कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

नवलपरासी:     नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ ।  वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गर्दा विनयी त्रिवेणी गाउँपालिका– १ लक्ष्मीटाँडी बस्ने ६३ वर्षीय जीवबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार तीनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गरेको थियो ।  छिमेकीसहित घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको जानकारी पाएपछि खोजी गर्दा थिङलाई मृत भेटिएको प्रहरी उपरीक्षक शाहले जनकारी दिनुभयो ।  थिङको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको छ ।

काठमाडौं:     महिला स्वास्थ्य स्वयंसेविकाहरुले कामका लागि नि:शुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा मन्त्रालयमा उक्त समझदारी भएको हो । यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगको सहमतिपछि आज मन्त्रालयमा यससम्बन्धी समझदारी भएको हो ।  यही कात्तिक १५ गतेदेखि उक्त व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले सहमति जनाउनुभएको हो । मन्त्री पौडेलले भन्नुभयो, “महिला स्वास्थ्य स्वयंसेविकाले देशको स्वास्थ्य क्षेत्रमा पु¥याएको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्वपूर्ण छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गतको यो सहयोगका लागि यातायात व्यवसायी राष्ट्रिय महासङ्घप्रति आभार व्यक्त गर्दछु ।” उहाँले न्यून सुविधामा आम मातृशिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै यो निर्णय महत्वपूर्ण रहेको बताउनुभयो । महिला स्वास्थ्य स्वयंसेविकाको छाता संस्थाकी अध्यक्ष वसन्ती महर्जनले निकै महत्वपूर्ण निर्णय भएको भन्दै यसका लागि मन्त्री पौडेल र व्यवसायी महासङ्घप्रति आभार प्रकट गर्नुभयो । हाल देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहेका छन् । मन्त्रालयसँग महासङ्घले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख छ ।  यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोसाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने महासङ्घले उल्लेख गरेको छ ।

काठमाडौं:    आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अमेरिका जाने भएका छन् ।        उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि त्यसतर्फ जान लागेका उनलाई अमेरिकाले भिसा दिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।  क्यानका अनुसार लामिछाने आज बेलुका नै अमेरिका प्रस्थान गर्नेछन् । यसअघि अमेरिकामा नै भएको आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि अमेरिकाले लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो ।       आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक शृङ्खला यही कात्तिक ९ देखि १९ गतेसम्म अमेरिकामा आयोजना हुँदैछ । शृङ्खलामा अमेरिका, नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।      नेपालले आफ्नो पहिलो खेल यही कात्तिक ११ गते अमेरिकासँग खेल्नेछ भने दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, तेस्रो खेल कात्तिक १७ गते अमेरिकासँग र चौथो खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्ने तालिका छ । 

सिन्धुपाल्चोक:     ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा २८ मिनेटमा दौड पूरा गर्दै प्रथम हुनुभएको छ ।  पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट सुरु भएको सो प्रतियोगितामा उहाँले २८ किलोमिटरको दूरी  दुई घण्टा २८ मिनेटमा पूरा गर्नुभएको थियो ।  दुई घण्टा ४९ मा ओखलढुङ्गाकी लाक्पा निङ्मा शेर्पा र दुई घण्टा ५८ मा सिन्धुपाल्चोक हेलम्बुकी नितु तामाङले दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गर्नुभएको थियो  । यसअघि २०७६ सालमा सम्पन्न सोही रुटको पाँचपोखरी दौडमा महिलातर्फ मञ्जु रावतले दुई घण्टा ५२ मिनेटमा पार गर्नुभएको थियो  । आज सम्पन्न दौडमा प्रथम र दोस्रो हुने दुवैले सो समय भन्दा अगाडि नै दौड पूरा गरेका छन् ।  महिलाको क्षमता विकासका लागि यो ट्रेल रेस आयोजना गरिएको आयोजक विश्व समावेशी साहसी संस्थाकी माया गुरुङले बताउनुभयो  ।   प्रतियोगितामा सिन्धुपाल्चोक मेलम्चीकी अस्मिता भुजेलले तीन घण्टा ११ मिनेटमा र रोल्पाकी आश्मा विकले तीन घण्टा १८ मिनेटमा पार गर्दै क्रमश चाँैथो र पाँचौं स्थान प्राप्त गरेका छन् ।  प्रतियोगितामा प्रथम, दोस्रो , तेस्रो, चौँथो र पाँचौँ हुनेले सिल्ड, मेडल र प्रमाणपत्रसहित नगद क्रमशः ५० हजार,२५ हजार,१५ हजार,१० हजार र पाँच हजार  प्राप्त गरेका छन् । विजेतालाई उपसभामुख इन्दिरा रानाले पुरस्कार प्रदान गर्नुभयो । 

