फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

पोखराः   नेपाल कम्युनिष्ट पार्टी एमालेले गण्डकी प्रदेश सभाको प्रमुख सचेतकमा रोशन गाहामगरलाई नियुक्त गरेको छ ।   नेकपा एमाले गण्डकी प्रदेशको आज (बिहिबार) बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री एवं गण्डकी प्रदेश सभाका संसदीय दलका नेता खगराज अधिकारीले गाहामगरलाई प्रमुख सचेतकमा नियुक्त गरेकाे हाे । ​   प्रमुख सचेतक गाहामगर नवलपुरबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।    यस पटक पुनः प्रदेश सभामा निर्वाचित भएपछि एमालेवृत्तमा उनी पहिलो चरण मै मन्त्री बन्ने चर्चा थियो । तर मुख्यमन्त्री अधिकारीले उनलाई प्रमुख सचेतक नियुक्त गरे ।    गाहामगर प्रदेशको मन्त्री बन्ने लाइनमा छन् ।   

हेटौँडा:  नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार १७ डीआईजीको सरुवा गरेको हो । मन्त्रालयले डीआईजीहरु नलप्रसाद उपाध्यक्ष, मोहनकुमार आचार्य, मसाउल आलम खाँ, बसन्तबहादुर कुवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी र सुदीप गिरिको सरुवा भएको छ । यसैगरी भीम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ  र दुर्गा सिंहको पनि काज सरुवा भएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।      

धनगढी:  नेपाल प्रेस युनियनको सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा  पत्रकार मनमोहन स्वाँर निर्विरोध निर्वाचित हुनुभएको छ । धनगढीमा भएको प्रदेश समितिको प्रथम अधिवेशनबाट उहाँ अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।  यसैगरी, युनियनको खुला उपाध्यक्षमा टेकेन्द्र देउवा, महिला उपाध्यक्षमा गीता कुँवर, समावेशी उपाध्यक्षमा जगत खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । महासचिवमा हरिश भट्ट, खुला सचिवमा राजेन्द्रबहादुर रोकाया, महिला सचिवमा बन्दना बम, समावेशी सचिवमा भीमबहादुर चौधरी र कोषाध्यक्षमा वीरबहादुर गडाल निर्विरोध चयन हुनुभएको छ ।  खुला सदस्यमा टेकबहादुर कुँवर, दीपक भण्डारी, हर्कबहादुर विष्ट, केशवदत्त भट्ट र चन्द्रप्रसाद खनाल चयन हुनुभएको छ । यसैगरी, महिला सदस्यमा कुमारी लक्ष्मी बम, सरस्वती भाट, करुणा जोशी, डालीकुमारी पाण्डेय निर्विरोध निर्वाचित हुनुभएको छ ।  दलित सदस्यमा लक्ष्मण विक, आदिवासी जनजाति सदस्यमा विनिता चौधरी, प्रेमकुमार चौधरी, मधेसी सदस्यमा रामदास राना, सागर कुश्मी, यौनिक अल्पसङ्ख्यक अपाङ सदस्यमा धनबहादुर बोहरा र पदम भाट गाउँले निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी, लेखा समिति संयोजकमा कृतबहादुर विष्ट, सदस्यमा नवराज पनेरु र गगन अयडी निर्विरोध निर्वाचित हुनुभएको छ । 

सप्तरी:  सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । राजविराज नगरपालिका(११ झल्लहीमा आज रामजानकी मन्दिरका ९२ वर्षीय महन्थ बालगोविन्द दासको चिसोका कारण कठ्याग्रिएर मृत्यु भएको हो । राति खाना खाएर सुतेका उनको चिसोले कठ्याग्रिएर मृत्यु भएको राजविराज नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष उदित यादवले जानकारी दिनुभयो । यसैगरी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हामा सोमबार चिसोले कठ्यांग्रिएर ६५ बर्षीय कपलेश्वर सदा रहेको मृत्यु भएको छ । यसअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षिय देवु सदाको चिसोले कठ्याग्रिएर मृत्यु भएको थियो । बिगत केही समय यता सप्तरी सहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसोका कारणले यहाँको जनजीवन निकै कष्टकर बन्दै गइरहेको छ । चिसो बढेपछि जिल्लाका अधिकाश पालिकाहरुले केही दिनको लागि सामुदायिक तथा संस्थागत विद्यालय समेत बन्द गरेका छन् ।(

