कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

पोखरा महानगरपालिका १५ नयाँगाउँमा जारी विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता आज प्रिक्वाटरका ९ खेल सम्पन्न भएका छन् ।   कार्यक्रम संयोजक विकास गुरुङका अनुसार आज भएको पहिलो खेलमा खाल्टे एफसीले रानीपौवा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्याे ।   यस्तै अर्काे खेलमा एके हाउसले गण्डकी प्रदेश टिमलाई ४–३ गोल अन्तरले हरायो ।   तेसो खेलमा चाउँथे एफसीले सेभेन ट एटलाई ३–२ गोलअन्तरले पराजित गर्याे ।   चौथों खेलमा ग्रुप म्यासअपले नयाँगाउँ ब्रदर्शलाई १–० को फराकिलो गोल अन्तरले पराजित गर्याे ।   पाँचौ खेलमा नव प्रतिभाले डिटिसीलाई ३–१ गोल अन्तरले पाखा लगायो ।   छैटौं खेलमा मिलन टोलले केएनबीलाई पेनाल्टीमा ३–२ गोलले पराजित गर्याे । सातौं खेलमा बिवाइसीले वी आर वनलाई १–० गोल अन्तरले हरायो ।   आठौं खेलमा एसएन ब्रदर्शले रमाइलो एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हरायो ।   आज भएको अन्तिम खेलमा याम ब्रदर्शलाई प्रिस्कियस ब्यूटी नयाँगाउँले २–० गोल अन्तरले पराजित गर्दै क्वाटरमा प्रवेश गर्याे ।    अब बिहीबार क्वाटरसँगै सेमिफाइनलका खेल सम्पन्न  हुनेछ ।   प्रतियोगितामा कुल २६ टिमको सहभागिता रहेको  छ ।   नयाँगाउँ युवा क्लबको विशेष सहयोगमा पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।   यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।   प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । भने, एउटा अनुशासित टिमलाई नगद रु ५ हजार प्रदान गरिनेछ ।  

