पोखरा: पोखरा महानगरपालिका १७ को कार्यालय घेराउ गर्ने क्रममा ३ जनालाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा १७ का स्थानीयबासिन्दाले विरौटा–छोरेपाटन सडकखण्ड निर्माणमा ढिलाई गरेको भन्दै नाराबाजीसहित वडा कार्यालय घेराउ गरेको थियो । सो विरोध प्रर्दशनकै क्रममा सिद्धार्थ राजमार्ग अवरुद्ध गरिएको थियो । सोही क्रममा उछृङ्खल गतिविधि गरेको भन्दै वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले ३ जनालाई नियन्त्रणमा लिएको डिएसपी युवराज भण्डारीले जानकारी दिए । ‘विरोधको क्रममा उछृङ्खल गतिविधि गरेकाले नियन्त्रणमा लिएका हौं, डिएसपी भण्डारीले भने, ‘त्यस्तो मुद्धा चलाउने खालको विषय छैन ।’ डिएसपी भण्डकारीका अनुसार हाल अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग अन्तरगतको विरौटा– छोरेपाटन सडकखण्ड खुला गरिएको छ । सम्बन्धित समाचार https://sungabhanews.com/story/6242/2023/1/19/scoop/Samaj/
पोखरा: सिद्धार्थ राजमार्ग अन्तरगत विरौटा– छोरेपाटन सडकखण्डको निर्माण कार्यमा ढिलाई भएको भन्दै पोखरा महानगरपालिका १७ का स्थानीयले नाराबाजीसहित वडा कार्यालय घेराउ गरेका छन् । विरौटा –छोरेपाटन सडकखण्ड निर्माण गर्ने जिम्म पाएको राम बिल्डर्स कम्पनीले निर्धारित समयमै काम सम्पन्न नगरेपछि आफुहरुले वडा कार्यालय घेराउ गर्न बाध्य भएको स्थानीय पवन भण्डारीले जानकारी दिए । उनका अनुसार स्थानीय बासिन्दाका प्रतिनिधि, निर्माणको जिम्मा पाएको कम्पनीका ठेकेदार र प्रमुख जिल्ला अधिकारीको बैठकले तीन महिनामा काम सक्ने निर्णय गरेको थियो । सो निर्णयको कार्यान्वयन नगरेको भन्दै वडा कार्यालय घेराउ गरेको भण्डारीले बताए । ‘विरौटा –छोरेपाटन निर्माण शुरु गरेको ३ वर्ष बढी भयो । काम सम्पन्न भएको छैन, भण्डारीले सुनगाभा न्यूजसँग भने, ‘वडाध्यक्षलाई ठेकेदार झिकाउन माग गरेका छौं । स्थानीय सरकारले काममा खबरदारी गरेन, त्यसैले त्यसको विरोधमा वडा कार्यालय घेराउ गरेका हौं ।’ उनले सडक निर्माणमा ढिलाई हुदाँ स्थानीयहरुले हैरानी खेप्नु परेको सुनाए । ‘सडक निर्माण ढिलाई हुँदा स्थानीयहरुले हैरानी खेप्न बाध्य छन्, धुलोले गर्दा बिरामी हुने स्थिती बनेको छ ।’ उनले भने । भण्डारीले आफुहरुको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाए । ‘स्थानीय सरकार, पोखरा महानगर, जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासनलाई ठेकेदारलाई भेट्न खोजेका छौं तर प्रहरी प्रशासनले हाम्रो कार्यक्रममा हस्तक्षेप गर्न खोजेको छ ।’ भण्डारीले भने । भण्डारीका अनुसार विरौटा –छोरेपाटन सडकखण्ड निर्माण कार्य थालेको करिब ५ वर्ष भइसकेको छ भने सडक निर्माण गर्न राम बिल्डर्स कम्पनीले ठेक्का पाएको थियो ।
काठमाडौं: टिकटकमार्फत अनलाइन जुवा खेलाउने एक जना पक्राउ परेका छन् । रुकुम पूर्वको पुथा गाउँपालिका–५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो ई–सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई टिकटक लाइभमार्फत् जुवा खेलाएको सूचनाका आधारमा काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । मल्लले ‘क्विक क्यास’ नामक टिकटक आइडीहरू खोली दुईवटा इ–सेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अवधिमा ८ लाख ५३ हजार ३३१ बराबरको रकम टिकटक लाइभ जुवामार्फत् कारोबार गरेको खुलेको छ । उनको साथबाट जुवातास खेलाउन प्रयोग भएको स्मार्टफोन एक थान, तास खेल्ने व्यक्तिहरूको नाम र रकम उल्लेख भएको रजिस्टर एक थान र जुवा खेलाउन प्रयोग भएका तास तीन बुक प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