पोखरा:   प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले ‘गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक विचार गोष्ठी पोखरामा सम्पन्न गरेको छ । वामपन्थी बुद्धिजीवी तथा लेखक रामराज रेग्मीद्वारा प्रस्तुत गोष्ठीपत्रका आधारमा भएको छलफलमा गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे खोज र अनुसन्धान व्यापक रूपमा हुनुपर्नेमा सहभागीहरूले जोड दिए ।  रेग्मीले मजदुर, किसान, महिला र अन्य उत्पीडित जनसमुदायको मुक्तिको उद्देश्यले सिर्जना गरिएको साहित्य नै प्रगतिशील साहित्य भएको धारणा राखे ।  “वर्गीय समाजमा प्रगतिशील साहित्य सबै वर्गको हितमा लेखिन्न । वर्ग दृष्टिकोणसँग गाँसिने सवाल भएकाले यसले वर्गीय पक्षधरता अँगाल्दछ” उनले भने, “त्यसकारण जुन साहित्यकारले सर्वहारा पक्षधरतालाई आत्मसात गर्दैैन र जसले उत्पीडित जनताको मुक्तिको दर्शन माक्र्सवादलाई स्वीकार्दैन, त्यो प्रगतिशील साहित्यकार हुन सक्दैन र त्यसले प्रगतिशील साहित्यको सिर्जना पनि गर्न सक्दैन ।”   जनताको गरिबी, दासता, दुःख, पीडा, छटपटी आदिलाई उजागर गर्ने र उत्पीडनको विरोध गर्ने विषयवस्तु मात्र प्रगतिशील साहित्य नभई त्यसमा मुक्तिको दिशाबोधसमेत गरिएको हुनुपर्ने उनको भनाइ थियो ।  देशको वाम राजनीतिक आन्दोलन फुट र विभाजनबाट गुज्रिएकाले त्यसको प्रभाव प्रगतिशील साहित्यको क्षेत्रमा पनि परेको रेग्मीले बताए ।  गण्डकीमा साङ्गठनिक दृष्टिले प्रगतिशील साहित्यको अपेक्षित विकास हुन नसकेको उनको टिप्पणी थियो । गोष्ठीपत्रमाथि टिप्पणी गर्दै प्रा. डा. यदुनन्दन उपाध्यायले गोष्ठीपत्रले गण्डकीको प्रगतिशील साहित्यबारे आम मानिसमा चासो बढाउन सहयोग गरेको धारणा राखे । गोष्ठीपत्रमा समेट्नुपर्ने थुप्रै विषयवस्तु छुटेको बताउँदै उनले सहभागीको सुझावलाई ध्यानमा राखेर गोष्ठीपत्रलाई अन्तिम रूप दिनुपर्ने बताए ।

पोखरा:   आजदेखि पोखरा महानगरपालिका लगायत देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरिएको छ ।  नेपाल सरकारको प्राथमिकता प्राप्त यस अभियानको पोखरा महानगरपालिका भित्र नगर प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो ।  अभियान अन्तरगत महानगरपालिकाका ६ देखि ५९ महिनासम्मका करिब २६ हजार ३५४ र यहाँ अस्थायी रूपमा बसोबास गर्ने करिब ६ हजार बढी बालबालिकाहरू गरी ३२ हजार बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ ।  यसका लागि महानगरपालिकाका स्वास्थ्यकर्मीहरू, ६५६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायत परिचालन गरिएको अभियानका फोकल पर्सन सत्यराज साँखीले जानकारी दिनुभयो ।  महानगरपालिकाले आज र भोली महिला स्वास्थ्य स्वयमसेविकाहरुका लागि निःशुल्क यातायात सेवाको व्यवस्था समेत गरेको छ ।  अभियानको शुभारम्भ गर्दै नगर प्रमुख आचार्यले आफूहरू बालबालिकाहरूको स्वास्थ्य प्रति सचेत रहेको बताउनुभयो । बालबालिकाहरूलाई नियमित रूपमा दिइने यस प्रकारका कार्यक्रमहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र कुनै पनि बालबालिका यस सुविधाबाट वञ्चित हुन नपरोस् भन्नका लागि महानगरको स्वास्थ्य सम्बन्धी सम्पूर्ण संयन्त्र परिचालन गरिएको उहाँले बताउनुभयो ।  महानगरपालिका भित्र स्थायी तथा अस्थायी रूपमा रहेका ३२ हजार बढी बालबालिकाहरूलाई यस अभियानले पूर्ण रूपमा समेट्ने गरी आवश्यक प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो ।  बालबालिकाहरूको स्वास्थ्यमा आउन सक्ने जटिलताहरूलाई मध्यनजर गरी महानगरपालिकाले सरकारका विभिन्न राष्ट्रिय अभियानहरूमा सहकार्य गर्दै आइरहेको उल्लेख गर्दै उहाँले सुरक्षित र स्वस्थ भविष्य निर्माणका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।  महानगरपालिका भित्र सबै अस्पताल, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधी खुवाउने व्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो ।  जस अनुसार यस पटक २१ लाख बालबालिकालाई भिटामिन ए र १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ । यसका लागि ५२ हजार भन्दा बढी स्वास्थ्य स्वयंसेविका र १५ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।  