काठमाडौं:      सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत डिजिटल फाउन्डेसन कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत नेपाल सरकारले ‘डिजिटल सार्वजनिक पूर्वाधार’ निर्माण गर्ने लक्ष्य राखेको बताउनुभएको छ ।       काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)मा आज आयोजित तीनदिने दोस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले दिगो विकास लक्ष्य–२०३० को सफल कार्यान्वयनका लागि सरकारको नीति तथा कार्यक्रम डिजिटल सार्वजनिक पूर्वाधारलाई प्राथमिकता दिने दिशामा अघि बढ्ने बताउनुभयो ।      “सरकारले चालु आर्थिक वर्षमा ललितपुरको खुमलटारमा सूचना प्रविधि हब स्थापना र ज्ञान पार्क स्थापनालाई प्राथमिकतामा राखेको छ, यी सूचना प्रविधि दशकको कार्यान्वयनका लागि आधारभूत स्तम्भ हुने विश्वास गरेका छौँ”, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो ।  उहाँले सरकार सूचना–प्रविधिको विस्तृत कार्यान्वयन योजना बनाउने प्रक्रियामा रहेकाले डिजिटल रुपान्तरणका लागि नीति, कानुनी र पूर्वाधारका बाधाहरूलाई सम्बोधन गरी निजी क्षेत्रको दिगो पूर्वाधारसहितको ‘डिजिटल इकोसिष्टम’ निर्माणमा सबै सरोकारवालाको सामूहिक प्रयासबाट मात्र सम्भव गराइने बताउनुभयो ।       मन्त्री गुरुङले सञ्चार आधुनिक शासनको मुटुमा भएकाले नागरिकसम्म वास्तविक समयमा जडान गर्न, तथा सूचना प्रविधिमार्फत जानकारीलाई प्रभावकारी रूपमा साझा गर्न तथा थप पारदर्शी रूपमा सेवाहरू प्रदान गर्न सक्षम बनाउने बताउनुभयो ।  उहाँले भन्नुभयो, “डिजिटल ई–गभर्नेन्समार्फत हामी विस्तारै परम्परागत नोकरशाही प्रणालीबाट टाढा जाँदैछौँ, सेवाहरू सिधै नागरिकको औँलामा ल्याउँदैछौँ, राष्ट्रिय ई–सरकार मास्टर प्लान, ब्रोडब्यान्ड नेटवर्क विस्तार, अप्टिकल फाइबर ब्याकबोन नेटवर्क तथा विशेषगरी ग्रामीण क्षेत्रमा नेटवर्क रोलआउट राष्ट्रव्यापी इन्टरनेट पहुँच बढाउनुपर्ने आजको आवश्यकता हो ।”  उहाँले पूर्वाधार विकास, डिजिटल साक्षरता, साइबर सुरक्षा, ‘डिजिटल नेपाल’को फराकिलो लक्ष्य पूरा गर्न नेपालले आफ्नो डिजिटल पूर्वाधार सुधार गर्न महत्त्वपूर्ण प्रयास गरेको उल्लेख गर्नुभयो ।      मन्त्री गुरुङले मन्त्रालयले विद्यमान नीति, कानुन र संरचनामा नयाँ तर्जुमा र आमूल परिवर्तनलाई प्राथमिकता दिएको बताउँदै सूचना प्रविधि तथा साइबर सुरक्षा ऐनको मस्यौदा सरोकारवालाको सहमतिको चरणमा रहेको बताउनुभयो ।  “सार्वजनिक शासनमा डिजिटल सञ्चारलाई एकीकृत गर्नाले थप उत्तरदायी, पारदर्शी र कुशल सरकारी सेवा दिन सकिन्छ, यसका लागि नै मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० तर्जुमा गरी राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरेको छ”, उहाँले भन्नुभयो । मन्त्रालयले नेपालमा कृत्रिम बुद्धिमत्ता ९एआई०को प्रयोग र अभ्याससँग सम्बन्धित अवधारणा पत्र प्रकाशित गरेको उहाँले बताउनुभयो ।       कार्यक्रममा केयुका उपकुलपति प्रा डा भोला थापाले सूचना प्रविधिले निम्त्याउने चुनौतीलाई अवसरमा बदल्ने चुनौती प्रमुख विषय रहेको बताउनुभयो । युनिभर्सिटी अफ इलेकट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइनाका कुलपति जान सुनले डिजिटल प्रविधि तथा सञ्चारको व्यापकताबारे आफ्नो धारणा राख्नुभएको थियो ।      कार्यक्रममा युनिभर्सिटी अफ टेक्सासका प्राध्यापक अरविन्द सिंघल, सिघुवा विश्वविद्यालयका प्राध्यापक लि सिग्वाङ, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक मनुकोण्डा रवीन्द्रनाथ सहभागी हुनुहुन्छ ।  सङ्गोष्ठीमा चीनको काङ्बा टेलिभिजनकी सम्पादक चेमी वेङमो, जेजियाङ विश्वविद्यालयका प्राध्यापक वो फेइ, फोस्करी विश्वविद्यालयका प्राध्यापक घानी–उर–रहमान, भुटानकी शोधकर्ता याङ चेन सी रिन्जिन, दिल्ली विश्वविद्यालयको प्राध्यापक सरिता आनन्द र चीनका प्राध्यापक हान होङ वक्ताका रूपमा हुनुहुन्छ ।       युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना र केयूको भाषा तथा आमसञ्चार विभागद्वारा संयुक्त रुपमा आयोजित सङ्गोष्ठीमा एक सय कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । सङ्गोष्ठीमा नेपाल, चीन, भारत, भुटान, पाकिस्तान, संयुक्तराज्य अमेरिकालगायत मुलुकका प्राज्ञिक व्यक्तिको सहभागिता रहेको छ । 

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढीपहिरो प्रभावितलाई राहतस्वरुप आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने भएको छ ।  त्यसैगरी राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले पनि एक साताको तलवसुविधा सो कोषमा प्रदान गर्नुहुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

