काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च ग...

पोखरा:    मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्ड अन्तर्गत घाँसीकुवादेखि विमलनगर खण्डमा मर्मतका लागि रातिको समयमा दैनिक ४ घण्टा राजमार्ग बन्द हुने भएको छ ।    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवादेखि विमलनगर सडक खण्ड फागुन १८ देखि २७ गतेसम्म राति १२ देखि बिहान ४ बजेसम्म उक्त खण्ड बन्द गरी सडकको भित्तो काट्ने काम गर्ने निर्णय भएसँगै रातको समयमा दैनिक ४ घण्टा राजमार्ग बन्द हुने भएको हो गण्डकी प्रदेश ट्राफिक कार्यालय पोखराले जनाएको छ ।   हाललाई १० दिनका लागि बाटो बन्द गर्ने निर्णय गरिएको छ । मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पञ्चिम खण्डमा सडक विस्तारका काम भइरहेका छन् । 

काठमाडौं:  सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।   नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।   दुवै मुद्दामा आइतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ भएको थियो । तर सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा रहेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।   अब यो मुद्दामा यही इजलासमा सोमबार सुनुवाइ हुनेछ ।

पोखराः पूर्वनिर्धारित तालिकाअनुसार आज उच्च अदालत पोखरामा बालयौन दूव्र्यवहारका आरोपी पल शाहको सुनुवाइ भर्खरै सकिएको छ ।      अबको केही बेरमा सुनुवाइपछिको आदेश आउने अदालतका उपरजिष्ट्रार विष्णुप्रसाद आचार्यले जानकारी दिएका छन् ।    ‘भर्खरै सुनुवाई सकिएको छ’ उपरजिष्ट्रार आचार्यले भने ‘साँझसम्म आदेश आउनसक्छ तर निश्चित भने छैन ।’   आचार्यका अनुसार न्यायाधीश श्रीधराकुमारी पुडासैनी र डिल्लीराज आचार्यको संयुक्त इजलासमा सुनुपाई भएको हो ।    नेपाली चलचित्रका अभिनेता शाह नवलपुर अदालतको फैसलाअनुसार हाल तनहुँ कारागारमा सजाय काटिरहेका छन् ।   

तनहुँ : 'यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो। त्यसरी नपकाए पुग्थेन,' व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भने, 'तर अहिले ती सबै एकादेशको कथा जस्ता भए। सत्तरी घर रहेको गाउँ अहिले सातमा झर्‍यो। हेर्दा हेर्दै गाउँ रित्तियो।'     भारतीय सेनाका पूर्वसैनिकको बाहुल्यता रहेको उक्त गाउँमा त्यस समयका ठूला र आकर्षक घर अहिले पहिरो र झाडीले पुरिँदा कहिलेकाहीँ मन भक्कानिने गुरुङले बताए। उनका दुई छोरा चितवनको शारदानगरमा घरजम गरेर बसेका छन्। पुख्र्यौंली जग्गा, जमिनको मायाले गर्दा ६३ वर्षीया श्रीमती मनसरासहित उनी भने गाउँमै बसेका छन्।   यस ठाउँमा उब्जाउसमेत राम्रो हुने भए पनि अधिकांश जमिन बाँझो छ। काम गर्ने कोही नहुँदा गाउँमा रहेको करिब दुई सय रोपनी जग्गा त्यसै बाँझिएको उनले बताए। 'गाउँका बुढापाका सबै आफ्ना सन्तानसँगै बसाइँ सरेर गए,' गुरुङले भने, 'तर हामी केही घरका मानिस गाउँ छाड्न सकेका छैनौँ। हातखुट्टा चल्न छाडेपछि छोरा भएको ठाउँमा जाउँला भनेर यही बसेका हौँ।'   