पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

गलकोट:   धौलागिरि अस्पतालमा अहिले विशेषज्ञसहितको सेवा छ । जटिल प्रकारका रोगको समयमै अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा पछिल्लो समय जटिल प्रकारका शल्यक्रियासमेत भइरहेका छन् ।  उपचार र परीक्षणमा समेत नयाँ आधुनिक उपकरण भित्रिँदा बिरामीलाई सहज भएको छ । अस्पतालमा सेतो रगतको आवश्यक पर्ने बिरामीलाई भने उपचारमा समस्या भएको छ । रक्त सञ्चार केन्द्रमा सेतो रगत ९प्लेटलेट्स० नपाइँदा अस्पतालले जटिल प्रकारको समस्या देखिएर सेतो रगत चाहिने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बागलुङ स्थित रक्तसञ्चार केन्द्रलाई दिएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज)प्रयोगमा आउन सकेको छैन । थप उपकरण र प्राविधिक जनशक्ति अभावमा उक्त उपकरण एक वर्षदेखि थन्किएको हो । विशेषगरी पछिल्लो समय डेङ्गीको सङ्क्रमण भई सेतो रगतको मात्रा घटेका बिरामीलाई सेतो रगत आवश्यक पर्दछ ।  यसो त डेङ्गीमा मात्र होइन, सर्पले टोक्दा, शल्यक्रिया गर्दा, अत्यधिक रक्तस्राव भएका बिरामीलाई समेत सेतो रगत आवश्यक पर्दछ । रक्त सञ्चार केन्द्र बागलुङमा सेतो रगत निर्माण गर्ने उपकरण अभावले समस्या छ ।  अस्पतालले डेङ्गी, कोभिड, क्यान्सर र सर्पले टोकेका, सेतो रगत कम उत्पादन हुने बिरामी, शल्यक्रिया गर्दा अत्याधिक रक्तस्राव भएका बिरामीलाई सेवा दिनका लागि सेतो रगत नभएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीले बताउनुभयो ।  उहाँले सेतो रगतकै कारण उपचार सम्भव हुने बिरामीलाई समेत पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको बताउँदै रक्त सञ्चार र धौलागिरि अस्पतालले सेतो रगत उत्पादन गर्ने व्यवस्थाका लागि प्रक्रिया थालेको जानकारी दिनुभयो ।  सेतो रगतको अभाव हुँदा समस्या भएपछि अस्पतालले र रेडक्रसको रक्त सञ्चार केन्द्रको समन्वयमा समस्याको समाधानका लागि मिलेर काम गरिरहेको तिवारीको भनाइ छ ।  “डेङ्गीका बिरामीमा सेतो रगतको अभाव देखिन्छ, बिरामीको अवस्था हेरेर र ३० हजारभन्दा तल प्लेटलेट्स भएमा सेतो रगतको आवश्यकता हुन्छ, डेङ्गी लागेका सबै बिरामीलाई रगतै आवश्यकता पर्छ भन्ने छैन, जटिल अवस्थाका बिरामीलाई रगत आवश्यकता भएमा हामीले पोखरा पठाउँछौँ”, तिवारीले भन्नुभयो ।  यसरी बिरामीहरु जिल्लाबाहिर उपचार गर्न जानुपर्दा अनावश्यक खर्चसमेत हुने गरेको छ । स्वास्थ्य उपचारमा अत्यावश्यक रहेको सेतो रगत निर्माण गर्ने रु २२ लाखको उपकरण तीन वर्षदेखि रेडक्रसको रक्त सञ्चार केन्द्रमा थन्किएको छ । रक्त सञ्चार केन्द्रमा उपकरण थप, पूर्वाधार निर्माण गरी सेतो रगतको व्यवस्था मिलाउन पहल भइरहेको नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले जानकारी दिनुभयो । उहाँले सेतो रगतका लागि अहिलेको २२ लाखको उपकरणमा थप उपकरण ल्याउन ७२ लाख आवश्यक पर्ने बताउनुभयो । तत्कालै सेवा सञ्चालनका लागि रु ३२ लाख रकम चाहिने बताउँदै स्थानीय पालिकाले सहयोग गर्ने आश्वासन दिएको अचार्यको भनाइ छ । गण्डकी प्रदेश सरकारले सेतो रगत निर्माणका लागि रु १५ लाख, जैमिनी नगरपालिकाले रु तीन लाख र गलकोट नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।  “रु २२ लाखको उपकरण भित्रिएको तीन वर्ष भयो, अन्य सहायक उपकरण र पूर्वाधार नभइ सेतो रगत निर्माण गर्न सकिएको छैन, यो वर्ष अन्य पालिकाले समेत रकम दिएमा सेतो रगत उत्पादन थाल्छौँ”, आचार्यले भन्नुभयो, “शल्यक्रिया गर्दा, सर्पले टोक्दा, कोभिड र डेङ्गीजस्ता रोगमा सेतो रगत अत्यावश्यक रहेछ, सेतो रगत बनाउन थालेपछि धौलागिरि अस्पतालमै जटिल प्रकारका बिरामीको उपचार हुने र बिरामीको आर्थिक भार कम हुन्छ ।”  दान गरेको रगतबाटै सेतो रगत बनाउन सकिने रातो रगत, प्लेटलेट्स र प्लाज्मा छुट्याउनलाई कम्पोटेन्ट मेसिन आवश्यकता पर्दछ ।  

काठमाडौं:   देशका ७७ जिल्ला नै पूर्ण खोप घोषणा भएका छन् । पछिल्लो पटक नुवाकोट पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको हो ।  स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले ती सबै जिल्लाका २ वर्षमुनिका शत्प्रतिशत बालबालिकाले सरकारले उपलब्ध गराएको खोप लगाएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको बताउनुभयो ।  नेपालमा पहिलोपटक अछाम र पाल्पा पूर्ण खोप जिल्ला घोषित भएका थिए ।  “हामीले जन्मेदेखि बालबालिकालाई १५ महिनासम्म विभिन्न खोपका १८ मात्रा दिने गर्दर्छौं”, उहाँले भन्नुभयो, “ती खोप सबै बालबालिकाले खोप पाएपछि ती जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्दछौँ ।” सरकारले जन्मिनेबित्तिकै क्षयरोग विरुद्धको बिसिजी खोप लगाउने गर्दछ ।  यस्तै, छ हप्ता र १० हप्तामा दुईपटक रोटा भाइरस, पोलियो भाइरस, निमोनिया, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटटिस–बी इन्फ्लुएन्जा–बी लगायतका रोगविरुद्ध क्रमशः रोटा, पोलियो, पिसिभि, डिपिटी र हेप बी–हिब खोप लगाउने गरिन्छ । १४ हप्तामा पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटटिस–बी इन्फ्एन्जा–बी विरुद्धका खोप क्रमशः पोलियो विरुद्धको खोप, एचआइपिभी, डिपिटी र हेप बी–हिब खोप लगाउने गरिन्छ ।  ९ महिनामा पोलियो, दादुरा र रुबेला तथा निमोनिया विरुद्धको खोप क्रमशः एफआइपिभी, दादुरा तथा रुबेला विरुद्धको खोप र पिसिसी खोप तथा १२ महिनामा जापानिज इन्सेफ्लाइटिस् विरुद्धको खोप तथा १५ महिनामा दादुरा र रुबेला तथा टाइफाइड विरुद्धको खोप दिने गरिन्छ ।  खोप शाखा प्रमुख गौतमले शिशुलाई जन्मेदेखि १५ महिनासम्म दिइन नसकेको खोप १६ महिनादेखि २३ महिनाभित्र दिइने बताउनुभयो ।  उहाँका अनुसार सबै जिल्ला पूर्ण खोप घोषित गरे पनि जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले अझै पनि १२ देखि २३ महिनासम्ममा ४ प्रतिशत बालबालिकाले कुनै खोप नपाएको उल्लेख गरिएको छ ।  उहाँले १६ देखि २३ महिनासम्म पनि खोप नलगाएका बालबालिकालाई पाँच वर्षसम्म पनि खोप लगाइने बताउनुभयो ।

जुम्ला:   प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताउनुुभएको छ । प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “राकम कर्णालीमा सय शय्याको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको छ । ”प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक थप सेवासुविधामा उपलब्ध सरकार प्रतिबद्ध रहेको बताउनुुभयो । प्रतिष्ठानको परिकल्पनादेखि नै आफूू जानकार रहेको र चुनौतीका बीच विगतमा आफू प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा आयोगको बैठकबाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन भई पहिलो दीक्षान्तसम्म आइपुुगेकामा उहाँले खुुसी व्यक्त गर्नुभयो । “अभिभावकको लगानी, आशा र विश्वासका साथै तपाईंहरुको मेहनत र लगावका कारण आज यो सफलता हासिल भएको छ । दीक्षित विद्यार्थीहरुलाई हरेक क्षेत्रमा सफलता हासिल गरी नयाँ नयाँ कीर्तिमान कायम गर्नुहने मैले विश्वास लिएको छु । यस सफलतालाई दूरदराजका जनताको गुणस्तरीय स्वास्थ्य सेवा दिन लाग्नुुहोस् । ” दीक्षित विद्यार्थीलाई प्रधानमन्त्री ओलीको आग्रह थियो, “म खुसी व्यक्त गर्न चाहन्छुु, कर्णाली अगाडि बढ्दैछ । कर्णाली र सुदूरपश्चिमका गरी १३ जिल्लाका जनताले यहाँबाट स्वास्थ्य सेवा पाउनुु असम्भव जस्तै ठानिएको सपना पूरा भएको अवसर हो । अब यसलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नु हामी सबैको दायित्व हो ।” संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्रा डा क्रिस्टिन मसेङ्गर प्रमुुख अतिथि रहनुुभएको समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन पूरा गरेका ५८ विद्यार्थी दीक्षित भएका प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिनुभयो ।  समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालगायत सहभागी हुनुहुन्छ ।

स्याङ्जा:    आँधीखोला गाउँपालिकाले पालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।  घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य संस्थासम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।  गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलका अनुसार पालिकाभित्रका जुनसुकै टोल तथा घरका गर्भवतीलाई ‘बर्थिङ सेन्टर’ वा अस्पतालसम्म सुत्केरी गराउन तथा  सुत्केरी भइसकेपछि घरसम्म फर्कने व्यवस्थाका लागि पालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । “पालिकाभित्रका बर्थिङ सेन्टर तथा अस्पतालमा सुत्केरी हुन नसक्ने जटिल अवस्था देखिएको खण्डमा सिफारिस गरेको पालिका बाहिरका अस्पतालसम्म पनि एम्बुलेन्स सेवा उपलब्ध गराउँछौँ ।” आँधीखोला गाउँपालिकामा तीनवटा स्वास्थ्य संस्था छन् । आँधीखोला–५ सेतीदोभानमा आँधीखोला आधारभूत अस्पताल, वडा नम्बर १ को पञ्चमुलमा पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्र र वडा नम्बर २ को चिलाउनेबासमा चिलाउनेबास स्वास्थ्यचौकी पनि छ ।  गाउँगाउँबाट चाहेको समयमा स्वास्थ्य संस्थामा पुग्न सार्वजनिक यातायातका साधन पाउन कठिन हुने भएकाले पालिकाले उपलब्ध गराउने निःशुल्क एम्बुलेन्स सेवाबाट गर्भवती, सुत्केरीले राहत महसुस गरेका छन् । पालिकाले गर्भवती र सुत्केरीका अलावा अन्य अतिविपन्न वर्गका बिरामीलाई पनि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको अध्यक्ष पौडेलले बताउनुभयो । अतिविपन्न वर्गका परिवारले सम्बन्धित वडा कार्यालयबाट ल्याएको विपन्नताको सिफारिसका आधारमा सेवा दिइने उहाँले बताउनुभयो । पालिकाले आमा सुरक्षा र प्रजनन स्वास्थ्य सेवालाई प्रवर्द्धन गरिरहेको बताउनुभयो ।    स्थानीय स्वास्थ्य केन्द्रले भिडियो एक्सरे सेवा, गर्भवतीको प्रत्येक महिना स्वास्थ्य परीक्षण, उनीहरूलाई स्वस्थ राख्न अण्डा र क्याल्सियम चक्की वितरण गर्दै आएको छ । 

