हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा हिजो राति भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । भैँसेबाट हेटौँंडातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई बाग्मती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा २५ वर्षका अमित कपाडीको ज्यान गएको हो । टिपरको ठक्करबाट घाइते कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्कुटरका चालक सामान्य घाइते भइ हेटौँडा अस्पताल उपचारपश्चात घर फर्किसकेका प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो ।
पोखरा: पोखरामा गएराति चट्याङ लागेर देब बहादुर विकको मृत्यु भएको छ । पोखरा महानगरपालिका २३ हर्पनमा गएराति ११:३० बजेको समयमा आफ्नै घरको ढोका लगाउने क्रममा अचानक उनलाई चट्याङ लागेको थियो । चट्याङ लागेर बेहोस भएका विकलाई कास्की प्रहरीले उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो । कास्की प्रहरीका अनुसार अस्पतालमा चेकजाँचको क्रममा आज बिहान २ बजे डाक्टरहरुले मृत घोषणा गरेको जनाएको छ । यस्तै गएराति नै बागलुङको ढोरपाटन नगरपालिकामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
काठमाडौं: यसवर्ष वैशाखयता चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ छ । ८४ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख १ गतेदेखि अहिलेसम्म चट्याङका एक सय वटाभन्दा धेरै घटना भएका छन् । हिजो एकैदिन दाङ र बाग्लुङमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । चट्याङ लागेर दङ्गीशरण गाउँपालिका–६ बागरका ३२ वर्षीय समिर केसी र दङ्गीशरण गाउँपालिका–३ चखौराका ३७ वर्षीय रामनारायण चौधरी (वीरेन्द्र) को मृत्यु भएको हो । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। यस्तै, बाग्लुङको ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो । चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । मौसमविद्का अनुसार प्रि–मनसुनमा चट्याङ धेरै पर्ने भए पनि अहिले मनसुन सुरु भइसक्दा पनि छिटपुट घटना भइरहेका छन् । चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर घाइते हुने तथा ज्यान नै जाने खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । अझै दुई–तीन महिना चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले सावधानी अपनाउन उनको आग्रह छ । चट्याङ पर्ने समयमा खेतबारीको काममा नजान र गड्याङगुडुङको आवाज सुनेपछि घरभित्र वा सुरक्षित ठाउँमा बस्न विज्ञको सुझाव छ । चट्याङ पर्दा सबै विद्युतीय उपकरणलाई बन्द गर्नुपर्छ । यस्तो बेला मोबाइल नचलाउन, चार्ज नगर्न तथा पानीबाट पनि टाढा बस्न विज्ञको सुझाव छ । विज्ञका अनुसार पानीले पनि विद्युत् प्रवाह गर्ने भएकाले चनाखो हुनुपर्छ ।
बागलुङ: बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ । विकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको सूचना अधिकारी केसीले जानकारी दिए । जीप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।
काठमाडौं: नेपाल उद्योग परिसङ्घको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन हुनुभएको छ । काठमाण्डौमा सम्पन्न परिसङ्घको २०औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका अग्रवाल परिसङ्घको विधान अनुरुप स्वतः अध्यक्षमा चयन हुनुभएको हो । अग्रवाल डेढ दशकदेखि परिसङ्घको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजश्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै परिसङ्घको उपाध्यक्ष बन्नुभएको थियो । आरएमसी ग्रुपका कार्यकारी निर्देशक समेत रहनुभएका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आबद्ध हुनुहुन्छ । परिसङ्घका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई सपथ ग्रहण गराउनुहुँदै पदभार हस्तान्तरण गर्नुभयो । परिसङ्घको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राज बहादुर शाह, विदुषी राणा, अजित विक्रम शाह, हेम राज ढकाल, आशिष अग्रवाल जजोडिया, मनिष खेम्का, द्विराज शर्मा (शिवाकोटी), ध्रुवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा, विरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्। यसैगरी लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दिप शारदा, मोहित केडिया, अमित मोर, अमित कुमार बेगानी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुण कुमार तोदी, राहुल कुमार अग्रवाल, शरद कुमार टिवडेवाला, विक्रम सिंघानीया, मिलन बाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपाल कुमार अग्रवाल, आदित्य संघाई निर्वाचित भएका छन् । परिसङ्घको उपाध्यक्षमा निर्वाण चौधरी, विरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेम राज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन भए । यसैगरी परिसङ्घको स्थायी आमन्त्रित सदस्यमा सन्दिप शारडा, गोकुल भण्डारी र छायाँ शर्मा मनोनित भएका छन् ।
