गण्डकी: विश्व पर्यटन दिवस–२०२४ का अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ले आयोजना गरेको ‘अनलाइन’ तस्बिर प्रतियोगितामा सिराहाका सुशीलकुमार श्रेष्ठ प्रथम हुनुभएको छ । उहाँले खिचेको अन्नपूर्ण आधार शिविरको बिहानीपखको तस्बिरले प्रथम पुरस्कार पाउन सफल भएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ का भगवान पौडेलले मदी हिमाल क्षेत्रमा खिचेको डाँफेको तस्बिरले प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको ‘एक्याप’का प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–२७ का सूर्य थपलियाको नीलगिरि हिमालको काखमा क्रिकेट खेलिरहेका बौद्धमार्गीहरुको तस्बिरले तेस्रो स्थान प्राप्त गरेको उहाँले बताउनुभयो । विश्व पर्यटन दिवसका ‘एक्याप’द्वारा शुक्रबार आयोजित कार्यक्रममा आयोजना प्रमुख डा कडरियाले अनलाइन तस्बिर प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २० हजार, १५ हजार र १० हजारसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । अनलाइनमार्फत प्राप्त भएका २०७ तस्बिरमध्ये श्रेष्ठ, पौडेल र थपलियाले पुरस्कार हात पार्न सफल हुनुभएको हो । अन्नपूर्ण संरक्षण क्षेत्रमा खिचिएका तस्बिरलाई प्रतियोगितामा समावेश गराइएको थियो । अन्नपूर्ण क्षेत्रका पर्यटन प्रवद्र्धन हेतु तस्बिर प्रतियोगिताको आयोजना गरिएको प्रमुख डा कडरियाले बताउनुभयो । विश्व पर्यटन दिवसका अवसर पारेर अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमणका लागि चाहिने प्रवेशाज्ञा (परमिट) का लागि चाहिने प्रवेश शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । उक्त सेवाको शुभारम्भ गर्दै उहाँले सेवाग्राहीले भिषा र मास्टरकार्डमार्फत प्रवेश शुल्क तिरेर अनलाइनबाटै प्रवेशाज्ञा लिनसक्ने बताउनुभयो । “प्रवेशाज्ञाका लागि शुल्क सङ्कलनकक्षमा हुने सेवाग्राहीको भीडलाई मध्यनजर गरेर प्रविधिमैत्री सेवा सुरु गरिएको हो, अनलाइन सेवा चौबिस घण्टा नै सुचारु रहनेछ”, उहाँले भन्नुभयो, “अब प्रवेशाज्ञाका लागि सेवाग्राहीले पालो पर्खनुपर्ने बाध्यता हटेको छ ।” यसअघि ‘एक्याप’ले काठमाडौँको भृकुटीमण्डम, पोखराको ड्यामसाइड, लमजुङको सिमपानी र मुस्ताङको घाँसामा रहेको काउन्टरमबाट प्रवेश शुल्क लिई पर्यटकलाई प्रवेशाज्ञा दिने गरेको थियो । अब पर्यटकले जुनसुकै ठाउँबाट सहजै अनलाइनमार्फत प्रवेशाज्ञा लिनसक्ने ‘एक्याप’ले जनाएको छ । दिवसका अवसरमा अन्नपूर्ण क्षेत्रमा पर्ने लमजुङको सिमपानी, मनाङको धारापानी, उपल्लो मनाङ, कास्कीको पोथना, वीरेठाँटी, म्याग्दीको शिख, मुस्ताङको घाँसा, जोमसोम, मुक्तिनाथ, कागबेनी र लोमान्थाङमा अवस्थित चेकपोष्ट तथा कार्यालयहरुमा पर्यटकलाई खादा, माला र टोपीसहित स्वागत गरिएको थियो । पदयात्रा पर्यटनका लागि विश्वप्रख्यात अन्नपूर्ण संरक्षण सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा यसमा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्सेनि असोज–कात्तिक र चैत–वैशाखको याममा उक्त क्षेत्रको पदयात्रा गर्ने पर्यटकको घुइँचो नै लाग्ने गर्छ । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यस्थल हुन् । कास्कीको खुमै डाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका लागि चिनिएका गन्तव्यस्थल हुन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार ८४५ र अन्य मुलुकका एक लाख चार हजार २५६ पर्यटक थिए । चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने १० गन्तव्य सूचीमा राखेको थियो । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ ।
काठमाडौं: चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छभने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।
