काठमाडौं: यही कात्तिक २६ गतेदेखि आगामी मंसिर ७ सम्म अजरबैजानको बाकु शहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको २९औँ सम्मेलन (कोप–२९) तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि लागि वन तथा वातावरण मन्त्रालयले आवश्यक काम पूरा भएको जनाएको छ । सम्मेलनको पूर्व सन्ध्यामा हुने विभिन्न बैठकमा भाग लिन र आवश्यक तयारी गर्न मन्त्रालयका तीन सहसचिवलगायत विज्ञसहितको टोली उद्घाटनको एक साता अघि नै बाकु पुगिसकेका छन् । सम्मेलनमा आफ्नो उपस्थितिलाई सशक्त बनाउन मन्त्रालयले ‘एजेण्डा’को प्राथमिकता निर्धारण गरेको छ । सम्मेलनमा मुख्यतया अनुकूलन हानी नोक्सानी, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण क्षमता विकास अल्पविकसित राष्ट्रहरुको विषय प्रमुख रुपमा उठान गरिने वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिनुभयो । मन्त्रालयले यस अघिका सम्मेलन र अन्य अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाएका विषयहरु, संसदीय समितिवाट प्राप्त निर्देशन, विभिन्न चरणमा सरोकारवालाहरुसँग गरेका छलफल तथा प्राप्त सुझावका आधारमा राष्ट्रिय स्थितिपत्र तयार गरेको छ । राष्ट्रिय स्थति पत्रमा विशेषगरी हानि तथा नोेक्सानी, पर्वतीय क्षेत्र र जलवायु वित्तका मुद्दालाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउँदैछ । उहाँले उद्घाटनका अवसरमा आयोजना हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरु जलवायु कार्य शिखर सम्मेलन’मा सम्बोधन गर्नुहुनेछ । यसका साथै नेपालले आफ्ना मुद्दाका बारेमा विश्वको ध्यानाकर्षण गराउन नोभेम्बर १३ तारिखमा राष्ट्रपति पौडेलको नेतृत्वमा छुट्टै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तय भएको बताइएको छ । सम्मेलन स्थलमा नै ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ सत्र सञ्चालन गर्न नेपालले युएनएफसिसिसीबाट अनुमति प्राप्त गरिसकेको छ । उच्चस्तरीय बैठकमा संयुक्त राष्ट्रसंघ का प्रतिनिधि, पर्वतीय मुलुकका प्रमुख तथा प्रतिनिधि, विकास तथा साझेदार निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रतितिधि सहभागिता रहने जनाइएको छ । सो सत्रमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घट्नाका कारण आएको बाढी पहिरो तथा त्यसबाट भएको क्षति बारे जानकारी गराउने तयारी गरेको छ । परिवर्तित जलवायुका कारण नेपालमा मनसुनी वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक हेरफेर देखिन थालेको छ । यही वर्ष मात्र भएका जलवायुजन्य विषद् (हिमताल विस्फोट, बाढी पहिरो) बाट भएको धनजनको क्षतीका कारण नेपालले अकल्पनीय हानि नोक्सानी व्यहोर्नु परेको छ । सम्मेलनमा नेपालले गरेका प्रतिबद्धता र उपलब्धि नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित हुने मुलुकको सूचिमा अग्रपंक्तिमा भएपनि जलवायु सम्बन्धी सम्मेलन र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । सम्मेलनहरुमा नेपालले महत्वाकांक्षी प्रतिबद्धता व्यक्त गर्दै त्यसलाई कार्यान्वयन समेत गर्दै आएको छ । नेपालले पेरिस सम्झौता बमोजिम २०७७ मा दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी) र २०७९ मा राष्ट्रिय अनुकूलन योजना (एनएपी) पेश गरिसकेको छ । यसैगरी नेपालले २०७८ मा तेस्रो राष्ट्रिय संचार प्रतिवेदन, राष्ट्रिय जलवायु सडकटासन्नता तथा जोखिम मूल्याङ्कन प्रतिवेदन, दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति, हानि नोक्सानीको राष्ट्रिय खाका, र २०८० मा राष्ट्रिय रूपमा निर्धारित योगदानको कार्यान्वयन