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित भेडाबारी प्राथमिक स्वास्थ्य चौकीमा बिरामीले उपचार नपाएपछि अहिले जनप्रतिनिधि र चिकित्सकबीच सवालजवाफ चलेको छ ।  चौकीमा कार्यरत डा. सुरेश अधिकारी स्वास्थ्य चौकी नआउँदा वडा ८ काअध्यक्ष राम गुरुङले सामाजिक सञ्जाल फेसबुकमा डाक्टर कहाँ छन् ? भन्दै पोस्टिएपछि विषय सार्वजनिक भएको हो । केही दिन अगाडी वडाध्यक्ष गुरुङले फेसबुक डा. सुरेश अधिकारीको नम्बर राख्दै उनको खोजी गरेका हुन् ।  सामाजिक सञ्जालमा वडाध्यक्ष राम गुरुङले डा. अधिकारीको खोजी गरेपछि डा. अधिकारीले पनि सामाजिक सञ्जालमा नै प्रतिक्रिया दिएका छन् ।  ‘भेडाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पतालमा स्तरउन्नती गर्न लागि परेका छौं, स्वास्थ्य कार्यालय प्रमुख डा. अधिकारीलाई नदेखेको महिनौ भयो, वडाध्यक्ष गुरुङले लेखेका छन, ‘ डा. आएको नआएको कसैले मतलब गरेका छैनौं अब सबै जागरुक हुन आवश्यक छ, डा. अधिकारीलाई ९८५१२१५१२३ यो नम्बरमा खबर गरौै, आफ्नो ढङ्गले सम्झाउ ।’  वडाध्यक्ष गुरुङले सोधेको सवालको जवाफ डाक्टर केसीले सञ्जालमार्फत नै दिएको छन् ।     डा. अधिकारीले भेडाबारी स्वास्थ्य चौकीमा आफु आउँदा मानसिक रोगी बाहेक अन्य बिरामी सेवाबाट बञ्चित हुने प्रतिक्रिया दिएका छन् ।  ‘म मानसिक रोग विशेषज्ञ हुँ, नेपाल मेडिकल काउन्सिलमा सोही अनुरुप दर्ता छु, प्राथमिक स्वास्थ्य चौकीमा अधिकांश बिरामी बच्चा, गर्भवती, सुगर प्रेसर, आदिका बिरामी आउँछन्’ उनले लेखेका छन्, ‘त्यहाँ आएर मानसिक बाहेक अरु बिरामी सेवाबाट बञ्चित हुन्छन् जनु प्राथमिक सेवा सिद्धान्तको बर्खिलाप हो ।’ वडाध्यक्ष गुरुङले डा. अधिकारीले सामाजिक सञ्जालमा खोजी गरेपछि एमबिबिएस डाक्टर राख्न सुझाव दिदै आफुलाई सुरुवा हुने सहमति दिन आग्रह गरेका छन् ।  ‘गाउँपालिकाले करारमा एमबिबिएस डाक्टर राखोस, मलाई अन्यत्र सरुवा हुने सहमति देओस् जसले सबै समस्या हल हुन्छ, उनले भनेका छन्, ‘म त्यहाँ आएर समस्या समाधान हुँदैन बरु एमबिबिएस आउने बाटो हुन्छ ।’  माछापुच्छ्रे गाउँपालिकाका स्वास्थ्य संयोजक डिल्लीराम दाहालले स्वास्थ्य चौकीमा नेपाल सरकारले उहाँको दरबन्दी पठाएको हो करारमा कर्मचारी राख्ने स्रोत नभएको सुनगाभा न्यूजलाई बताए ।  ‘नेपाल सरकारको कर्मचारी संमायोजक अनुसार उहाँको दरबन्दी भेडाबारी प्राथमिक स्वास्थ्य चौकीमा भएको छ, दाहालले भने, ‘अहिले उहाँले आफुले एमडी पास गरेको भन्दै यहाँबाट सरुवा गर्न माग गर्नुभएको छ, करारमा राख्ने स्रोत हामीसँग छैन्, असोजदेखि कार्यालयमा उपस्थित नभएकाले तलब रोकेका छौं, सम्पर्कमा आउनुभएको छैन् । ’ यस विषयमा प्रतिक्रिया लिन डा. सुरेश अधिकारीलाई सम्पर्क गर्दा फोन उठ्न सकेन ।  भेडाबारी प्राथमिक स्वास्थ्य चौकीमा ११ जनाको दरबन्दी रहेको छ । हेल्थ असिस्टेन्ट १ जना, अहेव ३ जना, स्टाफ नर्स १ जना, अनमी १ जना, ल्याव असिस्टेन्ट १ जना र बाँकी कार्यालय सहयोगीको दरबन्दी रहेको स्वास्थ्य संयोजक दाहालले जानकारी दिए ।   

