काठमाडौं: नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले गरिरहेको हूलहुज्जत र सडक प्रदर्शनले अनुसन्धानलाई प्रभावित गर्ने भन्दै ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले आज विज्ञप्ति जारी गरी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सो पार्टीका सभापति लामिछानेका समर्थकहरुले राज्यका तटस्थ निकायहरुलाई आतङ्कित र त्रसित पारी अनुचित दबाब सिर्जना गरिरहेको उल्लेख गरेको छ । राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणलाई बाधा पु¥याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता, सामाजिक सद्भाव र स्थानीय शान्तिसुरक्षामा समेत खलल पु¥याउने गतिविधिप्रति कांग्रेसले विरोध जनाएको छ । संसदीय छानबिन समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएकाले सोही बमोजिम केही सहकारीको रकम अपचलन गरेको अभियोगमा गोर्खा मिडिया कम्पनीका सञ्चालकहरु जिबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक लामिछानेलाई उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । “कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रक्रियालाई सहयोग पु(याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन् बढी जिम्मेवारी हुनु पर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “तर रास्वपाका नाममा भइरहेको गतिविधिहरुले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ ।” प्रचलित कानुनबमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरुमाथि समान ढङ्गले अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्छ भन्ने मान्यताप्रति कांग्रेस प्रतिबद्ध रहेको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चितवन: सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा वर्ष २०८२ सफल पार्ने लक्ष्यका साथ अभियान बोकेर मेची–महाकाली राष्ट्रिय उद्घार यात्रा–२०८१ मा निस्केको टोली मङ्गलबार चितवन आइपुगेको छ । ‘यो पटकको चाडपर्वमा, कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा पूर्वको मेची पुलबाट सुरु गरिएको अभियानको टोलीलाई भरतपुरमा आज स्वागत गरिएको छ । स्वागत कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले महानगरपालिकाले देशमै पहिलो पटक सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको स्मरण गर्नुभयो । मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी सडक मानवको खोजी र उद्घार कार्य गरी सो अभियान सफल पारेको उहाँले बताउनुभयो । आजको दिनमा चितवन तथा भरतपुरमा सहयोगापेक्षी सडक मानव नभेटिएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले १२ वर्षअगाडि स्थापना भएको मानव सेवा आश्रम आज देशका सात प्रदेशका १९ जिल्लामा २४ सेवा केन्द्रबाट सेवा प्रवाह भइरहेको बताउनुभयो । उहाँले विसं २०८२ सम्ममा नेपालको सडकपेटीमा कसैले पनि भोकै नाङ्गै बेसहारा भएर बस्न नपर्ने राष्ट्र निर्माण गर्ने सङ्कल्प आफूहरुको रहेको उल्लेख गर्नुभयो । महानगरमध्येमा सबैभन्दा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त भरतपुर महानगर घोषण भएको भन्दै आज भरतपुर आइपुग्दा मेची–महाकाली यात्रामा हौसला मिलेको उहाँको भनाइ थियो । अभियानका क्रममा अध्यक्ष अधिकारीले हेटौँडादेखि भरतपुरसम्म आउँदा एकजना पनि बेसहारा सहयोगापेक्षी मानव नभेटिएको बताउनुभयो । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा हालसम्म कोशी र मधेश प्रदेशमा ८४ जनाको उद्धार भएको अधिकारीले जानकारी दिनुभयो । उहाँले चितवनमा आइपुग्दा सहयोगापेक्षी मानव नभेटिनुले अभियानमा हौलसा मिलेको उहाँको भनाइ थियो । छोइङ डोल्मा फाउन्डेसनका संस्थापक आनी छोइङ डोल्माले यो अभियान सबैको साझा अभियान रहेको बताउनुभयो । यात्राका क्रममा सहयोगापेक्षीहरु कम भेटिनु अभियानको शुभ सङ्केत रहेको भन्दै उहाँले भरतपुर महानगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त भएकामा खुसी व्यक्त गर्नुभयो । गत असोज २६ गतेदेखि सुरु भएको सहयोगापेक्षी सडकआश्रित मानवको मेची–महाकाली राष्ट्रिय उद्घार यात्रा यही कात्तिक २८ गते सकिनेछ ।
