पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजित पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको सुरु भएको छ । चैँपर लेम भाईखलक घान्द्रुकको आयोजनामा पोखरा महागनरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आजदेखि पहिलो संस्करणको प्रदीप मेमोरियल बास्केटबल प्रतियोगिता सुरु भएको हो । उक्त प्रतियोगिता अन्र्तगत खुल्ला पुरुषतर्फ आज ६ खेल सम्पन्न भएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार आज भएको पहिलो खेलमा छोम्रोङ रातोले एमवाइसी घान्द्रुकलाई ५८–४० अङ्कले पराजित गर्यो । दोस्रो खेलमा मर्दी खोलाले छोम्रोङ सेतोलाई ४१–२१ अङ्कले पराजित गर्यो । यस्तै तेस्रो खेलमा टिम ख्याङले रामघाट बीलाई ७०–२३ अङ्कले पराजित गर्यो । चौथो खेलमा कास्की बास्केटबल एकेडेमीको अनुपस्थितिमा वाकओभरमार्फत बेगा गाउँ विजयी बन्यो । पाँचौ खेलमा पुन युनाटेड नदीपुरले अघौँ पुनमगर समाजलाई ७२–३५ अङ्कले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो । छैटौं खेलमा छोम्रोङ रातोले मनकामना क्लब दीपलाई ७०–३७ अङ्कले पराजित गर्दै छोम्रोङ रातो क्वाटरफाइनलमा प्रवेश गरेको अर्जुन गुरुङले जानकारी दिए । उनका अनुसार भोलिपनि पुरुषतर्फकै खेलहरु हुनेछन् । प्रतियोगितामा खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । यसअघि प्रतियोगिताको उद्घाटन अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिम बहादुर गुरुङले गरे । सो अवसरमा बोल्दै स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा सञ्चालित प्रतियोगिताले उनको आत्मालाई शान्ति मिल्ने विश्वास व्यक्त गरे । उनले फरक प्रसंगमा बोल्दै उक्त प्रतियोगिताले प्रतिभावान तथा उदीयमान खेलाडीलाई अवसर मिल्ने बताउदै बास्केटबल खेलको विकास हुने धारणा राखे । वडाध्यक्ष गुरुङ आगामी दिनमासमेत सो प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । सो प्रतियोगिताको पुरुषतर्फको विजेता टोलीले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टरार्ईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताउनुभएको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उहाँले शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताउनुभयो । “३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो”, उहाँले भन्नुभयो, “हामीले ती स्थानीय तहका प्रमुखलाई नियमित रूपमा तलबको व्यवस्था गर्न निर्देशन दिएका छौँ । ” साथै उहाँले विद्यालय शिक्षकको दरबन्दी पुनरावलोकन गरिने बताउनुभयो । बाल विकास शिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न कार्यदल गठन भएको जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले बुझाएको प्रतिवेदन अपूर्ण भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः छानबिन गर्नुपर्नेमा जोड दिनुभएको बताउनुभयो । “आयोगको म्याद हामीले दुईपटक थप गर्यौँ । तर आयोगले बुझाएको प्रतिवेदनमा अझ धेरै काम गर्न बाँकी रहेको देखिएको छ”, उहाँले भन्नुभयो,– “आयोगको प्रतिवेदनका आधारमा धेरै जग्गा खोज्नुपर्ने स्थिति छ । ” शिक्षा विधेयकमा दफावार छलफल समितिमा विद्यालय शिक्षा विधेकय,२०८० मा दफावार छलफल पूरा भएको छ । समिति सदस्य सुमना श्रेष्ठले शिक्षण पेसालाई आकर्षक बनाउनुपर्नेमा जोड दिँदै शिक्षकलाई नियमित रूपमा मासिक तलब दिनुपर्ने बताउनुभयो । अर्की सदस्य ज्ञानु बस्नेत सुवेदीले निःशुल्क शिक्षालाई कार्यान्वयन गर्नुपर्छ भन्नुभयो । दफावार छलफलमा समिति सदस्यहरू वीना जैसवाल, विनिताकुमारी सिंह र रामप्रकाश चौधरीले भाग लिनुभएको थियो । विधेयकमा समितिका सदस्यहरुले एक सय नौ वटा संशोधन प्रस्तुत गर्नुभएको थियो ।