योजना स्वीकृत गरी लागु गरिरहेको छ । साथै, यसै वर्ष नेपाल सरकारद्वारा जारी भएको १६औं योजनामा जलवायु अनुकूलन, उत्थानशील तथा हरित अर्थतन्त्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ । कोप–२६ मा नेपालले सन् २०३० सम्ममा ४५ प्रतिशत वन क्षेत्र कायम गर्ने र सन् २०४५ मा कार्बन उत्सर्जनलाई शून्यमा पुर्याउने जस्ता महत्वाकांक्षी योजनाहरू प्रस्तुत गरेको थियो । वन क्षेत्र संरक्षण र विस्तारमा नेपालले समय अगावै लक्ष्य भन्दा बढी प्रगति हासिल गरिसकेको छ । नेपालले अन्तर्राष्ट्रिय समुदायसामु हरित र उत्थानशील विकासतर्फ आफ्ना महत्वाकांक्षी लक्ष्य हासिल गर्न जलवायु वित्तमा सहज एवं पर्याप्त पहुँच तथा सबै राष्ट्रको साथ र सहयोगको अपेक्षा गरेको छ ।
काठमाडौँः नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नायब शिष्टाचार महापाल लेखनाथ गौतम तथा यहाँस्थित इजरायली दूतावासका कार्यवाहक राजदूत जनान बेबरले स्वागत गर्नुभयो । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको कार्यकालमा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
गलकोट: कुनै समय एकादशीको दिन बागलुङस्थित निरयघाटको कालीगण्डकी किनारामा लाग्ने हरिबोधनी एकादशी मेला २४ वर्षयता भने सञ्चालनमा छैन । त्यसताका उक्त मेलामा हजारौँको भिड लाग्ने गर्दथ्यो । किनमेल तथा भेटघाटका लागिसमेत उक्त मेला प्रसिद्ध थियो । हजारौँले नागरिकले डोलामा तोरण बोकेर मेलामा लगिने र मेलाको अवसरमा कालीगण्डकीमा तार्ने परम्परा धेरैको आकर्षणको केन्द्र थियो तर शान्ति सुरक्षा र द्वन्द्वका कारण २४ वर्षयता मेला हुनसकेको छैन । पछिल्लो सयम भने यहाँका स्थानीय अगुवाहरूले मेला आयोजना गर्न चासो देखाएका छन् । त्यसका लागि हरिबोधनी एकादशी मेला संरक्षण समिति गठन गरिएको छ । उक्त समितिका अध्यक्ष रमेश राजभण्डारीले औपचारिक रूपमा करिब २४ वर्षसम्म रोकिएको मेला यस वर्षबाट सुनः सञ्चालन गर्ने गरी तयारी सुरु भएको जानकारी दिनुभयो । उहाँले यही कात्तिक २७ गते कालीगण्डकी किनार निरयघाटमा हरिबोधनी एकादशी मेला लाग्ने बताउनुभयो । “विसं २०५७ सालमा जिल्ला प्रशासनले नै शान्ति सुरक्षाको चुनौती देखाएर मेला बन्द गरेपछि त्यसयता उक्त स्थानमा मेला लाग्न सकेको छैन । एकादशीको दिन कालीगण्डकीमा नुहाउन जाने परम्परा रहे पनि संस्थागत रूपमा मेला सञ्चालन हुन नसकेपछि पहिलेकै अवस्थामा मेला आयोजना गर्ने हाम्रो योजना छ । त्यसका लागि बुधबारबाटै कालीगण्डीमा तान्ने तोरण बाट्न सुरु गरिएको छ, उक्त दिन व्यक्तिगत रूपमा समेत तोरण लिएर आउन आग्रह गरिएको छ । बाबियो र कुशबाट बनाइने तोरण एक सय ८ मिटरभन्दा बढी लामो हुनेछ । तोरणलाई वैदिक रूपमा निर्माण गरिनेछ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो । विसं २०५७ सालअघि एक युवाको छुरा प्रहार गरी हत्या प्रयाससमेत भएपछि रातिमा लाग्ने मेला क्रमशः हराउँदै गएको जानकारहरू बताउँछन् । रातभर जाग्राम बसेर भजनकृतन गर्ने र बिहान कालीगण्डकीमा स्नान गर्ने, तोरण तान्ने र पूजाअर्चना गर्ने, किनमेल गर्ने हरीबोधनी एकादशी मेलालाई २४ वर्षपछि आयोजना गर्न विभिन्न उपसमितिसमेत गठन गरिएका छन् । आरती वाचक तथा गायक रमेश खड्काले पुर्खौँदेखि लाग्दै आएको मेला नेपालकै ठूलो मेलामध्येको एक रहे पनि पछिल्लो समय हराउँदै गएकामा सबै जनाको सल्लाहबमोजिम पुनः सुरु गर्न लागिएको सुनाउनुभयो । मेलाको अवसरमा कालीगण्डकी पुजन, कालीगण्डकी सरसफाइ र दीपसमेत प्रज्वलन गरिने छ । यही २६ गते तोरणलाई बागलुङ बजारमा शोभायात्रासहित परिक्रमा गर्ने र २७ गते कालीगण्डकी