काठमाडौं: बिहीबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख ४ हजार रुपैयाँ तोकिएको छ । सुनको यो मूल्य बुधबारकै मूल्य भएको महासंघले जनाएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले घटेको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ३५५ रुपैयाँ कायम भएको छ ।
म्याग्दी: सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी तवरले जनस्तरमा पुग्न सकेको छैन । नेपाल सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमाको पहुँच हिमाली जिल्ला म्याग्दीमा एक तिहाइ जनसङ्ख्यामा पनि पुग्न नसकेको तथ्याङ्क छ । वि.सं. २०७३ सालबाट म्याग्दीमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमबाट अहिले पाँच हजार पाँच सय १६ परिवारका २८ हजार तीन सय ४३ जनाले सेवा लिइरहेका छन् । स्वास्थ्य बीमा बोर्ड म्याग्दीका प्रमुख दर्ता अधिकारी उपेन्द्र बरालका अनुसार म्याग्दी जिल्लामा पूर्ण निःशुल्क रूपमा चार हजार नौ सय ३८ जना ज्येष्ठ नागरिकले पूर्ण छुटका साथ बीमा सेवा लिइरहेका छन् । यसै गरी पूर्ण छुट पाउने ‘क’ वर्गका अपाङ्ग परिवारका १ सय १८, ‘ख’ वर्गका अपाङ्ग परिवार ४ सय ४८ रहेका छन् । त्यस्तै प्रदेश सरकारबाट छुट पाउने एचआइभी सङ्क्रमितहरू ३० जनाले पनि स्वास्थ्य बीमाको सुविधा लिने गरेको दर्ता अधिकारी बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रभावकारी तवरले बीमालाई जनस्तरमा पुर्याउने प्रयास भए पनि स्वास्थ्य संस्थाको कमी, स्थानीय तहमा काम गर्ने दर्ता सहयोगीको अभावले गर्दा छुटेकाहरूको पनि बीमा गर्न कठिनाइ भएको छ ।’ सरकारी अस्पतालबाटै जनताले सुविधा लिनुपर्ने भएकोले पनि सदरमुकाममा हुने निजी क्लिनिकमा पुगेर औषधी गर्न जनता बानी परेकाले पनि बीमातर्फ आकर्षित गर्न समस्या भइरहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । गुणस्तरीय सेवा सरकारी अस्पतालमा पाउने भए पनि छिटो सुविधा खोज्ने बानी परेको कारणले गर्दा बीमातर्फ जनता आउन हिचकिचाउन गरेका छन् । २०७३ साल पुस १३ गतेबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाका लागि ४३ जना दर्ता सहयोगी छनौट गरेर गरिएको थियो । हाल ५ हजार ५ सय १६ परिवारका २८ हजार ३ सय ३४ जना जनसङ्ख्या मात्रै बीमाको पहुँचमा पुगेका छन् । तत्कालीन सुरुआती समयमा दुई हजार पाँच सय प्रिमियम तिरेपछि ५ जनाको परिवारले ५० हजार रुपैयाँ बराबरको स्वास्थ्योपचार पाउने गरेकोमा अहिले तीस हजार पाँच सय रुपैयाँ प्रिमियम तिरे एक लाख बराबरको सुविधा पाउन थालिएको छ । सबै नागरिकका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित स्वास्थ्य बीमा कार्यक्रम २०७२ मा कैलालीबाट सुरु भएको थियो । ‘स्वास्थ्य बीमा दूर दराजमा पुग्न सकेकै छैन, अहिले पनि बीमा बजार केन्द्रित मात्रै देखिएकोले यसलाई अरू प्रभावकारी बनाउनका लागि बोर्डले नै पहलकदमी गर्नुपर्ने देखिन्छ’ नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले भन्नुभयो । ‘स्वास्थ्य सबै नागरिकहरूको सरोकार हो र स्वास्थ्य बीमा गर्नुपर्छ पनि । त्यसमा बढी प्रभावकारी स्थानीय तहका जनप्रतिनिधिको हुने भएकाले उनीहरू बढी जिम्मेवार तथा जनतासँग प्रत्यक्ष जोडिने भएकाले उनीहरूले जनतासम्म यसको बारेमा पुर्याएको खण्डमा प्रभावकारी तवरले अगाडि बढ्छ’ उहाँले थप्नुभयो । उपभोक्ता हित संरक्षण मञ्च म्याग्दीका अध्यक्ष ठहरबहादुर भण्डारीले सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बोर्डले प्रभावकारी तवरले काम गर्न नसकेको कारणले गर्दा नै जनस्तरमा बीमाको पहुँच पुग्न सकेको छैन । बीमा गरेकाहरूले आफूले पाउनुपर्ने सुविधा समेत राम्रोसँग उपभोग गर्न पाएका छैनन् । त्यसैले बीमालाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।’
कावासोती: उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडककै कारण सर्वसाधारण जनताले दुःख पाउने र ज्यान गुमाउने समस्याको अन्त्यमा आफू लागिपर्ने बताउनुभएको छ। बुटवल–नारायणगढ सडक आयोजनाको स्थलगत निरीक्षण गर्न नवलपुर आइपुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले सडककै कारण जनताले सास्ती खेप्नु दुःखद विषय भएको भन्दै निर्माणाधीन सडकको अवस्था बुझी समयमा नै समन्वयात्मक रूपमा कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको छ। उहाँले नवलपुरको गैँडाकोट, रजहर, दुम्कौली र डण्डासम्मको निर्माणाधीन सडकको निरीक्षण गर्नुभएको हो। सडक निरीक्षणका क्रममा उहाँले देवचुली नगरपालिका चौधरी उद्योग ग्राम अगाडि निर्माणमा ढिलाइ भएको सडकका बारेमा समेत चासो लिनुभएको थियो। मन्त्री श्रेष्ठले सडकबाट करिब पाँच सय मिटर पैदल हिँडेर सडक आयोजनाले गरेको कामको अनुगमन गर्नुभएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले कामदार र सिफ्ट बढाएर आयोजनाको कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। सडक निर्माण समयमा नै हुन नसकेको अवस्थामा जनताले गर्ने गुनासोलाई यथाशीघ्र सम्बोधन गरी निर्माण कम्पनीलाई तत्काल निर्माणमा तदारुकतामा उहाँले जोड दिनुभयो।
सिन्धुपाल्चोक: गोरुपालन लोप हुन लागेको भन्दै संरक्षणका लागि बाह्रबिसे नगरपालिकाले गोरुपालक कृषकलाई प्रोत्साहन स्वरूप आर्थिक अनुदान दिन थालेको छ । नगरप्रमुख बालकृष्ण बस्नेतले वडा नम्बर १ देखि ९ सम्म ७७६ कृषकले गोरुपालन गरेकोले उनीहरूलाई प्रोत्साहन गर्न प्रति किसान १० हजारका दरले नगद अनुदान दिन सुरु गरिएको जानकारी दिनु भयो । पछिल्लो समय खेतबारी जोत्न ट्याक्टर भित्रिदैं गएको र गोरु पाल्ने किसान घट्दै गएकोले गोरु पाल्नका लागि प्रोत्साहन दिने अभियान सुरु गरेको प्रमुख बस्नेतले थप्नु भएको छ । गोरुको बीमा गर्दे प्रोत्साहन अभियान तीन दिन भित्र सक्ने जनाइएको छ । उक्त नगरपालिकामा ८० प्रतिशत भन्दा बढी जनसङ्ख्या कृषिमा आबद्ध छन् । तर अधिकांश कृषकले गोरु पाल्न छाडेर डिजेलबाट चल्ने ट्याक्टर प्रयोग गर्न थालेका छन् । भौगोलिक विकटता र खेतबारीमा गहिराई खन्न नसक्ने ट्याक्टर उपयोगी नभएको भन्दै नगरले गोरुपालनलाई प्राथमिकतामा राखेर किसानलाई प्रोत्साहन दिन थालेको छ । वडा नम्बर ९ का कृषक शिव प्रसाद तिमल्सिनाले नगरपालिकाको प्रोत्साहनले किसानलाई कृषि पेसामा ऊर्जा थपिएको सुनाउनु भयो ।
