इलाम: जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन् । इलाम नगरपालिका–५ बिब्ल्याँटेका चिया व्यवसायी शरद् सुब्बालले यसवर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेकामा उत्पादनमा कमी आएकाले एक हजार पाँच सय किलो चिया मात्र उपलब्ध गराउने सकिने बताउनुभयो । “सुइरोबाट बनाइने तयारी चियाको माग विदेशी बजारमा बढी छ”, उहाँले भन्नुभयो, “उहाँहरुले पहिला नै रकम पठाएर आवश्यकताअनुसार ‘बुकिङ’ गर्नुहुन्छ । उत्पादनमा कमी आएकाले मागअनुसार निर्यात गर्न सकिरहेका छैनौँ ।” कोरोना महामारीका बेलादेखि निर्यात रोकिएको चियाको अन्तर्राष्ट्रिय बजार विस्तारै चलायमान बन्दै गएको सुब्बाले बताउनुभयो । यस वर्ष तेस्रो मुलुकबाट तयारी चियाको माग बढी आएको उहाँले जानकारी दिनुभयो । यहाँको तीनजुरे चिया कारखानाले यस वर्ष ‘गोल्डेन ब्याल्क’, ‘ग्रीन टी’लगायत फरक स्वाद र गुणस्तरका २० क्विन्टल तयारी चिया फ्रान्स पठाएको कारखानाका व्यवस्थापक दिनेश श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष एक हजार तीन सय किलो तयारी चिया उत्पादन भएको थियो । गत वर्ष चीनमा आयोजित अन्तर्राष्ट्रिय टी एक्पोमा तीनजुरे ‘ग्रान्ड गोल्ड’ विधिमा पुरस्कार पाउन सफल भएको उल्लेख गर्दै व्यवस्थापक श्रेष्ठले यस वर्ष अन्तर्राष्ट्रिय बजारको माग पनि बढेको बताउनुभयो । यस वर्ष ग्रीनहिल चिया उद्योगले आठ हजार तयारी किलो चिया भारतसहित तेस्रो मुलुकमा निर्यात गरेको उद्योगका सञ्चालक टङ्क दाहालले जानकारी दिनुभयो । “मागअनुसारको गुणस्तरीय चियाको परिमाण दिन सकिएको छैन”, उहाँले भन्नुभयो, “यो वर्ष हरियोपत्ती गत वर्षभन्दा कम उत्पादन भएकाले आवश्यकता र मागअनुसार तयारी चिया निर्यात गर्न सकिएको छैन ।” ग्रिनहिलमा गत वर्ष ५५ हजार किलो तयारी चिया उत्पादन भएको जनाउँदै यस वर्ष ४० देखि ४२ हजार किलोमात्र उत्पादन हुने अनुमान गरिएको सञ्चालक दाहालले बताउनुभयो । झापास्थित मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा रु तीन अर्ब १६ करोड ३८ लाखको तयारी चिया यहाँबाट निकासी भएको थियो । एक करोड ३४ लाख ३३ हजार आठ सय ५८ किलो चिया निकासी भएको कार्यालयले जनाएको छ । नेपालमा उत्पादन हुने चियामध्ये १० प्रतिशत मुलुकभित्रै खपत हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । करिब २० प्रतिशत तेस्रो मुलुक र बाँकी भारत जाने गरेको बोर्डका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । मौसममा आएको परिवर्तनले गत वर्षको तुलनामा यस वर्ष हरियो चिया उत्पादनमा कमी आएको उहाँले बताउनुभयो । बोर्डले अर्गानिक चिया उत्पादन बढाउन किसानलाई तालिमसहित प्राविधिक सहयोग गर्दै प्रोत्साहन वृद्धि गर्ने कार्याक्रम ल्याउने योजना बनाइरहेको अधिकारीले जानकारी दिनुभयो । “गत वर्ष एक हजार तीन सय किसानका गोठ सुधार गरेका छौँ । गोठ सुधारसँगै गोबरबाट बनेको मलको उचित व्यवस्थापनमा किसानलाई सहयोग गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “चिया निर्यातमा अनुदानका कार्यक्रम सञ्चालन भइरहेका छन् ।” पहिले अन्तर्राष्ट्रिय बजारमा चियाको माग कम हुने गरेकामा अहिले प्रचारप्रसारका कारण माग बढ्दै गएको कृषि विकास अधिकृत अधिकारीले जानकारी दिनुभयो । तोस्रो मुलुकका व्यापारीले चियाको उचित मूल्य दिएसँगै यहाँका व्यापारी तथा किसान पनि प्रोत्साहित भएकाले आगामी दिनमा उत्पादन वृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । इलाममा आठ हजार आठ सय ७६ किसान चियाखेतीमा आश्रित छन् । जिल्लाको सात हजार दुई सय ३६ हेक्टर जमिनमा चियाखेती हुँदै आएको छ ।
