आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग नेपाल पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । अमेरिकाले दिएको दुई सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४४ रनमा समेटियो । नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडेका हुन् । नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले २९ रन जोडे । त्यसपछि कुशल मल्लले ५४ बलमा एक चौका र एक छक्कासहित ३३ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल एक, गुल्सन झा १२ तथा आरिफ शेख २१ रन बनाउँदै आउट भए । त्यसपछि सोमपाल कामीले २७ बलमा चार चौका र दुई छक्कासहित ४६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा एक चौका र एक छक्कासहित ३१ रन बनाए । करण केसीले पाँच तथा सन्दीप लामिछानेले दुई रन बनाए । अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक चार विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्लीले समान दुई/दुई तथा जसदीप सिंह र हरमित सिंहले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८१ रनको योगफल बनाएको थियो । अमेरिकाका लागि साइतेजा मकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ८७ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिएका हुन् । त्यस्तै कप्तान मोनाङ्क पटेलले ८१ बलमा पाँच चौका र एक छक्कासहित ६७ रन जोडे । ओपनर शयान जहानजिगर १० र आरोन जोन्स २६ रनमा आउट भए । हरमित सिंहले ४४ बलमा तीन चौका र तीन छक्कासहित ५९ रनको योगदान गरे । नेपालका गुल्सन झाले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए । त्यस्तै कुशल भुर्तेलले एक विकेट झारे । नेपालल लिग–२ मा ११ खेलमा दुईमा जित र आठमा हारसहित पाँच अ्कका साथ अङ्कतालिकाको सातौँ स्थानमा छ । त्यस्तै अमेरिका १२ खेलमा आठमा जितसहित १६ अङ्कका साथ शीर्षस्थानमा छ । क्यानडा १२ खेलमा १६ अङ्कका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । अब नेपालले भोलि स्कटल्याण्डसँग खेल्नेछ ।
झण्डै छ महिनाअघि अभिनेता विजय बरालको फोनमा चलचित्रको प्रस्ताव बोकेको फोन आयो । एउटा कलाकारलाई अभिनय प्रस्तावको फोन आउनु सामान्य कुरा हो तर त्यो दिन आएको फोन सामान्य भन्दा केही फरक थियो । चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भइरहनु भएका विजयका लागि त्यो फोनमा आएको प्रस्ताव फरक थियो । उहाँलाई कुनै सहायक भूमिका लागि नभई शीर्षक भूमिकाको प्रस्ताव गरिएको थियो । चलचित्रको नाम थियो– पूर्ण बहादुरको सारङ्गी । सो प्रस्तावले विजय सुरुमा त अन्योलमा पर्नुभयो । केही दोधारको अवस्था भयो उहाँलाई । झण्डै दुई सातासम्म उहाँले प्रस्तावमाथि कुनै ठोस निर्णय गर्नुभएन । आफैँलाई मन्थनुभयो ? आफूभित्रको अभिनेतालाई प्रश्न गर्नुभयो । ‘‘चलचित्रको प्रस्ताव आएको दिन म ठ्याक्कै अन्योलमा परेँ । किनकी साइड रोलकै लागि मात्र रोजाइमा पर्ने मलाई यस्तो प्रस्ताव बिरलै हुने गर्छ । दुई सातासम्म कुनै निर्णय गरिन’’, उहाँले सम्झना गर्दै भन्नुभयो, ‘‘यो प्रस्तावले एक किसिमको ऊर्जा पनि दियो । एउटा समय पनि भयो, अनुभव पनि भयो । अब अनुभवले पनि यस्ता भूमिका गर्नसक्छु भन्ने आँट जुटाएँ । त्यो बेलाको अवस्था एकदम शून्य थियो के गर्ने भनेर । खुशीसहितको शुन्यता ।’ यति भन्दैगर्दा उहाँ आफ्नो कलाकार बन्ने सपना बुनिएका स्कूले जीवन र सोही सपना पछ्याउँदै काठमाडौँ आउनुभएको समयस्मृतिमा पुग्नुभयो । विजयका अनुसार काठमाडौँ छिर्दा उहाँसँग अभिनयका बारेमा केही भ्रममिश्रित सपनाहरू थिए । काठमाडौं आउँदा उहाँलाई लाग्थ्यो उहाँ त्यो बेलाका चर्चित हास्य कलाकारभन्दा उम्दा बनेर निस्किनु हुनेछ, कडा बन्नु हुनेछ । सर्लाहीको लालबन्दीका विजय आफ्नो स्कूले जीवनमा त्यो बेलाका चर्चित नेताहरूको आवाजको नक्कलहरू गर्नुहुन्थ्यो । कक्षा आठमा उहाँले पहिलोपटक आफ्नो क्षमता सार्वजनिकरुपमा पस्कनुभयो । त्यतिबेला उहाँले आवाजहरूको नक्कलसँगै आफ्नै गाउँठाउँका चर्चित हास्य कलाकार नारद खतिवडाको हास्यरस मिश्रित ‘ढोका खोल न पोस्टेकी आमा ढोका खोल न हो’ बोलको गीतमा हास्यप्रधान नृत्य समेत गर्नुभएको थियो । चर्चित नेताको आवाजको नक्कल र साथमा हास्यप्रधान नृत्य हेरेपछि शिक्षक र साथीभाइहरूले उहाँको धेरै प्रशंसा गरे । ‘‘मेरो नाच (आवाजको नक्कल देखेर साथीहरूले ओहो ! राम्रो गरिस् भनेर हौस्याए । त्यही चिजलाई मैले अभिनय ठानें किनकी गाउँतिर यसैलाई अभिनय मानिन्थ्यो । साथीहरूको तारिफले मलाई अभिनयतर्फ थप आकर्षित बनाइदियो । मलाई ती तारिफहरूले मैले गर्न सक्नेरहेछु भन्ने आत्मविश्वास बढायो’, उहाँले पूराना दिनहरू ताजा गर्दै सुनाउनुभयो । जब उहाँ रङ्गमञ्चतर्फ मोडिनुभयो तब उहाँले आफ्नो पहिलोको सोचलाई निक्कै कमजोर भएको पाउनुभयो । उहाँलाई अभिनय एउटा पोखरी होइन महासागर रहेछ भन्ने लाग्यो । ‘‘जब क्यारीकेचर गर्न छोडेर रङ्गमञ्चमा गएँ, अभिनयको चिन्तन र प्रक्रिया नै फरक देखें । त्यसपछि मैले राम्रो कलाकार बन्ने सोचेँ ।’’, केही गम्भीर हुँदै उहाँले भन्नुभयो । उहाँ आफ्नो चेत खुलेको कुरालाई यसरी व्याख्या गर्नुहुन्छ । ‘‘पहिले म हरेक चिजलाई सामान्य सोच्थेँ, मैले जत्तिको कसले गर्न सक्छ र ठान्थेँ । तर जब अभिनयको आयतनमा छिरेंँ तब अभिनय अर्कै चिन्तनको विषय रहेछ, आध्यात्मिक रहेछ भन्ने थाहा पाएँ । सोच र गहिराइमा पुगेर गर्दा फरक चिज निस्कने विषय भएको बुझेंँ ।’’ भारतमा ४५ दिनको अभिनय कार्यशाला पुगेपछि आफ्नो कला चेत खुलेको उहाँ बताउनुहुन्छ । त्यो कार्यशाला उहाँका लागि जीवनको कोशेढुङ्गा हुनपुग्यो । त्यहाँ भारतको राम्रा नाटक निर्देशकमा पर्नुहुने एमके रैनाबाट उहाँ प्रशिक्षित हुनुभयो । ‘‘ओहो म त अभिनयलाई सामान्य हिसाबले लिइराखेको थिएँ । यहाँ त हरेक दिन यो कुरा नि पढाइरहेको छ, सबै दृष्टिकोणबाट अभिनयलाई देखाइरहिएको छ पढाइरहिएको छ । समाजको दृष्टिकोणबाट पनि हेरिरहिएको छ । सबै प्रकारबाट दृष्टिगोचर गर्दा त अर्कै चिज रहेछ अभिनय । त्यहाँबाट बल्ल मेरो चेत खुल्यो’’, उहाँले भन्नुभयो । बीचमा उहाँको कलाकार हुने सपना हल्लिएजस्तो पनि भयो । उहाँको बुबा बैंकको जागिरे । कुनै दिन बैंकमा जागिर खानुपर्छ भनेर विजयले व्यवस्थापन पढिराख्नु भएको थियो । यद्यपि बुबाले भने उहाँलाई यही बन्नुपर्छ भन्नुभएको थिएन । बुबाले केही नभन्नुभएको भए पनि हजुरबुबाले भने सहज जीवनयापनका लागि घरको जेठो नातिले बाबुले झैं बैंकको जागिर खानुपर्छ भनेर हौस्याइरहनुहुन्थ्यो । हजुरबुबा विजयलाई भन्नुहुन्थ्यो–‘‘जागिर गर है जागिर गर, पछि गाहे हुन्छ । बाले यसरी पालेका छन् । तैले पनि पाल्नुपर्छ, जे भए पनि घरको जेठो नाति होस् ।’’ उहाँले व्यवस्थापन सङ्कायको पढाइलाई निरन्तरता दिदैं आफ्नो अभिनयलाई रङ्गमञ्चमा सक्रिय भएर निरन्तरता दिइराख्नुभयो । यो समयमा कयौं नाटक गरिसक्दा पनि विजयका बाबुले छोरा कलाकार बनेको थाहा पाउनुभएको थिएन । उहाँले पहिलो चलचित्रका रुपमा ‘छड्के’ गरे पनि बुबाले थाहा पाउनुभएन तर ‘कबड्डी’ चलचित्र गरेपछि भने थाहा पाउनुभयो । उहाँ छोराको कामबाट खुशी हुनुभयो । अभिनयमा लागेपछि विजयले घरबाट आफ्नो खर्च मगाउनु परेको छैन । ‘‘बुबालाई लामो समयसँग म कलाकारितामा लागेको छु भन्ने थाहै थिएन । नाटक गरिरहँदा खास उहाँले थाहा पाउनुभएन । पहिलो चलचित्र छड्के मा अभिनय गर्दा पनि उहाँलाई म कलाकार बनेको पत्तो भएन । उहाँले कबड्डी गरेपछि मात्र म कलाकार बनेको थाहा पाउनुभयो’, बरालले भन्नुभयो । ‘कबड्डी’ पछि उहाँ त्यसका तीन श्रृङ्खलासहित दर्जनौं चलचित्रमा अभिनेता बनिसक्नुभएको छ भने आजको मितिमा उहाँ नेपाली सिने जगतको चिरपरिचित अनुहार बनिसक्नुभएको छ । उहाँले अधिकांश सहायक भूमिका नै गर्नुभयो । सबैभन्दा बढी चर्चा उहाँले ‘कबड्डी’ चलचित्रको श्रृङ्खलाबाट बटुल्नुभएको छ । उहाँ सो चलचित्रको ‘बिके’ पात्रबाट नेपाली दर्शकमाझ परिचित हुनुहुन्छ । ‘कबड्डी’ शृङ्खलाको जबरजस्त सफलताका कारण हास्यप्रधान भूमिकामा व्यस्त भइराख्नु भएका विजयलाई ‘पूर्ण बहादुरको सारंगी’ चलचित्रले गम्भीर भूमिकामा पनि उत्तिकै दक्ष अभिनेताको परिचय पाउने अवसर दिएको बताउनुहुन्छ । यो चलचित्रमा उहाँ एकल बाबुको पात्र भूमिकामा देखिदै हुनुहुन्छ । उहाँ पुनः ‘पूर्ण बहादुरको सारङ्गी’कै प्रसङ्गमा फर्कनुभयो । सहायक भूमिका उहाँलाई सजिलो लाग्छ । तर यो चलचित्रको भूमिका फरक र गम्भिर छ । शीर्षक भूमिका नै भएकाले चलचित्रको सम्पूर्ण भार उहाँमाथि नै छ । यसका लागि धेरै मिहेनत परेको सुनाउनुहुन्छ । चलचित्रको ‘पूर्ण बहादुर गन्धर्व’ पात्र बन्न झण्डै १० दिन तयारी गर्नुभयो । यो १० दिनमा उहाँले गन्धर्वको हाउभाउ, अनुहारको भाव र बोल्ने शैली अध्ययन गर्नुभयो । उहाँले सारङ्गी बजाउन, हातको हर्कत र सारङ्गी बजाउने शैली पनि सिक्नुभयो । पर्दामा ‘पूर्ण बहादुर गन्धर्व’ नै हो भन्ना लागि आफूले यस्तो गरेको उहाँको भनाइ छ । ‘‘हामीजस्ता दोस्रो रोजाइका कलाकारकाका लागि यो आयतनको भूमिका बिरलै प्राप्त हुन्छ । यसलाई म जतिसक्दो उत्कृष्ट बनाउन चाहन्थे । त्यसैले मैले यसका लागि पर्दामा जत्तिसक्दो आफूलाई गन्धर्वका रुपमा स्वीकार्य गराउने गरी मिहेनत गरेको छु । पोस्टर, ट्रेलरबाट मैले राम्रो प्रतिक्रिया पाएको छु’, उहाँले भन्नुभयो । आज उहाँ स्वयं आफू कसैको छोरा त हुनुहुनै हुन्छ त्योसँगै आफू पनि एक सन्तानको बाबु बनिसक्नुभएको छ । यसको अनुभवलाई पनि उहाँले पर्दामा प्रयोग गर्नुभएको छ । अनुभव पनि अभिनयका लागि एकदमै महत्वपूर्ण हुने उहाँ बताउनुहुन्छ । ‘‘यसले पात्रको मनोदशा, अवस्था बुझ्न धेरै सजिलो पर्छ’’, उहाँले