तनहुँ: दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरा जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ । आज बिहान १ः४५ बजे गएको पहिराका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार राति ११ः४५ बजेदेखि लेदो खसेर पहिराको जोखिम बढेको थियो । झरी परिरहेपछि १ः३० बजे सडक पहिराका कारण अवरुद्ध भएको छ । उक्त ठाउँमा गत भदौ ५ गते डाँडै खस्दा राजमार्ग अवरुद्ध भएको थियो । सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढी, पहिराजस्ता अप्रिय घटना सिर्जना भई धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य गर्नेलाई कारबाही गरिने भएको छ । यसरी चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले उक्त कार्य गर्न निषेध गरिएको विमानस्थल प्रमुख एवं महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न आग्रह गरेका छौँ । अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेछ ।” दसैँ नजिकिँदै गर्दा अहिले विमानस्थल आसपासका क्षेत्रमा चङ्गा, बेलुन उडाउने कार्य बढिरहेका छन् ।
मनाङ: मनसुन सक्रिय भएर परेको अविरल वर्षासँगै पहिरो खस्दा चामे–बेँसीसहर सडक अवरुद्ध भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ काभ्रेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । काभ्रेभिरमा पहिरो खस्दा एक मात्र मनाङ आवतजावत गर्ने चामे–बेँसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले जानकारी दिनुभयो । “मनाङ पर्यटकीय क्षेत्र भएकाले यतिबेला पर्यटकको बढी आवतजावत हुन्छ तर सडक अवरुद्ध हुँदा स्थानीयका साथै पर्यटकलाई असर गरेको छ”, उहाँले भन्नुभयो । निरन्तर वर्षा भइरहेकाले जिल्लावासीलाई सचेत तथा सजक रहन आग्रह गरिएको प्रजिअ आचार्यले बताउनुभयो । “मनाङ बाढीपहिराको जोखिमयुक्त क्षेत्र भएकाले सचेत रहन जिल्लावासीलाई आग्रह गरिएको छ”, उहाँले भन्नुभयो, “अत्यावश्यक बाहेकका काममा लामो तथा छोटो दुरीको यात्रा नगर्नसमेत आग्रह गरिएको छ ।”
काठमाडौं: चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार रु छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको चार लाख ५४ हजार नौ सय ५८ थान स्मार्टफोन आयात भएको हो । यस अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागका अनुसार रु ११ अर्ब छ करोड ५२ लाख चार हजार बराबरको पेट्रोल आयात भएको छ भने रु १३ अर्ब ६४ करोड ५२ लाख ५० करोड बराबरको डिजेल आयात भएको छ । त्यस्तै, एलपी ग्यास रु नौ अर्ब ४२ करोड ५६ लाख ८५ हजार बराबरको आयात भएको छ । उक्त अवधिमा सवारी साधनको आयात पनि उच्च देखिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रु दुई अर्ब ९४ करोड बराबरको मोटरसाइकल र रु दुई अर्ब ४३ करोड २१ लाख २६ हजार बराबरको विद्युतीय सवारी आयात भएको छ । नेपालबाट बढी निर्यात हुनेमा कार्पेट, चिया, जुट, धागोलगायतका वस्तु छन् । विभागका अनुसार साउन र भदौ महिनामा सबैभन्दा धेरै रु एक अर्ब ९९ करोड ९६ लाख सात हजार बराबरको कार्पेट निर्यात भएको छ । त्यस्तै रु एक अर्ब १४ करोड २४ लाख ३२ हजार बराबरको चिया निर्यात भएको छ । जुट, धागो, जुसलगायतका वस्तु बढी निर्यात हुनेमा रहेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा कूल रु दुई खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार बराबरको वैदेशिक व्यापारमा नेपालले रु दुई खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार बराबर व्यापार घाटा व्यहोरेको छ । साउन र भदौ महिनामा रु दुई खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार बराबरको आयात हुँदा रु २५ अर्ब नौ करोड ३१ लाख तीन हजार बराबरको मात्रै निर्यात भएको छ ।
