एन्टाक्या: टर्कीमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी सहर एन्टाक्यालाई केन्द्रबिन्दु बनाएर सोमबार गएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो । सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । गत माघ २३ गते टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा परी टर्की र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीका गृहमन्त्री सुलेमान सोयलुले सोमबारको भूकम्पमा परी घाइते भएका २१३ जनालाई अस्पताल भर्ना गरिएको बताउनुभएको छ । सिरियामा एक सय ३० जना घाइते भएका तथा अघिल्लो भूकम्पबाट जीर्ण भएका केही भवन पूर्ण रूपमा भत्किएका छन् ।
काठमाडौंः नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई भेन्टिलेटरबाट हटाइएको छ। बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट हटाइएको हो। भण्डारीका सहयोगी योगराज शर्मा कँडेलले भण्डारीको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार आउन लागेको जानकारी दिए। उनले भने, ‘आज बिहान डा. मुकेश मिश्रा र डा. अमोल मात्रेसँग काउन्सिलिङ्ग सम्पन्न भइ सकेको छ। उनको ईटी ट्यूव निकालिएको छ। अहिले रिजरभायर व्याग मास्कबाट १५ लिटर अक्सिजन दिइएको छ। डाक्टरहरुको योजना बमोजिम १५ लिटरलाई घटाउँदै लगिनेछ। ’ उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीको सबै पारामिटर नर्मल छन्। फोक्सोको तल्लो भागमा थोरै इन्फेकसन देखिएको तर डराउनुपर्ने अवस्था नरहेको डाक्टरबाट जानकारी प्राप्त भएको छ। अहिले भण्डारी बोल्न थालेका छन्। भण्डारीको प्रत्येक दिन छातीको फिजियो भइरहेको छ। सुन्निएको अनुहार पुरानो अवस्थामा फर्केको छ। कुनै कुनै ठाउँमा रातो रातो नयाँ छाला पलाएको देखिएको छ। डाक्टर र नर्सहरुले भण्डारीले घेरै कुरा गर्न खोजिरहेका तर आफूहरुले नबुझेको बताए। गत बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घट्नालगत्तै दुबैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो। नेता डा भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत मुम्बइमा थप उपचारका लागि लगिएको थियो।
काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा जितका लागि स्कटल्यान्डले नेपालाई दुई सय १३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १२ रन बनायो । स्कटल्यान्डका लागि जर्ज मुन्शेले ६० रन बनाउनुभयो । आज जन्मदिन परेका जर्जले ४६ बलमा सात चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै म्याथ्यु क्रसले ४२, ब्राण्डन म्याकमुलनले ३१, क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन बनाउनुभयो । बलिङमा नेपालका सन्दीप लामिछानेले चार विकेट लिनुभयो । सन्दीपले १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिनुभएको हो । करण केसीले तीन तथा कुशल मल्ल र ललित नारायण राजवंशीले एक एक विकेट लिनुभयो । यस खेलसँगै करणले एकदिवसीयमा ५० विकेट पूरा गर्नुभएको छ । नेपालका लागि यसअघि सन्दीप र सोमपाल कामीले पनि एकदिवसीयमा ५० विकेट पूरा गर्नुभएको छ । अघिल्ला तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा आज पनि जित निकाल्ने लक्ष्यमा छ । अघिल्लो खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । लिग–२ च्याम्पियन बनिसकेको स्कटल्यान्ड पनि आज जित किनाल्दै सिरिजको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । ३५ खेलमा ५० अंक बनाएको स्कटल्यान्ड शीर्षस्थानमा छ । २७ खेलमा २४ अंक बनाएको नेपाल छैटौं स्थानमा छ । नेपाललाई विश्वकपमा स्थान बनाउन अबका सबै खेल जित्नु पर्ने बाध्यता छ । सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोलीले एकदिवसीय विश्वकपमा स्थान बनाउनेछ ।
