काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गर्नुभएको छ । मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा आज भएको सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा उहाँले कानुन विपरीत क्रियाकलाप हुन नदिने बताउनुभयो । दीक्षितहरूलाई राष्ट्रको शान्तिसुरक्षामा समर्पित हुने ध्येयका साथ सेवा प्रवेश गरी तालिम पूरा गरेकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी बललाई प्रभावकारी बनाउन तथा सुविधा बढाउन मौजुदा कानुन संशोधन गरिने बताउनुभयो । प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता विस्तारमा जोड दिनुभयो । त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उपस्थिति हुनुहुन्थ्यो । आज ४५ जना दीक्षित भएका हुन् ।
काभ्रेपलाञ्चोकः काभ्रेपलाञ्चोकमा दुई स्थानीय तहमा सञ्चालित बृहत् खानेपानी आयोजनामा गत महिनाको बाढीपहिरोले ठूलो क्षति पु¥यायो । गत असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीपहिराले तेमाल गाउँपालिका र पाँचखाल नगरपालिकामा सञ्चालित निर्माणाधीन खानेपानी आयोजनामा क्षति पुगेपछि समयमै सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसक्ने हुँदा तोकिएको समयमा स्थानीय नागरिकले खानेपानी उपभोग गर्नबाट वञ्चित बन्न पुगेका हुन् । तेमालमा ५५ हजार स्थानीयका लागि सञ्चालित खानेपानी आयोजनाको प्रारम्भिक मूल्याङ्कनअनुसार रु आठ करोडका संरचनामा क्षति पुगेको जनाइएको छ । उपभोक्ता समितिका अनुसार खानेपानीको स्रोतका रुपमा रहेका मुहान क्षेत्र सुनकोशी नदी किनारमा एउटा मुख्य ट्याङ्की पूर्ण रुपमा पुरिएको छ । समितिका अध्यक्ष सङ्ग्रामजित लामाले लिफ्टिङका लागि राखिएको एक ट्रान्सफर्मर, तीन गार्ड घर, बिजुलीका १५ वटा खम्बा, चारवटा वितरण ट्याङ्कीमा क्षति पुगेको छभने एक हजार तीन सय मिटर जिआईका मुख्य पाइपलाइनमा क्षतिग्रस्त भएको तथा बिजुलीका संरचना सबै ध्वस्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न बस्तीमा लगिएका पाइपलाइनमा पनि क्षति पुगेको छ । सो आयोजना पुनःनिर्माण एवं मर्मत–सुधार गर्नका लागि आयोजनासँग बजेट प्राप्तिका लागि प्रशासनिक कार्य सुरु गरिएको लामाले बताउनुभयोे“प्राविधिकसहित प्रत्येक संरचनाको क्षति मूल्याङ्कन गर्ने कार्य भर्खरै सुरु गरेका छौँ, यकिन क्षति विवरण भने आउन बाँकी नै छ”, उहाँले भन्नुभयो । आयोजना सम्पन्न गर्न थपिएको समयसीमामा लक्षित समुदायमा पानी वितरण गर्ने सम्पूर्ण तयारी भइसकेको अवस्थामा बाढीपहिराले आयेजनामा क्षति पुगेको लामाको भनाइ छ । लामाले गत साउनमा सक्नुपर्ने आयोजना केही प्राविधिक कारण असोजसम्म लम्बिएको थियो । उहाँले भन्नुभयो, “विपद्ले झन् तहसनहस बनाइदियो, अब कहिलेसम्म बनाइसक्ने हो, आधाकारिक मूल्याङ्कनपछि मात्रै थाहा हुनेछ ।” गत वर्षको चैतमै समयसीमाभित्र उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउने लक्ष्य लिइए पनि निर्माण कम्पनीले भुक्तानी नपाएको भन्दै काम रोकेपछि गत साउनसम्म लम्ब्याइएको थियो । खानेपानी मन्त्रालयबाट करिब रु पाँच करोड भुक्तानी नपाएको जनाउँदै कम्पनीले महिनौँदेखि निर्माणको काममा आलटाल गरेको उपभोक्ता समितिले जनाएको छ । उक्त आयोजना आठ वर्षअघि कालिका–सिएबी जेभी नामक निर्माण कम्पनीले २०७८ मा सक्ने गरी ठेक्का लिएको थियो । यसअघि आयोजनालाई कोरोनाको दुई लहर र २०८० साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुञ्याउँदा सो आयोजना करिब एक वर्ष धकेलिएको थियो । लामाले आयोजनाको ९९ प्रतिशत काम सकिएको बताउनुभयो । उहाँका अनुसार आयोजनाको पानी प्रशोधनको काम भएको छभने पहिलो चरणमा करिब तीन