म्याग्दी: कलाकारले मुस्ताङको प्रकृति, संस्कृति र मौलिकतालाई चित्रमा उतारेका छन् । अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सवमा सहभागी कलाकारले स्थलगत भ्रमण गरी देखेका दृष्यलाई चित्रमा उतारेका हुन् । मुस्ताङका पाँचवटा गाउँमा पुगेका कलाकारले स्थलगत रुपमा कला प्रदर्शनी गरेका महोत्सवका संयोजक त्रिपल पि गुरुङले जानकारी दिनुभयो । यही कात्तिक ३ गतेदेखि सुरु भएको महोत्सव शुक्रबार ठिनीमा समापन गरिएको हो । “महोत्सवमा सहभागी कलाकारले जोमसोम, ठिनी, कागबेनी, मुक्तिनाथ, झोङ, झारकोट, तिरीको अवलोकन गर्दै चित्र कोर्नुभयो”, संयोजक गुरुङले भन्नुभयो, “महोत्सवले मुस्ताङको पारम्पारिक सङ्गीत, नृत्य र विभिन्न सांस्कृतिक परम्परालाई चित्र कलामार्फत विश्वभर प्रचार गर्न सहयोग पुगेको छ ।” परम्परागत सङ्गीत, नृत्य र सांस्कृतिक परम्परालाई चित्रकार माझ बाँड्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सवमा सहभागीहरुले मुस्ताङका गाउँ, जनजीवन, हिमाल, पशुपालन, संस्कृति, कृषि, गुम्बा, मन्दिरको चित्र कोरेका थिए । कलाकार मनोज तामाङले कल्पना गरेको भन्दा आफँैले देखेको विषयवस्तुलाई चित्रमा उतार्न सजिलो र वास्तविकता जस्तै भएको बताउनुभयो । स्थानीयवासीका साथै विदेशी पर्यटकहरुले चित्रकारहरुले चित्र कोरेको अवलोकन गरेका थिए । महोत्सवमा सहभागी हुन थाइल्यान्डका डिरेक किङ्नक र काराज डब्लुएसपी, पोल्यान्डका इवा क्रुएजकोस्का, रोमानियाका स्टेफन बालोग, भुटानका जामपेल छेदा, इन्डोनेसियाका एमी गोर, ताइवानका छेङ हान वेनलगायतका अन्तर्राष्ट्रिय कलाकार मुस्ताङ आउनुभएको थियो । नेपालका कलाकार सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नवीन नाल्बो र आकाश गुरुङ पनि महोत्सवमा सहभागी हुनुुभएको थियो । महोत्सवमा आउटडोर चित्रकला कार्यशालासँगै फोसिल हन्ट एन्ड स्टोन आर्ट, साउन्ड हिलिङलगायत विभिन्न सांस्कृतिक र साङ्गीतिक कार्यक्रम गरिएको थियो । हरेक साँझ फरक फरक स्थानमा काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को संयोजनमा घुम्तीरुपमा हिमाली क्षेत्रका चलचित्र प्रदर्शन गरिएको संयोजक गुरुङले बताउनुभयो ।
काठमाडौं: अफगानिस्तानका महिला तथा बालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै महिला विभेद उन्मुलनसम्बन्धी राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यू)ले उनीहरुको शिक्षा, रोजगारी, आवागमन, सार्वजनिकस्थलमा उपस्थितिलगायत आधारभूत मानव अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ । सिइडिएडब्ल्यूका सदस्य एवं अफगानिस्तान मामिला प्रमुख बन्दना राणाले शुक्रबार जेनेभास्थित राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को प्रधान कार्यालयमा भएको बैठकमा महिला हकअधिकारका सम्बन्धमा सिइडिएडब्ल्यू निर्धारण गरेका मान्यताको पालना गर्न अफगान सरकार तथा नागरिक समाजलाई निर्देशन दिनुभएको छ । लैङ्गिक अधिकार सुनिश्चित गर्ने हिंसा एवं त्रासरहित वातावरणमा महिला तथा बालबालिकाको पठनपाठन एवं रोजगारीको अधिकार प्रत्याभूत गर्न र विगतमा व्यक्त प्रतिबद्धता पालना गर्न समितिले निर्देशन दिएको हो । समितिले अफगानिस्तानसम्बन्धी चौथो आवधिक प्रतिवेदन तयारी थालेको र त्यसबाट महिला तथा बालिकाहरुको वास्तविक स्थितिबारे जानकारी हासिल गर्न मद्दत पुग्ने विश्वास समितिले व्यक्त गरेको छ ।
