काठमाडौं: नेपालका तराई क्षेत्रमा महत्वका साथमा मनाइने छठपर्व अमेरिकामा पनि मनाइएको छ । नेपालीको बाहुल्यता रहेको अमेरिकाका न्यूयोर्क, मेरिल्याण्ड, भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, पेन्सलभेनिया, ओहायोलगायत राज्यमा स्थानीय मन्दिरमा गएर नेपालीले छठपर्व मनाइएका हुन् । मेरिल्याण्डको जर्मनटाउनमा रहेको नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टरले संयोजन गरेको छठ पर्वमा बिहीबार साँझ सन्ध्याकालमा अर्घ दिने नेपालीको बाक्लो उपस्थिति थियो । आयोजकका अनुसार स्थानीय समय अनुसार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिनेछ । आयोजक मोहन यादवले विभिन्न स्थानमा छठको लागि ठाउँ चयन गर्नु परेकामा विगत केही वर्षदेखि नेपालीले स्थापना गरेको मन्दिरमा मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले बिहीबार व्रर्तालुले तीन दिनसम्म उपवास बसेर छठी माताको पूजा गरेका भन्दै यसमा युवा पुस्तालाई पनि सहभागी गराइएको जानकारी दिनुभयो । यादवले भन्नुभयो, “हामीहरूले यो प्रवासी भूमिमा हाम्रो सनातन धर्मको मूल्य मान्यता र यसको वैज्ञानिक कारणसहित दोस्रो पुस्तालाई छठ मनाउन उत्प्रेरित गरिरहेका छौँ । अमेरिकामा नेपाली रहेको स्थानमा कतिपयले आफ्नै घरमा, समूहमा मिलेर तथा मन्दिरमा गएर छठ पर्व मनाउने गरेका छन् ।”
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक भोलि बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ । बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । “हामी आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछौँ । उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढङ्गबाट छलफल गर्छौँ ।”सह–महामन्त्री बुर्लाकोटीले भन्नुभयो,“बैठकमा पार्टीको रानीतिक, साङ्गठनिकलगायत समसामयिक विषयमा छलफल हुनेछ ।”
गुल्मीः गुल्मीको क्षेत्र रेसुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्र्दताका कारण पर्यटकको आकर्षण बढ्दै गएको हो । जिल्लामा आउने जोकोही पनि एक पटक रेसुङ्गामा नपुगी फर्कदैनन् । धार्मिक एवं पर्यटकीय दृष्टीकोणले पनि रेसुङ्गा आफैमा एउटा अद्भूत ऐतिहासिक एवं प्राकतिक क्षेत्र पनि हो । केही समय अघिसम्म सडक र यातायातको सहज पहुँच नहुँदा यस क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा परेको थियो । यस क्षेत्रमा पछिल्लो समय चारैतिरबाट सडककको सहज पहुँच पुगेको छ । जङ्गलकोमध्य भागहुँदै कालोपत्र सडकबाट यात्रा गर्दा यहाँ घुम्न आउनेहरु निकै रमाइलो आनन्द मान्ने गर्दछन् । पछिल्लो समयमा यहाँ आन्तरिक पर्यटनसँगै बाह्य पर्यटकको पनि मुख्य रोजाइको क्षेत्र बनेको छ । फ्रान्स, जर्मन, जापान, कोरिया, अमेरिका, बेलायत जस्ता देशबाट यहाँ घुम्नका लागि आउने गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताउनुभयो । रेसुङ्गा क्षेत्रको यज्ञशाला नजिकै रहेको ‘भ्यूटावर’बाट माछापुच्र्छे, धौलागिरि जस्ता सुन्दर हिमालको दृश्यले पर्यटकको मन लोभ्याइ दिन्छ । गत वर्षदेखि गुल्मीको सदरमुकाम तम्घास नजिकै सिमिचौरबाट हवाई सेवा सञ्चालनमा