हजार पाँच सय उपभोक्तालाई घरमा पानी पुञ्याइसकिएको थियो । उहाँका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको, मुख्य पाइपलाइन र शाखा लाइनमा पाइप बिछ्याउने तथा घरघरमा धाराका सामग्री वितरण कार्यसमेत सकिएको थियो । साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ । यस आयोजनाले नमोबुद्ध नगरपालिका–५ कोट तेमाल र कालीमाटीका करिब नौ सय घर तथा रोशी गाउँपालिका–७ कटुञ्जेस्थित एक सय १० घरपरिवार समेटेको छ । तेमाल क्षेत्रका नौ हजार तीन सय १० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । पाइपको मुख्य लाइनअन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो खनेर बिछ्याउनुपर्ने सम्झौताअनुसार काम भएको थियो । आयोजनाका लागि रु पाँच करोड बराबरको जनश्रमदान भएको लामाले बताउनुभयो । आयोजनाको छुट भएका केही निर्माणको काम गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट गत पुसमा रु १० करोड ३४ लाख ४१ हजार उपलब्ध भए पनि थप निर्माणको काम भएको छ । याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका निर्माण गरिएको दुई मुख्य ट्याङ्कीमा भने क्षति नपुगेको लामाले बताउनुभयो । लिफ्टिङ प्रविधिको उक्त आयोजनाको मुहान सुनकोशी नदी किनारमा छ । गत वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेँसीका कटान गरेको थियो । त्यससँगै गत साउन १७ र १९ गतेको बाढीले क्षति पु¥याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कीको जोखिमलाई सुरक्षित गरिएको छ । लामाका अनुसार बाढीले त्यतिबेला आयोजनाको रु ६० लाखभन्दा बढी क्षति पु¥याएको थियो भने करोडौँको संरचनालाई जोखिम पु¥याएको थियो । तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौ वडा, नमोबुद्धको तीन वडा तथा रोशी गाउँपालिकाको ७ नं वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् । विसं २०७२ असारमा सम्झौता भएको आयोजनाको काम २०७८ मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो । खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका थिए । यसैगरी, गत असोज तेस्रो साता पाँचखालका उपभोक्ताले आ–आफ्ना धारामा खानेपानी पाउने थिए, तर यस वर्षको बाढीपहिरोले आयोजनामा क्षति पु¥याएपछि केही महिना धकेलिएको छ । पाँचखाल नगरमा सञ्चालित बृहत् पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगिसकेको थियो । उपभोक्ता समितिले असोज २३ गते पहिलो चरणमा खानेपानी दिलाउने योजना बाढीपहिरोले विफल बनाएको हो । पाँचखालका छ हजार परिवारको साढे ३१ हजार नागरिकले घरघरमा स्वच्छ पिउने पानी पाउने आयोजना हो । बाढीपहिरोले आयोजनाको मुहान क्षेत्रमा डुबान गर्नाका साथै करिब ७५ मिटर घेरा पर्खाल भत्काएर लेदो जमेको छभने ४८ स्थानमा करिब तीन मिटर वितरण पाइप, १२ वटा बिजुली पोल, खानेपानीको करिब दुई किलोमिटर हाइटेन्सन तार तथा केही संरचनामा क्षति पुगेको आयोजनाले जनाएको छ । आयोजनाका परामर्शदाता अशोक अधिकारीका अनुसार प्रारम्भिक मूल्याङ्कनले आयोजनाको रु एक करोड ७० लाख क्षति पुगेको जानकारी दिनुभयो । उहाँले मुहानका मुख्यलगायत कलेक्सन ट्याङ्की तथा उक्त क्षेत्रमा जमेको लेदो सफाइ र अन्य भौतिक क्षति मर्मत गर्न करिब चार महिना लाग्नेछ । यसैबीच, खानेपानी उपभोक्ता समितिले आयोजनाको अनुगमन निरीक्षण गरी क्षतिग्रस्त संरचना तत्काल बनाउन आयोजना तथा ठेकेदार कम्पनीलाई आग्रह गरेको छ । समितिका अध्यक्ष कुमार लामिछानेले तीन महिनाको अवधिमा आयोजनाको क्षति मर्मत एवं बाँकी काम सम्पन्न गर्न आयोजनालाई आग्रह गरिएको बताउनुभयो । “असोजमै खानेपानी वितरण गर्ने योजना बाढी, पहिरोले विफल बनाइदियो, अब