पोखरा: पोखरामा आगामी शनिबार लोक गायक कृष्ण थापामगर एकल साँझ हुने भएको छ । नेपाल मगर साँस्कृतिक संघ कास्कीको आयोजनामा लोक गायक कृष्ण थापामगर एकल साँझ हुन लागेको हो । संघले आज (मंगलबार) पोखरामा सम्मेलन गर्दै एकल साँझबारे जानकारी दिएको हो । नेपाल मगर साँस्कृतिक संघ कास्कीका अध्यक्ष सरिता सारु मगरले यही शनिबार (पुष ६) गते लोक गायक कृष्ण थापा मगर एकल साँझ आयोजना गरेको बताईन् । ‘नेपाल मगर साँस्कृतिक संघ कास्कीको आयोजनामा यही पुष ६ गते शनिबार कृष्ण थापा मगर एकल साँझ आयोजना गरेका छौं, अध्यक्ष सारु मगरले भनिन्, ‘हामीले यो भन्दा अगाडि पनि खड्का गर्बुजा एकल साँझ सम्पन्न गरी सकेका छौं, एकल साँझबाट आउने रकम हामीले सामाजिक सेवामा खर्च गर्दै आएका छौं ।’ उनले मौलिक लोक गीत जर्गेना गर्ने अभिप्रायले विगत लामो समयदेखि नेपाली मौलिक लोक गायनको क्षेत्रमा लोक गायक थापमगरको योगदान रहेको बताइन् । वि.स. २०२५ साल तनहुँ बसन्तपुर गाविस ३ मा जन्मिएका थापामगरले २०४५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए । लोक गायक थापामगरले २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालद्धारा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ । पार्टीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोमप्रसाद पाण्डेयले राससलाई जानकारी दिनुभयो । सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुख सङ्गठन विभाग प्रमुखमा बेदुराम भुसाल, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुख घनेन्द्र बस्नेत, मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ । यसैगरी, पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडालाई सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला सङ्घ समाजवादीको इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेस प्रदेश इञ्चार्ज, उपाध्यक्ष गङ्गालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मा दिइएको छ । उपमहासचिव राजेन्द्र राईलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिव, उपमहासचिव गरिमा शाहलाई संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीलाई लुम्बिनी इञ्चार्जको जिम्मा दिइएको छ । सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्जको जिम्मेवारी दिइएको छ । युवा विभागको इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई प्रदान गरिएको उपाध्यक्ष खतिवडाले बताउनुभयो
कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार महासङ्घको निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको आज धनगढीमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पदस्थापन कार्यक्रममा उहाँले अन्योलताका बीचमा पत्रकार महासङ्घले केन्द्रदेखि जिल्लासम्म आफ्ना निर्वाचन पूरा गरेर पुनः एकचोटी लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको बताउनुभयो । “लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्ने सन्दर्भमा तपाईँ हाम्रो यस्तै प्रयत्न, प्रयास र पद्धतिबाट हामीले सबै संरचनालाई अगाडि लैजाने प्रयत्न गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “जसरी