जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्र अन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जेठ ३१ गते नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्नेछन् । स्वीट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट रोयल डच एयरलान्सबाट जर्मनीको बर्लिन् प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेलले सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनी राष्ट्रपतिसँग औपचारिक वार्ता गर्नेछन् । जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इन्स्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम रहेको छ । साथै सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
पोखरा: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलका सदस्य फणिन्द्र देवकोटालाई दलले कारबाही गर्ने भएको छ। फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका उनलाई संसदीय दलको ह्वीप उल्लंघन गरेकाले भन्दै कारबाहीको प्रक्रिया अगाडि बढाइएको माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । नेपाल समाजवादी पार्टी (नेसपा) मा आवद्ध देवकाटा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा–२ (क) बाट निर्वाचित भएका थिए । यद्यपी देवकोटाले भने मध्वावधिमा जानबाट रोक्न र संघीयताको मर्म अनुसारको प्रदेश सरकार जोगाउनका लागि पाण्डेलाई मत दिएको अभिव्यक्ति दिदैं आएका छन् ।
पोखरा: गण्डकी प्रदेश प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् । कुल ५९ सांसदको उपस्थिति रहेको प्रदेशसभामा पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत पर्याे भने विपक्षमा २८ मत परेको छ । पाण्डेलाई कांग्रेसको २७, राप्रपाको २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादी केन्द्रको चुनाव चिन्हबाट जितेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत दिए । यता विपक्षमा एमालेको २२ र माओवादीको ६ मत परेको थियो । फडिन्द्रले देवकोटाले फ्लोर क्रस गर्न खोजेपछि ‘ह्विप उल्लंघन गर्न पाइदैन’ भन्दै एमालेले प्रदेश सभामा नाराबाजी गरेका थिए ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो । मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्ली गएका थिए । आइतबार साँझ भएको शपथ ग्रहण समारोहमा उनी सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम छ ।
अछाम: कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ। दुई खच्चडको भने मृत्यु भएको छ। अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए। खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। पुलको दाँहिने तर्फको जाली लत्रिएको थियो । खट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ। उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्लीका लागि उडेका हुन् । भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ६ बजे शपथ लिँदैछन् । भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्किने कार्यक्रम छ ।
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड तीन घन्टा पूर्ण रूपमा बन्द हुने भएको छ। आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो। हिलसाइडमा चर्किएका ढुङ्गा ‘ट्रिममिङ’ गर्नुपर्ने भएकाले बाटो बन्द गरिने जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञवालीले बताए। पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधन व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको पनि ज्ञवालीले बताए।
पोखरा: नेपाल सरकारले आउँदो आर्थिक वर्षको बजेटमा सुन आयातमा ५ प्रतिशत भन्सार वृद्धि गर्ने निर्णय गरेपछि व्यवसायीहरुले निर्णय खारेज गर्न माग गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल हस्तकला महासंघले अर्थमन्त्री वर्षमान पुनलाई सुन आयातमा वृद्धि गरिएको निर्णय खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । नेपाल सरकारले २०८१/०८२ को बजेटमा भन्सार विद्येयकमार्फत सुनको आयातमा लाग्दै आएको १५ प्रतिशत भन्सार दरलाई वृद्धि गरि २० प्रतिशत पु¥याएपछि महासंघले खारेज गर्न माग गरेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रीय अध्यक्ष किसान सुनारले जानकारी दिए । अध्यक्ष सुनारले सरकारले गत वर्षपनि भन्सार महसुल विद्येयक २०८० मार्फत सुनको आयातमा भन्सार वृद्धि गरेको बताए । ‘सरकारले गतवर्ष पनि भन्सार वृद्धि गरेको थियो, सुन आयातमा वर्षपिच्छे भन्सार वृद्धि गर्दा विश्व बजारमा प्रतिस्पर्धा गर्न कठिनाई भएको छ, व्यवसायीहरुसँग कुनै सल्लाह नगर्दा व्यवसायीमा समस्या भएको छ, अध्यक्ष सुनारले भने, ‘ सरकारले व्यवसायीहरुसँग सल्लाह नगरी एकाएक भन्सार वृद्धि गर्दा यो व्यवसाय गर्ने कि नगर्ने अवस्थामा व्यवसायी पुगेका छन् ।’ उनले देशभर २० हजार बढी सुनचाँदी व्यवसायीसँगै २ लाख बढीले प्रत्यक्षरअप्रत्यक्ष रुपमा रोजगारी पाएको स्मरण गराए । सरकारले भारतीय बजारकोसमेत कुनै प्रवाह नगरी त्यहाँको तुलनामासमेत बढी हुने गरी सुन आयातमा भन्सार दर वृद्धि गर्दा व्यवसायीहरुले कारोबार गर्दा यसको असर उपभोक्तामा पर्ने भएको बताइएको छ । व्यवसायीहरुले अर्थमन्त्री पुनलाई ध्यानाकर्षण पत्र बुुझाउँदै सुन आयात भन्सार दर वृद्धि हुँदा छिमेकी मुलुक भारत र खुल्ला सिमानाका कारण अवैध कारोवारी समेत बढेर जाँदा र भारतीय सिमाना नजिकका नेपाली व्यवसायीहरुलाई त्यसको असर पर्ने मागपत्रमा उल्लेख छ । यस्तै अहिलेको आर्थिक विद्येयकले सार्क राष्ट्रबाट सुनको आयात गर्दा यो विद्येयकले व्यवसाय धरापमा पर्ने बताएका छन् । व्यवसायीहरुले नेपालमा कोटा प्रणालीमा आधारित रही सुन आयात भइरहेको नेपालको विद्यमान अवस्थामा राज्यले भन्सार दर वृद्धि गर्दा सुन आयातमा सरकारले प्राप्त गर्दै राजश्व समेत घटेर जाने विज्ञप्तीमा उल्लेख गरेका छन् । मागपत्रमा उल्लेख गरिएको छ, ‘नेपाल राष्ट्र बैंकले जारी गरेको सुन आयात सम्बन्धी निर्देशिका अनुसार हाल दैनिक २० केजीका दरले बैंकहरु मार्फत सुन आयात गर्न पाउने ब्यवस्था छ । यो ब्यवस्था अनुसार राज्यले सिधा सिधा भन्सार मुल्यलाई मात्र आधार मानेर बर्षेनी भन्सार दर बृद्धि गर्ने गरेको पाइएको छ । तर राज्यले सोचको भन्दा ठीक विपरित हुनेगरी भन्सार दरमा निरन्तर उच्च वृद्धि गरिँदा तोकिएको परिमाणमा सुनको आयात हुन सकेको छैन । जसका कारण राज्यले नियमति पाउने भन्सार शुल्क वृद्धि हुनुको अलावा झनै कम असुल हुन थालेको सरकारी तथ्याङकवाट नै प्रष्ट हुन्छ । र यसले बैध कारोबारलाई संरक्षण गर्न समेत सकेको छैन । निरन्तर भन्सार बृद्धिले बैध कारोबारमा असर पर्न गई अवैध कारोबारमा प्रोत्साहन हुन जाने तर्फ पनि माननीय मन्त्री ज्यू को ध्यानाकर्षण गराउन चाहन्छौं ।’ भन्सार महसुल विधेयक २०८१ मार्फत भन्सार दरमा भएको वृद्धिलाई तत्काल सुुधार गरी देशभरका सुनचाँदी ब्यवसायीहरु ब्यवसायवाट नै प्रतिस्थापन हुनबाट रोक्न समेत व्यवसायीहरुले माग गरेका छन् ।

