ढोरपाटन: बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो । सात वडा रहेको निसीखोलामा वडा नं ५ र ६ मा मात्र खाम भाषा बोल्ने गरिन्छ । अन्य वडामा भने नेपाली भाषामै पाठ्यपुस्तक तयार गरेर लागू गरेको निसीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य वडाका विद्यालयमा पढाइ हुने विषयवस्तु एउटै भए पनि दुई वटा वडाका १६ विद्यालयमा ‘मगर खाम भाषा’ पाठ्यपुस्तक पढाइ हुने गरेको छ । पालिकाभर ४५ विद्यालय भए पनि २९ विद्यालयमा नेपाली भाषमा पढाइ हुने उहाँले बताउनुभयो । अहिले कक्षा १ मा स्थानीय पाठ्यपुस्तक लागू गरेको भन्दै शैक्षिकसत्र २०८२ मा कक्षा २ र ३ मा पनि पठनपाठन गराउने शाखा प्रमुख न्यौपाने बताउनुहुन्छ । सोहीअनुसार पाठ्यपुस्त छपाइको काम भइरहेको उहाँले जानकारी दिनुभयो । न्यौपानेले भन्नुभयो, “निसीखोलामा विभिन्न जातजातिका बसाइ छ, यहाँ खासगरी वडा नं ५ र ६ मा मगर खाम भाषा बोल्ने गर्नुहुन्छ, अन्य वडामा त्यो भाषा बोल्नुहुन्छ, अहिले हामीले लागू गरेको पाठ्यपुस्तकको विषयवस्तु सबै एउटै हो, वडा नं १, २, ३, ४ र ५ का बालबालिकाले नेपालीमै पढ्छन् भने दुईवटा वडाका विद्यार्थीले मगर खाम भाषामा पढ्छन् ।” न्यौपानेले कक्षा १ देखि ८ सम्म पाठ्यक्रम तयार भएको भन्दै पाठ्यपुस्तक प्रत्येक वर्ष छपाइ गर्ने र लागू गर्दै जाने बताउनुभयो । खाम भाषाको पुस्तक तयार गर्न मगर प्रतिष्ठानबाट चार जना र स्थानीय सात जना विज्ञ परिचालन गरेको उहाँको भनाइ छ । पाठ्यपुस्तक तयार गर्न केही अप्ठ्यारो परेको न्यौपानेले सुनाउनुभयो । पाठ्यपुस्तकमा निसीखोलाको जनजीवन, पर्यटन, परम्परा, संस्कृति, कृषि, पशुपालनलगायत विषयवस्तु समावेश गरिएको छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले खाम भाषा सङ्कटमा पर्न थालेपछि संरक्षणका लागि पाठ्यपुस्तक बनाएर विद्यालयमा पढाउन थालेको बताउनुभयो । पछिल्लो समय बालबालिकालाई सहरबजार लगेर पढाउने प्रचलन बढेपछि खाम भाषा लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । गाउँपालिकाले भाषा संरक्षणका लागि विज्ञसमेत खटाएर पाठ्यक्रम र पाठ्यपुस्तक बनाउन थालेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।
सिरहा: सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीया कारी सदा र ६६ वर्षीय रामदेव सदा रहेका छन् । उनीहरूलाई यही फागुन २५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार सिरहा जिल्ला अदालतबाट म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको छ । योसँगै उक्त घटनामा हालसम्म पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ । मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडा सदस्य नथुनी साहसहित आठजना पक्राउ परेका थिए । गत माघ २७ गते राति शौच गर्न निस्केकी सदा सामूहिक बलात्कारमा परेकी थिइन् । माघ २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । माघ ३० गते साँझ रिङ्कु आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।
काठमाडौं: फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ । हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागु पूर्णिमा पर्व मनाइन्छ । तराईका जिल्लामा भने भोलिपल्ट यो पर्व मनाउने चलन छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय अनुशासित बन्दै गएको छ । आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै पर्व मनाएका छन् । फागुन शुक्ल अष्टमीका दिन त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेल लगी जलाउने चलन छ । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताका साथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग आयुर्वेद प्रवद्र्धन शाखाका प्रमुख डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । आज हिमाली र पहाडी गरी ५६ जिल्लामा सार्वजनिक बिदा दिइएको थियो । शुक्रबार तराइका २१ जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । यस पर्वका अवसरमा आज राजधानीको टुँडिखेल, खुलामञ्च, वसन्तपुर, रामशाहपथजस्ता स्थानमा हजारौँ मानिस जम्मा भएर फागु पूर्णिमा पर्व मनाएका छन् । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नसालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ । समग्रमा राजधानीलगायत पहाडी र हिमाली जिल्लामा फागु अर्थात् होली अनुशासित बन्दै गएको छ ।