नदी किनार निरयघाटमा तोरणसहित प्रस्थान गरिने योजना छ । मेला, धार्मिक पूजा, तोरण तान्नेलगायतका क्रियाकलाप सञ्चालन गर्न यस वर्षबाट सुरुआत गरिएको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । आफ्नो धर्म, संस्कृति र परम्परालाई आगामी दिनमा पर्यटनसँग जोड्नका लागि मेलालाई २४ वर्षपछि निरन्तरता दिन थालिएको उहाँले बताउनुभयो । मेलाका लागि तोरण संयोजक, भजन संयोजक, आर्थिक व्यवस्थापन संयोजक, दिप संकलन, गङ्गा पूजन र सरसफाइलगायत कार्यक्रमका लागि उपसमितिसमेत गठन गरिएका छन् ।
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएकामा राष्ट्रपति ट्रम्पलाई बधाई दिनुहुँदै कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रमको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने आशा व्यक्त गर्नुभएको छ ।
ललितपुरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि १ नगरप्रमुख र २ वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुखमा डा सुरेन्द्र मानन्धर, वडा नं १ मा र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो । आज यहाँ भएको घोषणासभामा नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनुभयो । त्यस अवसरमा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिनुभयो ।
चितवनः इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको सामुदायिक स्वास्थ्य एकाइलाई सपना भिलेज सोसल इम्प्याक्टले रु १ लाख २४ हजार बराबरका ३१ प्रकारका औषधि प्रदान गरेको छ । ती औषधि उक्त संस्थाका अध्यक्ष ध्रुव गिरीले भाराङ स्वास्थ्य एकाइका प्रमुख सूर्यबहादुर चेपाङलाई बुधबार एकाइमा आयोजित १ सङ्क्षिप्त कार्यक्रममा हस्तान्तरण गर्नुभयो । इच्छाकामना गाउँपालिका स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार ३१ प्रकारको औषधि प्रदान गरिएको अध्यक्ष गिरीले बताउनुभयो । उक्त संस्थाले इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायको जीवनस्तर उकास्न आयआर्जनका लागि पशुपालन, सागसब्जीखेती, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । यसअघि गाउँपालिकासँगको सहकार्यमा उक्त संस्थाले सात सय घरलाई सुधारिएको चुल्हो वितरण गरेको थियो ।
काठमान्डौँः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मौलिक कला र संस्कृतिको संरक्षणबाट सबै नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउन सहयोग पुग्ने बताउनुभएको छ । छठ पर्वका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले विविधतायुक्त नेपाली समाजका प्रत्येक समुदायका मौलिक, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । सबै समुदायका संस्कृति तथा चाडपर्वले एकापसमा सामाजिक सद्भाव, सांस्कृतिक सद्भाव साथै राष्ट्रिय एकता मजबुत बनाउन भूमिका निर्वाह गर्ने उल्लेख गर्दै सन्देशमा उहाँले समुदायस्तरबाट आफ्ना भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षणले देशलाई मौलिक सभ्यता र संस्कृतिमा सम्पन्न बनाउने विचार व्यक्त गर्नुभएको छ । पूर्वप्रधानमन्त्री नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त सामाजिक विशेषताले देशको पहिचान र परम्परालाई विश्वमा चिनाउन सहयोग पुग्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वबाट समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । अध्यक्ष दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा तराई–मधेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराईबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ, “छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको सञ्चार गर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वासका साथ सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।” “छठपर्व प्रकृति र मानवबीच व्यावहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा स्थापित छ”, सन्देशमा भनिएको छ, “यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्दछ ।”
ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट रु ४० लाख सहयोग जुटेको छ । मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले सेवा क्षेत्रमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रमबाट जुटेको उक्त रकम अक्षयकोषमा बचत गर्ने जनाएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बुधबारसम्म देउसीभैलोबाट रु ४० लाख सहयोग जुटेको जानकारी दिनुभयो । “रु दुई करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सञ्चालन भएको अभियानमा देउसीभैलोसहित हालसम्म रु ५३ लाख जुटेको छ । गाउँलेले पेन्सन, छोराछोरीको कमाई र बचतबाट खुलेर सहयोग गर्नुभएको छ”, उहाँले भन्नुभयो । देउसीभैलोमा अमेरिका र बेलायतमा रहेका बाबियाचौरका एकैघरका दिदीबहिनी क्रमशः डा रेखा रोका, डा रञ्जना रोका र डा स्वस्ती रोकाले रु एक लाख ९२ हजारका दरले रु पाँच लाख ७६ हजार सहयोग गर्नुभएको छ । उहाँहरू मङ्गला गाउँपालिका अध्यक्षसमेत रहुनभएका क्याम्पसका सम्मानार्थ संरक्षक सत्प्रसाद रोका र क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष एवम् आर्थिक सङ्कलन उपसमिति संयोजक यसोदा रोकाका छोरी हुनुहुन्छ । देउसीभैलोका क्रममा रोका दिदी बहिनीबाट सबैभन्दा धेरै सहयोग प्राप्त भएको क्याम्पस प्रमुख प्रितमबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोका परिवारबाट क्याम्पसका लागि हालसम्म रु १४ लाख एक हजार ५० सहयोग प्राप्त भएको छ । घरायसी समस्याले सहर बजारमा गएर पढ्न नसकेका छोरी बुहारीलाई वरदान नै बनेको क्याम्पसले गरेको शैक्षिक तथा भौतिक सफलताको सन्देश सुनाउँदै आर्थिक स्रोत जुटाउन अभियान चलाएका छौँ ।” मङ्गलामा रहेका तीन हजार सात सय घरबाट स्वदेश तथा विदेशमा रहेकालाई प्रत्यक्ष तथा ‘भर्चुअल’ माध्यमबाट कोषमा सहयोग जुटाउने लक्ष्य पूरा नहुँदासम्म अभियान जारी राख्ने क्याम्पसले जनाएको छ । अक्षयकोषको ब्याजबाट पूर्णकालीन प्राध्यापकलाई तलब, गुणस्तर सुनिश्चितता तथा प्रत्यायण प्रमाणपत्र (क्यूएए) प्रक्रियाका लागि पूर्वाधार तयार गर्न, गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न, क्याम्पस र समुदायको सम्बन्ध बलियो बनाउन देउसीभैलो खेलेको जनाइएको छ । रु १२ लाख सहयोग गर्नेलाई संरक्षक, रु सात लाख सहयोग गर्नेलाई सम्मानार्थ संरक्षक, रु एक लाख सहयोग गर्नेलाई आजीवन सदस्य, रु ५० हजार सहयोग गर्नेलाई वरिष्ठ सदस्य र रु ५० हजारभन्दा कम सहयोग गर्नेलाई क्याम्पससभा सदस्य प्रदान गर्ने क्याम्पसले जनाएको छ । म्याग्दीको पश्चिम क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाका कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सदरमुकाम वा जिल्लाबाहिर थप अध्ययनका लागि जानुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न क्याम्पसको पूर्वाधार अभियानमार्फत सङ्कलित आर्थिकबाट बाबियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गासमेत खरिद गरी क्याम्पसको भवन, प्रशासनिक भवन, छात्रावाससहितको संरचनासमेत बनेको छ । हाल यहाँ शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तहमा दुई सय ४० जना विद्यार्थी अध्ययनरत छन् ।