गुरुङका अनुसार गाउँको रौनक विगतमा उत्पात थियो। गाउँमा पिउने पानीको समस्या रहे पनि गाउँको बीचमा स्थापना गरिएको आकाशे पानी सङ्कलन ट्याङ्कीबाट समान तवरले खानेपानी वितरण गरिन्थ्यो।     यहाँका युवा रोजगारीको क्रममा खाडी र युरोप गएर कमाएपछि छोराछोरीलाई राम्रो शिक्षा दिन भन्दै बसाइँ सरेर चितवन, पोखरा र काठमाडौं गएकाले गाउँ नै सुनसान बनेको स्थानीय ५३ वर्षीया मनक्योरी गुरुङको भनाइ छ। 'गाउँका छोराहरु कमाउने भएपछि छोराछोरीलाई राम्रो पढाउने भन्दै बुहारीहरु पनि सहरतिर जाने गरेका छन्,' गुरुङले भने, 'हामी नपढेका बूढाबूढीलाई यही गाउँ प्यारो भयो।'   तनहुँका अधिकांश गाउँको दृश्य कोटथोकको जस्तै छ। व्यास–९ मा पर्ने दलभञ्ज्याङ गाउँमा कुनै समय ६०र६५ घरको ठूलो बस्ती थियो। नेवारहरुको बाहुल्यता रहेको यस गाउँमा अहिले कोही बस्दैनन्। प्राय: गाउँमै व्यापार गरेर बस्ने यहाँका मानिस जिल्लाका बजार डुम्रे, सतिस्वाँरा, दमौली, गजौडेलगायत पोखरा र काठमाडौंमा बसाइँ सरेर गएपछि गाउँ रित्तो छ। व्यास–९ कै मेवाबारीबाट समेत मानिस बसाइँ सरेर अन्यत्र गएपछि गाउँमा बस्ने कोही छैनन्। गाउँका युवाहरु वैदेशिक रोजगारीको क्रममा खाडी र युरोप जान थालेपछि तिनका परिवार पनि छोराछोरीलाई पढाउन भन्दै सहर बस्न थाले।   व्यास–७ छापथोकमा रहेका १७ घर दलित एकैपटक बसाइँ सरेर बेँसी झर्दा गाउँ शून्य छ। यो गाउँ नजिकै ठूलो पहिरो गएपछि गाउँसमेत पहिरोमा पर्ने भयले आफूहरुले गाउँ छाड्नु परेको ५६ वर्षीय बिलबहादुर नेपालीले बताए। गाउँमा रहेका १७ घर परिवारको करिब ५० रोपनी पाखो जमिन भने त्यसै बाँझिएर गएको उनले बताए।   'पानी पर्दा पहिरोले गाउँ नै बगाउँछ कि भन्ने भयमा बस्नु पर्ने अवस्था थियो,' नेपालीले भने, 'अहिले बेँसी झरेपछि पहिरोमै परेर ज्यान जाला भन्ने चिन्ता भने छैन। जसोतसो दैनिक गुजारा चलेकै छ।' आफ्ना दुई छोरा वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा गएपछि नातिनातिनीलाई राम्रो शिक्षा दिन आफूहरुले गाउँ छाडेको उनले बताए।   खाडी या अन्य मुलुकमा गएर राम्रो आर्थिकोपार्जन गर्ने ग्रामीण क्षेत्रका युवाको पहिलो रोजाइ पोखरा, चितवन र काठमाडौंलगायतका ठूला सहरमा घडेरी किन्ने र घर बनाउने होडबाजी नै हुने गरेको दमौली बजार एकाइ समितिका अध्यक्ष भूपाल आलेले बताए। शिक्षा, स्वास्थ्य र यातायातको सहज पहुँच पुग्ने भएकाले पनि गाउँ छाडेर सहर बजारतिर बसाइँ सर्नेको सङ्ख्या बढ्दै गएको उनले जानकारी दिए।   'श्रीमान् विदेश जानेबित्तिकै काखका सन्तान च्यापेर श्रीमती बजारमा झर्नेक्रम बढ्दो छ,' आलेले भने, 'त्यसले गर्दा गाउँ रित्तिँदै गएको छ।' सन्तानलाई गुणस्तरीय शिक्षा दिने हुटहुटीले गर्दा आफूले दमौलीको एक कोठा भाडामा लिएर श्रीमती र छोरालाई राखेर रोजगारीको लागि कतार हानिएको व्यास–६ स्याम्घाका ३३ वर्षीय रमेश श्रेष्ठले बताए। 