पोखरा: गत संस्करणको विजेता सांग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै पोखरा क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लबले रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा आफ्नो यात्रा तय गरेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियसिप २०८१’ को समुहको विजेता बनेको हो । ८१ रनको विजयी लक्ष्य पाएको सांग्रिला १३.५ ओभरमा ६९ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाका लागि सिबृन श्रेष्ठले ३५ रनको उत्कृष्ट पारी खेलेपनि उनको विकेट पतनसँगै टोली संकटमा परेको थियो । उनले ३४ बलमा ६ चौका र १ छक्काको मद्धतमा ३५ रन बनाएका थिए । उनी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । ओपनर मेघनाथ खनाल १, राकेश गुप्ता ५, अरुण अधिकारी ४, सनम बुढा १ रनमा आउट भए भने, सुदिप पौडेल, विराट दवाडी, सुमिट शेरचन, सागर बस्याल र भुवन रेग्मी शुन्यमै पेभिलियन फर्किए । पोखराका लागि सुवाष भण्डारीले ७ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । देव शाहले ५.५ ओभरमा ३१ रन खर्चदै ४ र अनिश खड्काले १ विकेट लिए । त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पोखरा २७.१ ओभरमा ८० रन बनाउँदा अलआउट हुन पुग्यो । पोखराका लागि ओपनर मुस्कान थापाले १८ रन बनाए । अर्जुन बुढाथोकी १, मनिष भण्डारी ७, सुवाष भण्डारी १२, रोशन पौडेल ११, अनिष खड्का ८, रोहन चन्द २, अमन सुवेदी ४ रनमा आउट भउ भने देव शाह र सागर भुजेल शुन्यमै पेभिलियन फर्किए । सांग्रिलाका लागि भुवन रेग्मीले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सिबृन श्रेष्ठ र सुदिप पौडेलले २÷२ तथा सुनम बुढा, सागर बस्याल र सुमिट शेरचनले १÷१ विकेट लिए । जितसँगै पोखराको कुल ४ अंक रह्यो । सांग्रिला र यस अघि नै बाहिरिएको लेकसाइडको १/१ अंक रहेको छ । १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद र पोखरा महानगरपालिकाको सहयोग रहेको छ । पिएम कपको जिल्ला छनोटको रुपमा समेत रहेको प्रतियोगिताको समुुह ए मा सांग्रिला क्रिकेट क्लब, पोखरा क्रिकेट क्लब र लेकसाइड क्रिकेट क्लब रहेका छन् । समुुह बि मा माछापुच्छे्र क्रिकेट क्लब, कास्की क्रिकेट क्लब र लेखनाथ युुथ क्रिकेट क्लब रहेका छन् भने समुह सि मा राइजिङ क्रिकेट क्लब, अरण्य ज्योती क्रिकेट क्लब र गण्डकी स्पोट्र्स क्रिकेट क्लब रहेका छन ।
रौतहट: केही वर्षयता रौतहटका वन क्षेत्रबाट काठ तस्करी गर्न पिकअप भ्यानको प्रयोग बढ्दै गएको छ । छिटोछरितो हुने भएकाले काठ तस्करहरुले भारतीय नम्बरका साना सवारीसाधनको प्रयोग गर्दै आएको पाइएको छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले दिएको तथ्याङ्कअनुसार गत असोजमा मात्रै दुई वटा पिकअप भ्यान र एक थान ट्र्याक्टर बरामद गरेको छ । कार्यालयका सूचना अधिकारी महालक्ष्मी शर्माले गत असोज ७ गते तीनजनासहित ३४ क्युफिट काठ, एउटा पिकअप भ्यान वन गस्तीमा खटिएको टोलीले पक्राउ गरेको थियो । गत असोज ८ गते ना ४ च ८७९४ नं को टाटा पिकअपबाट १४ दशमलव २० क्युफिट काठसहित दुईजनालाई पक्राउ गरिएको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार असोज २३ गते ८६ क्युफिट काठ, प्रदेश २—०३—००१ त २०८० नं को ट्र्याक्टरसहित तीनजनालाई पक्राउ गरिएको छ । गत आर्थिक वर्षमा विभिन्न मितिमा पाँच थान पिकअप भ्यान र पाँच थान ट्र्याक्टर काठ चोरी भएकामा वन कर्मचारीले खोजी गरी पक्राउ गरेको थियो । साथै मोटरसाइकल, साइकल, टायगाडामार्फत पनि काठ तस्करी भइरहेको भन्दै यी सवारीसाधन सुराकीको आधारमा तथा वनको नियमित गस्ती गर्ने क्रममा पक्राउ परेका सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । गत आवमा काठ चोरी गर्ने ४९ जनामाथि मुद्दा चलाइएको जनाउँदै उहाँले एक हजार एक सय ९४।