आएपछि जिल्लामा पर्यटन प्रवद्र्धनका लागि थप टेवा पुगेको रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरले बताउनुभयो । गुल्मीमा आउने पर्यटकलाई नगरपालिकाले स्वागत गर्ने र उनीहरुलाई यस क्षेत्रमा रहेका पर्यटकीयस्थल घुम्नका लागि प्रेरित गर्ने कामको थालनी गरेको छ । नगरपालिकाले गत वर्षदेखि सञ्चालन गरेको ‘जाउँ हिँड रेसुङ्गा’ अभियानले पनि जिल्लाको पर्यटन प्रवद्र्धनमा थप मद्दत पुगेको उपप्रमुख कुँवरले बताउनुभयो । हालै नेपाल भ्रमणको क्रममा नेपाल एरलायन्सको टुइनेटर जहाजमार्फत गुल्मीको रेसुङ्गा विमानस्थल आइपुगेका फ्रान्सेली पर्यटक यहाँको प्राकृतिक सौन्दर्यता देखेर आफुरुलाई भिन्नै रमाइलो अनुभव भएको सुनाउनुभयो । उनीहरुलाई नगरपालिकाले रेसुङ्गा क्षेत्रको भ्रमण गराएको थियो । रेसुङ्गा क्षेत्रको भ्रमणपछि उनीहरुले अन्य साथीहरुलाई पनि यहाँ घुम्न आउनका लागि निम्तो दिने बताउनुभयो । भ्रमणमा आएका फ्रान्सेली नागरिक आबेल र कृस्तिनले आफुहरुलाई गुल्मी जिल्ला निकै सुन्दर लागेको बताएका थिए । उनीहरुले यहाँका डाँडापाखा र वनजङ्गल सहितकोे प्राकृतिक सौन्दर्यता र संस्कारलाई यसैगरि बचाइ राख्न नगरपालिकालाई आग्रह गरेका थिए । गुल्मीको विविध प्राकृतिक सौन्दर्यतासँगै स्थानीय कला र संस्कृति हेर्नका लागि पहिलो पटक गुल्मी आइपुगेको उनीहरुको भनाइ थियो । मदाने गाउँपालिका अन्तर्गत अरबिन्द्र आश्रमका गुरु रामचन्द्र दासको संयोजनमा १२ जना फ्रान्सेली पर्यटक योग साधना गर्न र यहाँको पर्यटकीय क्षेत्रको भ्रमणका लागि अरबिन्द्र आश्रम पुगेका छन् । १ महिनाको भ्रमणमा नेपाल आएका फ्रान्सेली पर्यटक गुल्मीको मदाने गाउँपालिका अन्तर्गत सिर्सेनीमा रहेको अरबिन्द्र आश्रमको योग साधना गर्ने र त्यसपछि पाल्पा, पोखरा र बन्दिपुरहुँदै काठमाडौँ फर्कने आश्रमका गुरु रामचन्द्र दासले जानकारी दिनुभएको छ । जिल्लामा आउने पर्यटक रेसुङ्गा क्षेत्रसँगै, विचित्र गुफा, कालीगण्डकीलगायत ठाउँको भ्रमण गरि फर्कने गर्दछन । जिल्लामा आउने बाह्य पर्यटकलाई रेसुङ्गा नगरपालिकाले विमानस्थलमै पुगेर स्वागत गर्ने गर्दछ ।
चितवनः यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्रि सेवा सुरु गरिएको हो । यसका लागि आवश्यकपर्ने उपकरण रु एक करोड ५० लाखमा खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि सेवा सुरु गरिएको हो । उहाँका अनुसार एक जना डाक्टर र एकजना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो । तालिमप्राप्त जनशक्ति र उपकरण आएसँगै सेवा सुरु गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार यसअघि यो परीक्षण धेरै भारत पठाउने गरिन्थ्यो । केही नमूना काठमाडौँ जाने गर्दथ्यो । नतिजा आउन १५ दिनभन्दा बढी समय लाग्ने गरेकोमा अहिले पाँच दिनमा नतिजा आउने गरेको उहाँले जानकारी दिनुभयो । बाहिर पठाउँदा रु ३० हजारभन्दा बढी खर्च हुने गरेकोमा यहाँ परीक्षण हुँदा रु १२ हजार मात्रै लाग्ने गर्दछ । अस्पतालमा रक्त क्यान्सरका बिरामी धेरै नै हुने भएकाले बिरामीलाई सहज भएको छ । उहाँले भन्नुभयो “छिटो रोग पहिचान गर्न पनि सहज भएको छ ।” कार्यकारी निर्देशक डा पौडेलले अस्पतालका सेवा विस्तार गर्ने कार्यमा आफू लागिरहेको बताउनुभयो । अस्पतालमा थन्किएर बसेको सिटी स्क्यान मर्मत गरेर सञ्चालनमा ल्याइएको छ,भने लामो समयदेखि रोकिएको मेमोग्राम सेवा छिट्टै सञ्चालनमा ल्याइदै छ ।