काठमाडौं:    जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई विश्वसनीय बनाउन नयाँ छनोट समिति गठन गर्न माग गरेको छ ।      समितिका संयोजक राजुप्रसाद चापागाईले आज जारी गरेको प्रेस विज्ञप्तिमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउनुपर्ने र छनोट प्रक्रियामा विगतमा गरिएको गम्भीर गल्ती नदोहो¥याउन माग गरिएको छ ।      विज्ञप्तिमा भनिएको छ, “सङ्क्रमणकालीन न्याय प्रक्रियाको गाम्भीर्य अनुरूप स्वतन्त्र व्यक्ति सम्मिलित नयाँ छनोट समिति गठन गरेर पदाधिकारी छनोट प्रक्रियालाई सबै पीडितलगायतका सबै सरोकारवालाले स्वामित्व लिने गरी अगाडि बढाउन नेपाल सरकारसमक्ष समिति जोडदार माग गर्दछ ।”      अब गठन हुने छनोट समितिले खुला, पारदर्शी, परामर्शयुक्त, र सहभागितामूलक ९सार्वजनिक सुनुवाइसहित० छनोट विधि तथा प्रक्रिया अपनाएर पदाधिकारी छनोट गरी सङ्क्रमणकालीन न्याय प्रक्रियाको बाँकी अभिभारा वैधरूपमा सम्पन्न गर्ने मार्ग प्रशस्त गर्नुपर्नेमा निगरानी समितिको जोड छ ।      “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ पारित हुनु पूर्वगठित पदाधिकारी छनोट समितिको वैधता र विश्वसनीयतामा प्रश्न उठेको छ”, विज्ञप्तिमा भनिएको छ, “समितिको नेतृत्व विगतमा पनि परीक्षण भइसकेको यथार्थताका आधारमा छनोट प्रक्रियालाई वैध र विश्वसनीय बनाउन नयाँ छनोट समिति गठन गर्नु उपयुक्त भन्ने धारणामा जवाफदेहिता निगरानी समिति अडिग छ ।”      समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग यथाशक्य चाँडो गठन गर्नतर्फ तीनदलले देखाएको अग्रसरता सकारात्मक भएको समेत उल्लेख गरेको छ । पदाधिकारी छनोट प्रक्रियामा विगतका गम्भीर गल्ती दोहोरिन नदिई यसको विश्वसनीयता र वैधता सुनिश्चित गर्नुपर्ने आवश्यकता टड्कारो देखिएको जनाएको छ ।      “विगतमा आयोग वैधताको सङ्कटतर्फ धकेलिएका र निष्प्रभावी बनेको यथार्थबाट पाठ सिक्न सरकार, दल तथा जिम्मेवार नेतालाई निगरानी समिति आग्रह गर्दछ”, प्रेस विज्ञप्तिमा भनिएको छ, “सङ्क्रमणकालीन न्याय प्रक्रियालाई दिगो र परिणाममुखी बनाउन तेस्रो संशोधनले निम्त्याएका वा सम्बोधन हुन नसकेका ऐनका गम्भीर त्रुटि (परिभाषा, सजाय कटौती, हदम्यादलगायत) न्यायिक पुनरावलोकन वा विधायिकी संशोधनको माध्यमबाट सच्याइनुपर्ने आवश्यकतामा पनि निगरानी समितिले पुनःजोड दिन्छ ।”