लमजुङ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीद्वारा दसैँ, तिहार, नेपाल संवत्, छठका अवसरमा बेँसीसहर नगरपालिका–८ मा आज बिहान आयोजित कार्यक्रममा उहाँले सरकारले बाढीपहिरो पीडित, सहकारीपीडित, कृषक, व्यवसायी, निर्माण व्यवसायीलगायत सबै पेसाकर्मीलाई सहयोग पुग्नेगरी सरकारले काम गरिरहेको बताउनुभयो । बाढीपहिरोबाट अतिप्रभावित पालिकालाई रु एक करोड, मध्यम क्षति भएकालाई रु ६० लाख प्रदान गर्ने निर्णय सरकारले गरेको जानकारी दिँदै उहाँले अस्थायी बासको व्यवस्था पनि सरकारले गर्ने बताउनुभयो । मन्त्री गुरुङले ३० लाख दूध किसानमध्ये १५ लाख किसानका समस्या समाधान गर्नेदेखि निर्माण व्यवसायीलाई भुक्तानी दिनेसम्मका काम सरकारले प्राथमिकताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वर्तमान सरकार गठन भएयता आफूहरुले मुलुकको अर्थतन्त्रमा सुधार गर्न हरसम्भव प्रयास गरिरहेको, प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा छिमेकीहरुसँगको सम्बन्ध विस्तारमा विशेष जोड दिनुभएको, देशलाई विश्व बैंक, एसियाली विकास बैंकका साथै युरोपेली बैंकहरुले पनि वातावरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा खुला हृदयले सहयोग गरिरहेका सञ्चारमन्त्री गुरुङले बताउनुभयो । सहकारीको रकम ठगीमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याइने र ठगीको अभियोगमा अनुसन्धानका निम्ति प्रहरीको नियन्त्रणमा रहेका सबैलाई कानुनअनुसार कारबाही हुने उहाँले बताउनुभयो । ऐनकानुन विपरीत गर्ने सबैलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारमन्त्री गुरुङले सत्तापक्ष र विपक्ष नहेरिने, कसैको दबाब र प्रभावमा सरकार नपर्ने प्रष्ट पार्नुभयो । “सामाजिक सञ्जाललाई व्यवस्थित गर्न सरकारले नीति तर्जुमा गर्न लागेको छ । यो जमाना आइटी र सूचनाको हो, सञ्चार मन्त्रालयले नागरिक एपमार्फत सबै काम गर्नेछ । फोरजी सेवाको काम ८० प्रतिशत पूरा भएको छ । राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट स्वदेशमा नै छाप्ने योजना छ”, विदेशमा छापिँदै आएको हुलाक टिकट हाल स्वदेशमा नै छापिने गरेको जानकारी दिँदै उहाँले भन्नुभयो ।
म्याग्दी: अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ । ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–८ नागीबाट सोही वडाको पर्यटकीयस्थल मोहरेडाँडामा सामान ढुवानी गरिएको सो गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ड्रोन प्रयोग गरिएको हो । “केन्द्रका प्राविधिक टोलीले शुक्रबार र शनिबार नागीबाट मोहरेडाँडामा ड्रोनमा झुण्ड्याएर सामान पठाएर परीक्षण गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “पहाडी र विपद् प्रभावित क्षेत्रमा औषधि र उपभोग्य अत्यावश्यक सामान ढुवानी गर्न ड्रोन उपयोगी देखिए ।” मोहरेडाँडालगायत पर्यटकीयस्थलमा सामान ढुवानीका लागि ड्रोनको प्रयोगलाई निरन्तरता दिन आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनसँग समन्वय भएको अध्यक्ष पुनले बताउनुभयो ।
दाङ: रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उहाँका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । जिपमा पाँच जना सवार थिए । जिपमा सवार अन्य तीन जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।
