काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स ९युएई० का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवासमा आज भएको उक्त भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरीको दोस्रो साता दुबईमा आयोजना हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाउनुभएको निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्धका साथै पारस्परिक हित र चासोका साझा विषयमा छलफल भएको थियो ।  साथै उहाँहरुबीच यसअघि भएका द्विपक्षीय सम्झौताको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन प्रवद्र्धनबारे पनि छलफल भएको थियो ।   

ललितपुर:    नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का उपाध्यक्ष पम्फा भुसालले देश र जनताका पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।   नेपाल पत्रकार महासङ्घ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उपाध्यक्ष भुसालले पत्रकारिता क्षेत्र जनतालाई सुसूचित गर्ने महत्वपूर्ण पेसा भएकाले निष्पक्ष भएर समाजलाई  सत्मार्ग लाग्न प्रेरणा दिनुपर्ने बताउनुभयो ।    “ सूचना तथा सञ्चार प्रविधिको विकाससँगै पत्रकारिताको दायरा पनि फराकिलो हुँदै गएको छ, नागरिकस्तरमा पनि पत्रकारिताको अभ्यास हुन थालेकाले समाजलाई सही बाटोमा हिँडाउनका निष्पक्ष पत्रकारिता हुनुपर्छ”, उहाँले भन्नुभयो ।    संविधानप्रदत्त अधिकार उपयोग गरेर सामाजिक परिवर्तनमा सञ्चारकर्मी लाग्नुपर्नेमा जोड दिँदै पूर्वमन्त्री भुसालले समाजमा व्याप्त विकृति, विसङ्गति एवं राज्यका गलत कार्यलाई खबरदारी गर्न पत्रकारहरू निर्भीकतापूर्वक लाग्नुपर्छ भन्नुभयो ।    शाखाका अध्यक्ष रामहरि कार्कीले महासङ्घलाई एकताबद्ध बनाएर जनताका पक्षमा पैरवी गर्ने जिम्मेवारीप्रति आफू प्रतिबद्ध रहेको बताउनुभयो ।  

नवलपरासी:    चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन गरेकोे छ ।   निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्यअन्तर्गत बाघसँग सम्बन्धित कसुरमा एक, अनुमतिबिना बँदेल पाल्ने दुई, बिनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३०, माछा मार्ने २३ , परेवा मार्ने एक र बिनाअनुमति निकुञ्ज प्रवेश गरी निउरो टिप्ने ८ जनालाई निकुञ्जले पक्राउ गरेको हो । निकुञ्जभित्र प्रवेश गर्ने तथा नियमविपरीत काम गर्ने व्यक्तिलाई पक्राउ गरी नियमानुसार कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । यसबीचमा वन्यजन्तुको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय र सहकार्य अभिवृद्धि गर्नका लागि सरोकारवालासँग छलफल गरिएको उहाँको भनाइ छ ।  पछिल्लो डेढ महिनामा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने विभिन्न स्थानमा दुईवटा गैँडा तथा एउटा बाघ मृत भेटिएको सूचना अधिकारी मगरले जानकारी दिनुभयो ।  गत मङ्सिर ७ गते मझुवा मध्यवर्ती सामुदायिक वनको क्षेत्रभित्र नारायणी नदीको दोस्रो भङ्गालोमा अन्दाजी ३१ वर्षको पोथी गैँडा पानीमा डुबेर मृत्यु भएको अवस्था तथा १३ गते निकुञ्जको धु्रव पोष्ट नजिक करिब ३५ वर्षको पोथी गैँडा कालगतिले मरेको अवस्थामा फेलापरेको उहाँले बताउनुभयो ।  कालगतिले मरेका दुवै गैँडा कालगतिको खाग र खुर सुरक्षित रहेको उहाँको भनाइ छ ।त्यस्तै मङ्सिर १६ गते अमलटारी सेक्टरअन्तर्गत नवलपुरको नन्दपुरघाटमा ६ वर्षीय बाघ मृतावस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो ।  अर्को बाघसँग जुधेर उक्त बाघ मरेको मगरको भनाइ छ । यसअवधिमा गैँडाको आक्रमणमा परी २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।  कात्तिक २० गते कृष्णसार मध्यवर्ती सामुदायिक वन प्रवेश गर्ने क्रममा जिल्ला नवलपुरको कावासोती–७ का ६५ वर्षीय चुनबहादुर बोटे र मङ्सिर ८ गते नवलपुरकै मध्यविन्दु–६ का ६५ वर्षीय नाथुराम महतोलाई खेतबारीमा आलु लगाउने क्रममा गैँडाले आक्रमण गर्दा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।  निकुञ्जले वन्यजन्तु संरक्षण अभियानअन्तर्गत समुदायसँग सहकार्य गरी काम गरिरहेको भन्दै जाडो महिनामा अझै व्यवस्थित रूपमा अभियान चलाउने उहाँको भनाइ छ । 