पोखरा: पोखरामा सोमबार देखि हराइरहेका बालक आज खुँडेपोखरीमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका कास्कीका अनुसार सुशिला केसीको चार वर्षीय छोरा सुहान केसी पोखरीमा मृत भेटिएका हुन् । हिजो (सोमबार) बेलुका देखि हराइरहेका केसी पोखरा महानगरपालिका ५ खुँडेपोखरीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका हुन् । भेटमा प्रधानमन्त्रीले भने, ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठुलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हित अनुकूल परिचालन गर्न सरकार प्रतिबद्ध छ।” धनकुटा जिल्लाको चौबिसे गाउँपालिका वडा नं.–४ निवासी कार्की २ वर्षअघि ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा साउदी जेलमा रहेका छन्।
काठमाडौं: आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज च्याम्पियन स्कटल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । स्कटल्यान्डले पहिला ब्याटिङ गर्नेछ । नेपालले आजको खेलमा तीव्र गतिका बलर गुलशन झाको ठाउँमा ललित नारायण राजवंशीलाई मौका दिएको छ । नेपालले स्कटल्यान्डसँग यो शृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई तीन विकेटले तथा पहिलो खेलमा दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपालले पहिलो पटक लगातार तीन खेल जितेको छ । श्रृङ्खला अन्तर्गत हिजो भएको खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हराएको थियो । स्कटल्यान्ड ३५ खेलमा ५० अङ्कसहित शीर्षस्थानमा छ । लिग २ को च्याम्पियन बनेको स्कटल्यान्डले आज नेपालको खेलपछि नै ट्रफी पाउनेछ । लिगका सबै ३६ वटा खेल खेलिसकेको ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ । दुवै टोली विश्व कपका लागि छनोट भइसकेका छन् । सात टोली रहेको लिग–२ बाट शीर्ष तीन टोली विश्व कपका लागि छनोट हुनेछन् । लिगको तेस्रो स्थानका लागि नामिबिया, यूएई र नेपाल प्रतिस्पर्धामा छन् । अहिले तेस्रो स्थानमा रहेको नामिबियाको ३४ खेलमा ३७ अङ्क छ । अब नामिबियाका दुई खेल बाँकी छन् । चौथो स्थानमा रहेको अमेरिकाको ३६ खेलमा ३५ अङ्क र पाँचौँ स्थानमा रहेको यूएईको २६ खेलमा २७ अङ्क छ । छैटौँ स्थानमा रहेको नेपालको २७ खेलमा २४ अङ्क छ । नेपालले नौ वटा खेल खेल्न बाँकी छ । पुछारमा रहेको पपुवा न्युगिनीले २८ खेलमा पाँच अङ्क मात्रै जोडेको छ । नामिबियाले बाँकी दुवै खेल जितेमा ४१ अङ्क हुनेछ । नेपालले सबै खेल जितेमा ४२ अङ्क हुनेछ । नेपालले यूएई र पपुवा न्युगिनीसँग चार–चार खेल खेल्नेछ । नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय श्रृङ्खला अर्को हप्तादेखि यूएईमा हुनेछ ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिनुभएको छ । ग्याल्पो ल्होसार, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले “ग्याल्पो ल्होसार पर्वले सबैलाई एकताबद्ध भएर आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समुन्नत मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस्” भनी कामना गर्नुभयो । “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो, शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाइन्छ । पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यमा नयाँ ध्वजा राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।
काठमाडौं: प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होछार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होछार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होछार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धानदाता टीका शेर्पाको भनाइ छ । उनका अनुसार ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्छन् । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् । ग्याल्बो ल्होछारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