विशेष गरी अहिलेको संरचना निर्माण भएको छ र त्यसको प्रभाव स्वभाविक रुपमा सबै सङ्गठनमा पर्ने नै हो, तर त्यो पर्दै गर्दा नेपाली जनतालाई एउटा सन्देश दिएको छ, अब यो मुलुकमा राजनीतिक स्थिरता, विकास र समृद्धिका सवालमा यो निर्वाचनले पनि अहिले मुलुकमा भएको सत्ता गठबन्धनको जुन लक्ष्यप्रतिको जुन मार्ग छ, यसलाई जनताका बीचमा विश्वास दिलाउन वातावरण बनाउने एउटा सन्देश दिएको छ ।” फरक प्रसङ्गमा मुख्यमन्त्री शाहले अहिलेको वर्तमान सरकारका नेतृत्वबीचमा भएको समझदारी निरन्तर अगाडि बढेर जाने बताउनुभयो । उहाँले भन्नुभयो, “यसमा एकताका प्रक्रिया, सहमतिका प्रक्रिया, समझदारीका प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता र पद्धतिलाई स्थापित गर्ने सन्दर्भमा पनि पत्रकारको अहिलेको निर्वाचनले मुलुकमा जनतालाई राम्रो सन्देश दिएको मैले विश्वास लिएको छु ।”
जुम्ला: हिमा गाउँपालिका–१ स्थित बड्की गाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरिएको छ । स्वास्थ्य सेवा प्रभावकारी सञ्चालन गर्न गाउँपालिकाले बड्कीगाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८०÷८१ को वार्षिक विनियोजित कार्यक्रमअनुसार बड्की स्वास्थ्यचौकीमा रु ३८ लाख लगानीमा पक्की भवन निर्माण गरिएको हो । पुरानो साँघुरो भवनबाट बर्थिङ सेन्टर, सामान्य जाँचदेखि अन्य सेवा दिइरहेको स्वास्थ्यचौकीलाई पूर्वाधार अभावले सेवा प्रवाहमा कठिनाइ भएको थियो । गाउँपालिका अध्यक्ष शाहीले भन्नुभयो, “भौगोलिक रुपमा विकट र सदरमुकामभन्दा टाढा रहेका हिमाका थुप्रै बस्ती स्वास्थ्यचौकीबाटै विभिन्न स्वास्थ्य सेवा लिइरहेका छन् । “आर्थिकरुपमा विपन्न नागरिकका लागि स्वास्थ्यचौकी ठूलो अस्पताल हो । दैनिक धेरैले सेवा लिन्छन्, तर पूर्वाधार अभावले साँघुरो संचरनाबाट सेवा दिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरेका छौं, पालिका भित्रका सबै,स्वास्थ्य संस्थालाई पूर्वाधार र उपकरणमा सम्पन्न बनाउने पालिकाको लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो, “गत आवको विनियोजित रु ३८ लाख बजेटबाट बोलपत्र आह्वान भई भवन निर्माण भएको छ ।”
नेपालगञ्ज: प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट, नाइट्राजेपाम र ४३६ ट्याब्लेट ट्रामाडोलसहित १६ जना ओसारपसारकर्तालाई पक्राउ गरेको जानकारी दिएको छ । जिल्लाभरबाट अवैध तस्करी बरामदतर्फ रु नौ लाख ३३ हजार ७६० बराबरको अवैध सामग्रीसमेत बरामद भएको र बरामद गरिएको सबै सामग्रीलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले मङ्सिरमा ५४ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । उनीहरुलाई ७ वर्ष २ महिना २० दिन कैद र रु ८ लाख ६३ हजार ८०० जरिवाना असुल उपर गरिएको प्रहरीले जनाएको छ । प्रहरीले बाँकेमा दर्ता भएका जम्मा ८४ मुद्दामा ५२ व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएकामा पर्खाइमा रहेका ३८ मुद्दालाई फछर्यौट गरिएको जानकारी दिएको छ । ठाडो उजुरीतर्फका ४२८ मुद्दामा ४१६ फछर्यौट भएको र १२ वटा बाँकी निवेदन फछर्यौट प्रक्रियामा रहेका छन् । जिल्लाभरमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने चार ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएर रु ४६ हजार जरिवाना गराइएको छ । जिल्ला प्रहरी कार्यालयमा महिला बालबालिकासँग सम्बन्धित छ मुद्दा दर्ता हुँदा छ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छभने