काठमाडौं: सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहलमा अर्थ मन्त्रालयले आज उखु किसानका लागि रु एक अर्ब ४५ करोड ३२ लाख र दुध किसानको भुक्तानीलगायतका लागि रु ६० करोड निकासा गरेको मन्त्रालयले जनाएको छ । यसअघि पनि कृषि मन्त्रालयको पहलमा मन्त्रिपरिषद्को बैठकले दूध किसानको रकम भुक्तानीका लागि दुग्ध विकास संस्थान ९डिडिसी० लाई उक्त रकम ऋण दिने निर्णय गरेको थियो । मन्त्रालयका अनुसार आठ जिल्लाका उखु किसानको गतवर्षको रकम भुक्तानीका लागि जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यलयमार्फत किसानकै बैक खातामा रकम जाने व्यवस्था गरिएको छ । कञ्चनपुर, नवलपरासी पश्चिम, सुनसरी, सिराहा, सर्लाही, महोत्तरी, रौतहट र बाराका उखु किसानले अब सरकारले उपलब्ध गराउँदै आएको गतवर्षको अनुदान रकम पाउने भएका हुन् । त्यस्तै लामो समयदेखि दूध बिक्री गरे वापतको रकम पाउन नसकेका दूध किसानलाई पनि सरकारले प्रदान गरको ऋणमार्फत रकम प्रदान गरिने दुग्ध विकास संस्थानका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले बताउनुभयो । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीकै पहलमा सरकारले डिडिसीलाई ऋण उपलब्ध गराउने निर्णय गरको हो । उहाँले उखु किसानको अनुदान रकम भुक्तानीलाई पनि ताकेता गर्नुभएको थियो । मन्त्री अधिकारीले दसैँ अघिनै किसानको रकम भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको थियो ।
काठमाडौं: काठमाडौं महानगरपालिका–१५ अन्नपूर्णचोक नजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार आज साँझ ६ः१५ बजेतिर बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपालचोक घर भइ हाल रानिवन बस्ने १९ वर्षे चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मोटरसाइकल निकाले पनि चालक श्रेष्ठ वेपत्ता छन् । हाल श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: ४५ औं विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशले पोखरा १६ स्थित पर्यटकीय गाउँ रिन्जे नाँसामा घरवास प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सहयोग एवम् पोखरा पर्यटन परिषद्को समन्वय गरेको कार्यक्रमको नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएको कारण हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने उद्घोषलाई साकार पार्न सरोकार सबै लाग्नुुपर्नेमा जोड दिनुुभयो । भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने नाराका साथ गण्डकी प्रदेशका पर्यटकीय गाउँहरूको प्रवद्र्धन गरिरहेको मञ्चले विश्व पर्यटन दिवसका अवसरमा रिन्जे नाँसालाई रोजिएको बताउनुुभयो । रिन्जे नाशा सामुदायिक होमस्टेका अध्यक्ष शमशेर गुरुङले रमणीय परिवेशको सुन्दर गाउँ भएर पनि वस्ती सुन्य बन्दै गएको अवस्थालाई दृष्टिगत गरी रिन्जे जाशामा घरवास कार्यक्रम सुरु गरिएको बताउनुुभयो । भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाको अध्यक्षता एवम् सचिव लक्ष्मण पहारीले सञ्चालन गर्नुुभएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका पर्यटन बिकास समिति उपाध्यक्ष रबिन्द्रराज पौडेल, पोखरा महानगरपालिका शहरी विकास पर्यटन तथा वातावरण महाशाखा प्रमुख विमल रन्जन कार्की, पश्चिमाञ्चल होटल संघका उपाध्यक्ष गणेशराज पहारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल, एनटिभिए गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ, हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाट, भिटोफ गण्डकीका सचिव लक्ष्मण पहारी, सदस्य भावना रानाभाट लगायतले सुन्दर गाउँहरूलाई पर्यटनसँग जोड्न सकेमा त्यहाँको विकाससँगै आर्थिक समृद्धि हासिल हुनेमा जोड दिनुुभयो । ढुुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घरसँगै गाउँ, टोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएको रिन्जे नाँसाबाट आसपासका क्षेत्रमा देखिने दृश्यले जो कोही लोभिने गरेका छन् । पर्यटन राजधानी पोखरा पेरीफेरीमा रहेको पोखरा महानगरपालिका वडा नं १६ स्थित रिन्जे नाशा गाउँ यतिखेर घरवास पर्यटनको पुुग्नैपर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।