काठमाडौं:     सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको हो । कर्णालीका लागि कोल्सावालाले सर्वाधिक ५३ रन जोडे । उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । एनपिएल डेब्यु खेल खेलिरहेका कोल्सावालाले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । अर्धशतक बनाए लगत्तैको अर्को ओभरमा कोल्सावाला रवि बोपाराको बलमा शरद भेषवाकरद्वारा समातिए । विलियम बोसिस्टोले ३९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे । एनपिएलको आफ्नो दोस्रो अर्धशतक बोसिस्टोले ३७ बलमा पूरा गरे । अर्धशतक बनाए लगत्तै बोसिस्टो सोहेल तन्भिरको बलमा बोल्ड आउट भए । उनले यस अघि लिग चरणको खेलमा विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका थिए । चाल्डिक वाल्टन २२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन जोड्दै नट आउट रहे । देव खनाल ३ बलमा ३ रन जोड्दै रन आउट भए । दोस्रो ओभरको पहिलो बल सामना गर्ने क्रममा रित गौतम आउट भएका हुन् । इनिङको पहिलो बल सामना गर्ने क्रममा रित सोहेल तन्भिरको बलमा विकेटकिपर विपिन रावलबाट समातिए । जिशान मक्शुदले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडे । मक्शुद शरद भेषवाकरको बलमा रञ्जित कुमारबाट क्याच भए । शरदको प्रतियोगितामा यो पहिलो विकेट हो । चौधौं ओभरको चौथो बलमा गुलशन झा रनको खाता नखोल्दै कप्तान कुशल मल्लको बलमा बोल्ड आउट भए । चितवनका लागि सोहेल तन्भिरले २ तथा रवि बोपारा, शरद भेषवाकर र कुशल मल्लले समान १ विकेट लिए । लिग चरणको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो । यो खेलको विजयी टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग बिहीवार खेल्नेछ । पहिलो क्वालिफायर आज दिउँसो १ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।

पोखरा:   मादी गाउँपालिकाका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ ले विभिन्न २ विद्यालयका जेहेन्दार विद्यार्थीलाई लत्ताकपडा सहयोग गरेको छ ।   गत असोजमा ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ मा सम्पन्न सांगीतिक कार्यक्रममार्फत संकलित रकममध्ये केही रकमको लत्ताकपडा मादी गाउँपालिका ७ को बाल पदम र मादी ६ को शिव शक्ति प्राविका ४३ जना विद्यार्थीलाई टोपी र स्वेटर सहयोग गरेको हो ।   उक्त समाग्री विद्यालय व्यस्थापन समितिका अध्यक्ष बोधराज बराल र प्रध्यानाध्यापक कलाधर सापकोटा र पदम सापकोटालाई द ट्रान्सिट रिसोर्टका सञ्चालक नर गुरुङ, आशिष गुरुङ र सुवास गुरुङले सँयुक्त रुपमा हस्तान्तरण गरे ।    सो अवसरमा बोल्दै विद्यालय परिवारले आभार प्रकट गर्दै आगामी दिनमासमेत समाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।   मादी गाउँपालिका ३ ज्याम्दु (तानतिङ जाने रुट) मा नर गुरुङ, आशिष गुरुङ र सुवास गुरुङले ‘द ट्रान्जिट रिसोर्ट’ सञ्चालन गर्दै आएका छन् । उक्त रिसोर्ट क्याम्पिङका लागि लोकप्रिय छ ।     व्यवसायीक लाभसँगै सामाजिक कार्य गर्ने उद्देश्यसहित ‘द ट्रान्सिट फायर एण्ड क्याम्प’ को सञ्चालक टिमले सहयोगको अभियान चलाएको युवा व्यवसायी नर गुरुङ बताए ।   ‘हामीले व्यावसायीक लाभ मात्रै होइन । समाजिक क्रियाकलापमा पनि प्रत्यक्ष सहयोग र योगदान पुर्याउने भनेर नै यो अभियान चलाएका हौं ।’ गुरुङले भने ।   उनका अनुसार पहिलो चरणमा मादी गाउँपालिका ७ को श्री बाल पदम र मादी ६ को श्री शिव शक्ति प्राविका ४३ जना विद्यार्थीलाई टोपी र स्वेटर प्रदान गरिएको हो ।   अब अर्काे चरणमा बाँकी अन्य विद्यालयमा सहयोग गने योजना रहेको उनले बताए ।         

काठमाडौँ:  नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटर खेलमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेको छ ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिदै​ फिल्डिङमा रहेका छन् ।, भने कर्णालीलाई ब्याटिङको निम्तो दिएका छन् ।    अहिले पहिलो इनिङ्सको खेल चलिरहेको छ ।   यस खेलको विजयी टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग भोलि खेल्नेछ ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो १:०० बजे हुनेछ ।