५८ क्युफिट काठ बरामद गरिएको उल्लेख गर्नुभयो । आव २०७९÷८० मा ९५ वटा सवारीसाधनसहित दुई हजार पाँच सयबढी क्युफिट काठ बरामद गरेको थियो । सो अवधिमा काठ ढुवानी गर्न प्रयोग भएका पिकअप भ्यान आठ, ट्र्याक्टर तीन, ट्रक, मिनिट्रक र स्कारपियो एकरएक, साइकल ६५, मोटरसाइकल पाँच र रिक्सा ९५ वटा बरामद गरिएको थियो । ती तस्करीमा संलग्न ५० जना तस्करलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको थियो । सङ्घीय र प्रदेशको कानुन बाझिँदा बरामद गरिएका सवारीसाधन र काठ लिलाम नहँुदा ती सवारीसाधन र काठ कुहिने अवस्थामा पुगेका डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त साहले बताउनुभयो । “विगत १२ वर्षदेखि ती काठ र सवारीसाधनको लिलाम हुनसकेको छैन भने हालसम्म कुनै पनि मुद्दाको किनारा लाग्न सकेको छैन”, उहाँले भन्नुभयो । कानुनी स्पष्टता नहुँदा कुनै पनि मुद्दाको फैसला नभएको भन्दै काठ र सवारीसाधनको लिलाम हुन नसकेको प्रमुख साहले बताउनुभयो । यो समस्या देशव्यापी रुपमा रहेको उल्लेख गर्दै उहाँले समस्या समाधान गर्न सङ्घीय सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो । बरामद काठ र सवारीसाधनको लिलाम नहुँदा राजस्व सङ्कलनमा कमी आएकाले तत्काल समाधानको पहल थाल्नुपर्ने उहाँको भनाइ छ ।
नवलपरासी: “हमहनके नेपाली हइन, लेकिन हमनके नागरिकता नहीं बा । नहीं हमनके लालपुर्जा बा । नागरिकता लेके हमनके मरेके मन बा लेकिन खै काहुई कौनो पता नही बा” अर्थात “हामी नेपाली भए पनि नागरिकता छैन । अनि लालपुर्जा पनि । नागरिकता लिएर मर्न मन छ । के हुन्छ खै हेरौं ।” यो गुनासो हो, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, सुस्ता गाउँका स्थानीय इन्द्रजित लोनियाको । उमेरले पनि ७० वर्ष नाघिसक्यो । नागरिकता कुर्दाकुर्दै उमेर पनि ढल्किसक्यो । अझै पनि पाइन्छ कि भन्ने आशा मरेको छैन उहाँको छ । उहाँसँग लालपुर्जा पनि छैन । यसले पनि उहाँलाई पिरोलिरहन्छ । “लालपुर्जा र नागरिकता पाए त मर्ने बेलामा पनि शान्तिले सास जान्थ्यो कि” उहाँ भन्नुहुन्छ । जीवन कष्टकरमै बितेको उहाँ सुनाउनुहुन्छ । भन्नेबित्तिकै सीमा कटेर भारत आवतजावत गर्न सहज त्यति नहुने र नेपाल जोड्ने पुल समेत नहुँदा निकै सास्ती भोग्नुपरेको उहाँको गुनासो छ । “यहाँ वर्षौंदेखि बिजुली थिएन, अन्धकारमा नै बित्यो, अहिले त हाम्रो बस्ती झलमल भएको छ,” केही खुसीको भावमा उहाँ भन्नुहुन्छ, “अहिले त सुस्तामा पुल पनि बनिसक्यो, अब केही हुन्छ कि ?” यसअघि नवलपरासी (पश्चिम) स्थित नारायणी नदीमा गाउँ पुल थिएन । सुस्तामा पुल नहुँँदा ज्यानै जोखिममा राखेर वारपार डुङ्गामा वारपार गर्नुपर्दा गुजारा गर्न नै गाहे हुने गरेको अनुभव सुनाउनुहुन्छ सुस्ताकै मराक्षीदेवी लोनिया । “यहाँ हामी उखु रोप्थ्यौँ तर बिक्दैनथ्यो । डुङ्गाबाट वारपार गर्दा लड्ने डर हुन्थ्यो, भारतले पनि हाम्रो उखु किन्दैनथ्यो,” उहाँ सुनाउनुहुन्छ, “धेरै गाहो भएको थियो । बल्ल पुल बन्यो, अब त पहिला जस्तो सास्ती नहोला ।”