निरन्तर काम गरी तीन महिनामा उपभोक्ताको घरमा पानी पु¥याउने गरी लाग्न आयोजना र निर्माण कम्पनीलाई आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो । निर्माणाधीन यस आयोजनाको भौतिकतर्फ करिब ९७ दशमलब ४० प्रतिशत सम्पन्न भएको जनाइएको छ । लामिछानेका अनुसार हाल योजनाको कार्य अन्तिम चरणमा पुग्दा परीक्षणबाट प्रतिसेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ । यस्तै, प्रतिघण्टा तीन लाख दुई हजार चार सय पानी तान्न सहज ढङ्गबाट सकिने र आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्न सकिने प्रमाणित भएको लामिछानेले बताउनुभयो । लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो । यस्तै, आयोजनाअन्तर्गत सुनकोशी नदी किनारमा छवटा इनार, चार÷चार लाख लिटर क्षमताको दुई पानी सङ्कलन ट्याङ्की, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्याङ्की, दश नयाँ वितरण ट्याङ्की, छ ब्रेक प्रेसर ट्याङ्की तथा १५ वटा पालेघरलगायत आवश्यक बिजुलीका सामग्री र पाइपलाइनको काम सम्पन्न भएको जनाइएको छ । कुल छ हजार ३७ धारामध्ये हालसम्म पाँच हजार पाँच सय धारा जडान, उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्रका सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ । हाल आयोजनाको २४ पानी तान्ने पम्प जडान, सात बिजुलीको ट्रान्सफर्मर जडान, खोलादेखि पानी सङ्कलन केन्द्रसम्मको हाइटेन्सन लाइन विस्तारको काम सम्पन्न भइसकेको छ । सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच २०७७ असार १५ गते २०७९ माघ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढीका कारण आयोजनाको पूर्वाधारमा क्षति पु¥याएका कारण लम्बिएको हो । यी कारणले पहिलोपटक १० महिना र दोस्रोपटक चार महिना गरी आयोजना सम्पन्न गर्न १४ महिनाको समय थप गरिएको थियो । पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो । रु १ अर्ब ४७ करोड ४३ लाख ६० हजारको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिका–२, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरधुरीका हाललाई ३१ हजार चार सय १५ नागरिक लाभान्वित हुनेछन् । आगामी सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ । आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै कुल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख पाँच हजार तीन सय परिवारले प्रतिपरिवार रु १८ हजारका दरले रकम बुझाएका छन् । यस्तै, आयोजनाका लागि सम्झौताअनुसार दुई सय १४ उपभोक्ताले सहकारी संस्थाबाट समेत ऋण लिई खानेपानीका लागि रकम बुझाएका थिए । यसैबीच, गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको जनाइएको छ । हालसम्म प्राप्त क्षतिको विवरणअनुसार काभ्रेपलाञ्चोकमा मात्र रु एक अर्बको क्षति पुगेको खानेपानी तथा सरसफाइ ३ नं डिभिजन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयका अनुसार बाढीपहिरोले एक सयभन्दा बढी निर्माणाधीनलगायतका खानेपानी आयोजनामा क्षति पुगेको हो । जिल्लामा सञ्चालनमा रहेका दुई र निर्माणाधीन अवस्थाका सात योजनामा क्षति पुगेको जनाइएको छ । कार्यालयका निमित्त प्रमुख इन्जिनियर दिलीप कुमारका अनुसार बाढीपहिरोले काभ्रेपलाञ्चोकमा एक सयभन्दा बढी लिफ्ट तथा ग्राभिटी खानेपानी आयोजनामा क्षति पुगेको छ । उहाँले अझै बाढीपहिरोका कारण क्षति पुगेका खानेपानी आयोजनाको तथ्याङ्क आउने क्रम जारी रहेको बताउनुभयो । उहाँका अनुसार सबै स्थानीय तहलाई खानेपानी आयोजनामा पुगेको क्षतिको विवरण पठाउन टेलिफोन तथा पत्रको माध्यमबाट अनुरोध गरिएको छ । कार्यालयले काभ्रेपलाञ्चोकको भुम्लु