भन्नुभयो । उहाँ आफू बाबु हुनु वा छोरा हुनुको वर्तमान अनुभवलाई यसरी व्यक्त गर्नुहुन्छ । ‘‘अहिले म बुबाको भाव बुझ्छु । एक समय मेरो बुबा मेरा लागि हिरो हुनुहुन्थ्यो । अहिले पनि हिरो नै हो । कहिले कहिले कुनै परिस्थितिमा केही भन्दा तनाव दिनुभयो कि जस्तो नि लाग्थ्यो । अहिले मेरो छोरो भयो । उसले मेरो छात्तीमा ढुक्ढुकाउँदै बाबा–बाबा भन्छ र आफ्नी आमालाई देखाउँछ । उसका लागि म आज हिरो जस्तै भएको छु । म पुग्ने बित्तिकै मेरो बाबा आयो भनेर पुलकित हुने गर्छ । मेरो बुबाको सवालमा पनि त्यही नै थियो’’, उहाँले भन्नुभयो । आज बुबाको सबै भावना उहाँलाई महशुस हुन्छ । उहाँ भन्नुहुन्छ– ‘‘बाबु बाबु नै हुनेरहेछन्, जसले आफ्ना भावनाहरू व्यक्त गर्दैन तर उसको भित्र केही न केही हुन्छ–हुन्छ । बरालका अनुसार छोराको लागि बाबुले सपना देखेको हुन्छन् र छोराले पनि बाबुका लागि सपना देख्नुपर्छ ।’’
तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा विक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४० भेडा/च्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दशै पर्वका लागि आठ हजार भेडाच्याङग्रा बिक्री भएको थियो । पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ्य भेडाच्याङग्रा मात्र बजार पठाउने गरिएको छ । दसै र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेका सहित डोल्पा र मुगुबाट ल्याइएका भेडाच्याङग्रा बजारमा बिक्री भएको हो । “उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपालीको दसैँ तिहारमा भेडाच्याङग्राको ब्यापार बढी भएको छ,” केन्द्र प्रमुख अर्यालले भन्नुभयो, “कृषकले तौल अनुसार प्रतिगोटा २८ हजार देखि ३७ हजारका दरले च्याङग्रा बिक्री गरेका छन् ।” जडिवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारीले यसपाली प्रतिगोटा ३० हजारदेखि ३३ हजारमा किसानहरुबाट खरिद गरेका छन् । गत वर्ष काठमाडौ पोखरामा प्रतिगोटा रु. ५५ हजारसम्म परेको च्याङग्राको मूल्य यसपाली रु. ४५ हजार भन्दा कम मूल्यमा बिक्री भएको छ । गत वर्ष बजारमा ल्याएको च्याङग्रा महँगी हुँदा बिक्री नभएर ब्यापारीले नोक्सान ब्यहोरेको गुनासो गरेका थिए ।
‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा यसपटक सयपत्री फूलको व्यापार गर्नेहरूलाई भ्याइ नभ्याइ छ । पछिल्ला वर्षमा सयपत्रीको उत्पादन बढेसँगै यसको मालाको कारोबार गर्न पनि व्यापारीलाई भ्याइ नभ्याइ हुने गरको छ । यसपटक माला बिक्रीका लागि भइरहेको प्रतिस्पर्धाले गत वर्षभन्दा मूल्य पनि सस्तो भएको छ । धनगढी क्षेत्रमा घरायसी प्रयोजनका लागि मात्रै फूल रोप्ने चलन रहेकामा पछिल्ला वर्षमा व्यावसायिक रूपमा पुष्पखेती गर्नेहरू बढ्दै गएका छन् । धनगढी उपमहानगरपालिकाको मोतिचोकस्थित सनराइज मल्टी एग्रो प्रालिका इन्द्रबहादुर सेठी पुष्पखेती गर्ने किसान बढे पनि यसबाट अपेक्षित आम्दानी गर्न नसकिएको बताउनुहुन्छ । “जति माग हुनुपर्ने हो, त्यति भइरहेको छैन । स्थानीय उत्पादनलाई प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास अझैँ भइसकेको छैन, त्यसैले पुष्पखेतीमा लागेकाहरूले उचित मूल्य पाउन