केही वर्ष पहिले डुङ्गा पल्टेरै उहाँको देवरको ज्यानै गएको थियो । त्यसपछि डुङ्गामा नदी वारपार गर्न उहाँलाई सधैँ डर लाग्ने गर्दछ । “त्यसपछि म त पारी नेपालसम्म नै जान डर मान्थेँ । केही प¥यो भने भारत जाने हो,” उहाँ भन्नुहुन्छ, “अब त पुल बनेको छ, पुल तरेर पारी नेपाल जानेछौँ ।” मनभरि नेपालको माया छ तर नेपाली भन्ने प्रमाण छैन उहाँसँगै । पुल बनेपछि खुसीले गद्गद् हुनुभएकी लोनियालाई अब नागरिकता पाए हुन्थ्यो भन्ने लाग्छ । गत असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेल सुस्ता पुग्नु भई झोलुङ्गे पुलको उद्घाटन गरिरहँदा सुस्तावासीले आफ्नो वर्षौंदेखिको सपना पूरा भएको अनुभव गरिरहेका थिए । अब आफूहरुले नागरिकताको विषयमा भोग्नुपरेको सास्तीको विषयमा राष्ट्रपतिले केही बोल्दिए हुन्थ्यो भन्ने आशा बोकेर कार्यक्रमस्थल आइपुग्नुभएको थियो, लोनिया । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भन्नुभयो, “ढुक्क हुनुस् तपाइँहरुलाई नागरिकता र लालपुर्जा दुबै दिन्छौँ ।” उपस्थित सर्वसाधारणहरुबाट खुसीले गडगडावट रुपमा बेस्सरी ताली बजेको थियो । लोनियालाई नेपाली भाषा बोल्न आउँदैन । बुझ्न पनि बुझ्नुहुँदैन । भन्नुहुन्छ, “हमरा सरकार काकहत बानी, हमके सम्झादेइ । अर्थात हाम्रो सरकारले के भन्नुभएको हो रु मलाई बुझाइदिनुस् त ।” छेउमै बस्नुभएका इन्दजित लोनियासँग सोध्नुहुन्छ उहाँ । जवाफमा इन्दजित भन्नुहुन्छ, “नागरिकता देहेके कहत बानी अर्थात नागरिकता दिन्छु भन्नुहुन्छ,” अनि मुसुक्क मुस्कुराउनुहुन्छ लोनिया । सायद वर्षौंदेखि नपाएको नागरिकता अब पाइन्छ कि भन्ने विश्वासले होला । उहाँ भन्नुहुन्छ, “हमार सरकार हमन्के यहाँ आइलबानिजा । हमन्के बहुत खुसी बानिजा । हमन्के लिए बहुत अच्छा काम कइलिजा । विद्युत भि ल्यान देहनी जा । पुल भी बना देहनी जा । हमनके बहुत खुसी बानिजा । हमन्के लिए नागरिकता और लालपुर्जा मिल्जातते और खुसी होतिजा । अर्थात हाम्रो सरकार पनि यहाँ आउनुभएछ । हामीलाई धेरै खुसी लागेको छ । हाम्रो लागि राम्रो काम गर्दिनुभयो । विद्युत पनि ल्याइदिनुभएको छ । पुल पनि बनाइदिनुभएको छ । हामी धेरै खुसी छौँ । हाम्रो लागि नागरिकता र लालपुर्जा दिलाइदिनुभयो भने अझै धेरै खुसी हुन्थ्यौँ,” सुस्ता क्षेत्रसमेतको संसदमा प्रतिनिधित्व गर्ने विनोद चौधरी नवलपरासी पुग्ने बित्तिकै उहाँलाई घेरा हाल्नेको भीड हुने गर्छ । कोहीले नागरिकता, कोहीले लालपुर्जा, कोहीले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका समस्याहरु व्यक्त गर्दै हुनुहुन्थ्यो सांसद चौधरीसँग । “सरकार हमन्के दुः ख बुझ्देहन जा नाही नाही कहिके मिलि अर्थात सांसदज्यू हाम्रो दुःख बुझ्दििनु है । हुन्न नभन्नु होला ।” बिधौती हरिजनले सांसद चौधरीलाई गनभएको आग्रह हो यो । “ठीक हे चिन्ता मत करे । निचिन्त रहिए, मैं आफ्के साथ हुँ अर्थात हुन्छ । चिन्ता नगर्नुस् । ढुक्क हुनुस् म तपाईहरुकै साथमा छु” सांसद चौधरीले आश्वासन दिनुभयो । सांसद चोधरी भन्नुहुन्छ, “उहाँहरुको मागलाई संसदसम्म पु¥याउनेछु, ठेक्का सम्झौता भएर पनि लामो समयसम्म बन्न नसकेको सुस्ताको पुल मेरै पहलमा आजसम्पन्न भएर प्रयोगमा आएको छ । अरु समस्या विस्तारै समाधान हँुदै जानेछ ।” पुल बनेपछि अब त ज्यानै जोखिममा राखेर डुङ्गाको यात्रा गर्नुपर्ने दिन सकियो भनेर खुसी देखिनुहुन्छ, सुस्ताकै मीना चौधरी । “हामी नेपालसँग जोडिन पाएका थिइनौ, कहिले खोलामा भेल आउथ्यो पारी नेपाल जानै पाइँदैनथ्यो, रातिको समयमा डुङ्गा चल्दैनथ्यो” उहाँ भन्नुहुन्छ, “पुल बनेको छ, अब त हामीलाई पहिलाको जस्तो सास्ती छैन ।” सुस्तालाई पनि अरु नेपालको भूमीलाई जस्तै माया गरेर सेवा सुविधाबाट बञ्चित नगराइदियोस् सरकारले भन्ने लाग्छ उहाँलाई । “हामी पनि त नेपाली नै हौँ, हामीलाई पनि शिक्षा स्वास्थ्य जस्ता सुविधा पाउने हक त छ नि,” मीना भन्नुहुन्छ, “लामो समय अन्धरकारमै गुजारा गरेका थियौँ, अहिले झलमल बत्तीमा बस्न पाएका छौँ, अब चाहीँ अरु सास्तीबाट मुक्ति हुन पाए हुन्थ्यो झैं लाग्छ ।” रामबृक्ष चमारको पनि उही नै गुनासो छ । लालपुर्जा छैन । आफूले त कष्ट काटे पनि छोरी, नातिको पालामा सुख भइदिए पनि हुन्थ्यो