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत प्रतिपक्ष दलले संयुक्त रुपमा सरकारलाई ज्ञापनपत्र बझाउने भएको छ ।  नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा आजको बैठकले सरकारलाई समसामयिक जनसरोकारका विभिन्न विषय समावेश गरी सरकारलाई ज्ञापनपत्र बुझाउने सहमति गरेको एकीकृत समावादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।        माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको बैठकले बाढीपहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनःस्थापनाबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।       माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बैठकमा समसामयिक विषयमा छलफल भएको जानकारी दिनुभयो ।  “खासगरी प्रतिपक्षी पार्टीको तर्फबाट जनसरोकारका मुद्दामा सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेस गर्ने भन्ने समझदारी भएको छ”, नेता बस्नेतले भन्नुभयो ।       बैठकमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरु महन्त ठाकुर, प्रभु साह, रास्वपा सभापति रवि लामिछाने तथा उपसभापतिहरु डिपी अर्याल र डा स्वर्णिम वाग्ले नेताहरु शिशिर खनाल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठको सहभागिता रहेको थियो । 

काठमाडौं:    प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति पुष्टि गर्नुभएको छ ।  प्रधानमन्त्री नेतन्याहूले आफ्ना सहयोगीलाई हमास प्रमुखको मृत्युबारे इजरायली बन्धकका परिवारलाई जानकारी दिन पनि निर्देशन दिनुभएको छ ।   अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले हमास प्रमुखको मृत्यु ‘न्यायिक’ भएको बताउनुभएको छ। “हमासले इजरायलका लागि निम्त्याएको खतरालाई निर्मूल पार्नुपर्छ,” अर्को महिना हुने अमेरिकी राष्ट्रपतीय चुनावका लागि डेमाक्र्याटिक उम्मेदवार ह्यारिसले भन्नुभयो, “परिणामस्वरुप विश्वले सुरक्षित महशुस गर्न सक्नेछ र पीडितका परिवारले राहत महसुस गर्नेछन्।” इजरायली रक्षा बल (आईडीएफ) ले गाजामा आफ्नो कारबाहीका क्रममा तीन जना हमास लडाकू मारिएको पुष्टि गरेको थियो । इजरायली आक्रमणमा मृत्यु भएका तीन लडाकूमध्ये एक हमासका प्रमुख याह्या सिनवार भएको बताइएको छ ।  आईडीएफले एक्समा एक पोस्ट शेयर गर्दै लेखेको छ, “गाजामा आईडीएफ अपरेसनको क्रममा तीन जना मारिएका थिए । आईडीएफ र आईएसएले आतंकवादीमध्ये एक याह्या सिनवार भएको सम्भावनाको वैज्ञानिक पुष्टि गर्न आवश्यक जाँच भइरहेको छ ।”  मङ्गलबार आईडीएफ र शिन बेट सुरक्षा निकायले अक्टोबर ७ मा भएको आक्रमणमा सहभागी हमासका तीन ‘आतङ्ककारी’ हालैका दिनमा भएका हवाई आक्रमणमा मारिएको जनाएको छ । इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का उच्च पदस्थ नेता हसन नसरल्लाहको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो । यसअघि हमासका अर्का वरिष्ठ नेता इस्माइल हनियाको इरानमा मृत्यु भएको थियो । तेहरान र हमासले हनियाको मृत्यु भएको घटनामा आक्रमणको आरोप इजरायलमाथि लगाए पनि इजरायलले न त यो आरोप स्वीकारेको छ न त अस्वीकार नै गरेको छ । हालै आईडीएफले गाजामा हमास सरकारका प्रमुख राउही मुश्ताहा र हमासको राजनीतिक ब्युरोमा सुरक्षा जिम्मेवारीे सम्हालेका समेह अल सिराजसहित हमासका उच्च पदस्थ अधिकारीहरूको मृत्यु भएको जनाएको थियो ।   टाइम्स अफ इजरायलका अनुसार मङ्गलबार आइडीएफले जाबालियामा भएको हवाई आक्रमण र भिडन्तमा हमासका करिब २० जना लडाकू मारिएको जनाएको छ । इजरायली सेनाका अनुसार युद्धका क्रममा सेनाले एउटा हतियार डिपो र अन्य हतियार पनि फेला पारी नष्ट गरेको छ । सेनाले भनेको छ, “यो अभियान आवश्यक भएसम्म जारी रहनेछ र योजनाबद्ध रूपमा आक्रमण र त्यस क्षेत्रमा रहेका आतङ्कवादी संरचनालाई पूर्ण रूपमा नष्ट गरिनेछ।” सोमबार आइडीएफले उत्तरी गाजाका बेइट हनौन, जबालिया र बेइट लहियाका प्यालेस्टिनीहरूलाई गाजाको दक्षिणमा रहेको इजरायलद्वारा निर्दिष्ट मानवीय क्षेत्रमा स्थानान्तरण गर्न आदेश दिएको टाइम्स अफ इजरायलले जनाएको छ।