पोखरा:  पोखरा मनिपाल कलेज अफ मेडिकल साइन्सेस्मा ‘ह्वाइट कोट सेरेमनी’ सम्पन्न भएको छ । कलेजमा अध्ययनरत एमबिबिएस ब्याच २०२१ का विद्यार्थीहरुलाई ‘ह्वाइट कोट‘(सेतो कोट) प्रदान गरिएको हो । आज (मंगलबार) दिपस्थित कलेज प्राङ्गणमा आयोजित सभामा डा. शिशिर गोख्ले र डा.अभिषेक मास्केले १ सय विद्यार्थीहरुलाई कोट प्रदान गरे । कोट प्रदान गर्दै उनिहरुले विद्यार्थीको उज्जवल भविष्यको कामना गरे । ह्वाइट कोटसँगै विद्यार्थीहरुमा समाजप्रतिको उत्तरदायित्व अझ बढ्ने भएकाले संवेदनशिलताका साथ अघि बढ्नुपर्ने उनिहरुको सुझाव थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेली शैक्षिक इतिहासका धरोहर जर्ज जोनले विद्यार्थीहरुलाई डाक्टरप्रति आम मानिसको मनोविज्ञान र त्यसमा खेल्नुपर्ने भूमिकाबारे धारणा राखे । उचित समयमा डाक्टरबाट प्राप्त गरिने सल्लाह सुझावले स्वास्थ्य जिवनशैलिका लागि महत्वपुर्ण हुने उनको भनाई थियो । पोखरा मनिपालका बोर्ड सदस्य नारायण पौडेलले कलेजको गुणस्तरबृद्धिका लागि कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाए । सामाजप्रतिको उत्तरदायित्व बहन गर्दै सुविधासम्पन्न सेवा उपलब्ध गराइने उनको भनाई थियो । मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुपका सिइओ अनिल अडुविलले विद्यार्थीको उज्जवल भविष्यको कामना गरे ।  कलेजका डा. दयाराम पोखरेलले सेतो कोटलाई सम्मान गर्दै जिम्मेवार भएर सफल अध्ययनका लागि शुभेच्छा प्रकट गरे ।  कलेजका पहिलो ब्याचका विद्यार्थि डा. पदम बहादुर खड्काले विगत सम्झिदैँ मनिपालको विद्यार्थि हुनुमा गौरव रहिरहने सुनाए । डा. खड्काले विश्वकै स्वास्थ्य संस्थाहरुमा मनिपालबाट उत्तिर्ण विद्यार्थीहरुको बलियो प्रभाव पर्ने भएकाले मर्यादीत एवं जिम्मेवार भएर अघि बढ्न सुझाए । सो अवसरमा कलेजका विद्यार्थी एवं गोल्ड मेडलिस्ट डाक्टर जायज अधिकारीलाई सम्मान गरिएको थियो ।