'गाउँघरमा हामीले भनेजस्तो अङ्ग्रेजी शिक्षा पाएनौँ,' श्रेष्ठले भने, 'हाम्रो सन्तानले हाम्रो जस्तो अवस्था नहोस् भनेर गाउँ छाड्न बाध्य भइयो।' गाउँमा १२र१५ रोपनी पाखोबारी भएपनि श्रेष्ठले दमौली बजार नजिकै व्यास–५ चापाघाटमा चार वर्ष पहिले करिब १७ लाख रुपैयाँ खर्चिएर चार आना जग्गासमेत किनेको बताए।   भूगोल र आफन्तको प्रभावको आधारमा अधिकांशले गाउँबाट बजारतिर बसाइँसराइ गरेको पाइएको छ। पृथ्वी राजमार्ग क्षेत्रका बस्तीहरु भिमाद, दुलेगौँडा, खैरेनी, थर्पु, दमौली, डुम्रे, भानु, आँबुखैरेनीलगायतका बजारमा बसाइँ गरेर आउनेहरुको दर बढ्दो छ। ठिक्कको कमाइ गर्नेहरुको रोजाइ भने गाउँबाट यातायात, शिक्षा र स्वास्थ्यको पहुँच भएको बेँसी क्षेत्रका बस्तीमा परेको छ।     प्रभावकारी भएन बाँझो जमिन सदुपयोग नीति   बसाइँसराइ गरेर जानेलाई निरुत्साहित गर्न तनहुँका व्यास, शुक्लागण्डकी, भानु र भिमाद नगरपालिका तथा आँबुखैरेनी, देवघाट, बन्दिपुर, ऋषिङ, म्याग्दे र घिरिङ गरी छ गाउँपालिका गरी १०  स्थानीय तह रहेको जिल्लाका सबै पालिकाले बाँझो जमिनलाई सदुपयोग गर्ने नीति ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन र नियमन हुन सकेको छैन। बाँझो जमिन नराख्न प्रोत्साहन गर्ने स्थानीय तहहरुले ल्याएको नीति तथा कार्यक्रम नारामा मात्र सीमित छ।   व्यास नगरपालिकाको कार्यालयले बाझो जग्गा सदुपयोग गर्नेलाई कर छुटको नीति ल्याए पनि त्यो पर्याप्त छैन। आलुको बिरुवा, प्याजको बिरुवा खरिदमा व्यक्ति, समूह वा सहकारीलाई व्यास नगरपालिकाको कार्यालयले ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरे पनि त्यसलाई पकेट क्षेत्र खेती विकास कार्यक्रमकारुपमा विकास गर्न नसक्दा अनुदानको कार्यक्रमले व्यावसायिक कृषक बढाउन सकेको छैन।   गाउँमा उब्जनी गरिएको तरकारी खेतीको लागत मूल्य बढी पर्ने भएकाले आफूले घाटाको खेती नगरेको व्यास ११ तनहुँसुरका अगुवा सुन्तला कृषक केबी थापाले बताए। दैनिक पानी लगाउन नसकिने र दमौली बजार पनि करिब १५ किलोमिटर टाडा पर्ने भएकाले आफूले तरकारी खेती नगरेर सुन्तला र एभोकाडो खेती गरेको उनले बताए। 'गाउँमा खाने पानीको लागि त विद्युत्को भर पर्नुपर्छ,' थापाले भने, 'त्यसैले तरकारी खेती नगरेर सुन्तला र एभोकाडो खेती गरेको हुँ।   गाउँमा तरकारी खेती गर्ने व्यावसायिक कृषकलाई राज्यले अनुगमन र निरीक्षण गरी उचित अनुदानको व्यवस्था गरे गाउँघरमा बाँझो जमिन सदुपयोग हुन सक्ने आफूलाई लागेको थापाको भनाइ छ। पानी नलाग्ने क्षेत्रहरुमा अदुवा, हलेदोलगायतको खेतीलाई राज्यले प्रोत्साहन गरी बजारीकरणको व्यवस्थासमेत राज्यले गर्न सके गाउँमा बाँझो जमिन सदुपयोग हुने कृषक थापाले बताए।   ऋषिङ गाउँपालिका कार्यालयको नारा नै ‘ऋषिङ समृद्धिको आधार कृषि, संस्कृति, पर्यटन र पूर्वाधार’ रहेको छ। कृषि नै गाउँपालिकाको मुख्य आधार बुझेको यस गाउँपालिकाको कार्यालयले कोदो र मकैलाई गाउँपालिकाको पहिचान बनाउने नीति लिएको छ। तर उक्त नीतिलाई प्रभावकारी बनाउन गाउँपालिकाले पनि व्यावसायिक खेती गर्नेतर्फ कृषकलाई आकर्षित गर्न सकेको छैन।   