कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

गोरखा:  गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु। ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख बढी आम्दानी गर्न सफल भएकोे कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।  “गतवर्ष यहाँ रु। १० करोड बराबरको लिची बिक्री भएको थियो”, उहाँले भन्नुभयो, “तर यसपटक रु। एघार करोडभन्दा बढी मूल्यको लिची किसानले बिक्री गरेका छन् ।’’ प्रमुख बस्ताकोटीले लिचीका लागि मौसम अनुकुल भएको तथा बगैँचा व्यवस्थापन राम्रो भएकाले उत्पादन बढेको बताउनुभयो । “यसपाली लिची उत्पादनका लागि मौसम अनुकूल रह्यो,” उहाँले भन्नुभयोे, “त्यसमा पनि किसानले समयमै औषधि उपचार तथा बगैँचाको राम्रो मलजल तथा सिँचाइ  व्यवस्थापन गरेका कारण उत्पादन राम्रो भएको हो ।”  गोरखामा यो वर्ष एक हजार सात सय १६ मेट्रिक टन लिची उत्पादन भएको छ, जबकी गत वर्ष एक हजार पाँच सय ९७ मेट्रिक टन लिची उत्पादन भएको थियो । अघिल्लो वर्ष  एकसय ८० हेक्टर क्षेत्रफलमा लिची उत्पादन भएकोमा यो वर्ष एक सय ८७ हेक्टरमा लिची उत्पादन भएको प्रमुख बस्ताकोटीको भनाइ छ । उत्पादित लिची प्रतिकेजी रु। ६५ का दरले बिक्री हुँदा किसानले मनग्य आम्दानी गरेको उहाँले बताउनुभयो । जिल्लाको पालुङटार नगरपालिकालाई लिचीखेतीको मुख्य पकेट क्षेत्र मानिन्छ । पालुङटारको वडा नम्बर ६, ७ र ८ बाट मात्रै ८० प्रतिशत लिची उत्पादन हुने गरेको छ । ती वडामा करिब ३० हजार लिचीका बोट छन् । पालुङटार क्षेत्रमै १५० हेक्टर जमिनमा लिचीखेती गरिएको छ ।

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महाधिवेशन समयमै हुने बताएका छन् । चितवन विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।  नेपाली कांग्रेसको महाधिवेशन समयमा हुनबाट रोक्न लागिएको भन्दै अहिले केही नेता र कार्यकर्ताहरुले विरोध जनाउँदै आएका छन् । सोही प्रसङ्गमा सञ्चारकर्मीहरुको जिज्ञासमा सभापति देउवाले समयमै कांग्रेस महाधिवेशन हुने बताए ।  सभापति देउवाले बजेटमा टेक एण्ड पेको सामान्य कुरा हटिसकेपछि बजेट पास भएको र यसलाई ठूलो रुपमा हेर्न नहुने बताए । सभापति देउवाले भ, ‘एउटा सानो कुरा थियो । टेक एण्ड पे भन्ने हट्यो, बजेट पास भइसक्यो । सानो कुरा हो । ठूलो कुरै होइन । कांग्रेस महाधिवेशन समयमै हुन्छ ।’ यस्तै, सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको कुरा झुटो रहेको बताए । 