जुम्ला:    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् ।  दीक्षान्त कार्यक्रम यही कात्तिक २८ गते हुने भएको छ । यसअघि गत भदौ २३ गते तय गरिएको थियो । दीक्षान्त समारोह कार्यक्रम तयारी पूरा भएको प्रतिष्ठानले जनाएको  छ ।  दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा  ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा डबलबहादुर धामीले बताउनुभयो ।  उहाँले भन्नुभयो, “स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा ३, एमडी एनेस्थेसियामा १ र एमडी पेडियाट्रिक्समा १ गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन् ।” प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्नुहुने कार्यक्रम रहेको छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिनुभयो ।  दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल हुने  जनाइएको छ  ।  

बाजुरा:     जिल्ला अस्पताल बाजुराबाट सुत्केरीको आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  जिल्लाको हिमाली गाउँपालिका–५ की २२ वर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।       सुत्केरी रोकायाको एउटा बच्चा गाउँमै जन्माएको र अर्को बच्चा जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर जन्माएको भए पनि पेटमा समस्या आएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिनुभयो ।  उहाँको जानकारीअनुसार जिल्ला अस्पताल बाजुराले सुत्केरीको अवस्था जटिल भएकाले महिला तथा बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत  उद्धार गरिएको हो ।       सुत्केरी रोकायाको यही कात्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माउनुभएको थियो भने उहाँको स्वास्थ्यमा समस्या भएपछि हिमाली गाउँपालिकाको एम्बुलेन्समा जिल्ला अस्पताल बाजुरामा ल्याइएको थियो ।       जिल्ला अस्पतालमा २३ गतेकै साँझ ९ बजे शल्यक्रिया गरेर दोस्रो बच्चालाई जन्म दिनुभएको थियो । बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

मुगुः   पछिल्लो समय मुगुका किसानले परम्परागत मिठे(गुलियो)फापरखेतीमा कम महत्व दिँदा मुगुबाट गुलियो फापर लोप हुने अवस्थामा  पुगेको छ ।पहिलेको तुलनामा फापरखेतीको क्षेत्रफलमा उल्लेखनीय गिरावट आएको छ ।  मुगुको उच्च भू–भागमा उत्पादन गरिँदै आएको प्रचलित फापरखेती अहिले क्रमशः घट्दै गएको हो । गुलियो फापर पोषणयुक्त अन्नबालीको रूपमा चिनिन्छ र मुगुका किसानले यसलाई परम्परागत रूपमा लगाउँदै आएका थिए ।  तर आधुनिक कृषि प्रणाली र नयाँ प्रविधिको विकाससँगै किसान अब अन्य नगदे बालीतर्फ आकर्षित भएका छन् । गाउँका युवा जनशक्तिले विदेश जाने प्रचलन बढेको, बजारमा प्रतिस्पर्धा र फापरको तुलनामा अन्य बालीबाट छिटो आम्दानी हुने हुँदा किसानले फापरखेती गर्न छोडेका हुन । किसानका अनुसार, फापरखेतीबाट राम्रो उत्पादन हुँदाहुँदै पनि यसको उचित मूल्य पाउन नसक्दा उनीहरूमा निराशा बढ्दै गएको छ । “फापर लगाएर महिनौँ कुर्यौं, तर बेच्दा लागतसमेत उठाउन गाह्रो हुन्छ”, छायाँनाथ रारा नगरपालिका–७ टोप्लाका किसान प्रभुजङ शाही बताउनुहुन्छ  । यसरी परम्परागत खेती घट्दै जाँदा मुगुको संस्कार, पहिचान र खान्किमा असर पर्ने चिन्ता स्थानीय समुदायमा रहेको छ । उनीहरूले सरकारसँग फापरखेती प्रवद्र्धन गर्न आवश्यक सहयोग, तालिम र बजार व्यवस्थापनको माग पनि गरेका छन् ।  