अन्य स्थानीय तहले समेत कृषिलाई प्राथमिकतामा राख्ने बताउँदै आए पनि दिगो प्रभाव पार्ने कार्यक्रम ल्याउन सकेको देखिँदैन। बिउबिजन र जोत्नको लागि हाते ट्याक्टरमा अनुदानको अलावा म्याग्दे र व्यास नगरपालिका–१ को कार्यालयले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप नगद रु १० हजार दिने नीति राखेको छ। यस्ता साना कार्यक्रमबाहेक ग्रामीण क्षेत्रमा व्यावसायिक कृषकको पहिचान गरी प्रभावकारी अनुदानको व्यवस्था गर्ने नीति कुनै पनि तहले प्रभावकारीरुपमा कार्यान्वयन गर्न सकेका छैनन्।     बसाइँसराइले हराउँदै घैया धान   बसाइँसराइको प्रत्यक्ष असर पाखोमा लगाइने घैया धान खेतीमा समेत परेको छ। चारररपाँच वर्षअघि व्यास नगरपालिकाको साँगे, भानुको फुर्सेटार, म्याग्देको दिर्बुलगायत सबैजसो पालिकामा रहेका पाखो टारहरुमा लगाइने घैया धान अहिले हराउँदै जानु चिन्ताको विषय रहेको कृषि ज्ञानकेन्द्रले जनाएको छ।   घैया घान खेती गर्नेको सङ्ख्या ह्वात्तै घट्नुमा बसाइँसराइ नै प्रमुख कारण रहेको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीको ठम्याइ छ। 'केही वर्ष पहिले तनहुँ घैया धान खेतीमा समेत चर्चित थियो,केन्द्रका प्रमुख तिवारीले भने, 'तर अहिले छिटफुटबाहेक कतै पनि घैया खेती गरेको देखिँदैन।'   बसाइँसराइ र वैदेशिक रोजगारीमा गएकाहरुको परिवारले पनि किनेरै चामल खाने चलनले गर्दा घैया धानखेती लगाउन बन्द भएको उनको भनाइ छ। केही वर्ष पहिले जिल्लाभरि करिब तीनसय हेक्टर क्षेत्रफलमा घैया धान लगाइने र करिब आठसय मेट्रिकटनको हाराहारी उत्पादन हुने गरेको केन्द्रले जनाएको छ।   घैया धानसँगै जिल्लामा अहिले चैते धान लगाउनेको सङ्ख्यासमेत ह्वात्तै घटेको छ। गतवर्ष एक हजार ८०५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा आठ हजार ४८४ मेट्रिकटन उत्पादन भएको केन्द्रले जनाएको छ। विसं २०६० सालसम्म जिल्लामा नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान गरिने तथ्याङ्क रहेको केन्द्रका प्रमुख तिवारीले बताए।   'वैदेशिक रोजगारीको कारण बसाइँसराइले गर्दा गाउँको बाँझो जमिन रहने दर बर्सेनि बढ्दै गएको छ,' उनले भने, 'बाँझो जमिनको सदुपयोग गर्नेलाई प्रोत्साहन र त्यसै छाड्नेलाई जरिवानाको व्यवस्था स्थानीय तहले गरे जमिन बाँझो हुने क्रममा कमी हुने थियो।' तनहुँमा खेती गर्न योग्य रहेर पनि बाँझो रहेको जमिन १३ हजार ५५१ हेक्टर रहेको छ। कूल ६५ हजार ६१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहे पनि हाल ५१ हजार ५१० हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको केन्द्रले जनाएको छ।   विदेश पलायन हुनेको दर वर्षेनी बढ्दै   जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ। राहदानी बनाउन सिफारिस गर्न आउनेमा विदेश अध्ययन गर्न जाने तयारीका विद्यार्थी, वैदेशिक रोजगारीमा जाने युवा र आफन्त भेट्न विदेश जाने अभिभावकहरु रहेको प्रशासन कार्यालयले जनाएको छ।   