काठमाडौं: विश्वकप क्रिकेट छनोट अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २८ ओभर १ बलमा मात्रै तीन विकेट गुमाएर भेट्टायो । उसका म्याक्स ओ डाउडले सर्वाधिक ९० रन बनाए । नेपालका सन्दीप लामिछानेले दुई र गुल्सन झाले एक विकेट लिए । यसअघि जिम्बावेको टाकाशिंगा स्पोर्ट्स क्लबमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४४ ओभर ३ बलमा १ सय ६७ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । यस्तै, सन्दीप लामिछानेले २७, गुल्सन झाले १५, दिपेन्द्रसिँह ऐरीले १४, कुशल मल्लले १२, आरिफ शेखले ६, भीम सार्कीले २२, कुशल भुर्तेलले २७ र करण केसीले एक रन बनाए । आशिफ शेखले खाता खोल्न सकेनन् । नेदरल्यान्ड्सका लोगन भान बीकले ४ विकेट लिए । आजको हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ । समूह ए बाट अमेरिका यसअघि नै बाहिरिइसकेको छ । समूह ए बाट जिम्बावे, वेष्ट इन्डिज र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । नेपालले आफ्नो खेलमा अमेरिकालाई हरायो भने वेष्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्सँग पराजित भयो
रुकुम पश्चिम: कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का घाइते भएका छन्। शनिबार रुकुमपश्चिमको चौरजहारी नगरपालिका –३ घारीपाखानेर उहाँ चढेको कर्णाली प्रदेश ००१ झ ००४४ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा खड्काको बायाँ खुट्टामा चोट लागेको उनका स्वकीय सचिव हुकुम बिसीले जानकारी दिए। दुर्घटनामा परेर चौरजहारी नगरपालिका–९ स्थित आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, खड्काका स्वकीय सचिव हुकुम बिसी, चालक युवराज गिरीसहित गाडीमा सवार नौ जना घाइते छन् प्रधानाध्यापक मल्लको हात भाँचिएको छ भने अरू सबैको अवस्था सामान्य रहेको छ। आइतबार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँ सभामा सहभागी हुन त्यसतर्फ जाने क्रममा गाडी दुर्घटना भएको हो। गाडीको स्टेरिङ अकस्मात् घुमेपछि गाडी अनियन्त्रित भएर पल्टिएको चालक गिरीको प्रतिक्रिया छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारीबाट पुगेको प्रहरी टोलीले घाइतेलाई उपचारको लागि चौरजहारी अस्पतालतर्फ पठाएको छ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र अनुसन्धान केबल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका अवसरमा आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले यथास्थितिका सौन्दर्यचेतनाले मात्रै अब नपुग्ने भन्दै नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण जरुरी रहेको स्पष्ट पारे । प्रधानमन्त्रीले नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न आह्वान गर्नुहुँदै सङ्घीय, समानुपातिक, गणतान्त्रिक युग अनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान २०७२ को मर्म र भावना अनुरूप नेपालमा बोलिने सबै भाषा र तिनका साहित्य, संस्कृति अनि ज्ञानका विभिन्न शाखालाई प्रवर्द्धन र विकास गर्दै अघि बढ्नु प्रज्ञा प्रतिष्ठानको दायित्व र कर्तव्य रहेको औँल्याउए । उनले नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा, यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य–चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सकेमा मात्र हामी सफल हुने बताए ।
पाँचथर: पाँचथरमा बाढी र पहिराका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन्। सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिराका कारण जिल्लाका एक सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन्। बाढी र पहिराका कारण १४ घर पूर्णरूपमा विस्थापित भएका छन् । पूर्ण विस्थापित हुने जिल्लावासीको सङ्ख्या ५९ छ। यस्तै जिल्लाका ८६ घर बाढी पहिराको उच्च जोखिममा छन्। उच्च जोखिममा परेका ८६ परिवारका चार सय २५ नागरिक पनि विस्थापित भएका छन्। यस्तै बाढी पहिराका कारण १९ घरमा आंशिक क्षति पुगेको छ, जसकारण ९० जना नागरिक प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिए। जिल्लामा हाल कूल पाँच सय ७४ नागरिक आफ्नो घरबाट विस्थापित बनेको प्रजिअ मङ्ग्रातीले बताए। बाढीले यहाँका छ वटा पक्की पुल बगाएको छ। यस्तै एउटा बेलिब्रिज, आठ वटा झोलुङ्गे पुल र एउटा फलामको ट्रस पनि बाढीले बगाएको छ। पुलमा क्षति भएपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड, तमोर कोरिडोरको माझीटार–ताप्लेजुङ खण्ड, मध्यपहाडी लोकमार्गको ओयाम–च्याङथापू खण्ड अवरुद्ध भएका छन्। दर्जनौँ ग्रामीण सडकको सवारी आवागमन प्रभावित बनेको प्रजिअ मङ्ग्रातीले जानकारी दिए। जिल्ला दैवी प्रकोप समितिले बाढी पहिराका कारण विस्थापित सबै परिवारसम्म राहत सामग्री पुर्याएको छ। पूर्णविस्थापित परिवारका लागि लामो समय उपयोग गर्न सकिने पाल पनि जिल्ला आइपुगेको र भोलिदेखि वितरण थालिने प्रजिअ मङ्ग्रातीको भनाइ छ। बाढी पहिराले हालसम्म एउटा विद्यालय, तीन वटा गोठ, ४६ वटा चौपाया बगाएको तथ्याङ्क सङ्कलन भएको छ। बाढी पहिराका कारण जेसीबी मेसिन दुई वटा, एउटा ट्र्याक्टर, एउटा मोटरसाइकल, एउटा स्काभेटर र एउटा क्रसर मेसिन पनि बगाएको छ। बाढी पहिराका कारण यहाँका हजारौँ रोपनी क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको छ। यद्यपि बालीमा पुगेको क्षतिको विवरण सङ्कलन भइनसकेको प्रजिअ मङ्ग्रातीले बताए। ‘प्रहरी, स्थानीय तहका कृषि प्राविधिक तथा कृषि ज्ञान केन्द्रसमेतको समन्वयमा कृषि बालीमा भएको क्षतिको विवरण सङ्कलन थालिएको छ,’ प्रजिअ मङ्ग्रातीले भने, ‘यथाशक्य चाँडो क्षतिको विवरण तयार पारी राहतका लागि उपल्ला निकायमा पहल थाल्नेछौँ।’

