पोखरा: कास्कीको लेखनाथमा आयोजित २५औं आदर्श कप फुटबल प्रतियोगिता २०८१ को उपाधि कास्की जिल्ला फुटबल संघ (एन्फा) कीले हात पारेको छ । लेखनाथको भण्डारढीक स्थित लेखनाथ रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरी बललाई २–१ को गोल अन्तरले पराजित गर्दै कास्कीले उपाधि जित्न सफल भएको हो । खेलको ४६ औ मिनेटमा शसस्त्रका प्रविन स्याङतानले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए भने ८१ औं मिनेटमा कास्कीका युनिस भण्डारीले गोल फर्काउँदै खेललाई बराबरीमा पु¥याएका थिए । तर त्यसको ६ मिनेटमै कास्कीका संगम ठकुरीले दोश्रो गोल थप्दै जित सुनिश्चत गरेका थिए । त्यसपछि पनि बारम्बार पाएको गोल गर्ने मौकालाई सदुपयोग गर्न नसक्दा सशस्त्रले उप विजेतामा चित्त बुझाउनु परेको छ । च्याम्पीयन बनेको कास्कीले उपाधिसँगै नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने उपविजेता सशस्त्र प्रहरी बल गण्डकी प्रदेशले नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा उत्कृष्ट मिडफल्डरमा कास्की ११ का अंकित गुरुङ,सर्वाधिक गोलकर्तामा सशस्त्रका प्रविन साङते, उत्कृष्ट डिफेन्डरमा सशस्त्र कै सन्तोष श्रेष्ठ,उत्कृष्ट गोलरक्षकमा कास्की ११ का आयुस गुरुङ, उत्कृष्ट कोचमा कास्कीका योगेन्द्र थकाली र उत्कृष्ठ खेलाडीमा कास्की कै अनिस तामाङ पुरस्कृत भएका हुन् । प्रतियोगितामा गण्डकी प्रदेशबाट ८ टिमको सहभागिता रहेको थियो । विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै संघिय सासंद मन बहादुर गुरुङले खेललाई ब्यवसायिक र प्रस्तावित लेखनाथ रंगशालालाई पोखराको बैकल्पीक रंगशालाको रुपमा विकास विकास गराउन पहल गर्ने वताएका थिए । आयोजक आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको संचालन सचिव सन्तोष गुरुङले गरेका थिए भने धन्यवाद ज्ञापन क्लवका सस्थापक अध्यक्ष चेत बहादुर गुरुङले गरेका थिए । ‘निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ संचालित प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको थियो ।
म्याग्दी: ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान सुरु गरेको छ । वयट्ली फन्ड फर नेचर (डब्लुएफएन) अवार्डको सहयोगमा यहाँका विद्यालय र समुदायस्तरमा उक्त अभियान सुरु गरिएको ‘प्रकृतिका साथीहरू’ संस्थाका लाटोकोसेरो संरक्षणदूत आयुष ढुङ्गानाले जानकारी दिनुभयो । अभियन्ता ढुङ्गानाका अनुसार अङ्ग्रेजीमा ‘आउल’ भनिने यो पक्षी किसानको साथी हुँदाहुँदै पनि हेपिएको पक्षी मानिन्छ । आकारमा सानो र ठूलो हुने यस पक्षीको सानो प्रजातिलाई लाटोकोसेरो र ठूलोलाई हुचिल भनिन्छ । दिउँसो यिनको हेर्ने क्षमता कमजोर हुन्छ । ठूलाठूला आँखा हुने यो प्रजातिको तीनवटा परेला हुन्छन् । यो चराको बासस्थान तराईदेखि हिमालसम्म पाइन्छ । अभियानअन्तर्गत विभिन्न विद्यालय र समुदायस्तरमा जनचेतना शिविर आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । अर्का अभियन्ता तथा लाटोकोसेरो संरक्षण दूत सुदर्शन पराजुलीले लाटोकोसेरोको संरक्षण गर्न जङ्गलका पुराना र बूढा रुख जोगाउनुपर्ने, गुलेली प्रतिबन्धित क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो । पराजुलीले संसारभर दुई सय ५० प्रजातिका लाटोकोसेराको अभिलेख गरिएको र नेपालमा २३ प्रजाति भेटिएको बताउनुभयो । एउटा लाटोकोसेरोले फूल पारेर बच्चा हुर्काउने बेलासम्म तीन हजार मुसा खाने भएकाले यिनलाई किसानको साथी भनिने उहाँले जानकारी दिनुभयो । प्रकृतिलाई सन्तुलित राख्न लाटोकोसेरोको उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ । पछिल्लो समय चोरीसिकारीका कारण यसको सङ्ख्या दिनप्रतिदिन घट्दै गएको छ । लाटोकोसेरो संरक्षणका लागि वार्षिक लाटोकोसेरो तथा हुचिल उत्सवसमेत हुँदै आएको छ । लाटोकोसेरोलाई धनकी देवी लक्ष्मीको बाहनका रूपमा पनि लिइन्छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति पौडेलले किरात समुदायका मुलतः राई, लिम्बू, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला सिली (नृत्य) गर्दै विविध कार्यक्रमका साथ मनाउने उल्लेख गर्नुभएको छ । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने स्पष्ट पार्दै उहाँले भन्नुभएको छ, “यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै सह होस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।” प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किरात समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको उहाँको भनाइ छ । विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको राष्ट्रपतिको कथन छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न सहयोग गरेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससहित पुनः उधौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।
तनहुँ: आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन् । पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताउनुभयो । स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको उहाँले जानकारी दिनुभयो । साथै उहाँले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आगह गर्नुभएको छ । यसअघि चोकचिसापानीमा एउटा खोर राखिएको थियो । गत शुक्रबार चोकचिसापानीमा दुईवटा चितुवा देखिएका थिए । एउटा चितुवालाई लामो समयसम्म रुखमा देखिएकोे स्थानीय प्रशन्न अधिकारीले बताउनुभयो । यसैबीच, वन कार्यालयले राति घरगोठ उज्यालो राख्न, एक्लै नहिँड्न, बच्चा तथा वृद्धको विशेष ख्याल गर्न अनुरोध गरेको छ ।
काठमाडौं: मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउनुहुन्छ । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ । भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली ९नाच०सहित पर्व मनाउछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । सानो हात्तीवनमा आज पूजाआजा सहित किरात चाड विशेष रूपमा मनाइन्छ । पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलता अनुरुपका कामका रूपमा समेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताउनुभयो । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिन्छ । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ ।
सिरहा: पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ । सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा८च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो । प्रहरीले खोजतलासका कारमा गाँजा फेला पारेको हो । कारका चालक फरार छन्भने ठक्कर दिने ट्रकका चालकलाई हिरासतमा लिइएको छ ।
महिलातर्फ गाण्ड स्पोर्टस काठमार्डौलाई उपाधि पोखरा: पोखरामा सम्पन्न भएको प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि बेनी नगरपालिकाले जितेको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा आज (शनिबार) सम्पन्न भएको पुरुषतर्फको फाइनल खेलमा बेनी नगरपालिकाले पर्वतको जलजला गाउँपालिकालाई ६७–५५ अङ्कले पराजित गर्दै उपाधि चुमेको हो । पहिलो र दोस्रो क्वाटरमा पछि परेको बेनी नगरपालिकाले उत्कृष्ट पूनरागमन गर्दै उपाधि जितेको हो । पहिलो क्वाटरमा १४–२१, दोस्रो क्वाटरमा २६–३७ तेस्रो क्वाटरमा ४५–४९ ले पछि परेको बेनीले चौथो क्वाटरमा ४९–४९ को बराबरी ग¥यो । पहिलो क्वाटरमा ७, दोसो क्वाटरमा ११ र तेस्रो क्वाटरमा ४ अङ्कले पछि परेको बेनीले चौथो क्वाटरमा उत्कृष्ट पूनरामगन गर्दै ६७–५५ ले खेल जितेको हो । गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको पुरुष तर्फको विजेता बेनी नगरपालिकाले नगद १ लाख १५ हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । यस्तै प्रतियोगितामा उपविजेता भएको पर्वतको जलजला गाउँपालिले नगद ७० हजारसहित शिल्ड, मेडल र प्रमापत्र प्राप्त ग¥यो । प्रतियोगितामा तेस्रो भएको पोखरा महानगरपालिकाले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर बेनीका ओमकार रकाल, बेस्ट अफेन्सीप प्लेयर जलजलाका उत्तम पुन र एमभिपी प्लेयर बेनीका दिप्पस केसी भए । उनीहले जनही १५–१५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगितामा पर्वतका मोदी गाउँपालिका अनुशासित टिम घोषित हुँदै नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । यस्तै महिलातर्फ भएको ३*३ को उपाधि भने काठमाडौंको गाण्ड स्र्पोटस टिमले जितेको छ । आयोजक अन्नपूर्ण गाउँपालिका बास्केटबल संघलाई १४–८ अङ्कले पराजित गर्दै उपाधि जितेको हो । यस्तै महिलातर्फको विजेता ग्राण्डले ३० र उपविजेता अन्नपूर्णले १५ हजार रुपैयाँसहित शिल्ड,मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर अन्नपूर्णका कुशुम गुरुङ र एमभिपी प्लेयर छिरिङ चोक्का शेर्पा र एमभिपी प्लेयर ग्राण्ड रिङजिन मोक्तान भए उनीहरुले जनही १५÷१५ सय पुरस्कार प्राप्त गरे । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंगशाामा मंसिर २५ देखी २९ गतेसम्म प्रथम अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता भएको थियो ।
काठमाडौं: भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ । आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा कार्यरत धुव्रप्रसाद सापकोटासँग जोडिएको एक मुद्दामा अनुसन्धान गरिरहेको थियो । मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा स्थलगत मुचुल्का र आरोपीको बयानसमेत भइसकेको छ । अनुसन्धानको क्रममा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेका थिए । अनुसन्धान अधिकृतले आफैँले खाम खोल्न आग्रह गरेका थिए । सापकोटाले बोकेको हरियो रङ्गको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्को खामभित्र रु एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी रु एक लाख रकम रहेको आयोगले जनाएको छ । अनुसन्धान अधिकृतले यो केको पैसा हो ? भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए । सापकोटाले आयोगका अनुसन्धान अधिकृतलाई घूस दिने उद्देश्यले ल्याएको उक्त रकमसहित पक्राउ गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । आयोगको कञ्चनपुर कार्यालयबाट शुक्रबार सापकोटालाई घूस रकमसहित पक्राउ गरिएको हो ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न भएको मत गणनामा माधव बराल १ सय ५ मतसहित निर्वाचित भए । उनका निकटम प्रतिस्पर्धी राजेन्द्र अधिकारीले ९६ मत ल्याए । शुक्रबार सम्पन्न भएको मतदानमा २ सय २० मतदाता मध्य २ सय ५ जनाले मतदान गरेका थिए । महासंघको उपाध्यक्षमा माधप प्रसाद रेग्मी निर्वाचित भए । रेग्मीले ९० उनका प्रतिस्पर्धी श्रीराम सिग्देलले ७७ र कमल पौडेल‘अथक’ले ३५ मत ल्याए । महिला उपाध्यक्षमा १ सय ९ मतसहित कञ्चन थापा निर्वाचित भईन् । उनकी प्रतिस्पर्धी विना कुमारी थापाले ८७ मत ल्याईन् । सचिवमा १ सय २ मतसहित भुपाल गुरुङ निर्वाचित भए । उनका प्रतिस्पर्धी सन्देश श्रेष्ठले ९८ मत ल्याए । यस्तै समावेशी सहसचिवमा १ सय २६मत सहित धनबहादुर गुरुङ (सुमन) निर्वाचित भए । उनका प्रतिस्पर्धी दिलप्रसाद गुरुङले ७२ मत ल्याए । खुल्ला सचिवमा मधु अधिकारी १ सय १८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी श्रीभद्र पौडेलले ८० मत ल्याए । कोषाध्यक्षमा राजाराम पौडेल १ सय १७ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी सुरेश अधिकारीले ८० मत ल्याए । गाहामगरलाई सर्वाधिक मत नेपाल पत्रकार महासंघ कास्की शाखाको खुल्ला सदस्यमा सुनगाभा न्यूजका सम्पादक अर्जुन गाहामगर (सुशान्त) सर्वाधिक मतसहित निर्वाचित भए । उनले १ सय ५१ मत ल्याए । कसले कति मत ल्याए ? (मत परिणामसहित) सदस्य (खुला) अर्जुन सुशान्त गाहा: १५१ गौरव त्रिपाठी: १४३ चिरञ्जिवी पौडेल: ८२ तुलसीराम सुवेदीः १०७ दीपक श्रेष्ठ: १०३ निराजन अधिकारी: १०६ पुष्पराज दाहाल: १०४ बालकुमारी पौडेल: १२९ विष्णु गौतम: ८८ राजु गिरी:१३२ रिखिराम जि.सी: ११७ सन्तोष सुवेदी: १२८ सन्दीप पौडेल: १०३ राष्ट्रिय परिषद सदस्य अमृतराज उपाध्याय: ५० आरजु सल्यानी मनहनकुमार विष्ट: १२४ ऋषिराम बराल: ५० कृष्ण दवाडी: ८९ कृष्णमणि बराल:१०९ दिननाथ बराल:११६ भरत कोईराला: १०८ मानबहादुर घर्ती: ८१ राजबहादुर गुरुङ: १०८