काठमाडौं: होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले ५२ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार चेकजाँचका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पाङ्ग्रे २३० र चार पाङ्ग्रे २३ गरी दुई सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जसमा मादक पदार्थ सेवन गरेका ४९ र लागुपदार्थ सेवन गरेका आठ वटा छन् । पक्राउ परेकाहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुङ्गो लाग्ने प्रहरीले जनाएको छ । प्रहरीले काठमाडौँबाट मात्रै २१९ सवारी साधन नियन्त्रणमा लिएको छ । जसमा चार पाङ्ग्रे १८ तथा दुई पाङ्ग्रे २०१ छन् । आज साँझसम्म दुुई पाङ्ग्रे ११६ तथा चार पाङ्ग्रे १३ गरी १२९ सवारी साधन छाडिसकिएको छ ।
कालीकोट: कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राती हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरुबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो । दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते हुनुभएको छ । झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो । सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा आज बिहान जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगी घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ । मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताउनुभयो । “घटनामा संलग्नलाई पक्राउ गरेका छौँ,” उहाँले भन्नुभयो, “पक्राउ परेका पाँचैजना १८ वर्षमुनिका छन् ।” घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: काठमाडौं उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । आज बिहानैदेखि उपत्यकाको तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक ट्राफिक कारबाही मात्रै गरिँदैन, उनीहरुलाई होली मनाउन नपाउने गरी दिनभर सडकमा रोकिने छ । उहाँले भन्नुभयो, “हामीले नियम उल्लङ्घन गर्ने जो कोहीलाई ट्राफिक जाँचस्थलमा कानुनी कारबाही त गरिन्छ नै त्यसका अलावा सोही स्थानमा दिनभर गाडी रोकेर राखिन्छ ।” त्यसका लागि उपत्यकामा १२० भन्दाबढी जाँच स्थल तोकेर प्रहरी परिचालन गरिएको छ । ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रूपमा जाँच अभियान चलाएको छ । हरेक ठाउँमा संयुक्त परिचालन भएको र मादक पदार्थ सेवन तथा लागु पदार्थ सेवनका लागि आवश्यक उपकरण तथा टोली संयुक्त रूपमा खटाइएको पनि उहाँले बताउनुभयो । प्रहरीले आफ्ना नजिकका र चिनेजानेकासँग मात्रै होली खेल्न अनुरोध गरेको छ । त्यसरी खेल्दा आपसी भाइचारा वृद्धि हुने गरी र सौहार्दपूर्ण तथा संस्कृतिअनुसार होली मनाउन अनुरोध गरेको छ । त्यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले पनि मर्यादित भएर होली खेल्न अनुरोध गर्दै उच्छृङ्खल रूपमा होली खेले कानुनी कारबाही गर्ने जनाएको छ । आज काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लामा होली खेलिन्छ भने भोलि तराइमा होली खेल्ने चलन छ । कतिपय जिल्लामा दुई दिननै होली खेलिन्छ ।
हेटौंडा: मकवानपुर मनहरी गाउँपालिका–१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिनुभयो । त्यहाँ २३ वर्षसम्म सवारीसाधन चलाए पनि उहाँले धन कमाउन सक्नुभएन । त्यसैबीच विश्वभर फैलिएको कोरोना महामारी उहाँलाई आफ्नै जन्मभूमि फर्किने बहाना बनेर आयो । वर्षौ पसिना खर्चेको देशमा पेट पाल्नसमेत धौधौ भएपछि उहाँ गाउँ फर्किनुभयो । यही क्षण उहाँका लागि अवसर बनेर आयो । गाउँमै पसिना बहाएपछि उहाँ सात वर्ष नबित्दै व्यावसायिक कृषक बन्न सफल हुनुभएको छ । न्यौपानेले हाल मासिक करिब रु एक लाखसम्म कमाई हुने गरेको सुनाउनुभयो । अर्काको देशमा २३ वर्ष बिताउँदा पनि बिहान