पोखरा: गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी डाइभर्सनको विरोध गर्ने र प्रदेश बलियो बनाउनुपर्छ भन्ने मान्यता राख्दै आएको बताएका छन् । उनले निजी क्षेत्रसँग मिलेर,पूँजीगत खर्च बढाएर र ठूला परियोजना निर्माण गरेर गण्डकीलाई समृद्ध बनाउने उद्घोष पनि गरे । कालीगण्डकी डाइभर्सनको विरोध गर्ने र प्रदेश बलियो बनाउनुपर्छ भन्ने मान्यता राख्ने पहिलो व्यक्ति नै आफू भएको जिकिर गर्दै उनले भने,‘कालीगण्डकी डाइभर्सन भन्ने कुरा कुनै ठूला नेताले बोलेर हुन्छ ?उत्तरगंगा परियोजना सुनको अण्डा पार्ने प्रोजेक्ट हो, किन हामीलाई गर्न नदिने? हामी यसलाई आफ्नै स्रोतबाट बनाउन सक्छौँ ।’ उनले संघ सरकारका विभिन्न कानूनी अवरोधका कारण काम गर्न अप्ठेरो परेको पनि सुनाए । जग्गा प्राप्ति र भौतिक निर्माणमा वनले रोक्दा अप्ठेरो परेको उनले प्रष्ट पारे । ‘त्रिवेणीसम्म त हामी आफैं जान पाउनुप¥यो नि,यस्तो अवरोध छ कि, कहिले वातावरणीय मूल्याङ्कन गर्ने,कहिले के भनेर राजमार्ग रोकिएको छ,’उनले भने । उनले प्रदेशको राजश्व बढाउनु आफ्नो पहिलो काम भएको पनि बताए । उनले प्रदेशलाई बलियो बनाउनु आफ्नो एकमात्र लक्ष्य भएको बताए। ‘प्रदेश सरकारलाई तपाईंले बलियो बनाउन सक्नुहुन्न भने,साझा अधिकारको विषयमा कानून नबनाउनु भनेको यो (प्रदेश संरचना) नै फालौं भनेजस्तो हुन्छ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु,’,पोखरा उद्योग वाणिज्य संघले सोमबार उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले भने,‘अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला विकास समिति र जिसस जिल्ला समन्वय समितिजस्तो हुन्छ ।’ उनले कर्मचारी समायोजनमा अझै समस्या रहेको पनि खुलासा गरे । ‘यहाँ तीन हजार कर्मचारी आएको भनियो तर को कहाँ छन्, थाहा छैन,’,उनले भने । उनले संघ सरकारले सयौं टुक्रे योजनाहरु आफूखुसी प्रदेशमा दिएको र ठेक्का प्रक्रियामा गइसकेपछि रकम फिर्ता लगेर नचाहिँदो काम गरेको आरोप पनि लगाए । ‘संघको यस्तो कामले पूँजीगत खर्च बढ्छ ?’उनले प्रश्न गरे । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अर्थतन्त्र चलायमान बनाउन पूूँजीको लागत कम गर्नुपर्नेमा जोड दिए ।‘पूँजीको लागत कम गर्न घुसखोरी होस् कि, सिण्डिकेट होस् कि चर्को ब्याजदर नै किन नहोस्,त्यो रोकिनुपर्छ,’,उनले भने,‘राज्यले चाहे यी सबै कुरा सल्ट्याउन सक्छ,राज्य मौन बसे अवाञ्छित तत्वले लाभ लिन्छन् ।’ उनले गण्डकी प्रदेशबासीको क्रयशक्ति घटेको र प्रदेशको सामथ्र्य सुदूरपश्चिमभन्दा तल पुग्ने अवस्था आएको बताउँदै लगानी भित्र्याउन वातावरण निर्माण र ठूला परियोजनाको खाका कोर्नुपर्ने बताए । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले मुख्यमन्त्रीसँग निजी क्षेत्र मैत्री व्यावसायिक वातावरण निर्माणको लागि पहल गर्न आग्रह गरे । उनले बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजका कारण व्यवसायीहरु मर्कामा परेको उल्लेख गर्दैव्यवसायीहरुमाथिको धरपकड अन्त्यको माग गरे । अध्यक्ष प्रजापतिले पूँजीगत खर्च बढाउन,भौतिक पूर्वाधार निर्माणलाई गति दिन,पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटो अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण निर्माण गर्न र औद्योगिक क्षेत्र स्थापनाको पनि माग गरे । उनले प्रदेश सरकार भएर पनि सानो कामको लागि काठमाडौं जाने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताए ।‘हामीसँग नजिकको प्रदेश सरकार छ तर उद्योग दर्ता, नवीकरणदेखि, राजश्व बुझाउन पनि काठमाडौं जानुपर्नेै बाध्यता छ,’,उनले भने, हामीले कम्पनी रजिष्टारको कार्यालय पोखरामा हुनुपर्छ भन्ने आवाज उठाउँदै आएको धेरै भयो । त्यस्तै सामाजिक सुरक्षा कोषको कार्यालय पनि पोखरामा होस् भन्ने हाम्रो माग छ ।’ उनले सुनचाँदीदेखि साना ढुवानीका समस्याको पनि उठान गरे । त्रिवेणी–कोरला तथा मध्यपहाडी राजमार्गबाट गण्डकीले कसरी फाइदा लिने भन्नेबारेमा सोच्नु्पर्ने बेला आइसकेको पनि उनको भनाइ थियो । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रवद्र्धनको लागि काम गर्न मुख्यमन्त्रीसँग आग्रह गरे । उनले बिहार र उत्तरप्रदेशका मुख्यमन्त्रीलाई पोखरा र मुक्तिनाथ भ्रमण गराउन तथा चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउनेतर्फ तत्काल काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री हरिबहादुर चुमान,आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहा मगर, गण्डकी नीति तया योनजा आयोगका उपाध्यक्ष डा। गिरिधारी शर्मा पौडेलको समेत उपस्थिति रहेको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद र महासचिव बलराज आचार्यको संचालन रहेको थियो ।

