयो,“प्रजातन्त्र नै लोकतन्त्रकने मूलकडी हो, प्रजातन्त्रलाई बन्धक बनाउने गरी संविधान संशोधन हुँदैन । प्रधानमन्त्री ओलीजी स्वयं प्रजातन्त्रको लागि लागेको, जेलनेल भोगेको व्यक्ति हो, यसमा सम्झौता गर्नुहुन्न भन्ने विश्वास छ ।” कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको जग सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता नै भएकाले त्यसलाई व्यवहारमा लागु गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “कांग्रेसले समावेशीतालाई अपनाउन, विभेद र असमानता हटाउन गरेको योगदानको चर्चा जनसमक्ष पुग्न सकेन”, उहाँले भन्नुभयो,“बहुमत प्राप्त स्थिर सरकार नहुँदा हाम्रो परिकल्पनाअनुसार घोषणापत्र कार्यान्वयन गर्न सकिएन । त्यसो भएको भए थप काम गर्न सकिन्थ्यो । गठबन्धन सरकार बनाउनु हाम्रो बाध्यता हो ।” अबको निर्वाचनमा कांग्रेसले युवाको अपेक्षालाई सम्बोधन गर्न सक्ने गरी स्थिर सरकारको नारा लिएर जनतामा जानुपर्ने धारणा राख्नुभयो ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । १२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक रहेको बताए । “विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक छ । नेपालको हावापानी र माटो सुहाउँदो आविस्कार चाहियो ।”, उनले भने । मन्त्री थापाले विज्ञान र प्रविधिले ल्याएका कुराहरुलाई सहि ठाउमा प्रयोग गर्न सके मात्र लाभ मिल्ने उल्लेख गरे । आजको युग विज्ञान र प्रविधिको युग भएको बताउँदै मन्त्री थापाले कुनै पनि वस्तु वा विषयको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन नै विज्ञान हो भएको बताए । आजको समयमा विज्ञान र प्रविधिलाई देशको विकास र समृद्धिको आधारका रुपमा लिन सकिने भनाई उनको छ । प्रा.डा.भरत पहारीले विज्ञानले अरुको गाली गर्न नसिकाउने र जिज्ञासा बढाउने बताए । विषयको विशिष्टिताको ज्ञान हुन आवश्यक रहेको भनाई उनको छ । प्रा.डा. नवराज देवकोटाले साइन्स एण्ड टेक्नोलोजी उत्पादन सङ्ग जोडिनुपर्ने बताए । डा.ढाकाराम भण्डारीले रिसर्चमा वहुवर्षीय रुपमा काम गर्न आवश्यक रहेको बताए । सस्तो लोकप्रियताले विज्ञानमा फड्को मार्न नसकिने भनाई उनको छ । डा.पुनम गौचनले रिसर्चमा महिलाहरुको उपस्थिति कम भएको बताइन् । पारिवारिक कारणले गर्दा यस्तो हुन गएको भनाई उनको छ । विज्ञान तथा प्रविधि ः विकास र उत्पादन वृद्धि भन्ने नारा सहित मनाइएको विज्ञान दिवसको समय पारेर प्यानल डिस्कसन गरिएको थियो । जसको सहजीकरण डा. कपिल अधिकारीले गरेका थिए ।
कैलाली: उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि संसद्का दुई ठूला दलको गठबन्धन बनेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यसअघि बनेका सरकार पटकपटक परिवर्तन हुँदा उत्पन्न परिस्थितिलाई सहज बनाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिलेर सरकार बनाउनुपरेको धारणा राख्नुभयो । “पटकपटक सरकार परिवर्तन हुँदा विकास निर्माण, शान्ति सुरक्षादेखि आर्थिक गतिविधिमा समेत समस्या देखियो, जसले जनतामा निराशा थप्न भूमिका खेल्यो । त्यसैकारण हामीले सात बुँदे समझदारीसहित वर्तमान सरकार बनेका हौँ । सोहीअनुसार सरकारले काम गरिरहेको छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उहाँले वर्तमान सरकारले भूकम्प, कोरोना महामारीलगायत कारणले शिथिल बनेको अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ काम अगाडि बढाएको धारणा राख्नुभयो । सङ्घीयताको मर्म र जनचाहनाअनुसार राष्ट्रिय हित, संविधानको प्रभावकारी कार्यान्वयन, विकासका काममा गतिदिने गरी काम गर्न आफूहरू प्रतिबद्ध भएर लागेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । सहकारी बचत रकम दुरुपयोगका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा सहरी विकासमन्त्री सिंहले संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले काम अगाडि बढाउने स्पष्ट पार्नुभयो । “हिजो मात्रै समितिले प्रतिवेदन बुझाएको छ । सरकारले गर्नुपर्ने कामका विषयमा सिफारिस र सुझाव आएका छन्, त्यसको अध्ययन गरेर थप कारबाही अगाडि बढाउन सरकार प्रतिबद्ध छ । आमबचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाहीको प्रक्रियामा ल्याउँछौँ”, उहाँले भन्नुभयो ।