बेलुकाको हातमुख जोर्न सीमित उहाँ जीवनस्तर आफ्नै माटोमा पसिना चुहाउँदा छोटो समयमै राम्रो सफलता पाएपछि उहाँ अचेल निकै हर्षित हुनुहुन्छ । “दुई छोराछोरीको पठनपाठनदेखि पवरिवारको हरेक आवश्यकता सहज रूपमा टर्न थालेको छ । हिजो दैनिकी चले पनि समस्या परेका बेला बचत नहुँदा निकै समस्या हुने गरेको थियो । अचेल केही रकम बचत गर्न पनि सफल भएको छु”, उहाँले रासससँग भन्नुभयो । हाल उहाँले गरिरहेको व्यवसाय हो, कृषि र पशुपालन । कोरोना महामारीले दिएको चोटबाट रन्थनिएर नेपाल फर्किएका न्यौपाने हिजो जुन बारी बाँझो राखेर विदेशीनुभएको थियो, आज त्यही बारिमा श्रम, पसिना खेर्चेर राम्रो आम्दानी गर्न सफल हुनुभएको हो । उहाँले हाल नौ कट्ठा जमिनमा माल्पा जातको ३०० गाँज केरा लगाउनुभएको छ । त्यसबाट वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गरिरहेको न्यौपानेले बताउनुभयो । यस्तै दुध दिने चारवटा गाईबाट दैनिक ४० लिटर दुध बिक्री गरी वार्षिक करिब रु नौ लाखको कारोबार गर्नुहुन्छ । “मैले प्लास्टिक हाउस (टनेल) मा गोलभेँडाखेती, व्यावसायिक केराखेती र गाईपालन गरिरहेको छु । तरकारीखेतीका लागि आवश्यक विषादी अग्र्यानिक रूपमा बनाएर प्रयोग गरिरहेको छु । चारवटा गाई र पाँचवटा बाच्छाबाच्छीपालनको मूत्र सङ्कलनका लागि ट्याङ्की निर्माण गरेको छु । त्यही मूत्र तरकारीमा प्रयोग गर्छु”, उहाँले भन्नुभयो,“यसकारण सबैतिर रासायनिक मलको हाहाकार भएर समस्या भयो भनेर गुनासो आइरहँदा मैले कहिल्यै चिन्ता गर्नुपरेन । एकातिर अग्र्यानिक उत्पादन हुने, अर्कोतिर आफ्नै गोठ र बारीमा उत्पादन भएको मल र मुत्र प्रयोग गर्दा पैसा बाहिर खर्च गर्नु पनि पर्दैन । कारोबार मात्रै होइन, खर्च कटाएर आम्दानी पनि राम्रै हुन्छ ।” माटो जाँच गर्दा अम्लियपना भेटिएपछि उपचारका रुपमा गौ मूत्रको प्रयोग सुरु गर्नुभएका कृषक न्यौपानेले आफूले रासायनिक मल र विषादीबिना नै व्यावसायिक कृषि गरिरहनुभएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “मलाई रासायनिक मल र विषादीको आवश्यकता पनि पर्दैन र त्यसमा खर्च पनि हुँदैन, गाई पालेको छु, मल पनि हुन्छ अनि किरा मार्ने औषधि पनि ।” उहाँले गाईका लागि १० कट्ठा जग्गामा जैँ घाँस र नेपिएर लगाएको बताउनुभयो । सबै कुरा आफ्नै बारीको प्रयोग गर्दा वार्षिक रु नौ लाख बढीको दूध बिक्री गर्दा सबै खर्च कटाएररु सात लाख आम्दानी हुने गरेको न्यौपानेले सुनाउनुभयो । चारवटा प्लास्टिक हाउस (टनेल) मा गोलभेँडाखेती गरिरहनुभएका उहाँले अन्तरबालीका रूपमा बन्दा पनि लगाउनुहुन्छ । श्रृजना र कविता जातको गोलभेँडा लगाएका न्यौपानेले वार्षिक रूपमा ५० क्विन्टल उत्पादन गरेर स्थानीयस्तरमै रु दुई लाख पचास हजारसम्मको बिक्री गर्दै आएको बताउनुभयो । यस व्यवसायमा लागेपछि दुःख भए पनि न्यौपानेले मेहनतअनुसारको फल भने पाइरहनुभएको छ । यसै व्यवसायबाट जीवनस्तर सुधारिँदैछ । यदी सरकारले स्थानीय उत्पादन प्रोत्साहन, लागत न्यूनीकरणका लागि सहुलियत, सीमापारि भारतबाट सस्तोमा आउने केरा, तरकारीको नियमन गर्न सके आफूहरूजस्ता धेरै किसान लाभान्वित हुने उहाँको बुझाइ छ । यसमा साथै रासायनिक मलको प्रयोग निरुत्साहन र आफूलेजस्तो प्राङ्गारिक मल, गौ मलमुत्र प्रयोगमा आवश्यक सचेतना वद्धि, समय समय माटोको उर्वराशक्ति परीक्षण तथा समस्या समाधानका लागि तीनै तहका सरकारले आयोग सहयोग गर्नुपर्ने उहाँको आग्रह छ ।
काठमाडौं: यहाँ आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ । केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो । विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ । फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन । सामान्यतया यो वर्ष कसैले पनि अन्यको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाए । घरपरिवार एवं छरछिमकीसँग फागु खेले । टीका लगाइदिए । खुसी साटासाट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त रूपमा मनाउन थालिएको छ । केही वर्षअघिसम्म फागु पूर्णिमा (होली)मा मानिसको