पोखराः   तमु समुदायको मुख्य पर्व ल्होछार/ल्हाेसारकाे अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव हुने भएको छ ।   बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी पुष १५ देखि २१ गतेसम्म २६ औं संस्करणको ल्होछार उत्सव आयोजना गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए ।   उनका अनुसार घलेल ल्होछार उत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, प्रौढ भलिबल, ठेलो, रस्साकस्सी, सामुहिक नृत्य, घोडा दौड लगायतका प्रतियोगिता समावेश गरिएको छ ।   अध्यक्ष गुरुङले गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६५ हजार र उपविजेतालाई नगद ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।    सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ  । यसैगरी सर्वाेत्कृष्ट हुने खेलाडीलाई गो बन्जी नेपालबाट बन्जी जम्प गर्ने अवसर प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।     उनका अनुसार गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागि जनाउन ५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।   यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । टिम दर्ता गर्न शुल्क २५ सय रुपैयाँ तोकिएको खेल संयोजक गणेश बिसीले जानकारी दिए ।    उनका अनुसार प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने, सहभागी हुन एक समुहलाई ३ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।   घोडा दौड प्रतियोगिताको विजेताले नगद रु ४० हजार र उपविजेताले २० हजार, सान्त्वना स्थान हाँसिल गर्नेले १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागी हुन ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ ।    यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।    ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला कुर्ची दौड प्रतियोगिता र घैटो फुटाउने प्रतियोगिताको विजेता र उपविजेताले आर्कषक पुरस्कार प्राप्त गर्नेछन् ।    मेलामा विभिन्न समुदायमा प्रचलित साँस्कृतिक नृत्य, लोक तथा दोहोरी कलाकारहरुले विशेष प्रस्तुती दिने आयोजकले जनाएको छ ।  

काठमाडौं:    पाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ । सचिवालयमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने व्यवस्था गरिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।  पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधनका लागि सुझाव सङ्कलनसहित प्रतिवेदन पेस गर्न नेता प्रकाश ज्वालाको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ । कार्यदल सदस्यमा राजन राई, बलदेव चौधरी, गरिमा साह, गणेश विक, रामचन्द्र यादव र घनप्रसाद गौतम हुनुहुन्छ । यस्तै, बैठकले पार्टीलाई जनतासँग जोड्नका लागि जनसङ्घर्षका अभियान सञ्चालन गर्ने र पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ ।  बैठकले पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको र आगामी निर्वाचनमा देशभर एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको सचिव पाण्डेले बताउनुभयो । कार्ययोजनामा आगामी दिनमा सैद्धान्तिक, वैचारिक र साङ्गठनिक कामलाई तीव्रता दिने उल्लेख छ ।  बैठकले राष्ट्रिय ‘एजेन्डा’मा सबै दलसँग सहकार्य गर्ने र तत्काल कुनै पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ ।  नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनका लागि तल्लो तहदेखि नै सुझाव सङ्कलन गरी आएका सुझावलाई अध्ययन गरी टुङ्ग्याउने निर्णय गरिएको जनाइएको छ । 

काठमाडौं:    अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि भएको छ ।      गत कात्तिकमा घर जग्गाको कारोबारबाट रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजश्व सङ्कलन भएकामा मङ्सिरमा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएको हो ।      मङ्सिरमा देशभर ४३ हजार तीन सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।  यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले रु ३३ करोड ९५ लाख दुई हजार आठ सय ७३ बराबरको राजश्व सङ्कलन गरेको छ ।      काठमाडौँ उपत्यकामा नौ वटा मालपोत कार्यालय छन् । तीमध्ये मालपोत कार्यालय कलङ्कीले रु २६ करोड ५७ लाख २५ हजार चार सय २५, मालपोत कार्यालय चाबहिलले रु २२ करोड ५८ लाख २३ हजार आठ सय १५, साँखुले रु सात करोड ५० लाख २२ हजार छ सय २९, मनमैजुले रु सात करोड २६ लाख ३४ हजार दुई सय ३३, टोखाले रु सात करोड १२ लाख ४५ हजार सात सय ६५ बराबरको राजश्व सङ्कलन गरेको  छ ।      यस्तै, मालपोत कार्यालय विराटनगरले रु १० करोड ४९ लाख १० हजार तीन सय ९१, मालपोत कार्यालय चितवनले रु ३५ करोड ९८ लाख ३१ हजार एक सय ८४ बराबरको राजश्व सङ्कलन गरेको छ ।      विभागमा अनुसार मङ्सिरमा सेवा कर रु २६ करोड छ लाख २५ हजार छ सय ९०, रजिष्टे«शन दस्तुर रु दुई अर्ब ६३ करोड ७८ लाख १२ हजार तीन सय ४० बराबर संकलन गरेको छ । त्यस्तै, रु एक अर्ब ३१ कोड ६३ लाख ४३ हजार सात सय १४ बराबरको पुँजीगत लाभकर सङ्कलन गरेको छ ।