झैं लाग्छ । सुस्तामा जोडिएको पुलले केही आशा त जगाएको छ उहाँलाई । उहाँ भन्नुहुन्छ, “अहिले पुल बनेको छ, पारी ओहोरदाहोर गर्न पाइएको छ, अब अरु माग पनि पूरा होला कि भन्ने आशा छ ।” अब लालपूर्जाहरु पनि समयमा नै पाउन पाए हुन्थ्यो झैँ लाग्छ उहाँलाई । नागरिकता नपाउँदा राज्यबाट पाउनुपर्ने कुनै पनि सुविधा पाउन नसक्दा अझै मन विचलित छ उहाँको । “हामी पनि नेपाली हौँ हामीलाई पनि नागरिकता चाहिन्छ भनेका छौँ” चमार भन्नुहुन्छ । नवलपरासी जिल्लाको भूमि आयोगका अध्यक्ष, देवराज भण्डारीले सुस्ता पारीको हकमा मात्रै लालपूर्जामा समस्या रहेको बताउनुभएको छ । सीमा विवाद नटुङ्गिएसम्म समस्या रहेको र अन्तर्राष्ट्रिय सिमानासँग जोडिएका क्षेत्रमा छुट्टै ऐन लागू हुने भएकाले लालपुर्जाको समस्या समाधान गर्न चुनौती रहेको उहाँको भनाइ छ । “नवलपरासी पश्चिमका २२ हजारसँग लालपूर्जा नै छैन, पश्चिम क्षेत्र नं. १ मा १४ हजार जानको हाराहारीमा लालपुर्जा छैन,” उहाँ भन्नुहुन्छ, “सांसद चौधरीको पहलमा जग्गा वितरण गर्ने कार्य सुरु भए पनि आयोग विघटन भएपछि काम रोकिएको छ ।” उहाँका अनुसार लालपुर्जाको समस्या विषेशगरी सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिकामा देखिएको छ । सम्पर्क तथा भू–आर्जन कार्यालय गण्डक योजना, वाल्मिकी नगर, नवलपरासीकी सम्पर्क तथा भू–आर्जन आधिकृत कमला पराजुली(तिवारी) ले सुस्ताबासीले नागरिकता, शिक्षा, सुरक्षा, स्वास्थ्य, लालपूर्जा, रोजगारीलगायतका समस्या भोग्नुपरेको बताउनुभएको छ । “सुस्ता नेपाल–भारत सीमाको नजिक भएकाले, विवाह गरेर आउने र जाने चलन छ । बसाइ सरेर आउनेको सङ्ख्या पनि छ,” उहाँ भन्नुहुन्छ, “सुस्तामा बस्ने सबै सर्वसाधारणले नागरिकता पाएका हुँदैनन् । अनि राज्यको सुविधाबाट बञ्चित हुनु परेको छ ।” रामु ढकाल सखर स्थानीय व्यवसायी हुनुहुन्छ । सुस्ता उखुको राम्रो उत्पादन हुने ठाउँ हो । सुस्ताको उखु लैजान निकै कठिन हुने गरेको उहाँको भनाइ छ । “यहाँको उखु डुङ्गाकै भरमा लानुपथ्र्यो, डुङ्गा नै पल्टिन्छ कि भन्ने छर उस्तै थियो,” उहाँ भन्नुहुन्छ, “उखु नै नबिकेर कतिले त धान खेती लगाउन थालेका छन् । पुल बनेपछि अब उखु नबिक्ने सास्ती हट्नेछ यहाँ । हामी व्यापारीलाई पनि सहज रुपमा पारी पु¥याउन सकिन्छ ।” सुस्ता बचाउका युवा अभियन्ता कमल बत्स्याल पनि सुस्तामा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका समस्याहरु यथावत् रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुहुन्छ । नागरिकता नै नहुँदा अनेक समस्या रहेको सरावल गाउँपालिका पूर्वअध्यक्ष राधेश्याम चौधरीको भनाइ छ । “नागरिकता नहुँदा बैंकिङ समस्या भइरहेको छ । मानिस स्नाकोत्तर पढेका छन् । तर नागरिकता नहुँदा रोजगारीमा समस्या छ,” उहाँ भन्नुहुन्छ, “सामाजिक सुरक्षा भत्ता पनि पाउन सकेका छैनन् । यहाँका मानिसको मनमनमा नेपाली पन छ । तर प्रमाण छैन ।”
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्कटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा रु ४३ करोड विनियोजन गरिएको जानकारी दिनुभएको छ । वर्तमान सरकारको एक सय दिनको उपलब्धि आज सार्वजनिक गर्दै उहाँले विपद्बाट प्रभावित परिवारलाई तत्काल उद्धार, राहत, अत्यावश्यक भौतिक पूर्वाधार र सेवाको सञ्चालनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताउनुभएको छ । “वर्तमान सरकार बनेको केही दिनअघि सिमलतालस्थित त्रिशूली नदीमा बस खस्दा तीर्थयात्री बेपत्ता भएको दुःखद घटनाबाट शोकमा थियौँ । त्यसको केही दिनपछि सौर्य विमान दुर्घटना, नुवाकोटमा हेलिकप्टर दुर्घटना र भारतीय पर्यटक बस दुर्घटना भयो,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुक गत असोज १० गतेदेखि १३ गतेसम्म अकल्पनीय बाढी पहिरोको चपेटामा प¥यो । यसै