बृहत् खानेपानी, कटुन्जे लिफ्टिङ, सीताघारी खानेपानी, रोशी औद्योगिक ग्राम र कालढुङ्गा बजार व्यवस्थित खानेपानी आयोजना, भूमिडाँडा बृहत् खानेपानी आयोजना, भदौरेछाप–फेट्टार–मुकुटार–सिहाले, बकुलछार–फलाङ्गे बृहत् खानेपानी, इन्द्रावती कोलाचौर लिफ्ट खानेपानी, भुम्लु सपिङ खानेपानीलगायत योजनाको क्षतिको विवरण प्राप्त भएको जनाएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद श्रेष्ठले बाढीपहिरोबाट काभ्रेपलाञ्चोकको सञ्चालनमा रहेको तिमाल बृहत् ९सुक्खा क्षेत्र० खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुग्दा आठ हजार तीन सय ७३ घरपरिवार र चौँरीखोला–ढोकेडाँडा खानेपानी आयोजनामा क्षति हुँदा एक हजार नौ सय तीन घरपरिवार खानेपानीको सुविधाबाट वञ्चित भएको जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोबाट जिल्लामा निर्माणाधीन भकुन्डेबेँसी–खनालथोक–खाक्सी–दाप्चा क्षेत्र बृहत् खानेपानी, काशीखण्ड बृहत् खानेपानी, नमोबुद्ध बृहत् खानेपानी, पनौती बसपार्क गुणस्तर खानेपानी, सुनकोशी कोशीदेखा खानेपानी गुणस्तर सुधार आयोजना, साँगा बृहत् खानेपानी आयोजना र पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजनामा क्षति पुगेको छ । यसैगरी, बाढीपहिरोबाट खानेपानी आयोजनाको पाइपलाइन, सम्पवेल, विद्युत् ट्रान्सफर्मर, पाइपलाइन, पानी सङ्कलन ट्याङ्कीलगायतमा क्षति भएको विवरण प्राप्त भएको कार्यालयले जनाएको छ । बाढीपहिरोका कारण सञ्चालनमा रहेको धुलिखेल खानेपानी, निर्माणाधीन पाँचखाल बृहत् खानेपानी आयोजना तथा सञ्चालनको अन्तिम तयारीमा पुगेको काभ्रे उपत्यका ९तीन नगर समेटिएको० एकीकृत खानेपानी आयोजनामा ठूलो क्षति पुगेको छ । उक्त एकीकृत खानेपानीको मात्रै रु १० करोडभन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ ।
म्याग्दीः चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ । सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त कार्यालय सञ्चालनमा आएपछि आवश्यक वस्तु आयात र निर्यात दुवै सहज हुने उहाँले बताउनुभयो । विशेषगरी भेडा च्याङ्ग्रा आयात निर्यातमा सहज हुनुका साथै नाकामा आवतजावत तथा व्यापारिक कारोबार सजिलो हुने आशा गरिएको छ । अध्यागमन कार्यालय स्थापना भएपछि भिसा लगाएर नाका वारपार गर्न सकिने सहायक प्रजिअ सुवेदीको भनाइ छ । “हाल मुस्ताङवासी मात्र नाका प्रवेश अनुमतिपत्र लिएर आवतजावत गर्ने गरेका छन् । अध्यागमन कार्यालय सञ्चालनमा आएपछि सबै नेपाली भिसा लगाएर नाका वारपार गर्न पाउने छन् । चिनियाँ पर्यटक पनि भिसा लगाएर यही नाका हुँदै मुस्ताङ आउन पाउनेछन्”, उहाँले भन्नुभयो । उहाँकाअनुसार अध्यागमन र सुरक्षा पोष्ट रहने भवनमा विद्युतीकरण गरिएको छ भने नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइल फोन सञ्चालनमा ल्याइएको छ । चिनियाँ भन्सारको आमनेसामने पारेर १० कोठे अध्यागमन तथा सुरक्षा पोष्टको भवन बनाइएको छ । आवश्यक पूर्वाधार निर्माण गरी कोरला नाकाबाट एकीकृत सेवा दिने तयारी गरिएको छ । नेचुङ भन्सार कार्यालयलाई पनि अध्यागमन कार्यालयसँगै राख्ने तयारी भएको सुवेदीले जानकारी दिनुभयो ।
भक्तपुर: चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नंको बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिनुभयो । घाइतेहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । दुर्घटनाका प्रत्यक्षदर्शी गोकर्ण पुरीले बस दुर्घटनामा घाइतेको आफूहरुले उद्धार गरी एम्बुलेन्समा हालेर भक्तपुर अस्पताल पठाएको र अगाडि बस्ने दुईजनाको अवस्था भने गम्भीर रहेको जानकारी दिनुभयो । बस खम्बामा ठोक्किएर दुर्घटना हुँदा विद्युत्को खम्बासमेत भाँचिएको उहाँले जानकारी दिनुभयो ।