चालु आर्थिक वर्ष २०७९/८० को श्रावणदेखि माघसम्मको सात महिनामा राहदानी सिफारिस गरिएको सङ्ख्या गत आव २०७८/७९ मा सिफारिस गरिएकोभन्दा एक हजार ८५७ ले बढी छ। पछिल्लो सात महिनामा जिल्ला प्रशासन कार्यालयद्वारा तीन हजार ७४६ महिलासहित १० हजार ७२२ जनाले राहदानी बनाउन सिफारिस गरिएको छ। राहदानी बनाउन आउनेमध्ये विदेश अध्ययन गर्न जाने तयारीका विद्यार्थी करिब ४५ प्रतिशत सोही अनुपातमा वैदेशिक रोजगारीमा जाने युवा र बाँकी १० प्रतिशत विदेश आफन्त भेट्न जाने अभिभावक रहेको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले बताए।

काठमाडौँ:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुखको पातको संज्ञा दिएका छन् । आइतबार शहिद तथा घाइते परिवारलाई सम्मानमा आयोजित कार्यक्रममा उनले रुखको पात झरेपछि मलमा परिणत हुनबाहेक कुनै काम नलाग्ने पनि बताए ।    ‘झरेको पात मलमा परिणत हुन्छ । म टुप्पाको पात हुँ भनेर धाक लगाएपनि झरेपछि त्यसको परिणति मल नै हो’, ओलीले प्रचण्डको नाम नलिइकनै भने, ‘को झर्यो को झरेन म अहिले भन्न चाहान्नँ । तपाईहरुले देखिरहनुभएको छ कसरी हल्लिँदै हल्लिँदै भुइँतिर झर्याे ।’ पछिल्लो विज्ञान प्रविधिमार्फत पुस १० मा जोड्न खोजे पनि नजोडिएको ओलीको भनाइ छ ।    ‘मैले लेटेस्ट साइन्स टेक्नोलोजीको माध्यमबाट जोड्दा हुन्छ की भनेर पुस १० गते लगेर जोडिहेरेँ, इन्जेक्सन दिएँ, मल्हम लगाएँ, तर हुँदोरहेनछ । फत्रक्क झर्यो फेरि’, उनले यसमा चिन्ता गर्नुपर्ने कारण नरहेको पनि बताए ।  उनले घाइते तथा शहिद परिवारलाई एमाले सरकारमा नभएपनि पार्टीले उनीहरुको उपचार हेल्थडेक्स राखेरै भएपनि गर्नेभएकाले पार्टी कार्यालयमा आउन आग्रह गरे । ओलीले ८० सिुट हुँदा पनि पदको लोभ नगरी ३२ सिट भएकालाई प्रधानमन्त्री दिएको भन्दै पछि एमाले गठबन्धन छोडेर छिमेकीकोमा गएको बताए ।    ‘ठुलो कचौरामा दुध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु अनौठो होइन के के छन् शर्त भन्ने थाहा छैन । पछि थाहा हुँदै जाला’, ओलीको टिप्पणी छ ।

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अंगभंग भएका, सहादत भएकालाई सम्झिएको छ कि छैन भन्दै प्रश्न गरेका छन्।    राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, 'प्रधानमन्त्री जीले अंगभंग भएका, सहादत भएकालाई सम्झिनुभएको छ कि छैन ?'   प्रधानमन्त्री प्रचण्ड एकथरी बोल्ने र अर्कै काम गर्दै हिँड्ने गरेको ओलीले बताए। उनले भने, 'प्रचण्डजी एक थरी बोल्नुहुन्छ, गर्नुहुन्छ बेग्लै। उहाँसँग अस्ति भएको भेटमा मलाई भन्नुभयो-दुई महिना गाह्रो भयो है। नहोस् पनि कसरी उहाँ दाम्लो चुँडाएर जान खोज्ने, मैले रोक्दिने। उहाँलाई गाह्रो भएको थियो।'   प्रचण्ड धोका दिने मान्छे भनेर आफूले चिनेको बताउँदै ओलीले अहिले पनि प्रचण्डले व्यवहार नसुधारेको बताए। ओलीले भने, 'तपाईंहरूलाई थाहा छ बिरालो पाल्न किन्नु पर्दैन दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ। एउटा कचौरामा दूध भात दिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ। प्रचण्डमा यही स्वभाव हावी छ। जता पाइन्छ उहाँ ढल्किहाल्नुहुन्छ।'