अवधिमा देशभर सात हजार एक सय ३५ वटा विभिन्न प्रकारका विपद्जन्य दुर्घटना भए । प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति ग¥यो । कृषिबाली, पशुचौपाया एवं सडक, पुल, खानेपानी, सञ्चार, विद्यालय, विद्युत्लगायत भौतिक संरचनामा ठूलो नोक्सानी पुग्यो ।” पीडित परिवारको राहत, घाइतेको उद्धार र निःशुल्क उपचार, मृतकको परिवारलाई आर्थिक सहयोग र प्रभावित नागरिकको सुरक्षित पुनःस्थापनामा सरकार केन्द्रित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “बाढी पहिरोका कारण मृत्यु भएका तीन सय ९१ जनाका परिवारले दुई लाखका दरले राहत रकम पाएका छन् । बाढी पहिरोबाट प्रभावित दुई हजार पाँच सय ५५ परिवारलाई रु चार करोड ५० लाख तत्काल प्रदान गरिएको छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रारम्भिक क्षतिको आकलन गरी अस्थायी बासस्थानको प्रबन्ध गर्ने कामलाई प्राथमिकतामा राख्यौँ । हामी अहिले बाढीपहिरोले क्षति पु¥याएका भौतिक संरचनाको निर्माणका कार्ययोजनासहित काम गरिरहेका छौँ । सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाको खानेपानी, विद्युत्, सडक, सञ्चारलगायत अत्यावश्यक सेवा पन्ध्र दिनभित्र सञ्चालनमा ल्याउन जिल्ला विपद् व्यवस्थापन कोषमार्फत रकम उपलब्ध गराइसकेका छौँ ।”
म्याग्दी: आइतबार साँझ एकाएक भएको असिनासहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर परेको छ । कतिपय ठाउँ फूल खेल्दै गरेको, कतिपय ठाउँमा पाक्न लागेको तथा कतिपय ठाउँमा काटेर खेतमा नै सुकाएको धानमा असिनापानीले क्षति गरेको किसानले बताएका छन् । असिनापानीले धान बालीमा क्षति पु¥याएपछि कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली क्षतिको विवरण सङ्कलन गर्न किसानका खेतखेतमा पुगेका छन् । असिनापानीले सबैभन्दा बढी क्षति ज्यामरुककोटमा पु¥याएको बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । “अहिले हामी क्षतिको विवरण सङ्कलन गर्न किसानका खेतखेतमा पुगेका छौँ, अधिकांश ठाउँमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ, किसानहरु अहिले दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन्, केही दिनभित्र क्षतिको पूरै विवरण सङ्कलन हुन्छ”, वडाअध्यक्ष कार्कीले भन्नुभयो । असिनापानीले जिल्लाको बेनी–२ ज्यामरुककोटको सानालेख, गौश्वारा, तमाने, फापरखेत, खबरा, बगरफाँट, वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १ को अर्जम, रत्नेचौरलगायत ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानबालीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका बेनी नगरपालिका–२ का वडा सदस्यसमेत रहनुभएका चन्द्रकान्त रिजालले बताउनुभयो । उहाँका अनुसार असिनाले खेतमा रहेको धानको ८० प्रतिशत दाना झारेर नष्ट गरेको छ । रिजालका अनुसार असिनासहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ । त्यसैगरी, नकाटेको धानका बोट ढालेको छ । दाना सबै झरेर पराल मात्र बाँकी रहेको स्थानीय किसान सन्तबहादुर नेपालीले बताउनुभयो । भित्र्याउने समयमा पानीले क्षति पु¥याइदिए पछि किसान चिन्तित अवस्थामा पुगेको बेनी–२ सानालेखका नारायण शर्माले बताउनुभयो । “धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो ?” जिल्लाको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् । विगतमा पनि यही समयमा असिना र वर्षाका कारण क्षति बेहोर्दै आएका कृषक यस वर्ष पनि यही बेलामा क्षति भोग्न बाध्य भएका हुन् । विगतका वर्षको तुलनामा यस वर्ष अधिकांश ठाउँमा धानखेती निकै सप्रिएको र उत्पादन बढ्ने अनुमान गरिएकामा उच्च क्षेत्रमा भने असिनासहितको वर्षाले असर गरेको हो । “असिना र वर्षाले धान नै झारेको छ, चर्को हावाले ठाडो धान नै खेतैमा सुताएको छ”, बेनी–२ का कृषक मोहन