काठमाडौंः आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले यी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । दिउँसो एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान छ । पानी पार्ने गरी पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नभएकाले तत्काललाई जमिन भिज्नेगरी पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो । यस्तै, आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा पनि हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । अन्य ठाउँको मौसम भने आज सामान्यतया सफा नै रहने अनुमान छ । काठमाण्डौमा आज हिजो भन्दा चिसो छ । केही दिन अघि न्यूनतम तापक्रम लगातार बढिरहेकोमा आज भने घटेको छ । काठमाण्डौको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो ४ दशमलव २ डिग्री सेल्सियस र अस्ति ४ दशमलव ५ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्नुमा खास कारण नभए पनि पश्चिमी वायुको सामान्य प्रभावकै कारण तापक्रम घटेको मौसमविद्ले बताएका छन् ।
कास्कीः फ्रान्सदेखि आएको एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोलीले गत आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाबारे स्थलगत अध्ययन थालेको छ । बुधबार विमान खसेको ठाउँ सेतीखोँचमा पुगी उक्त टोलीले घटनास्थलको अवलोकन गर्नुका साथै दुर्घटनाबारे जानकारी लिएको हो । टोलीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासीलगायतले सहजीकरण गरिरहेका छन् । ‘ड्रोन’समेत उडाएर टोलीले घटनास्थलको अवलोकन गरेको थियो । दुर्घटनाको अध्ययनका लागि नौ सदस्यीय टोली मङ्गलबार नै पोखरा आइपुगेको थियो । नेपालमा पहिलोपटक भएको एटीआर विमान दुर्घटनाबारे निर्माता कम्पनीले पनि चासोपूर्वक लिएको जनाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले विदेशी विज्ञ टोलीले अध्ययन गरिरहेकोबारे सम्बन्धित निकायबाट जानकारी पाएको भए पनि आफूलाई यो विषयमा धेरै थाहा नभएको बताउनुभयो । “दुर्घटनापछि खोज, उद्धार, शव व्यवस्थापनलगायतमा सुरक्षा निकाय खटिन्छ, जाँच तथा छानविनको विषय हामीसँग सम्बन्धित हुँदैन”, उहाँले भन्नुभयो । विमान दुर्घटनापछि सरकार गठन गरेको जाँच आयोगलेसमेत दुर्घटनाबारे छानविन सुरु गरेको छ । अध्ययन सकेर केही सदस्य काठमाडौँ फर्किसकेको केही अझै पोखरामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा जाँच आयोग गठन भएको थियो । आयोग सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा र हवाई मर्मत विज्ञ एकराजजङ्ग थापा रहनुभएको छ । आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ । यसअघि सोमबार विमानको ‘ब्ल्याक बक्स’ फेला परेको थियो । ‘ब्ल्याक बक्स’ले दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण सहयोग पुग्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । ६८ यात्रु र चार जना चालकदलका सदस्य लिएर गत आइतबार काठमाडौँबाट पोखराका लागि उडेको विमान सेतीँखोचमा खसेको थियो । दुर्घटनामा परेका ७१ जनाको शव फेला परिसकेको छ भने बेपत्ता एक जनाको खोजी कार्य जारी रहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिनुभयो ।