गोरखा:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिका लागि सर्वसम्मतिको प्रयास भइरहेको बताउनुभएको छ।   गोरखाको बारपाक सुलिकोटमा आयोजित माओवादी जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उहाँले सर्वसम्मतिका लागि २५ गतेसम्म कोशिस गर्ने बताउनुभयो।    ‘‘हाम्रो प्रयास छ कि २५ गतेसम्म जाँदा राष्ट्रपतिमा सर्वसम्मति भए धेरै राम्रो हुन्छ। त्यो प्रयास पनि हामी गरिराखेका छौं,’’ उहाँले भन्नुभयो, ‘‘नभए पनि नयाँ यात्रा, स्थायित्व र विकासका निम्ति अझ सहयोगी हुने मैले विश्वास लिएको छु।’’     निर्वाचन अघि गठबन्धन बनाएर होमिएका दल फेरि एकठाउँमा आइपुगेको उहाँले बताउनुभयो। यसले नयाँ राजनीतिक यात्राको सुरु भएको उहाँको भनाइ छ। ‘‘जुनजुन राजनीतिक दल मिलेर जनतामा भोट माग्न गएका थियौं।  परिस्थिति नयाँ बन्यो म प्रधानमन्त्री भिन्न तरिकाले बनेँ,’’ उहाँले भन्नुभयो,‘‘हिजो मात्र फेरि (शनिबार) राष्ट्रपतिको चुनावका सन्दर्भमा आउँदा आठ राजनीतिक दल एक ठाउँमा भएका छौं।  नेकपा (एमाले)सँग पनि लगातार हाम्रो कुरा भइरहेको छ।’’    आफ्नो बाँकी जीवन विकास समृद्धिका लागि खर्च गर्ने यसअघि नै घोषणा गरेको बताउनुहुँदै उहाँले सरकारलाई जनमुखी र प्रतिफलयुक्त बनाउने दाबी गर्नुभयो। देश आर्थिक समस्यामा रहेको भन्दै त्यसको सुधारका लागि सरकार लागिपरेको उहाँको भनाइ छ।    नेकपा (माओवादीका केन्द्र)का अध्यक्षसमेत रहनुभएका उहाँले सरकारले जनयुद्ध र जनआन्दोलनका शहीदलाई सम्मान दिन लागेको बताउनुभयो। ‘‘मैले आज बिहान मात्र मुख्य सचिवलाई बोलाएर जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण शहीदलाई राष्ट्रिय शहीदको रुपमा राजपत्रमा नाम प्रकाशित गर्ने साेच बनाएको छु,’’ उहाँले भन्नुभयो, "यो निर्णयले परिवर्तनका पक्षमा बलि दिनेहरुप्रति सम्मान हुनेछ।"   नेपाली सेनाको हेलिकप्टरमार्फत आउनुभएका प्रधानमन्त्री प्रचण्डले शहीद परिवारलाई सम्मान गर्नुभएको थियो। उहाँले दिलबहादुर रम्तेलका बुबा सेते रम्तेल र आमा सरिमायाँ रम्तेललगायत माओवादी जनयुद्धमा ज्यान गुमाएकाको परिवार र आफन्तलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। प्रधानमन्त्री प्रचण्डले पालुङटारमा आयोजित एक कार्यक्रमलाई पनि सम्बोधन गर्नुभएको छ।    कार्यक्रममा माओवादी केन्द्रका सचिव एवं प्रमुख सचेतक हितराज पाण्डे, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङलगायतले गोरखा दुईको विकासका लागि विशेष जोड दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको थियो। गोरखा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका उहाँले जिल्लाको विकासका लागि प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। 