पाेखरा:   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भोलि (शुक्रबार) विश्वासको मत लिँदैछन् ।   सरकारका प्रवक्ता तथा बिनाविभागीय मन्त्री सीता सुन्दासका अनुसार त्यसपछि मात्रै मन्त्रालयको बिस्तार र बाँडफाँटको टुँगो लाग्नेछ । तर टुंगो लगाउन भने प्रदेशको कुनै हात नरहने सम्बन्धित सांसद र मन्त्रीले घुमाउरो शैलीमा स्वीकार गरेका छन् ।   गण्डकी प्रदेशको मन्त्रालयमा भागबण्डा लगाउने काम पार्टीका माथिल्ला पदमा रहेका नेताबाटै हुने निश्चित भएको छ । ‘भोली मुख्यमन्त्री ज्यूले विश्वासको मत लिँदै हुनुहुन्छ, त्यसपछि मात्रै मन्त्रालय बिस्तारको टुंगो लाग्छ, उनले भनिन्, ‘ठ्याक्कै कहिले भनेर भन्नसक्ने स्थिति छैन, तर छिट्टै हुन्छ ।’   उनले अहिलेको सरकारले मन्त्रालय घटाउने प्रयास भइरहेको स्पष्ट पारिन् । ‘मुख्यमन्त्रीज्यू पहिल्यैदेखि नै मन्त्रालय घटाउने भनेर लाग्नुभाछ । जे होस् १२ नै हँुदैन, मन्त्री सुन्दासले भनिन्, ‘सर्वदलीय बैठकबाट टुंगो लाग्ने कुरा हो । मन्त्रालय घट्ने कुरा साँचो हो ।’   उनले नेकपा एमालेले कुनैपनि मन्त्रालयमा दाबी नगरेको बताइन् । ‘हाम्रै नेतृत्व छ, हामीलाई यो वा त्यो मन्त्रालय चाहियो भनेर दाबी गर्दैनौं, सबैलाई समन्वय गरेर जाने हो, उनले भनिन्, ‘मन्त्रालयको सँख्या टुंगो नलागेसम्म कसलाई कुन मन्त्रालय भन्न सक्ने अवस्था छैन ।’   सुन्दासले शीर्षस्थ नेताहरुबाटै मन्त्रालय भाग लगाइने र समीकरणात्मक सरकार भएकाले प्रदेशबाट एकल निर्णय लिन कठिनाई पनि हुने धारणा राखिन् ।    यस्तै माओवादी केन्द्रका गण्डकी प्रदेश संसदीयय दलका नेतासमेत रहेका अर्का विनाविभागीय मन्त्री हरिबहादुर चुमानको धारणा पनि सुन्दासकै जस्तो रहेको छ ।   उनले तत्कालै कुनै पनि मन्त्रालयमा दाबी नगरेको बताए । ‘अहिल्यै हामीले यतिवटा मन्त्रालय चाहियो, यो मन्त्रालय चाहियो भनेका छैनौँ, उनले भने, ‘त्यसको टुंगो केन्द्रले लगाउने हो । किनभने सबै प्रदेशको अवस्था हेरेर छिनोफानो गर्नुपर्ने हुन्छ ।’   गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वका सरकार हुँदा ७ मन्त्रालय थियो । त्यसपछि निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा मन्त्रालय बिस्तार गर्दै १२ पुर्याएका थिए ।    राजनीतिक भागबन्डाका लागि अनावश्यक मन्त्रालय बिस्तार गरेको भन्दै जनस्तरबाट आलोचनासमेत गरिएको थियो । यद्यपि, संविधानमा उल्लेख भएअनुसार सांसद सँख्याको २० प्रतिशतसम्म मन्त्रालय बिस्तार गर्न पाउने प्रावधान रहेको छ ।   प्रदेशका अर्का मन्त्री हरिबहादुर चुमानको धारणा पनि सुन्दासकै जस्तो छ । आर्थिक अनुशासनलाई मध्यनजर गर्दै मन्त्री चुमानले आफुपनि गण्डकी प्रदेशको मन्त्रालय सँख्या घटाउने पक्षमा रहेको सुनाए ।  ‘सबैतिर मन्त्रालय घटाउनुपर्छ भन्ने कुरा उठेको छ, खर्च बढ्यो भनिएको छ’, मन्त्री चुमानले भने, ‘हामी त्यस्तो खालको प्रतिक्रियालाई सम्बोधन गर्ने पक्षमै छौं, अझै यकिन भएको छैन । त्यै ९/१० कै नजिक होला ।’

म्याग्दी:  बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा तीन करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ ।  गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधवार हिजो भएको १७औँ कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९र८० को पहिलो पाँच महिनाको अवधिमा  तीन करोड ३७ लाख छ सय ४५ रुपैयाँ आम्दानी भएको जानकारी गराइएको हो । कोषका कोषाध्यक्ष कुमारी रोकाले कर्मचारी तलब, पूजा, संस्कृत विद्यालय र ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा यस अवधिमा २० लाख दुई हजार रुपैयाँ खर्च भइ तीन करोड १६ लाख ९७ हजार रुपैयाँ बचत भएको जानकारी दिनुभयो।  गएको असारसम्मको आम्दानी दुई करोड ९० लाख ८२ हजार रुपैयाँ थियो, उहाँले भन्नुभयो, ‘खातामा रहेको ब्याज, भक्तजनले चढाएको भेटी, दान र भाडालगायत शीर्षकमा भएको आम्दानीबाट खर्च कटाएर पाँच महिनाको मात्र २६ लाख १५ हजार रुपैयाँ बचत भएको छ ।’  मेलापर्वमा भेटी २२ लाख ५६ हजार, मण्डप भेटी आठ लाख २२ हजार, ब्याज आम्दानी पाँच लाख ५९ हजार, यज्ञ दर्ताबापत एक लाख ६३ हजार, यात्री निवास शुल्कबाट एक लाख ३१ हजार, दान दुई लाख ५८ हजार ८६, जिन्सी सामान बिक्रीबाट एक लाख ९९ हजार र स्टल भाडा दुई लाख २२ हजार रुपैयाँ सङ्कलन भएको छ ।  आव २०७८र७९ मा ४० लाख ८५ हजार  भेटीसहित ९१ लाख ८२ हजार रुपैयाँ आम्दानी भएको थियो । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब दश करोड रुपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।   गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गनेर सार्वजनिक गर्ने गरिएको छ, उहाँले भन्नुभयो, ‘भेटी व्यवस्थित गर्न थालेपछि दानवीरले खुलेर सहयोग गर्न थालेका छन् ।’ जडभरत संस्कृत माविका तीन शिक्षकको तलबका लागि मासिक ७२ हजार, आश्रमका ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई भोजन गराउँदै आएको अन्न क्षेत्रका भान्छेलाई मासिक १७ हजार रुपैयाँ तलब मन्दिरको आम्दानीबाट दिने गरिएको छ ।    कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि रहेको गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमवार, बालाचर्तुदशी र शिवरात्रिमा विशेष मेला लाग्छ । अन्य समय दैनिक पूजाआजा हुने गलेश्वर मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको छ । 

