नवलपरासी: एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ । गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो । तिलमायाको शव नेपाल ल्याउन भएको ढिलाइका बारेमा गत फागुन १ गते राससमा ‘छोरीको शव ल्याउन भौँतारिइरहेकी ७० वर्षीय आमा’ शीर्षकमा समाचार प्रकाशित भएपछि प्राथमिकताका साथ पहल भई शव नेपाल ल्याउन लागिएको हो । रोजगारीका लागि मलेसिया जानुभएकी २५ वर्षीय तिलमायाको हत्या भएपछि परिवारले शव पनि पाएको थिएन भने राहत रकमका लागि कागजात पूरा गर्न पनि सकेको थिएन । श्रीमान्सँग सम्बन्धविच्छेद गरेर छ वर्षीय छोरी आमाको जिम्मा लगाएर मलेसिया जानुभएकी तिलमायाको पाकिस्तानी नागरिकले हत्या गरेका थिए । छोरी तिलमायाको हत्या भएको खबर पाएदेखि नै शव नेपाल ल्याउनका लागि ७० वर्षीय आमा धनमाया सार्की विभिन्न निकाय धाउनुभएको थियो । तर पनि हत्याको अनुसन्धान नसकिएको भन्दै मलेसियाबाट शव नेपाल पठाउन आनाकानी गरिएको थियो । शव ल्याउन ढिलाइ हुँदा परिवारले पाएको दुःखबारे विभिन्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन भएपछि यस विषयले प्राथमिकता पाएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो । “लामो प्रयासपछि शव नेपाल ल्याउन लागिएको छ । तिलमायाको शव बोकेको विमान सोमबार दिनको साढे १२ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गर्ने जानकारी पाएका छौँ”, उहाँले भन्नुभयो, “शव बुझ्नका लागि तिलमायाकी दिदी नीलमाया सार्की आइतबार काठमाडौँ जानुभएको छ ।” मलेसियादेखि काठमाडौँ शव ल्याउँदाको खर्च मलेसियन कम्पनीले नै व्यहोर्ने भएको छ । शव सोमबार साँझसम्ममा तिलमायाको माइतीघर नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–४ हसौरामा आइपुग्ने लम्सालले जनकारी दिनुभयो । “वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने निःशुल्क शवबहानमार्फत काठमाडौँबाट घरसम्म शव ल्याइने छ”, उहाँले भन्नुभयो, “आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिएकाले सोमबार नै शव घर आइपुग्ने छ ।” लामो समयसम्म प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा तिलमायाकी वृद्धा आमा र नाबालिका छोरी तड्पिरहनुभएको थियो । जसरी भए पनि छोरीको शव नेपाल ल्याउन आमा धनमाया ११ महिनादेखि वडा कार्यालय र नगरपालिका धाउने गर्नुभएको थियो । तिलमायाको हत्या भएको खबरलगत्तै तत्काल सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउन आग्रह गर्दा पनि ढिलाइ भएपछि राससमार्फत समाचार प्रकाशन गरिएको थियो । मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुने भएकाले अनुसन्धान सकेर शव पठाउन ढिलाइ भएको जानकारी आएको सुरक्षित आप्रवासन केन्द्र परामर्शदाता लम्सालले बताउनुभयो । वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ । “तिलमायाको परिवारले पाउने आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिइसकिएको र बाँकी कागजपत्र शवसँगै आउने हुँदा पछि बुझाइने छ”, लम्सालले भन्नुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ४६औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न थालेको बताउनुभयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजे बस्ने छ ।
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकममा घाँस काट्न गएका एक वृद्धको रुखबाट खसेर ज्यान गएको छ । स्थानीय ६० वर्षीय थमन खत्रीको घरबाट करिब एक किलोमिटरको दुरीमा रहेको जङ्गलमा खनियाको रुखबाट खसेको अवस्थामा स्थानीयले फेला पारेको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । स्थानीयले खबर गरेपछि आइतबार साँझ ताकम प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेको प्रनाउ श्रेष्ठको भनाइ छ । वृद्धको घटनास्थलमै मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धानमा घाँस काट्ने क्रममा रुखबाट खसेको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भक्तपुर: राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ । परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना छन् ।” कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ । यस पटकको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् । यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ । चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्धितियको परीक्षा सञ्चालन हुनेछ । लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छभने चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए ।