विशेषगरी गुलियो फापर स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिन्छ  । गुलियो फापर सेवनले  दम,  रूघाखोकी, मुटुरोग निको पार्ने परम्परागत विश्वास हुँदा हुँदै पनि उचित संरक्षण र  उत्पादनको मूल्य भन्दालागत बढी हुँदा गुलियो फापर उत्पादनप्रति चासो घटेको किसानको धारणा छ । यस जिल्लाका उच्च स्थान, पिना, कोटिल्ना, मुन्दु, लिउडी, घट्टललेक, तलिलेक, रोबा, सोबा, टोप्ला , माथितुमलगायतका  क्षेत्रमा  फापरखेतीको लागि उपयुक्त स्थान मानिन्छ  हाल तिते  फापर  सामान्य रूपमा गरिँदै आए पनि मिठे फापरखेती हाल फाटफुट रूपमा गर्ने गरिएको छ । मिठे फापरबाट ढेस्सु, लगड जस्ता स्थानीय परिकार बनाएर खाना नखाने बालबालिका, बिरामी, ज्येष्ठ नागरिकलाई पौष्टिक आहारको रुपमा खुवाइन्थ्यो भने कति पाहुना जाँदा वा घरमा पाहुना आउदा मिठे फापर र यसबाट बनेका परिकार नासो दिइने गरिन्थ्यो । मिठे फापरको खेती हुन छोडेपछि उल्लेखित संस्कार, परम्परा र खान्कीसमेत लोप हुँदै गएको पिना गाउँका स्थानीय लोकेन्द्रबहादुर बम सुनाउनुहुन्छ ।  

काठमाडौँः   घट्दो तापक्रम र डेङ्गु नियन्त्रणका लाागि गरिएका विभिन्न अभियानले डेङ्गु सङ्क्रमण घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै गएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “डेङ्गु नियन्त्रणका लागि पालिकादेखि खोज र नष्ट अभियान सञ्चालन भएका छन् । तापक्रम घट्नु पनि यसको कारण हो । प्राकृतिक रुपमै चिसोमा लामखुट्टेले अण्डा उत्पादन गर्ने प्रक्रिया कम हुन्छ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही समयअघि डेङ्गु नियन्त्रणका लागि देशव्यापी रुपमा लामखुट्टेको बास स्थानको खोजी र नष्ट अभियान सुरु गरेको थियो ।  मन्त्रालयले हरेक शुक्रबार १० बजेर १० मिनेटमा मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आम नागरिकलाई सहभागी हुन आह्वान गरेको थियो । सरकारी तथा गैरसरकारी संस्था तथा नागरिकस्तरमा यो अभियान सञ्चालन भइरहेको छ । दाहालले विगतका वर्षको भन्दा अहिले सङ्क्रमण दर घटेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस्ता खालका अभियानले पनि घट्न मद्दत गरेको छ । डेङ्गु विश्वव्यापी खतराको रुपमा देखिएको छ । अरु देशको अनुभव हेर्नु भयो भने सङ्क्रमण र अस्पताल भर्ना हुनेको दर पनि बढ्दो छ । हामीले अझै धेरै गर्नुपर्नेछ तर पनि हाम्रो प्रयास र मेहनतले गर्दा सङ्क्रमणलाई घटाएका छौँ ।”ईडिसिडीले उपलब्ध गराएको नोभेम्बर ८ सम्मको तथ्याङ्कअनुसार हाल सबैभन्दा बढी कास्कीमा ७ हजार २ सय ८६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । त्यसैगरी काठमाडौँमा ४ हजार ८ सय ३, तनहुँमा २ हजार ३ सय ७३ , पर्वतमा १ हजार ७ सय ४९, ललितपुरमा १ हजार २ सय ४१, बाग्लुङमा १ हजार २ सय, चितवनमा १ हजार १ सय ७५, भक्तपुरमा १ हजार ३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या भने हाल १२ छ भने ७६ जिल्लामा सङ्क्रमण फैलिएको छ । प्रत्येक वर्षको जुनदेखि अगस्टसम्मको समयलाई सामान्यतया डेङ्गुले महामारीको रूप लिन सक्ने समय मानिन्छ ।  