पोखरा:   सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम जारी छ । पोखरा महानगरपालिका, गण्डकी  प्रदेश  र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने काम थालिएको हो ।  जेठ १७ गतेदेखि शुभारम्भ भएको उक्त कार्यको हालसम्म ३६० पिल्लरहरु गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिनुभयो ।  बिहीबार फेवातालको भकुन्डे माछा पोखरी क्षेत्रमा पिल्लर गाड्ने कार्यको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निरीक्षण समेत गर्नुभएको छ ।   निरीक्षणका क्रममा उहाँले फेवाताल संरक्षणका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको आदेशाानुसार महानगरपालिकाले सम्बद्ध निकायहरूसँग समन्वय गरी आवश्यक कार्यहरू गरिरहेको बताउनुभयो ।  ताल घरमा सीमा स्तम्भ गाड्ने कार्यमा खटिएका सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उहाँले हौसला प्रदान गर्नुभएको छ ।   एक ऐतिहासिक कार्यको साक्षीका रूपमा उनीहरूको योगदान अतुलनीय रहेको उहाँले बताउनुभयो । निष्ठाका साथ फेवातालको प्राकृतिक न्यायका लागि लागि रहेका सवैप्रति उहाँले आभार पनि व्यक्त गर्नुभएको छ । पहिलो चरणमा ताल घरमा सीमा स्तम्भ गाड्ने र दोस्रो चरणमा थप काम सुरुवात गर्ने महानगरपालिकाको योजना रहेको छ ।  तालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफलको चार किल्लामा १०५५ पोलहरू गाडिनेछन् । यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको छ ।

काठमाडौं:   परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि सङ्गठन (एफएओ) सम्मेलनको ४४ औँ सत्रमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभयो । सो सम्मेलनको  प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उहाँले सम्बोधन गर्नुहुनेछ । उहाँले नेतृत्व गर्नुभएको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवम् परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरु सहभागी हुनुहुन्छ । उक्त सम्मेलनपश्चात् परराष्ट्रमन्त्री डा. राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी हुनुहुनेछ । उहाँलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले बिदाइ गर्नुभएको थियो ।

झापा:  झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ । यस क्रममा २०६७ सालदेखि हालसम्म सात जना गैरनेपालीको समेत मृत्यु भएको छ ।  डिभिजन वन कार्यालय झापाका डा सुमन भलका अनुसार सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन् ।  विसं २०८१ साउनदेखि हालसम्म हात्तीको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । पछिल्लो १५ वर्षको तथ्याङ्क हेर्दा औषतमा बर्सेनि पाँच जनाको मृत्यु भएको देखिन्छ ।  जिल्लामा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविकमार्ग निर्माण, वन क्षेत्रमा पोखरी निर्माण, फलफूलका बिरुवा रोपण, गस्तीलगायतका गतिविधि हुँदै आएका छन् । ‘फरेष्ट एक्सन नेपाल’का डा लिलानाथ शर्मा विद्युतीय तारवारले मात्र मानव–हात्ती द्वन्द्व न्यूनीकरण नहुने बताउनुहुन्छ ।  “तारबारले मात्र हात्तीलाई रोक्नरछेक्न सकिँदैन”, उहाँले भन्नुभयो, “वनमै सुधार जरुरी छ ।”  हात्तीको जैविकमार्ग निर्माण, वनभित्रै हात्तीमैत्री वातावरण निर्माण तथा वनमा सुधार गर्नसके मावन–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो । खानाको खोजीमा जङ्गलबाट हात्ती बाहिरिने भएकाले वनभित्र हात्तीको आहारा व्यवस्थापन गर्नुपर्ने देखिन्छ । वन अतिक्रमणसँगै वन जङ्गल नजिकै मानव बस्ती बढ्दै गएकाले पनि मावन–हात्ती द्वन्द्व बढ्दै गएको हो । हात्तीले मकै मन पराउने भएकाले पनि मकैखेती हुने बेलामा भारतबाट हुलका हुल हात्ती आउने गरेको डिभिजन वन कार्यालय डा भलले बताउनुभयो । अन्य समयमा भन्दा मकैको याममा हात्तीको आवागमन बढी हुने उहाँको भनाइ छ । पच्चीस हात्तीको मृत्यु झापामा २०६२ सालयता २५ हात्ती मृत फेला परेका छन् । पछिल्लो समय जिल्लामा हात्तीको मृत्यु हुने क्रम बढेको छ । विगतमा बर्सेनि एक÷दुई वटा हात्ती मृत भेटिने गरेका थिए । तर, केही वर्षयता हात्तीको मृत्यु हुने क्रम बढेको छ । विसं २०८० साउनदेखि २०८१ असार सम्ममा चार  हात्ती मृत फेला परेका थिए भने चालु आवमा समेत हालसम्म चार हात्ती मृत फेला परेका डिभिजन वन कार्यालयले जनाएको छ ।  साढे नौ करोड राहत जिल्लाका हात्तीपीडितलाई सरकारले आव २०६८/६९ देखि चालु आवको हालसम्ममा रु नौ करोड ६८ लाख ४७ हजार राहत प्रदान गरिसकेको छ ।  हात्तीको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई जनही रु १० लाख, घाइतेलाई अधिकतम रु दुई लाख, चौपाया, अन्नबाली र भौतिक संरचना क्षति भएकाको हकमा क्षतिको आधारमा क्षतिपूर्ति उपलब्ध गराउँदै आएको डिभिजन वन कार्यालयका डा भलले बताउनुभयो । जिल्लामा ५२५ जना वन्यजन्तु पीडित अझै राहतको पर्खाइमा छन् ।