पोखरा: पोखराको सेदी बसपार्कमा समिर बडाललाई धारिलो हतियार प्रहार गर्ने मनिष ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१८ सेदीबसपार्कमा हिजो साँझ मनिषले समिरलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । सेदी बसपार्कमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको खवरपछि अस्थायी प्रहरी विट सेदीबाट खटिएको प्रहरीको टोलीले पोखरा–१७ विरौटा बस्ने २२ वर्षीय मनिष ठकुरीलाई धारिलो हतियार (खुँडा)सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । धारिलो हतियार प्रहारबाट घाइते भएका २० वर्षीय समिर उपचारपछि डिस्चार्ज भएको कास्की प्रहरीले जनाएको छ । मनिषले लागूऔषध कारोबारमा कुरा नमिल्दा समिरलाई खुँडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (ई–कमर्स)को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकले‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिनुएको थियो । त्यस क्रममा उहाँले सार्वजनिक संस्थानको संरक्षण गर्ने दायित्व सबैको भएको तथा सदनमा प्रतिनिधित्व गरेका ठूला सबै पार्टी पालैपालो सरकारमा रहेकाले सार्वजनिक संस्थान घाटामा जाँदा त्यसको जिम्मेवारी पनि ती दलले लिनुपर्ने बताउनुभयो । “दुग्ध विकास संस्थान (डिडीसी०ले दूध र दुग्ध उत्पादन नगदमा बेच्छ तर संस्थान घाटामा छ, डेलिगेसन अर्थ मन्त्रालयमा आउँछ, अहिले पनि दूधको भुक्तानी बाँकी छ, हालै संस्थानलाई रु ५० करोड दिइएको छ तर पनि घाटामा छ, जमिन सरकारको नाममा राखेर व्यवस्थापन निजी क्षेत्रलाई दिने वा अरु त्यस्तै केही व्यवस्था गर्न सकिन्छ, हेटौँडा सिमेन्ट घाटामा छ, यसलाई नाफामा जाने गरी सञ्चालन गरिनुपर्छ”, उहाँले भन्नुभयो । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरु डा प्रकाशशरण महत, विमला सुवेदी, डा अमरेशकुमार सिंह, शक्तिबहादुर बस्नेत, अब्दुल खान, दिलेन्द्रप्रसाद बडू, जुलीकुमारी महतो, उर्मिला माझी, दुर्गा राई, अहमद खान, लालप्रसाद साँवा, महेन्द्रबहादर शाही, प्रेम सुवाल, लेखनाथ दाहाल, मनिष झा र नारायणी शर्माले भाग लिनुभएको थियो । सार्वजनिक संस्थानलाई व्यावसायिक एवं प्रतिस्पर्धी बनाएर तिनको कार्यक्षमता वृद्धि,रोजगारीका अवसर सृजनामा तिनको उपयोग, निजी, सार्वजनिक साझेदारीलाई यसले प्रवर्द्धन गर्ने, विराटनगर जुट मिल, कृषि औजार कारखानालगायत सार्वजनिक संस्थानमा निजी, सार्वजनिक साझेदारीका साथै स्थानीयवासीको पनि सहभागिता बढाउने तथा तिनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभएको थियो ।
काठमाडौं: अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सकुशल पुगेको छ । नौ महिनाभन्दा बढी समयदेखि आइएसएसमा फसेका दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा ल्याउन उक्त यानलाई अन्तरिक्षमा पठाइएको थियो । यो यानमा १० यात्रीलाई पठाइएको थियो । दुबै यानको भेटपछि उनीहरूले अन्तरिक्षमा फसेका दुई यात्री बुच विल्मोर र सुनी विलियम्ससँग भेट गरी आपसमा खुशी साटेका छन् । स्पेसएक्सको रकेट अन्तरिक्ष यात्रीहरूलाई प्रत्यक्ष टिभीमा शून्य गुरुत्वाकर्षणमा आफ्ना समकक्षीहरूलाई अँगालो हालेको टेलिभिजनबाट प्रत्यक्ष प्रशारित फुटेजमा देखाइएको थियो। आफ्नो पहिलो चालक दलयात्रामा परीक्षण गरिरहेको बोइङ स्टारलाइनर अन्तरिक्ष यानले उनीहरूलाई पृथ्वीमा फिर्ता उडान गर्न असमर्थ भएपछि बुच विल्मोर र सुनी विलियम्स गत जुनदेखि कक्षीय प्रयोगशालामा फसेका थिए । त्यसपछि विल्मोर र विलियम्सको यात्रा नौ महिनासम्म लम्बिएको हो । यो लगभग छ महिनाको अन्तरिक्ष यात्रीहरूको लागि मानक आईएसएस रोटेशन भन्दा धेरै लामो भएको छ। तर यो सन् २०२३ मा नासाका अन्तरिक्ष यात्री फ्रान्क रुबियोले बनाएको ३७१ दिनको अमेरिकी अन्तरिक्ष रेकर्ड वा मिर अन्तरिक्ष स्टेशनमा लगातार ४३७ दिन बिताएका रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको विश्व रेकर्डभन्दा छोटो हो । तैपनि, आफ्नो परिवारबाट लामो समयसम्म टाढा रहनुको अनपेक्षित प्रकृतिले उनीहरूप्रतिको चासो र सहानुभूति बढाएको छ। उनीहरूले यति लामो समयका लागि अतिरिक्त लुगाफाटा र व्यक्तिगत हेरचाहका सामानहरूसमेत साथमा लगेका थिएनन् । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सकुशल पुगेको छ । नौ महिनाभन्दा बढी समयदेखि आइएसएसमा फसेका दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा ल्याउन उक्त यानलाई अन्तरिक्षमा पठाइएको थियो । यो यानमा १० यात्रीलाई पठाइएको थियो । दुबै यानको भेटपछि उनीहरूले अन्तरिक्षमा फसेका दुई यात्री बुच विल्मोर र सुनी विलियम्ससँग भेट गरी आपसमा खुशी साटेका छन् । स्पेसएक्सको रकेट अन्तरिक्ष यात्रीहरूलाई प्रत्यक्ष टिभीमा शून्य गुरुत्वाकर्षणमा आफ्ना समकक्षीहरूलाई अँगालो हालेको टेलिभिजनबाट प्रत्यक्ष प्रशारित फुटेजमा देखाइएको थियो। आफ्नो पहिलो चालक दलयात्रामा परीक्षण गरिरहेको बोइङ स्टारलाइनर अन्तरिक्ष यानले उनीहरूलाई पृथ्वीमा फिर्ता उडान गर्न असमर्थ भएपछि बुच विल्मोर र सुनी विलियम्स गत जुनदेखि कक्षीय प्रयोगशालामा फसेका थिए । त्यसपछि विल्मोर र विलियम्सको यात्रा नौ महिनासम्म लम्बिएको हो । यो लगभग छ महिनाको अन्तरिक्ष यात्रीहरूको लागि मानक आईएसएस रोटेशन भन्दा धेरै लामो भएको छ। तर यो सन् २०२३ मा नासाका अन्तरिक्ष यात्री फ्रान्क रुबियोले बनाएको ३७१ दिनको अमेरिकी अन्तरिक्ष रेकर्ड वा मिर अन्तरिक्ष स्टेशनमा लगातार ४३७ दिन बिताएका रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको विश्व रेकर्डभन्दा छोटो हो । तैपनि, आफ्नो परिवारबाट लामो समयसम्म टाढा रहनुको अनपेक्षित प्रकृतिले उनीहरूप्रतिको चासो र सहानुभूति बढाएको छ। उनीहरूले यति लामो समयका लागि अतिरिक्त लुगाफाटा र व्यक्तिगत हेरचाहका सामानहरूसमेत साथमा लगेका थिएनन् ।
म्याग्दी: समुदायस्तरबाट चन्दा सङ्कलन गरेर म्याग्दीको मौरिस हर्गोज र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्शा तयार पारिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधारशिविर जोड्ने मौरिस हर्गोज, पर्वतको जलजला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलहरू समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्शा बनाएका हुन् । सरकारी निकायको आर्थिक सहयोगबिनै पर्यटनकर्मी चित्र तिलिजा पुन र लुकेश तिलिजा पुनले दुई वटै पदमार्गको पछिल्लो अवस्था समेटेर तयार पार्नुभएको नक्शा शनिबार बेनीमा सार्वजनिक गरिएको छ । संविधानसभा सदस्य गोविन्द पौडेल, प्रतिनिधिसभाका पूर्व सदस्य भूपेन्द्रबहादुर थापा, नेकपा (एमाले) म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापति कृष्णप्रसाद बरूवाल, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० धान्द्रुकका प्रमुख भीम उपाध्याय र म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले नक्शा सार्वजनिक गर्नुभयो । “पुरानो नक्शामा अहिले थपिएका पूर्वाधार र सुविधाको जानकारी नहुँदा नयाँ नक्शा बनाउनुपर्ने आवाज उठेपछि समुदायस्तरबाट उठाएको रू छ लाख खर्चेर दुई वटा पदमार्गमा पर्ने सबै स्थानमा पुगेर नयाँ नक्शा तयार पारेका हौँ,” चित्र तिलिजाले भन्नुभयो, “होटल सुविधा र गन्तव्यको विशेषता सहितका जानकारी समेटिएको नयाँ नक्शा बजारमा पठाइसकेका छौँ । पर्यटन व्यवसायी, पथप्रदर्शक र पर्यटकलाई सहज हुनेछ ।” सरकारी निकायको झञ्जटिलो प्रक्रिया पूरा गर्नुभन्दा समुदायको सहयोग जुटाएर नक्शा बनाएर राज्यलाई सहयोग गरिएको नक्शा निर्माणकर्ता तिलिजाद्वयले बताउनुभयो । नक्शा तयार पार्न यहाँका होटल व्यवसायी र विदेशमा रहेका म्याग्देलीले सहयोग गरेका छन् । यसअघि तयार पारिएको नक्शा पूर्ण नभएकाले यसपाली सबै समेटेर नक्शा बनाइएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरूङले बताउनुभयो । ७५ वर्षअघि फ्रान्सेली आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमाल चढ्ने क्रममा हिँडेको पदमार्गलाई मौरिस हर्जोग नामकरण गरिएको छ । नारच्याङदेखि अन्नपूर्ण हिमालको आधारशिविर जोड्ने यो पदमार्ग तीनदेखि पाँच दिनमा यात्रा गर्न सकिन्छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बाँसखर्क, डाँडाकटेरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागी, मोहरेडाँडा, खोपारा र खयर बराह ताल समेटिएको अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग एक हप्तादेखि १० दिनसम्म यात्रा गर्न सकिन्छ ।