काठमाडौँः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रु एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छ । सोही परिमाणको पहेँलो धातु सोमबारको तुलनामा आज रु एक हजार पाँच सयले बढेको हो । यसैगरी,चाँदीको मूल्य प्रतितोला रु ४० ले बढेर दुई हजार पाँच कायम भएको महासङ्घले जनाएको छ । सोमबार एक तोला चाँदी रु दुई हजार ६५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन दुई हजार सात सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौँः नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्युब ग्यालरीमा एक महिनाको आवासीय कला कार्यशालामा व्यस्त छन् । अक्टोबरभरि उहाँहरुले ग्यालरीमा रहेर स्वतन्त्र रुपमा कला सिर्जना गर्ने अवसर पाउनुभएको हो । ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठले अक्टोबर महिनाभर इरानका चित्रकार सोमायेह सादत मिराब्वासी र अस्ट्रियाका फोटोग्राफर अनिता फुचले कला सिर्जना गरिहनुभएको जानकारी दिनुभयो । “उहाँहरु दुवै जना नेपालको कलाकृतिप्रति निकै उत्साहित हुनुहन्छ”, उहाँले भन्नुभयो, “एक महिनामा उहाँलेहरुले सिर्जना गरेका कला ग्यालरीमा प्रदर्शन भएका छन् ।” फुचले ‘शीर्षकविहीन’ शीर्षकको विचार भाव फोटोग्राफीमार्फत प्रस्तुत गर्नुभएको छ भने मीराब्वासीले मनमोहक डिजिटल कला प्रस्तुत गर्नुभएको छ । उहाँका सिर्जनामा अनौठो दृष्टिकोण प्रतिबिम्वित भएका ग्यालरीका प्रमुख श्रेष्ठले बताउनुभयो । मिराब्वासीको कलामा जीवनको सुक्ष्मताभित्र पनि गहिरो अस्थित्व महसुस गराउन खोजिएको पाइन्छ । “उहाँको कलाले वरपर पाइने, वस्तुहरु, जनावर, बोटबिरुवा, ढुङ्गालगायतको आफ्नै असाधारण तथा अस्तित्व रहेको सन्देश दिन खोजेको छ”, उहाँले भन्नुभयो ।
पाल्पा: पाल्पाको रम्भा गाउँपालिका– ३ अगाहाखोलास्थित सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नं को ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा रम्भा गाउँपालिका– ३ बस्ने २३ वर्षीय ट्रक चालक भुवन सिंह रानाको मृत्यु भएको हो । सोमबार राति ११ बजे भएको दुर्घटनामा घाइते भएका चालक रानालाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो । उक्त अस्पतालमा उपचारको क्रममा चालक रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । रानाले चलाएको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना १ क ७१२१ नं को ट्रकलाई पछाडिबाट ठक्कर दिएका थिए । ठक्कर दिइसकेपछि चालक राना दाहिने खुट्टा च्यापिएको अवस्थामा भेटिएका थिए । रानाको ट्रकले ठक्कर दिएका अर्का ट्रकका सहचालक स्याङ्जा वालिङ नगरपालिका– १० बस्ने २१ वर्षीय सञ्जीत खवास थापा घाइते भएको प्रहरीले जनाएको छ । उक्त ट्रकका चालक वालिङ ९ बस्ने ५६ वर्षीय गुप्तबहादुर गुरुङ भने सकुशल छन् । दुर्घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
दाङः घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँमा बस्दै आउनुभएकी रानीलाक बुढा हिजोआज सिन्कामारी रोटी बेच्नमा व्यस्त हुनुहुन्छ । उहाँले विगत दुई वर्षदेखि तिहार लक्षित सिन्कामारी रोटी बिक्री गर्दै आउनुभएको छ । विशेषगरी तिहारमा खाइने सिन्कामारी रोटी हिजोआज घोराही बजारसँगै नजिकका गाउँमा समेत बिक्री हुने गरेको छ । उहाँ रोटी डोकोमा बोकेर बिक्री गर्दै हिँड्नुहुन्छ । “खाली समय बसेरै खेर फाल्नुभन्दा व्यवसाय पनि भएको छ, अनि समयको सदुपयोग पनि”, उहाँले भन्नुभयो, “तिहारलाई लक्षित यो व्यवसायबाट हुने आम्दानीले सन्तुष्ट छु ।” गत वर्षको तिहारमा मात्र तीन दिदीबहिनी मिलेर रु दुई लाख बढीको रोटी