स्याङ्जा:    वालिङ नगरपालिका–१४ र भीरकोट नगरपालिका–९ स्थित अँधेरी खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई सहज भएको छ ।  बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुर बाँकेले रु ७९ लाखमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।       पुलःनिर्माण समितिका अध्यक्ष टेकबहादुर दर्लामीका अनुसार एक सय ५२ मिटर लामो उक्त पुल खोलाबाट दुई हजार ८० मिटर उचाइमा निर्माण भएको छ । विसं २०८० असोज ५ गते उद्घाटन भएको पुल सर्वसाधारणका लागि खुल्ला गरिएसँगै दुई घण्टाको बाटो आधा घण्टामा छोटिएको उहाँले बताउनुभयो ।       यहाँ पुल नहुँदा स्थानीय दुई घण्टाको लामो वैकल्पिक बाटो हिँड्न बाध्य थिए । पुल बनेपछि भने लामो बाटो आधा घण्टामा छोटिएको अध्यक्ष दर्लामीले जानकारी दिनुभयो ।  “पुल बनेपनि विद्यार्थी, बटुवा तथा दैनिक आवतजावत गर्नेलाई सहज भएको छ । किसानलाई उत्पादित सामान ओसारपसार गर्न र बजारसम्म लैजान सहज भएको हो”, उहाँले भन्नुभयो ।      यहाँ पुल बनेपछि वालिङ नगरपालिका र भीरकोट नगरपालिका एक दर्जनबढी बस्तीका नागरिक लाभान्वित भएका छन् । सिम्ले, ठाना, करादी, काभ्रे, साउन्दी, चराङ, हिले, पाखुरे, जिमिरे, ठूली भञ्ज्याङ, जुनेली डाँडा, सिर्वानी, कपासे, हुग्दी, डुम्रेभन्ज्याङलगायत गाउँका पाँच सय बढी परिवारलाई प्रत्यक्ष लाभ पुगेको अध्यक्ष दर्लामीले बताउनुभयो ।       स्थानीय समाजसेवी प्रकाश न्यौपानेले पुलको वारिपारि ठाडो भीर हुनुका साथै खरबारीको बाटो चिप्लो र अफ्ठयारो भएकाले सजिलो बाटो निर्माण गर्नुपर्ने बताउनुभयो । स्थानीयको निरन्तर प्रयासपछि एक सय ५२ मिटर लामो पुल बनेको भन्दै विस्तारै सडक विस्तार र स्तरोन्नतिमा स्थानीय निकायले योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

काठमाडौं:     केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ ।      नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रुपमा आइसकेको छैनभने टेलिफोन सेवा प्रदायक दुई कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी) र एनसेल आजिअटा लिमिटेड ९एनसेल० को मात्र करिब रु २२ करोड बराबरको क्षतिको अनुमान गरिएको छ ।      “एनटिसीको करिब रु १५ करोड र एनसेलको करिब रु सात करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । त्यस्तै, हालसम्म १५ इन्टरनेट सेवा प्रदायकहरुबाट विवरण सङ्कलन भइसकेकामा यस्ता कम्पनीहरुको करिब रु साढे सात करोड बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क छ”, प्राधिकरणका सहायक प्रवक्ता डा प्रदीप पौड्यालले रासससँग भन्नुभयो । इन्टरनेट सेवा प्रदायकहरुबाट थप क्षतिको विवरण सङ्कलन भइरहेको पनि उहाँले बताउनुभयो ।      बाढीपहिरो, डुबान, चट्ङ्याङलगायत समस्याबाट विद्युत् आपूर्ति अवरोध भएका कारण मुलुकको धेरै स्थानमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो । विद्युत् आपूर्ति सहज भएसँगै क्रमशः दूरसञ्चार सेवा पनि पुनः सञ्चालनमा आएको डा पौड्यालको भनाइ छ ।       पोल ढल्ने, तार चुँडिनेलगायत समस्या देखिएका ठाउँमा द्रुत टोली खटाएर सेवा सुरु गर्न कम्पनीहरुलाई निर्देशन दिइसकेको पनि उहाँले जानकारी दिनुभयो । टेलिफोन र इन्टरनेट अत्यावश्यक वस्तु भएकाले यस्तो सेवा अवरोध नहोस् भन्नका लागि प्राधिकरण चनाखो रहेको पनि उहाँले बताउनुभयो । 