सोलुखुम्बु: विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । जसबाट निकुञ्जले रु दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपाली रु एक सय, सार्क मुलुक रु एक हजार पाँच सय र अन्य मुलुक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ । चालु आर्थिक वर्ष २०८१र८२ को साउनमा एक सय २५ तथा भदौमा एक हजार तीन सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सो महिनामा रु तीन लाख ४५ हजार नौ सय ७५ र भदौमा रु ३२ लाख ३६ हजार छ सय ९६ राजस्व सङ्कलन भएको कर्मचारी श्रेष्ठले बताउनुभयो । “यतिबेला यहाँ पर्यटक ‘सिजन’ चलिरहेकाले पर्यटकको सङ्ख्या धेरै छ, सगरमाथासहित धेरै हिमाल निकुञ्ज क्षेत्रमै पर्छ । पर्यटक आवगमन बढेपछि उनीहरूसँग शुल्क र अभिलेख सङ्कलनमा हामी व्यस्त छौँ”, श्रेष्ठले भन्नुभयो । सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाडौँ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टरमार्फत लुक्ला पुग्ने गर्छन्भने कतिपय काठमाडौँबाट सडकमार्गमार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन् । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ । सिजनमा दैनिक एक हजार जनाभन्दा बढी पर्यटक प्रवेश हुने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत छन् । यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् ।
बागमती: बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामा एक सय ९१ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी यही असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी एक सय ७७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चालु आव २०८१/८२ को साउनदेखि असोजसम्ममा पहिरोबाट एक सय ५७ जना, बाढीमा बगाएर ११ जना र डुबेर नौ जनाको मृत्यु भएको छ । यस्तै सो अवधिमा करेन्ट लागेर आठ जना, चट्याङ लागेर चार जना र आगलागी तथा जनावरको आक्रमणबाट एक÷एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । सो अवधिमा विपद्का घटनामा परी एक सय ७३ जना घाइते र ११ जना अझै बेपत्ता रहेको उहाँको भनाइ छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ताको खोजीकार्य जारी रहेको जनाएको छ । विपद्बाट ती जिल्लामा नौ हजार सात सय ७८ पंक्षी र पाँच सय १६ चौपायाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । सो अवधिमा भएका विपद्का घटनाबाट एक सय ७१ पक्की, छ सय ७३ कच्ची घर र एक सय ६१ गोठ क्षतिग्रस्त भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । सो कार्यालयका अनुसार विपद्बाट ९३ सवारी साधन तथा २० उद्योग क्षतिग्रस्त भएको छ । यस अवधिमा विभिन्न जिल्लाका ८३ विद्यालय र १२ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो । बाढी, पहिरोजन्य विपद्बाट सो अवधिमा ४८ वटा पक्की तथा झोलुङ्गे पुलमा क्षति पुग्दा विपद्बाट रु तीन अर्ब ४४ करोड ५३ लाख ६१ हजार नौ सय ६० मूल्य बराबरको धनमालको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । पुल तथा सडक बगाएपछि सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने धेरै सडक अवरुद्ध भएको र विस्तारै मर्मतसम्भार गरी क्रमशः सञ्चालन भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।
काठमाडौ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६४ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले जुनसुकै समयमा पनि उल्लेखित दर संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