कार्कीले भन्नुभयो, “पाक्ने बेलाको धानमा असिना परेपछि खेतमै झरेको छ ।” कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख सञ्जीव वास्तोलाले जिल्लाका स्थानीय तहहरूले क्षतिको विवरण सङ्कलन गर्ने काम गरिरहेकाले एकीकृत तथ्याङ्क कार्यालयमा नआइपुगेको बताउनुभयो । कृषकहरूले पनि सुरुमा स्थानीय तहमा नै गुहार्ने भएकाले ज्ञान केन्द्रमा क्षतिको विवरण नआएको भन्दै उहाँले जिल्लाका धेरै ठाउँमा धान खेतमै ढलेका भने देखिरहेको जानकारी दिनुभयो । कतिपय जातका धान अब भित्र्याउनका लागि पाकेर तयार हुनै लागेकाले असिना र वर्षाले धान बोटबाटै झरेर खेतभर हुँदा उत्पादनमा ह्रास आउनसक्ने प्रमुख बाँस्तोलाले बताउनुभयो ।
काठमाडौं: बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नौ नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको र्यालीमा राष्ट्रपतिको राजिनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो । राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बङ्ग भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरु सेनाले ब्यारिकेड लगाएर रोकेको छ । प्रदर्शनकारीहरूले बङ्गभवन बाहिर उभिएर बङ्गलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाउन थालेका छन् । “राष्ट्रपति हसिनाको अधिनायकवादी सरकारका सहयोगी हुन् । उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ”, एकजना प्रदर्शनकारीले भने । मोहम्मद साहाबुद्दिन बङ्गलादेशका १६औँ राष्ट्रपति हुन। उहाँ सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित हुनुभएको थियो । भेदभाव विरोधी विद्यार्थी आन्दोलनले सन् १९७२ मा लेखिएको संविधान खारेज गर्न माग गर्दै सन् २०२४ को सन्दर्भमा नयाँ संविधान लेख्न आह्वान गरेको छ । त्यसैगरी विद्यार्थीहरूले अवामी लिगको विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । प्रदर्शनकारीहरुले सन् २०१८ र २०२४ मा शेख हसिनाको नेतृत्वमा भएको चुनावलाई अवैध घोषणा गर्नुपर्ने र यी चुनावमा विजयी भएका सांसदहरूलाई अयोग्य ठहर गर्नुपर्ने माग गरेका छन् । उनीहरूले जुलाई–अगस्ट विद्रोहको स्फूर्तिलाई ध्यानमा राख्दै गणतन्त्रको घोषणा गर्न आह्वान गरेका छन् । सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै जुलाईमा बङ्गलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रूप लिएको हो । बढ्दो विरोधको पृष्ठभूमिमा, शेख हसिनाले ५ अगस्टमा प्रधानमन्त्रीको रूपमा राजीनामा दिएपछि बङ्गलादेशमा अन्तरिम सरकारको स्थापना भयो । हसिनाको राजीनामापछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।
काठमाडौं: कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका छन् । एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा आज यहाँ आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो । उक्त प्रतिवेदनअनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका पाइएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागले आज आयोजना गरेको कार्यक्रममा सन् २०२४ अप्रिल ४ देखि जुन २ तारिखसम्म कञ्चनजङ्घा संरक्षण क्षेत्रमा गरिएको हिउँ चितुवा सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । सो प्रतिवेदनअनुसार कम्तीमा नौ र बढीमा २४ को सङ्ख्यामा हिउँ चितुवा रहेको जनाइएको छ । विभागले वैज्ञानिक एवं विश्वसनीय अध्ययन विधिको प्रयोग गरी हिउँ चितुवाको राष्ट्रिय सर्वेक्षण गर्ने उद्देश्यले क्यामरा ट्याप गरी विभिन्न हिमाली संरक्षित क्षेत्र तथा वन क्षेत्रमा गणना थालनी गरिएको थियो । करिब २०३५ वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको उपयुक्त बासस्थान मानिने भएकाले सोह क्षेत्रभित्र १६ वर्ग किमीका ग्रिडमा स्वचालित क्यामरा ६० दिनसम्म राखेर