घरेलु हिंसासम्बन्धी दर्ता भएका ५० उजुरीमा ३६ उजुरी फछर्यौट गरिएको छ । १४ उजुरी अनुसन्धानको प्रक्रियामा रहेको प्रहरीले जानकारी दिएको छ । हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फको १० निवेदनमा छ जनालाई फेला पारी अभिभावकको जिम्मा लगाइएको र बाँकी खोजतलासको क्रममा रहेका छन् । ट्राफिक प्रहरीको कारबाहीतर्फ मङ्सिरमा मात्रै दुई हजार ८८६ सवारी साधनलाई कारबाही गर्दै रु २४ लाख ७१ हजार ५०० राजस्व सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले मङ्सिर २८ गते मात्रै १५० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको थियो ।
काठमाडौं: नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत इलिमिनेटर खेलमा कर्णाली याक्स चितवन राइनोजलाई २१ रनले पराजित गर्दै प्रतियोगिताको दोस्रो क्वालिफायरमा पुगेको छ । यस जितसँगै कर्णाली याक्सले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित टोलीसँग बिहीबार खेल्नेछ । पहिलो क्वालिफायर खेल आज दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । यस खेलको विजेता टोली भने प्रतियोगिताको फाइनमा पुग्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज कर्णाली याक्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको चितवन राइनोज निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५४ रनमा समेटियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३४ बल खेल्दै ३ चौका र ४ छक्काको सहयोगमा ५३ रन बनाएका हुन ।त्यसैगरी कप्तान कुशल मल्लले २१ रन बनाए भने विपिन रावलले १८ रन जोडे । लुक बेनकिस्टेनले १६ रन बनाए भने शरद भेषवाकरले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ कर्णाली याक्सका जिसन मोक्सुदले तीन विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान २÷२ विकेट लिए । त्यस्तै विपिन शर्माले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १७५ रनको योगफल बनाएको थियो । कर्णालीका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३९ बलमा छ चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाएका हुन् । त्यसैगरी विल बसिस्टोले ५२ रन बनाउँदा चाडविक वाल्टनले अविजित ४६ रन जोडे । त्यस्तै जिसन मक्सुदले १४ रन बनाए । चितवनका लागि सोहिल तन्वीरले २ विकेट लिए भने शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले समान १÷१ विकेट लिए । यसअघि भएको लिग चरणको खेलमा पनि कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको थियो ।
बागलुङ: निसीखोला गाउँपालिका–३ को बोहोरा गाउँमा गर्भवती र सुसारेलाई लक्षित गरी प्रतीक्षा घर सञ्चालनमा आएको छ । बोहोरागाउँ स्वास्थ्यचौकी भवनसँगै सञ्चालनमा ल्याइएको प्रतीक्षा घरमा टाढाबाट आउने गर्भवती र सुसारे लाभान्वित भइरहेका छन् । गर्भवती सुत्केरी हुनुपूर्व अनिवार्य रूपमा कम्तीमा आठ पटक गर्भ परीक्षण गराउनुपर्ने र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनुपर्ने प्रावधान भएकाले टाढाबाट आउने सेवाग्राहीको सहजताका लागि प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्वास्थ्यचौकीकी अनमी ताराकुमारी चन्दले बताउनुभयो । “टाढाबाट आउनेहरू यसअघि आफन्त वा होटलमा बस्ने गर्दथे । प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भ परीक्षण गराउन, सुत्केरी हुन आउनेहरूलाई खाने, बस्ने समस्या छैन”, उहाँले