मुस्ताङ:  बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन्।  उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिए। उहाँका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ।    ‘हवाई यात्रु कम भएको र मौसम प्रतिकुलताका कारण तारा एअरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ याम सुरु भएपछि उडान सुरु हुन्छ’, उनले भने। समिट एअरलाइन्सले पनि उक्त रुटमा यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ। जोमसोमस्थित समिट एअरलाइन्सका स्टेशन इञ्चार्ज सुमन थकालीले एक हप्तापछि २ महिनाका लागि पोखरा–जोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जाकारी दिए। ‘अहिले यस रुटमा हवाई उडान दैनिक मुस्किलले एउटा मात्रै भएको छ, हवाई यात्रु पनि घट्दै गएका छन्’, उनले भने। जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन सुरु भएसँगै हवाई यात्रुको घटेको जनाएको छ। कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार हाल पोखरा–जोमसोमका लागि तारा एअरले उडान स्थगित गरेको र समिट एयरले पनि केहीदिनमा स्थगित गर्ने जनाएको बताए।  बर्खायाम सुरु हवाईमार्ग मात्रै होइन सडकमार्गबाट जोमसोम आउने यात्रु पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताए।

गुल्मी:  गुल्मीमा विषालु च्याउको तरकारी पकाएर खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्।  बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।  बिहीबार जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि गए रातिनै उनीहरुलाई टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको थियो। बिरामी भएका तीनै जनालाई गए राति उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो।  घटनाको जानकारी पाउनासाथ गए रातिनै इन्द्रगौडा प्रहरी पोष्टबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा खटिएको प्रहरी टोलीले तीनै जनालाई उपचारका लागि तत्कालै पाल्पा पठाएको थिय । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

काठमाडौं:  निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ ।  आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भएकाले नाम दर्ता गर्न आह्वान गरेका हुन् । “...निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली दर्ता कार्य रोकिने भएकाले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग, नेपाल सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ । प्रतिनिधिसभातर्फ रूपन्देही क्षेत्र नम्बर ३, गण्डकी प्रदेशसभाको मनाङ १ (२) रिक्त छ । त्यस्तै, स्थानीय तहमा १३ वटा पद रिक्त छ । आयोगका पदाधिकारले गएको असार ६ गते आगामी कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलसमेत गरेका थिए । उपनिर्वाचनको मिति घोषणा हुन बाँकी छ ।  

नवलपरासी: नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका–६, भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।  स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार (असार ११) राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो । बुधबार राति करिब ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा उनलाई दाहिने खुट्टामा सर्पले डसेको थियो ।  त्यसपछि उपचारका निम्ति कावासोतीस्थित कालीगण्डकी अस्पताल लगिएकामा राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एसपी यादव ढकालले बताए । गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटना बढेको छ ।