जुम्ला:    जुम्लाबाट चालु आर्थिक वर्षमा पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइएको छ । उक्त स्याउ बिक्रीबाट जिल्लामा रु ३८ करोड १० लाख आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ ।      कार्यालयका कृषि प्रसारण अधिकृत शेरबहादुर भण्डारीले गत साउनदेखि यही असोज ८ गतेसम्ममा सडक तथा हवाई यातायातमार्फत स्थानीय स्याउ बाहिरी जिल्ला पठाइएको जानकारी दिनुभयो ।  जुम्लाका आठ वटै स्थानीय तहमा गरी  करिब  १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।       जिल्लामा चार हजार दुई सय हेक्टरमा स्याउखेती भए पनि उत्पादन भने दुई हजार आठ सय हेक्टरमा मात्र हुने गरेका जानकारी दिँदै अधिकृत भण्डारीले आगामी कात्तिकको अन्तिम सातासम्म स्याउ उत्पादन र निर्यातको यकिन विवरण प्राप्त हुने बताउनुभयो ।      आठवटै स्थानीय तहका करिब १६ हजार परिवार स्याउ खेतीमा निर्भर रहेका जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो । बगैँचामा पुगेर व्यापारीले प्रतिकेजी रु ६५ का दरले स्याउ खरिद गर्दै आएका छन् ।       जिल्लामा स्थानीय जातका जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फूजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय जुम्लाले जनाएको छ । 

काठमाडौं:     वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, दुबईलगायत देशमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।       पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका–९ गच्छे टोल घर भई काठमाडौँको टोखा नगरपालिका–७ बस्ने ३४ वर्षीय सुदनराज अमात्य, नुवाकोट तादी गाउँपालिका–३ घर भई काठमाडौँ टोखा नगरपालिका–९ नयाँ बसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाईं र गुल्मी मालिका गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–२ गोदावरी बस्ने ३५ वर्षीया विन्दु केसी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।      उहाँले भन्नुभयो, “पक्राउमध्ये सुदनले एकजना पीडितबाट रु पाँच लाख, अन्जनाले एकजना पीडितबाट रु दुई लाख ९० हजार र विन्दुले एकजना पीडितबाट रु एक लाख पाँच हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” सुदनलाई पुतली सडकबाट, अन्जनालाई नयाँ बसपार्कबाट र विन्दुलाई ललितपुरको गोदावरीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।  पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।

काठमाडौं:    होटल सङ्घ नेपालले बाढी पहिरो पीडितका लागि राहत सहयोग उपलब्ध गराउने भएको छ ।  देशका विभिन्न स्थानमा हालै आएको वर्षाका कारण बाढी पहिरोबाट प्रभावित व्यक्ति तथा परिवारका लागि होटल सङ्घले राहत कोष स्थान गरेको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ  ।      ‘होटल सङ्घले विपद्को समयमा राहत कोष स्थापना गरी पीडित पक्षहरुलाई सहयोग गर्ने उद्देश्यका साथ राहत कोष स्थापना गरेको र कोषमा जम्मा भएको रकम यथाशीघ्र सरकारमार्फत बुझाइनेछ’, विज्ञप्तिमा भनिएको छ ।      बाढीपहिरोबाट  धनजनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै सङ्घले मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभका लागि कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