भन्नुभयो । उक्त प्रसूति प्रतीक्षा घरमा एकपटक चार जनासम्म बस्न मिल्ने श्ययासहित अन्य सामग्रीको व्यवस्थापन गरिएको अनमी चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार यो घरमा खाना पकाउने सामग्री, ग्यासको चुल्हो, स्वच्छ खानेपानीका साथै बाहिर विभिन्न सन्देशमूलक सामग्री लेखिएका छन् । गत वर्ष १ सय ७ जनाले सेवा लिएका बताउँदै चालु आवको ५ महिनामा ५२ जनाले सेवा लिइसकेका चन्दले जानकारी दिनुभयो । “सुत्केरी हुने १÷२ दिनअघि यहाँ आएर बस्दा जोखिम कम हुने भएकाले गर्भवतीलाई सोहीअनुसार सुझाव दिँदै आएका छौँ”, उहाँले भन्नुभयो । सदरमुकामबाट एक सय २० किमी पश्चिममा पर्ने दुर्गम गाउँ भएकाले गर्भवती र सुरारेको सहजताका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्थानीय सिनियर अनमी तिला मल्लले बताउनुभयो । प्रसूति व्यथाले च्यापेपछि मात्रै स्वास्थ्य संस्था धाउनुपर्ने समस्या अन्त्य गर्न, प्रसूतिको अवस्थामा आउने जोखिम कम गर्न, आमा र शिशुलाई स्वस्थ राख्न यो भवन उपयोगी बन्दै गएको उहाँले उल्लेख गर्नुभयो । केही समस्या देखिएमा तत्काल सुविधा सम्पन्न अस्पताल पठाउन पाइने भएकाले गर्भवती र सुसारेलाई एक÷दुई दिनअगावै प्रतक्षिा घरमा आएर बस्न आग्रह गर्दै आइएको स्वास्थ्यचौकीका प्रमुख टोपबहादुर चन्दले बताउनुभयो । “नियमित गर्भ परीक्षण गर्नेहरूमा पनि प्रसूतिको समयमा जोखिम आउनसक्ने भएकाले १÷२ दिनअघि यहाँ आएर बस्न स्वास्थ्यकर्मीमार्फत सुझाव दिन थालेका छौँ”, उहाँले भन्नुभयो । सिनियर अनमी मल्लले यहाँ आउने अधिकांश महिलाको स्वास्थ्य अवस्था जोखिम हुने बताउँदै ती महिलाको स्वास्थ्य जोखिम कम गराउन र समयमा उपचार उपलब्ध गराउन प्रतीक्षा घर प्रभावकारी माध्यम बन्दै गएको उल्लेख गर्नुभयो । “जतिसुकै स्वस्थ भए पनि प्रसूति अवस्थालाई सामान्य मान्न हुँदैन । गर्भवती र सुत्केरी अवस्थामा जुनसुकै बेला पनि जोखिम आउन सक्छ । यसतर्फ सबै सचेत भई स्वास्थ्य प्रोटोकलअनुसार नियमित गर्भ परीक्षण गर्नु र समयमा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनु प्रभावकारी उपाय हो”, उहाँले भन्नुभयो । यो स्वास्थ्यचौकीमा आइपुग्न वडाभित्रबाट तीनदेखि चार घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था छ । “गत वर्ष समयमा स्वास्थ्य संस्थामा आउन नसकेकी एक जनाले प्रसूतिका क्रममा ज्यान गुमाउनुुभयो । उहाँको समस्या देखेपछि स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले नियमित गर्भ जाँच गर्न र प्रसूति गराउन अनिवार्य रूपमा १÷२ दिनअघि स्वास्थ्य संस्थामा रहेको प्रतीक्षा घरमा आएर बस्न सुझाव दिँदै आएका छन्”, स्वास्थ्यचौकीका प्रमुख चन्दले भन्नुभयो । निसीखोला गाउँपालिकाको रु तीन लाख आर्थिक सहयोग तथा फेयरमेड फाउण्डेसन र विवाइसी बागलुङले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाको रु २ लाख ५० हजार लगानीमा उक्त प्रतीक्षा घर निर्माण गरी सञ्चालनमा ल्याइएको हो । चारवर्ष अघि निर्मित यो घरमा सुरुमा कोही नआए पनि पछिल्लो समय अधिकांश गर्भवती आउन थालेका स्वास्थ्यचौकीका प्रमुख चन्दले बताउनुभयो।पछिल्लो समय बडिगाड गाउँपालिका–२ को खरवाङ, हटिया स्वास्थ्यचौकी भवनमा एउटा कोठा छुट्टाएर प्रतीक्षा घर बनाइएको छ । अधिकांश स्वास्थ्य संस्थामा यो प्रयास सुरु भएको बताउँदै आगामी दिनमा प्रत्येक स्वास्थ्यचौकीमा प्रतिक्षा घर अनिवार्य गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो ।

