भाइटीकामा कुन–कुन स्थानमा हुँदैछ वर्षा ?

काठमाडाैं | कात्तिक १७, २०८१

भाइटीकामा कुन–कुन स्थानमा हुँदैछ वर्षा ?

काठमाडौँ:   यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ ।

मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाइटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिनुभयो । 

 

“आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान तथा तराईका केही भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ, काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ,” उहाँले भन्नुभयो, “तर पानी परे पनि क्षणिक रुपमा पर्ने हो । कुनै पनि स्थानमा निरन्तर पर्दैन ।”

 

अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । माहाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिन अनुसार पनि शनिबार साँझसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागका थोरै तथा बाँकी  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक-आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ ।

 

साता दिनपछि चिसो बढ्ने सम्भावना

 

अब एक सातापछि काठमाडौँ उपत्यकालगायत देशैभर चिसो बढ्ने सम्भावना रहेको छ ।

 

जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताउनुभएको छ । “भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ”, उहाँले भन्नुभयो, “कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरु हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न सुरु हुन्छ ।”

 

शुक्रबार रातिसम्म काठमाडौँको तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ  ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मुलुकका केही स्थानमा हल्का वर्षासमेत भएकाले चिसो सुरु भएको छ ।

 

चिसोयाम सुरु भएपछि मानिसलाई दम, रुघाखोकी, ज्वरोलगायत समस्या उब्जने तथा चिसोको समयमा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा जनस्वास्थ्यविद्हरुले सुझाव दिएका छन् ।  

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्