बिक्री गरेको बुढाले बताउनुभयो । यो वर्ष अझ धेरै आम्दानी गर्ने उहाँको लक्ष्य छ । केही दिनयता दैनिक रु सातदेखि आठ हजार सम्मको रोटी बिक्री गर्दै आउनुभएको छ । हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाका रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा सिन्कामारी रोटीको धेरै खपत हुनेगर्छ । यो रोटी चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर बनाउने गरिन्छ । बनाउन झन्झटिलो भए पनि सिन्कामारीको व्यापार राम्रो रहेको उहाँको अनुभव छ । कतिपय ग्राहक घरमै किन्न आउने भएकाले बजारको समस्या नभएको उहाँको भनाइ छ । उहाँले एक दर्जन रोटी रु दुई सय ५० का दरले बिक्री गर्दै आउनुभएको छ । उहाँसँगै जिल्लामा तिहार लक्षित सिन्कामारी रोटी बनाएर बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको छ ।
मुस्ताङ: मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु दसैँलगत्तै आउन थालेका हुन् । कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गर्नका लागि दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशका विभिन्न जिल्लाका साथै भारतबाट धार्मिक तीर्थालु कागबेनी आउने गरेका पुजारी हिमाल सुवेदीले बताउनुभयो । उहाँका अनुसार, दैनिक दुई सयभन्दा बढीले दिवङ्गत आफन्तको सम्झनामा कागबेनीमा श्राद्ध गर्ने र तर्पण दिने गरेका छन् । मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको सङ्गम रहेको कागबेनी पितृतर्पणका लागि महत्वपूर्ण तीर्थस्थलका रुपमा मानिन्छ । कागबेनीमा बडादसैँ र चैते दसैँको औँशीमा हजारौँको सङ्ख्यामा पितृतर्पण गर्नेहरुको घुइँचो लाग्ने गरेको पुजारी सुवेदीले जानकारी दिनुभयो । यस वर्ष बाढी पहिराका कारण सोह्रश्राद्धको समयमा उल्लेख्यमात्रामा तीर्थयात्री आउन सकेका थिएनन् । “बाढी, पहिरोले सडकमार्ग अस्तव्यस्त बनाएपछि सोह्र श्राद्धमा ठूलो सङ्ख्यामा भक्तजन आउन सकेका थिएनन्, दसैँपछि मौसममा सुधार भएपछि कागबेनीमा तर्पण दिन दिनहुँ भीड लाग्ने गरेको छ”, पुजारी सुवेदीले भन्नुभयो । दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका एक सय आठ धाराबाट बगेर आएको गण्डकीको सङ्गम भएकाले यहाँ पुगेर पिण्डदान गर्दा सबैभन्दा ठूलो फल मिल्ने कुरा शास्त्रहरूमा उल्लेख छ । परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको धार्मिक मान्यता छ । कागबेनीमा भगवानको दैवीशक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध ,पिण्ड र तर्पण दिनाले पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटबाट पितृ तर्पण गर्न पुग्नीभएका शालिकराम रिजालले बताउनुभयो । विश्वमा शालिग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीबाट सङ्कलन भएका शालिग्राम शिलालाई भगवान्का रुपमा भक्तजनले लैजाने गरेका छन् । भक्तजनको आगमन बढेसँगै शालीग्राम शिलासँगै पूजा सामग्रीको बिक्री बढेको स्थानीय देवबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार, शालीग्राम शिलालाई भक्तजनहरुले विष्णु भगवान्को अवतारका रुपमा मुस्ताङको चिनोका रुपमा लैजाने गर्छन् । कागबेनी धाममा श्राद्ध गर्न आउने तीर्थालुहरू यहाँ पितृ उद्धारका कर्म पूरा गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जान्छन् । भक्तजनको सङ्ख्या बढेसँगै कागबेनी क्षेत्रका होटल भरिभराउ भएका छन भने व्यापार व्यवसायसमेत चलायमान भएको छ । दसैँ तिहारको बिदाको समयमा मुस्ताङमा दैनिक करिब पाँच हजार पर्यटक भित्रने गरेका छन् । बेनी–जोमसोम सडक मार्ग र अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये अधिकांश कागबेनी र मुक्तिनाथमा पुग्ने गरेका छन् ।