काठमाडौंं : चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ।   बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौं उपत्यकाका चार वटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू गराएका हुन्। नियम लागू भए पनि दुई पाङ्ग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चार पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनास्थित कार्यालयले जानकारी दिएको छ।    कार्यालयको चाप व्यवस्थापन गरेर अनलाइन फाराम भर्नेको परीक्षा लिइरहेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताए।   सुरूमा चाप बढी भए पनि पुनःट्रायल दिने कम हुने उनको भनाइ छ। लिखित परीक्षा पास गरेका सेवाग्राहीले एक पटक प्रयोगात्मक परीक्षा पास नहुँदा पुनःदुई पटक मौका पाउने गरेका छन्। उनले भने, ‘एकै पटकमा धेरै पास भएपछि दोहोर्‍याएर र तेहेर्‍याएर दिने घट्ने भए।’   प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा नै पास हुने नियम अरु प्रदेशले विगतका वर्षमा नै लागू गरिसकेका थिए। सबैभन्दा बढी सेवाग्राहीको चाप रहेको बागमती प्रदेशले भने विभिन्न कारण देखाएर ढिला मात्रै सुरु गरेको थियो। अरू प्रदेशमा चाप अतिन्यून रहेको र उपत्यका बाहिरका जिल्लास्थित कार्यालयको एक सातामा आउनेभन्दा उपत्यकामा एक दिनमा चाप बढी रहेको प्रमुख कपालीले बताए।   विगतमा शतप्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुईपाङ्ग्रे सवारीसाधनमा ३५ देखि ४० प्रतिशत हाराहारीमा सेवाग्राही पास हुने गरेकामा अहिले ६० प्रतिशत पुगेको पाइन्छ। हलुका सवारी चालकको परीक्षामा सहभागीमध्ये पहिले २० पास हुने गरेकामा अहिले ३५ देखि ४० प्रतिशतसम्म पुगेको कार्यालयले जनाएको छ। 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरूलाई विकासका योजना लिएर आउन अनुरोध गरेका छन्।   प्रधानमन्त्री प्रचण्डले जिल्‍लाको समग्र विकासका लागि आवश्यक लिखित ज्ञापनपत्र लिएर आउन जनप्रतिनिधिहरूलाई आग्रह समेत गरे।   सहिद दिलबहादुर रम्तेल स्मृति दिवस तथा तेस्रो बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता समापन एवं सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा सहभागी हुन गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले सरकार मुलुकको विकासका लागि प्रतिवद्ध रहेको बताएका हुन्।   'स्वास्थ्य,शिक्षा तथा विकास निर्माणका कामबारे,अधुरा-अपुरा कामलाई पूर्णता दिने सम्बन्धित विषयमा ज्ञानपपत्र लिएर आउनु अनुरोध गर्दछु,'उनले भने,'तत्काल गर्नुपर्ने कामहरू, मध्यकालीन र दुरगामी कामहरूको सूत्रवद्ध भएर ल्याउनुहोला।'   उनले संसदबाट सत्यनिरूण तथा मेलमिलाप आयोगसँग र वेपत्ता छानविन आयोगसँग सम्बन्धित विधेयक छिट्टै पारित हुने बताए। विधेयक पारित भए सहिदका परिवारलाई ठूलै राहत पुग्ने उनको भनाइ छ।   यस्तै प्रधानमन्त्री प्रचण्डले जनआन्दोलन र जनयुद्धका क्रममा सहिदहरूको नाम राजपत्रमा प्रकाशित गर्ने तयारीमा रहेको बताए। 'जनयुद्ध र जनआन्दोनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्छौं। यसले सहिदका परिवारलाई मलमपट्टी लगाउने र मेरो लागि पनि यो निकै खुसी र गर्वको कुरा हुनेछ। तपाईं हाम्रा सपना ढिलै भएपनि पूरा हुँदैछन्।'   प्रचण्डले तिनै सहिदको सम्मानमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको स्पष्ट पारे।