फोटो खिची विश्लेषण विधिमार्फत गणना गरिएको हो । यसैबीच, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कम्प्युटरको ‘बटन’ थिचेर उक्त प्रतिवेदन सार्वजनिक गर्दै हिउँ चितुवाको संरक्षणका लागि सरकारसँगै स्थानीय समुदाय र सरोकार भएका निकायले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले हिउँ चितुवाको संरक्षण र सङ्ख्या वृद्धिका लागि आगामी दिनमा संरक्षण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री ठकुरीले भन्नुभयो, “चोरी निकासी नियन्त्रणमा कानुन संशोधन वा परिमार्जन गर्नुपरे पनि मन्त्रालय तयार छ । हिउँ चितुवाको संरक्षणमा स्थानीय जनतामा चेतना अभिवृद्धि गरी अभियानमा परिचालन गर्नु आवश्यक छ ।” उहाँले नेपालको पहिचानसँग जोडिएको हिउँ चितुवाको ठूलो महत्व रहेकाले यसको संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । कार्यक्रममा वन राज्यमन्त्री रुपा विकले हिउँ चितुवा संरक्षणमा देखिएका चुनौती सामना गर्न सरकारसँगै दातृ तथा सहयोगी निकाय र सरोकार भएकाको सहयोग र समन्वय आवश्यक हुने बताउनुभयो । उहाँले कठिन भूगोलमा पाइने हिउँ चितुवा हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीको स्वच्छताको प्रतीक भएकाले यसको संरक्षणमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । वन सचिव डा दीपककुमार खरालले विश्वमा नेपालको पहिचानसँग जोडिएको हिउँ चितुवाको संरक्षणमा देखिएका चुनौती समाधान गर्न स्थानीय, सुरक्षा निकाय र सहयोगी संस्थाले गरेको सहयोगको प्रशंसा गर्नुभयो । निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले हिउँ चितुवा संरक्षणमा भएका उपलब्धि र प्रयासका बारेमा जानकारी गराउँदै सरोकार भएका निकायसँग समन्वय गरी काम गरिरहेको बताउनभयो । वन तथा भू–संरक्षण विभागका महानिर्देशक शिव वाग्लेले उच्च हिमाली क्षेत्रमा मात्र पाइने हिउँ चितुवा नेपालको हिमाली क्षेत्रमा पाइनु सफलताको विषय रहेको बताउँदै यसले नेपाललाई विश्व समुदायमा चिनाएको उल्लेख गर्नुभयो । यसअघि डोल्पा क्षेत्रमा हिउँ चितुवा गणनाको नजिता सार्वजनिक गरिएको थियो । डोल्पामा ९० हिउँ चितुवा रहेको पाइएको छ । दिवसका अवसरमा आजै डोल्पा राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्व (वन क्षेत्र)को हिउँ चितुवा अध्ययन प्रतिवेदन लोकापर्ण गर्नाका साथै डोल्पा राष्ट्रिय निकुञ्जभित्र खिचिएका जङ्गली याकको फोटो फ्रेम अनावरण गरिएको छ । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । यस वर्ष यो दिवसको नारा ‘भविष्यका पुस्ताका लागि हिउँ चितुवाको बासस्थानको सुरक्षा’ रहेको छ । यस विषयले हिउँ चितुवाको प्राकृतिक बासस्थानको सुरक्षा र हिमाली पारिस्थितिकीय प्रणालीको स्वास्थ्य सुनिश्चित गर्नलाई महत्व दिएको छ । हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्सा मानिन्छ । हिउँ चितुवा नेपालमा करिब तीन सयदेखि पाँच सय र विश्वमा करिब चार हजारदेखि छ हजार पाँच सयको सङ्ख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्दछ । हिउँ चितुवा नेपालको समग्र रुपमा बढी संरक्षित क्षेत्रले ओगटेको हिमाली एवं उच्च पहाडी प्राकृतिक बासस्थानको खाद्य शृङ्खलामा सबैभन्दा माथि रहनाका साथै स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचकका रुपमा रहेको छ । निकुञ्ज विभागले डोल्पा क्षेत्र (शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र बाहिरको वन क्षेत्र), हुम्ला जिल्लाको वन क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, गौरीशङ्कर संरक्षण क्षेत्रमा विभिन्न निकाय एवं अनुसन्धानकार्ताबाट विभिन्न विधिमार्फत हिउँ चितुवा सर्वेक्षण भइसकेकाले थप ठाउँहरुको नतिजालाई संयोजन गरी राष्ट्रियस्तरको तथ्याङ्क तयार गर्ने योजना रहेको जनाएको छ ।