पर्सा: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताउनुभएको छ । परिवारका सदस्यसहित आज वीरगञ्जको घडीअर्वा पोखरीका छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिने कार्यक्रममा सहभागी हुँदै महामन्त्री थापाले तराई–मधेसको छठ पर्व सहभागी हुने रहर पहिलादेखि भए पनि यसपाली पूरा भयो भन्नुभयो । “तराई–मधेसको छठ पर्व हेर्ने पहिलादेखि नै मन थियो । हिजो साँझ सूर्य अस्ताउँदो समयमा जनकपुरको छठ हेर्ने अवसर मिल्यो । आज उदाउँदो सूर्यका अवसरमा वीरगञ्जको छठ पर्व हेर्न पाइयो”, उहाँले भन्नुभयो, “यहाँको छठ पर्व निकै व्यवस्थित र भव्य लाग्यो । एकदमै आनन्दको अनुभूति भयो ।” महामन्त्री थापाले काठमाडौँको भन्दा तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताउनुभयो । “काठमाडौँको कमलपोखरीमा हामी आफैँ संलग्न भएर छठ पूजा गर्न थालेको त १२–१३ वर्ष भइसक्यो । छठपर्वसँग जोडिएको विधि र उत्साहका विषयमा त जानकार नै छु”, उहाँले भन्नुभयो, “विगतमा हामीले सञ्चालन गरेकाले पनि थाहा नै छ ।” महामन्त्री थापाले जनकपुर र वीरगञ्जमा छठ पर्वको आआफ्नै विशेषता रहेको पनि बताउनुभयो । “सुरुआती चरणमा वीरगञ्जको घडीअर्वा पोखरीको गेटभित्र छिर्नेबित्तिकै त सजावट देखेर आनन्द लाग्यो । यहाँ त अनुमान गरेकोभन्दा पनि धेरै आकर्षक बनाइएको रैछ”, उहाँले भन्नुभयो, “काठमाडौँको कमलपोखरीमा पनि सजावट हुने गरे पनि त्यहाँकोभन्दा भव्य र सभ्य रहेको पाए ।”
भोजपुरः भोजपुरमा किरात संस्कृतिलाई बचाउन साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पराम्परातगत रुपमा गरिँदै आएका प्रचलनको संरक्षणसँगै संस्कार संस्कृतिलाई नयाँ पुस्तासम्म पुयाउने लक्ष्यले भोजपुरको टेम्केमैयुङ–४ नागीले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । किरात रीतिरिवाजको संरक्षणसँगै संस्कार संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउने लक्ष्यले ५ दिने साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको टेम्केमैयुङ–४ का वडाध्यक्ष हर्कराज राईले बताउनुभयो । प्रशिक्षण कार्यक्रममा ६० जनाले सहभागिता जनाएका छन् । मुख्य रुपमा तीन वटा सिलीको प्रशिक्षण गरिएको हो । आधुनिक प्रविधिको विकाससँगै पराम्परागत चलन लोप हुने खतरा बढ्दै गएकाले नयाँ पुस्तालाई जागरुक गराउन प्रशिक्षण दिएको उहाँले बताउनुभयो । “किरात संस्कृतिको संरक्षण तथा विकास गर्ने लक्ष्यले साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हौँ”, वडाध्यक्ष राईले भन्नुभयो, “पुर्खाले गरी ल्याएको चलनलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन यसले भूमिका खेल्नेछ ।” परीक्षण कार्यक्रममार्फत आप्तुवारुङ सिली, चासुम सिली र तायामा खियामा सिलीको विषयमा मुख्य रुपमा जानकारी दिइएको प्रशिक्षक शरणबहादुर राईले बताउनुभयो । यस्ता प्रशिक्षण