गण्डकी:    डेङ्गी सङ्क्रमणविरुद्ध उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नै मन्त्रालय परिसरको सरसफाइमा भने बेवास्ता गरेको पाइएको छ ।  मन्त्रालयको वरिपरि यत्रतत्र रुपमा रहेका पुराना टायर, चर्के–फुटेका भाँडावर्तन, खाली बोतल, कवाडी सामग्री, भान्छाको फोहर आदि नहटाउँदा मन्त्रालयमै डेङ्गी सङ्क्रमणको जोखिम बढेको हो ।  मङ्गलबार अपरान्हपख मन्त्रालय परिसरमा पुग्दा पार्किस्थलको छेउमा रहेका साना टहराको चेपमा रहेका पुराना टायरमा सफा पानी जमेको देखिन्थ्यो ।  स्वास्थ्यकर्मीका अनुसार डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ ।  पुराना टायर, ड्रम, खाली बट्टा, पुराना भाँडाकुँडालगायतमा रहेको सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन भइरहेको हो ।  तर, सिङ्गो गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रको जिम्मा लिएको मन्त्रालय नै डेङ्गीको सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान नष्ट गर्नमा चुकेको छ ।  सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट अलग्गिएर छुट्टै मन्त्रालयको अस्तित्वमा आएको स्वास्थ्य मन्त्रालय अहिले प्रदेश स्वास्थ्य निर्देशनालयको भवनबाट सञ्चालन भइरहेको छ । मन्त्रालयका भित्री कक्ष र कोठा सफा र चिटिक्क देखिएपछि बाहिरी परिसर भने अव्यस्थित देखिन्छ ।  मुख्य भवनको अगाडिपट्टि रहेको उद्यान पनि सरसरफाइ नहुँदा घाँसको झाडीले ढाकिएको छ ।  चमेनागृहबाट निस्कने फोहर पनि भवनको पछाडिपट्टि लगेर जथाभावी फाल्ने गरिएको भेटिएको छ । पत्रु परेका गाडी, फर्निचरलगायत सामग्री समयमा लिलाम नगरी भद्रगोल अवस्थामा राखिएको छ ।  पार्किङ परिसरमै थन्किएको मिनिट्रकभरि टायर, कार्पेटलगायत कवाडी सामान अलपत्र छाडिएको छ । खुला ठाउँमा राखिएका ती सामानमा पनि आकाशबाट परेको पानी जमेको छ ।  स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेशको स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना सार्वजनिक गरेकै दिन मन्त्रालयको सरसफाइको अवस्था दयनीय थियो । हातमुख धुने बेसिनको पाइप फुटेपछि पानीको निकासका लागि तलपट्टि फोहर राख्ने भाँडो थापिएको थियो ।  पुराना फलामका सामान, जस्ता पाता, प्लाष्टिक, पानीका खाली बोतल जहीतहीँ छरिएको अवस्थामा थिए । अरुलाई सरसफाइको सबक सिकाउने स्वास्थ्य मन्त्रालयकै सरसफाइको अवस्था किन त्यस्तो ? मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले मन्त्रालयलमा नियमित सरसफाइ गर्ने गरिएपनि कतै छुटेको हुन सक्ने बताउनुभयो ।  “सरसफाइमा कमी भएको रहेछ भने हामी सम्बन्धित कर्मचारीलाई कुरा गर्छौँ, नयाँ मन्त्रालय भएकाले पनि केही व्यवस्थापकीय काम गर्न बाँकी छ”, उहाँले भन्नुभयो । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले डेङ्गी फैलाउने लामखुट्टको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने बताउनुभयो ।  महानगरपालिकाले लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गरेको भएपनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ । “वर्षा रोकिएको केही दिनपछि डेङ्गीको सङ्क्रमण फैलने जोखिम उच्च हुने हुनाले समुदायका सबैले सजगता अपनाउनुपर्छ” रेग्मीले भन्नुभयो । जमेको सफा पानीमा बस्ने र दिउँसोमा मात्र मानिसलाई टोक्ने उक्त लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी नियन्त्रणको उत्तम उपाय भएको उहाँले बताउनुभयो । डेङ्गीको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने उहाँको भनाइ छ ।  डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने गरेको रेग्मीले बताउनुभयो । डेङ्गीले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने स्वास्थ्यकर्मी बताउँछन् ।  स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशभर हालसम्म झण्डै १२ हजार जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकामा मात्रै गत पुसयता पाँच हजार बढीमा सङ्क्रमण पुष्टि भएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । जनघनत्व बढी भएका ठाउँमा डेङ्गी छिटो फैलने हुँदा मुख्य सहरी क्षेत्रमा सङ्क्रमण तीव्र बनेको हो ।   आगामी कात्तिक महिनासम्म डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने भएकाले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने देखिएको महाशाखाका जनस्वास्थ्य निरीक्षक रेग्मीले बताउनुभयो । उ हाँका अनुसार डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ । महानगरपालिकाको वडा नं. ५, ८ लगायतका वडा डेङ्गीबाट बढी प्रभावित भएको रेग्मीले जानकारी दिनुभयो ।