विराटनगर:  प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्वाचित भएका छन् । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको मात्रै उम्मेदवारी परेको थियो । आज बसेको प्रदेश सभा बैठकले गौतमलाई निर्वाचित भएको घोषणा गरेको हो । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन थियो । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । दोस्रो कार्यकालमा गौतम बन्नेछन् । सभामुख गौतमले आजै शपथ लिनेछन् । संसद् सचिवालयका प्रमुख गोपाल पराजुलीका अनुसार १ बजे शपथ ग्रहण गर्ने छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छन् । प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ।  को हुन् गौतम ? ओखलढुंगाको लिखु गाउँपालिका–९ स्थायी ठेगाना भएका गौतम २०४६ सालको पञ्चायत विरोधी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन् । बहुदलपछि सर्लाहीको महादेव जनता माविमा अखिलको इकाई अध्यक्ष भएका उनले त्यहीँबाट एसएलसी गरेका हुन् । त्यसपछि काठमाडौंको आरआर क्याम्पस अध्ययनको क्रममा उनले अखिलबाटै स्ववियुको राजनीति गरेका थिए । २०५२ साल फागुन १ गतेदेखि नै माओवादी जनयुद्धमा लागेका उनी त्यसबेला काठमाडौं–ओखलढुङ्गा सम्पर्क समितिको सचिव थिए । ०५४ सालदेखि ०५६ सालसम्म जेल परेका उनी ०५७ सालदेखि ०६० सालसम्म माओवादी कमाण्डरको रुपमा ओखलढुंगामा काम गरे । ०६० सालमा अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिव भएका उनी शान्ति प्रक्रियापछि पनि मजदुर संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए । उनले मजदुर संगठनमा रहँदा झापा, मोरङ र सुनसरीमा लामो समय काम गरेका छन् । २०७० सालदेखि भने उनी ओखलढुङ्गा जिल्लामा पार्टी अध्यक्ष भएर भूगोलमा काम गर्न थाले । ०७२ सालदेखि अहिलेसम्म उनी ओखलढुङ्गाको इन्चार्जको भूमिकामा छन् । माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका उनी हालसम्म संसदीय राजनीतिमा प्रवेश गरेका थिएनन् । ०६४ साल र ०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बनेका उनी सभासद् बन्न भने पाएनन् । ०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा पनि उनी उम्मेदवार बन्न पाएनन् । यो पटकको निर्वाचनमा भने ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र २ बाट कांग्रेसको सहयोगमा निर्वाचित भएका गौतम पहिलो चरणमै प्रदेशसभाका नेतृत्व गर्ने ठाउँमा पुग्ने निश्चित भएको छ । राजनीतिशास्त्रमा आइएसम्मको अध्ययन गरेका उनी जनयुद्धको कारण शैक्षिक योग्यता थप्न नपाएको बताउँछन् । आफू निर्विरोध निर्वाचित हुने अवस्थामा पुग्दा नयाँ जिम्मेवारी थपिएको भन्दै उनी यो भूमिकालाई आफूले सफलतापूर्वक सम्पन्न गर्ने बताउँछन् । यद्यपि उनीसँग कानुन निर्माण र प्रक्रियाबारे पर्याप्त ज्ञान अभाव देखिन्छ । उनका लागि प्रदेश १ को अत्यन्तै तरल अवस्थामा रहेको संसदीय राजनीतिलाई सहज ढंगले डोर्याउने र सरकारसँग समन्वय गर्न उनलाई चुनौती देखिन्छ ।