नोभेम्बर ५ को तथ्याङ्क तुलना गर्ने हो भने समष्टिगत रुपमा ४ दिनमा देशभर १ हजार २ सय ४९  मा डेङ्गु सङ्क्रमण देखिन्छ । जुन अघिल्लो हप्ताको तथ्याङ्क हेर्दा कम हो । प्रमुख डा दाहालले भननुभयो  भन्नुभयो, “४ हप्तामा डेङ्गु सङ्क्रमण २ हजार ५ सयबाट तल आएको छ । यसको ट्रेन्ड एक महिनायता बिस्तारै घट्दो क्रममा छ ।” विसं २०८० को पुस मसान्तसम्म देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकोमा २० जनाको मृत्यु भएको थियो । डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने १ प्रकारको कीटजन्य रोग हो ।  लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले यसबाट बच्न सकिन्छ ।    

गलकोट:    गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ ।  औषधालयमा हाल  बहिरङ्ग सेवामात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरङ्ग सेवा थप गर्नेगरी बजेट विनियोजन भएको हो ।  धवलागिरि आयुर्वेद औषधालयलाई  स्तरोन्नति गरी २५ शय्याको बनाउन गण्डकी प्रदेश सरकारले रु एक करोड ३६ लाख बजेट व्यवस्थापन गरिसकेको छ ।  पछिल्लो समय आयुर्वेद औषधालयप्रति बिरामीको आकर्षण बढ्न थालेपछि गण्डकी सरकारले चालु आर्थिक वर्षमा सेवा सञ्चालन गर्नेगरी औषधालय स्तरोन्नति गर्न बजेट विनियोजन गरेको हो ।  अहिले रहेको औषधालयको भवनलाई मर्मतसम्भार गरी सेवा सञ्चालनका लागि तत्कालै रु एक करोड ३६ लाख पठाउने तयारी भएको र आगामी वर्ष नीति तथा कार्यक्रममार्फत बजेट थप हुने गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो ।  मन्त्री पाठकले चालु आवमा सेवा सञ्चालन गर्नेगरी धवलागिरि आयुर्वेद औषधालयको काम थालिएको बताउँदै २५ शय्यमा स्तरवृद्धि गरिएको अस्पतालले नागरिकको आयुर्वेदसम्बन्धी भरोसालाई थप वृद्धि गर्ने जानकारी दिनुभयो ।  “तत्कालै अस्पतालका लागि थप जनशक्ति, पूर्वाधार व्यवस्थापन, मर्मतसम्भार, औजार तथा उपकरण, औषधि निर्माण र खरिदका लागि बजेट व्यवस्थापन गरिएको हो”, पाठकले भन्नुभयो, “आगमी आवमा औषधालयमा दरबन्दी थप्ने र पूर्वाधार निर्माणका लागि थप बजेट व्यवस्थापन हुन्छ ।”  यही कात्तिक १२ गतेको मन्त्रिपरिषद् बैठकले चालु आवमा धवलागिरि आयुर्वेद औषधालय र कास्कीको गण्डकी आयुर्वेद औषधालय २५ शय्यामा स्तरवृद्धि गर्ने निर्णण भएको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो । उक्त निर्णयपछि जनशक्ति व्यवस्थापन र पूर्वाधारसहित सामग्री व्यवस्थापनको काम मन्त्रालयले थालिसकेको छ ।   होमियोपेथिक, आयुर्वेद र प्राकृतिक चिकित्सा गरी तीनै क्षेत्रलाई महत्वलाई प्राथमिकतामा राखेर उपचार गर्ने तयारीमा धवलागिरि आयुर्वेद औषधालय रहेको छ ।  अहिले भइरहेको अस्पताल भवनलाई नयाँ व्यवस्थापन गरी सेवा सञ्चालनको तयारी थालिएको औषधालयका प्रमुख डा शरद पन्थीले जानकारी दिनुभयो । अस्पतालमा अहिले तीन डाक्टर कार्यरत रहेको भन्दै केही जनशक्ति थप हुनासाथ सेवा सुरु गर्ने तयारी रहेको पन्थीले जानकारी दिनुभयो ।  अहिले भवनको तल्लो तलालाई अन्तरङ्ग सेवाका लागि प्रयोग गर्न मिल्ने बनाउने योजना औषधालयको छ ।  आयुर्वेद चिकित्साप्रति नागरिकको आकर्षण बढिरेहको बताउँदै पन्थीले गण्डकी प्रदशेको निर्णयानुसार अस्पतालको स्तरवृद्धिका लागि तयारी थालिएको छ । अस्पताल स्तरवृद्धिपछि भौतिक संरचना भने विस्तारै वृद्धि गर्नुपर्ने पन्थीको भनाइ छ ।