सकेका छैनौँ”, उहाँले भन्नभुयो । व्यापारीसँग ग्राहकले सयपत्रीका मालाको मोलमोलाइ गरिरहँदा प्रतिमाला रु ६० सम्म पाउने गरेको माला खरिद गरेको भेटिनुभएका धनगढी उपमहानगरपालिका—४का हेमराज भट्टले बताउनुभयो । सयपत्री फूलका माला सहज रूपमा पाउन थालेसँगै विगतका वर्षमा जस्तो तिहारका समयमा बाहिरबाट आयात हुने कृत्रिम फूलमाला प्रयोग गर्नुपर्ने बाध्यता भने हटेको उहाँको भनाइ छ । “विगतमा तिहार नआउँदै धनगढीलगायत क्षेत्र भारतबाट आयातित कृत्रिम फूलले सिङ्गारेर झकिझकाउ देखिन्थे । भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायत कामका लागि कृत्रिम फूलको कारोबार बढी हुने गरेको थियो । यसपटक भने कृत्रिम फूलको आयात भएको देखिएन । त्यसले स्थानीय उत्पादनले बनार पाएको छ”, भट्टले भन्नुभयो । धनगढीको हावापानीमा कर्मा ट्रिपल प्रजातिको सयपत्रीको खेती निकै फस्टाएको छ । टिपेको पाँच÷छ दिनसम्म पनि नबिग्रिने भएकाले धेरैले यसैको खेती रोजेका पुष्प व्यवसायीले बताउने गरेका छन् । पुष्पखेतीसँगै फूल टिप्ने र माला उन्ने काममा रोजगारीको अवसर पनि प्राप्त भएको छ । धनगढी क्षेत्रमा पुष्पखेती गर्ने किसानहरूको सङ्ख्या करिब ३५ पुगेको बताइएको छ । धनगढी उपमहानगरपालिका कार्यालयले बाहिरबाट हुने फूलको आयातलाई रोक्न स्थानीय किसानलाई पुष्पखेती व्यवसायतर्फ उत्प्रेरित गरेपछि पनि यसतर्फ आकर्षण बढेको हो । उपमहानले पुष्पखेती प्रवर्द्धनमा जोड दिदै नगर क्षेत्रमा सयपत्री, मखमली जस्ता फूलको खेती गर्न चाहने २६ किसानलाई गतवर्ष तालिमका साथै अन्य प्राविधिक सहयोग गरेको थियो । धनगढीलाई प्राकृतिक फूल सङ्कलनको ‘हब’बनाउने लक्ष्यअनुरूप उपमहानगरले प्राकृतिक फूलको प्रवर्द्धनमा जोड दिएको र बाहिरबाट भित्रिने प्लाष्टिजन्य कृत्रिम फूलमालाको कारोबारमा रोक लगाएको जनाएको छ । स्थानीय बजारमा बिक्रीका लागि ल्याउने गरिएको सयपत्री फूलमाला प्रतिगोटा कम्तीमा रु ६० देखि रु सयसम्म बिक्री वितरण भइरहेको छ ।
काठमाडौँ: कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प पढिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो । पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उहाँले भन्नुभयो । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । काठमाडौँमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुआत गर्ने परम्परासमेत अझै छ ।
नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो । हङकङको मिसन रोड क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा एक सय रनमा समेटियो । अष्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको सहयोगमा अविजित ५५ रन बनाए । त्यस्तै एलेक्स रोसले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि प्रतिशि जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै एक सय ११ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी लोकेश बमले ३३, राशिद खानले र विवेक यादवले समान १२/१२ रन बनाए । अष्ट्रेलियाका लागि दुवै विकेट ज्याक उडले लिए ।