कार्यक्रमले भाषा, संस्कार सस्कृतिको संरक्षण गर्दै पुुर्खाले मान्दै आएका चलनको संरक्षण तथा विकासको टेवा पुग्ने उहाँको भनाइ छ । “पछिल्लो अवस्थामा युवायुवतीले आफ्नो चालचलन रहनसहनलाई भुल्दै गएको अवस्था छ”, उहाँले भन्नुभयो, “जसका कारण पुराना चलन लोप हुने खतरा बढ्दै गएको छ । नयाँ पुस्तालाई अद्यावधिक गराउन साखेवा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर आवश्यक ज्ञान सीप प्रदान गरेका छौँ ।” सहभागीलाई श्रव्य, दृश्य तथा अभ्यास गराएर विभिन्न किरात सिलीको महत्व तथा नाच्ने तरिका बारेमा प्रशिक्षण दिइएको किरात राई वान्तावा खिम भोजपुरका अध्यक्ष लालबहादुर वान्तवा राईले बताउनुभयो । किरात रीतिरिवाजसम्बन्धी ज्ञान भएका पुराना पुस्ता सकिँदै गइरहेकाले भावी पुस्तालाई आफ्नो संस्कारप्रति सक्रिय बनाउन कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ । वडाको पहलमा गरिएको प्रशिक्षण कार्यक्रमले भाषा, संस्कार, संस्कृतिको संरक्षण टेवा पुग्ने सहभागीले बताएका छन् । विभिन्न अवसरमा साखेवा सिली नाचिने भए पनि कतिपयले यसको महत्वको तथा नाच्ने तरिका नजानी नाच्ने गरेकाले प्रशिक्षण कार्यक्रम गरिएको आयोजकले जनाएको छ । वडाले रु १ लाख ४० हजार बजेट विनियोजन गरेर किरात राई वान्तावा भाषा तथा संस्कार र साखेवा सिली प्ररिक्षण कार्यक्रम सञ्चालन गरेको हो । भाषा, संस्कार संस्कृतिहरु लोप हुँदै गएको अवस्थामा वडाले सञ्चालन गरेको कार्यक्रम प्रशंसायोग्य रहेको स्थानीयवासीको भनाइ छ ।
काठमाडौँः गीतकार दिनेश अधिकारी, सङ्गीतकार अशोक राई (भारत) र गायक अर्जुन रसाइली (अमेरिका)लाई यस वर्षको अम्बर गुरुङ स्मृति पुरस्कार प्रदान गरिएको छ । गायक एवं सङ्गीतकार पेमा लामाको प्रमुख आतिथ्यमा दार्जिलिङको मिरिकमा गत मङ्गलबार आयोजित कार्यक्रममा अम्बर गुरुङ सालिक संरक्षण समितिले गीतकार अधिकारीलाई रु ५१ हजार नगद र ताम्रपत्रसहितको पुरस्कार प्रदान गरेको हो । त्यस अवसरमा गीतसङ्गीत र गायन क्षेत्रका आवद्ध व्यक्ति एवं कलाकारले स्वर्गीय गुरुङका गीत प्रस्तुत गरेर उहाँप्रति सम्मान प्रकट गर्नुभएको थियो । समितिका अध्यक्ष शीला लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल, भारत, भुटान र अमेरिकाका साहित्य साधकहरूको उपस्थिति थियो ।
काठमाडौँः स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु २ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु १ लाख ६४ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ६६ हजार ५ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बिहीबार प्रतितोला रु १ हजार ९ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार नौ सय ८० निर्धारण भएको छ ।
काठमाडौँः समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक भोलि हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भोलि शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सहभागी हुन सचिवालय सदस्यहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्माकुमारी अर्याललाई पत्राचार गरिएको जानकारी उहाँले दिनुभयो ।