इच्छाविपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्षअघिदेखि त्यस्तो काम रोकिएको छ । सडकमा फागु खेल्ने प्रायःबालबालिका थिए । बालबालिकाले पनि विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी ‘रिजर्भ’ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगण्य छ । जोरपाटी चोकमा फागु पर्व मनाइरहेका युवा मङ्गलबहादुर तामाङ चिनजानका साथीभाईबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउनुहुन्छ । विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहज रूपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए । कतै अपवादका रूपमा जबर्जस्ती रङ लगाएपनि फोहर पानीले दुव्र्यवहार गरेको देखिएन । फुर्सद भएकाले सडकमा पर्व मनाएपनि जरुरी काम परेर बाहिर निस्कनुपर्नेलाई इच्छा विपरीत रङ दलिदिँदा केही वर्ष अघिसम्म धेरै तनावपूर्ण वातावरण बन्ने गरेको थियो । चीरोत्थान गरिएको वसन्तपुरमा विशेष चहलपहल यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले विशेष रूमपा होली अर्थात् फागु पूर्णिमा पर्व मनाउन थालेका छन् । बिहानैदेखि विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोकास्थित वसन्तपुर दरबार क्षेत्रमा मानिसको चहलपहल बढेको छ । वसन्तपुर दरबार क्षेत्रमा जम्मा भएकाहरुले पनि चिनजानका मानिसलाई मात्र रङ दल्ने र पानीका लोला हान्ने गरेको देखिन्छ । वसन्तपुर दरबार क्षेत्रमा आज दिनभर फागु पूर्णिमा उत्सव मनाइन्छ । वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई बेलुकी विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । यसका लागि बेलुकीसम्म नै वसन्तपुर दरबार क्षेत्रमा मानिसको भीड लाग्छ । फागुन शुक्ल अष्टमीका दिन फागुन २३ गते वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो । वसन्तपुरमा चीर गाडेपछि होली सुरु भएको मान्ने गरिन्छ । यसैले केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि अरूलाई दुःख दिने नियतले रङ र लोला हानिन्थ्यो । यो क्रम अहिले वसन्तपुर दरबार क्षेत्रमा पनि रोकिएको काठमाडौँ महानगरपालिका वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले जानकारी दिनुभयो । फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । यस अवसरमा आज हिमाली र पहाडी क्षेत्रका ५६ जिल्लामा सरकारले बिदा दिएको छ । शुक्रबार तराइ क्षेत्रका २१ जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । यसरी फागु पूर्णिमा पर्व देशभर मनाउने गरिन्छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनसमेतमा लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ । प्रत्येक वर्ष पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमा र तराइका जिल्लामा फागुन कृष्ण प्रतिपदाका दिन फागु पर्व मनाउने गरिन्छ ।
भक्तपुर: फागुपूर्णिमाको अवसरमा याँछेंस्थित भीमसेन मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । फागुपूर्णिमाको दिन भीमसेन देवताको विधिवत् रुपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोतहरू खुल्नुका साथै व्यापार व्यवसाय फस्टाउँदै जाने धार्मिक मान्यता भएकाले भक्तजन झिसमिसेदेखि नै भक्तजनको भीड लागेको हो । आजको दिन भीमसेन मन्दिरमा स्थानीय डाफा भजन खलः, व्यापारी सङ्घ संस्था र पसल सञ्चालन गर्नेहरू बलिसहितको पूजा गर्न भीमसेन मन्दिर पुग्ने गर्छन् । आज टोलटोलमा धिमेबाजा, बाँसुरीलगायत बाजा बजाउँदै विभिन्न टोली भीमसेन मन्दिर जाने गरेका छन् । देवताको पूजाअर्चनापछि समयबजी खाएर फागुपर्व मनाउने प्रचलन छ । स्थानीय महिला हाकुपटासीमा सजिएर रङ खेल्दै टोलटोलमा पुग्ने परम्परा पनि अद्यापि कायम छ । आजै साँझ दत्तात्रयस्थित तचपाल भीमसेन मन्दिरको पाटीमा प्रदर्शनीमा राखिएको काठले बनेको प्रतीकात्मक पुरुष जननेन्द्रियलाई नगर परिक्रमा गरी ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागुपर्व हुन्छ । यो प्रतीकात्मक काठको लिङ्ग बोक्ने व्यक्ति पुत्रहीन भएमा कालान्तरमा निजलाई पुत्रप्राप्ति हुने जनविश्वास छ ।