काठमाडौँ: यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाइटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिनुभयो । “आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान तथा तराईका केही भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ, काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ,” उहाँले भन्नुभयो, “तर पानी परे पनि क्षणिक रुपमा पर्ने हो । कुनै पनि स्थानमा निरन्तर पर्दैन ।” अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । माहाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिन अनुसार पनि शनिबार साँझसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक-आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ । साता दिनपछि चिसो बढ्ने सम्भावना अब एक सातापछि काठमाडौँ उपत्यकालगायत देशैभर चिसो बढ्ने सम्भावना रहेको छ । जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताउनुभएको छ । “भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ”, उहाँले भन्नुभयो, “कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरु हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न सुरु हुन्छ ।” शुक्रबार रातिसम्म काठमाडौँको तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका केही स्थानमा हल्का वर्षासमेत भएकाले चिसो सुरु भएको छ । चिसोयाम सुरु भएपछि मानिसलाई दम, रुघाखोकी, ज्वरोलगायत समस्या उब्जने तथा चिसोको समयमा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा जनस्वास्थ्यविद्हरुले सुझाव दिएका छन् ।
बुधबारदेखि आएको स्पेनको सबैभन्दा ठूलो बाढीमा मृत्यु हुनेहरूको सङ्ख्या शुक्रबार दुई सय पाँच पुगेको छ । सरकारले बाँच्नेहरूको खोजीका लागि थप सैनिक परिचालन गरेको छ । मङ्गलबारदेखि आएको बाढीले सवारी साधन बगाउने, पुल भत्काउने र शहरहरूलाई फोहरमा डुबाउँदा स्पेनमा दशकौँदेखि सबैभन्दा ठूलो विनाशकारी क्षति पु¥याएको छ । सबैभन्दा धेरै प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा आपत्कालीन सेवा समन्वय गर्ने संस्थाले त्यस क्षेत्रमा मात्र दुई सय दुई जनाको मृत्यु पुष्टि गरेको छ । छिमेकी काष्टिला–ला मान्चा र अन्दालुसिया क्षेत्रका अधिकारीहरूले पहिले नै तीन जनाको मृत्युको घोषणा गरिसकेका छन् । ड्रोन र कुकुरहरू सहित उद्धारकर्ताहरू पानीमा हिँडँदै र भग्नावशेषमा मलबामा खोजी गर्दै छन् । सरकारी अधिकारीहरूका अनुसार अझै धेरै व्यक्तिहरू बेपत्ता छन् । सरकारले पहिले नै एक हजार दुई सय सैनिक परिचालन गरिसकेको अवस्थामा अर्को पाँच सय सैनिक थप गर्न लागेको छ । बाढी सुरु भएको तीन दिनसम्म केही क्षेत्रहरू खानेपानी, खाद्यान्न र बिजुलीबाट वञ्चित छन् । धेरै सडक र रेल मार्गहरू अझै पनि अवरुद्ध हुँदा मृत्यु सङ्ख्या बढ्ने डर छ । चिभा शहरकी मेयर अम्पारो फोर्टले सार्वजनिक रेडियोलाई भन्नुभयो, “औद्योगिक क्षेत्रमा अझै पनि गाडीहरूको थुप्रो छ । धेरै गाडी खाली होलान् तर केहीमा मानिसहरू छन् भन्नेमा हामी निश्चित छौँ ।” राष्ट्रिय मौसम सेवा एइमेटका अनुसार भ्यालेन्सिया शहर पश्चिमतर्फको चिभा शहरमा मङ्गलबार मात्र आठ घण्टामा चार सय ९१ मिमी वर्षा भयो । यो करिब एक वर्षको वर्षासँग बराबर हुन्छ ।

